पोखरामा उत्तरी चीनको लोकनाटक
पोखरामा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवमा उत्तरी चीनको शान्शी प्रदेशबाट आएको टोलीले जिन्जु ओपेराको मञ्चन गरेको छ।
चिनियाँ पौराणिक कथाको एक बलिया पात्र झोंग कुई आफ्नी बहिनीको विवाह गराउन जाँदै हुन्छन्। विभिन्न युद्धकौशल देखाउँदै उनले बहिनीलाई नयाँ घरतर्फ लैजाँदै गरेको दृश्यलाई नाटकीय शैलीमा देखाउँदै शुरू हुन्छ, नाटक द चार्मिङ जिन्जु ओपेरा। विभिन्न नौ वटा लोककथाका अंशलाई मिश्रित गरेर देखाइएको जिन्जु ओपेरा उत्तरी चीनको शान्शी प्रदेशबाट लामो यात्रा गरेर पोखरा आइपुगेको हो।
उत्तरी चीनको यो नाटक पोखराले पहिलो पटक पोखरा थिएटरमा हेर्ने मौका पायो। जारी पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सोमबार उक्त लोकनाटकको प्रदर्शन गरिएको थियो।
चीनको सभ्यता जोडिएको शान्शी प्रदेशमा प्राचीन मन्दिर, ऐतिहासिक सम्पदा र संस्कृति तथा प्राचीन शहरहरूलाई अझै संरक्षित राखिएको छ। त्यसको एक उदाहरण जिन्जु ओपेरा पनि हो। शान्शी प्रदेशले यो ओपेराको संरक्षण गर्दै अहिले लोकनाटकका रूपमा प्रदर्शन गरिरहेको छ।
चीनको शान्शी प्रदेशबाट आएको टोली।
शान्शीमा युआन, जिन, मिङ र छिङ राजवंशीय पालामा बनेका तीन हजारभन्दा बढी सांस्कृतिक ओपेरा स्टेज छन्। चीनभर ३०० भन्दा बढी सांस्कृतिक ओपेरा रहेकोमा शान्शीमा मात्रै ५० भन्दा बढी छन्। काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)मा सहभागी हुन पहिलो पटक नेपाल आएको टोलीले काठमाडौंमा दुई शो र पोखरामा सोमबार दुई शो गरेको हो।
४५ वर्षभन्दा बढी समय जिन्जु ओपेराको संरक्षण र प्रवर्द्धन गरिरहेको टोलीका संयोजक ताओ चेनले पोखरामा ओपेराको मञ्चन गर्न पाउँदा खुशी लागेको बताए। ओपेराका निर्देशक तथा कलाकार सोङ वेन्कयुले खुशी प्रकट गर्दै भने, “यहाँका मानिस र वातावरणबाट न्यानोपन पाएँ। चीनमा स्टेज दर्शकभन्दा अलि पर हुन्छ, यहाँ दर्शक र कलाकारको दूरी कम हुँदा झन् उत्साह मिल्यो।”
पोखरा नाटक महोत्सवमा देश-विदेशका नाटक मञ्चन गरिनुका साथै नाटक, कला, साहित्यको संरक्षण र प्रवर्द्धनबारे बहस चलिरहेका छन्। चैत ९ गतेदेखि आयोजित महोत्सव चैत १३ गते सकिनेछ।