काठमाडौं प्रहरीको आकस्मिक चेकिङ : ट्राफिक नियम उल्लंघनदेखि लागूऔषधसम्ममा कारबाही
जिल्ला प्रहरी परिसर, काठमाडौंले १८५ स्थानमा आकस्मिक सुरक्षा जाँच गरेको छ।
ट्राफिक नियम पालना भए/नभएको थाहा पाउन तथा शान्ति सुरक्षाका लागि आकस्मिक ‘चेकिङ’ गरिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले बताए।
चेकिङका क्रममा एउटा मोटरसाइकलबाट ३५८ वटा ट्रामाडोल नामक लागूऔषध बरामद भएको एसएसपी अधिकारीले जानकारी दिए। लागूऔषध भेटिएपछि चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले पाँच हजार ६३९ वटा दुईपांग्रे र २३५ वटा चारपांग्रे सवारीसाधनलाई अपराह्न ३ देखि ५ बजेसम्म जाँच गरेको हो। एसएसपी अधिकारीका अनुसार यस क्रममा २३ वटा मोटरसाइकल, स्कूटरलाई प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ। त्यस्तै, २६१ वटा मोटरसाइकल/स्कूटर र एउटा गाडीलाई ट्राफिक नियम उल्लंघन गरेकामा कारबाही गरिएको छ।
आकस्मिक सुरक्षा जाँचका क्रममा प्रहरीले २१ पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नियन्त्रणमा लिनुको कारणबारे भने थाहा नभएको एसएसपी अधिकारीले बताए।
