काठमाडौं टेक्निकल स्कूल सञ्चालन
रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्न आइएमई ग्रूप र आईएक्सआई कर्पले काठमाडौं टेक्निकल स्कूल सञ्चालन गरेको छ।
काठमाडौंको धुम्बाराहीस्थित काठमाडौं टेक्निकल स्कूलमा आयोजित एक कार्यक्रमबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले स्कूलको उद्घाटन गरेका छन्। स्कूलले हस्पिटालिटी, कुलनिरी आर्टस्, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङ लगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम दिनेछ।
आइएमई ग्रूपले ब्यांक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत्, म्यानुफ्याक्चरिङ लगायत क्षेत्रमा उद्योग तथा परियोजना सञ्चालन गरिसकेको छ। आइएमई ग्रूप अन्तर्गतका कम्पनीमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्।
आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ।
आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौं टेक्निकल स्कूलको सञ्चालनसँगै अब आइएमई ग्रूप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए। “नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरूआत गर्ने लक्ष्यका साथ स्थापना गरिएको स्कूलले विशेषगरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,” ढकालले भने।
काठमाडौं टेक्निकल स्कूल (केटीएस)का अध्यक्ष मनोज पौडेलले आउँदो १० वर्षमा एक लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा यस स्कूलले सहयोग पुर्याउने बताए। स्कूलले विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र नभई नेपालभित्रै विभिन्न अवसर सिर्जना गर्ने उनको भनाइ थियो।