होमस्टेले मुक्त कमैयामा ल्याएको खुशी
कञ्चनपुरको कृष्णपुर नगरपालिका-२, वाणीमा विजयसाल सामुदायिक होमस्टे चलाइरहेका मुक्त कमैया परिवारले यसको आम्दानीबाट जीवन बदलेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-२, वाणीमा मुक्त कमैया बस्ती छ। २०५७ सालमा बसेको यस बस्तीका थारू महिलाहरू विगतमा दैनिक ज्यालामजदूरी गरेर पेट पाल्थे। आठ वर्षअघिको एउटा यात्राले उनीहरूको जीविकाको बाटो र चिनारी बदल्यो।
२०७३ सालमा कृष्णपुर नगरपालिका-२ का विजयसाल सामुदायिक वन र हरियो सामुदायिक वन मिलेर ३० जना मुक्त कमलरी महिलालाई चितवनस्थित अमलतारी होमस्टेको भ्रमणमा लगेका थिए। त्यहाँका होमस्टेले राम्रो आम्दानी लिइरहेको देखेपछि उनीहरू उत्साहित भए। भ्रमणबाट फर्केपछि आफूहरूले पनि होमस्टे चलाउने कि भनेर पटक पटक छलफल गरे।
उनीहरूमध्ये ६ महिला सामुदायिक होमस्टे चलाउने टुंगोमा पुगे। बर्दियाको डल्ला गाउँ होमस्टे, काठमाडौं लगायत ठाउँमा पुगेर यस सम्बन्धी तालीम लिए। हरियो सामुदायिक वनले जनही ३० हजार रुपैयाँ सहयोग गर्यो। अन्ततः २०७४ सालमा होमस्टे दर्ता गराई सञ्चालन गरिरहेका छन्।
होमस्टेबाट हरेक घरले मासिक २५-३० हजार रुपैयाँ आम्दानी गरिरहेको विजयसाल सामुदायिक होमस्टेकी अध्यक्ष प्रदेसनी चौधरी बताउँछिन्। उनका अनुसार होमस्टेमा आन्तरिक तथा बाह्य गरी वार्षिक ६००-७०० पाहुना आउँछन्। एक घरमा दुईदेखि चार जनासम्म राख्ने क्षमता छ।
होमस्टेमा आउने पाहुनालाई स्थानीय उत्पादन र थारू समुदायका विशेष परिकार खुवाइन्छ। पाहुनाले पतौला, ढिक्री, अनदी धानको भात, घोंगी, लसुनको चटनी, हरियो तरकारी, लोकल कुखुराको मासु, माछा लगायत परिकारको स्वाद लिन पाउँछन्। पर्यटकले चाहे थारू नृत्य मार्फत मनोरञ्जन गराइने नृत्य टोलीकी संयोजक चन्द्र चौधरी बताउँछिन्। नाच देखाए बापत टोलीले रु. तीन हजार लिन्छ। उनका अनुसार लट्ठी नाच, झुम्रा नाच, सखिया नाच र छोक्रा नाच देखाइन्छ।

मुक्त कमैया परिवारका अन्य महिलाले तरकारी खेती, कुखुरापालन, बंगुरपालन गर्दै आएका छन्। ती उत्पादन स्थानीय होमस्टेमै खपत भइरहेको अध्यक्ष चौधरी बताउँछिन्।
आकर्षण बनेको विजयसाल
विजयसाल सामुदायिक होमस्टेले विजयसाल सामुदायिक वनको संरक्षणमा टेवा पुर्याउँदै आएको छ। साथै, होमस्टेले डिभिजन वनसँग सहकार्य गरेर औषधीय गुणयुक्त, दुर्लभ वनस्पति विजयसालको संरक्षण पनि गर्छ। होमस्टेकी अध्यक्ष चौधरीका अनुसार बस्तीको चोक, आँगन, खेतको आलीमा विजयसाल रोपिएका छन्। यसैले होमस्टेमा जानेहरूले विजयसालको पनि अवलोकन गर्न पाउँछन्।
“होमस्टेबाट मुक्त कमैया परिवारको जीविकोपार्जनसँगै वातावरण संरक्षणमा पनि ठूलो सहयोग पुगेको छ,” अध्यक्ष चौधरी भन्छिन्।
विजयसाल पश्चिम नेपालका चुरे भावर क्षेत्रमा पाइन्छ। साल प्रजातिको वन भएकै क्षेत्रमा यसको बिरुवा हुर्किन्छ। यसको उचाइ र मोटाइ पनि सालको जत्रै हुन्छ। कडा खालको जमीन, पहिरो, ढुंगा र गेग्रान भएको क्षेत्र तथा खोंचमा विजयसालको बिरुवा हुर्किन्छ। अन्य बिरुवाको तुलनामा यसको बिरुवा बाँच्ने दर निकै कम हुन्छ।
विजयसालको भाँडामा राखिएको पानी पिउँदा पेट सम्बन्धी रोग, मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने र हाडजोर्नी दुख्ने समस्या केही मात्रामा समाधान गर्न सकिने बताइन्छ।
विजयसालबाट निर्मित भाँडा।
होमस्टेमा विजयसालबाट निर्मित ठेकी, गाग्री, कचौरा, गिलास लगायत भाँडाकुँडा बिक्रीमा राखिएका छन्। यस्ता भाँडा स्थानीय स्तरमा बनाइने र अन्य ठाउँबाट पनि किनेर ल्याइने होमस्टे सञ्चालक विष्पती चौधरी बताउँछिन्। एउटा भाँडाको रु. एक हजारदेखि १५ सयसम्म पर्छ। “विजयसाल हेर्नकै लागि टाढा टाढाबाट होमस्टेमा आउने पर्यटकको समूहलाई मायाको कोसेलीका रूपमा एउटा भाँडा दिने गरेका छौं,” उनी भन्छिन्। होमस्टे वरिपरिका पालिकाबाट पनि विजयसालको भाँडा बिक्री गरिदिन भन्दै होमस्टेमा पठाउने गरेका छन्।
महेन्द्रनगरको भाँसीस्थित मेरिट काष्ठकला उद्योगका सञ्चालक गणेश बोहरा विजयसालको काठ नपाएर माग अनुसार भाँडा उत्पादन गर्न नसकिएको बताउँछन्। उनका अनुसार उत्पादित सामग्री शुरूमा गाउँघरमै बिक्री गर्थे, अहिले भने होमस्टेबाट आउने अर्डरबाट राम्रो खपत भइरहेको छ।