५० वर्षदेखि बजिरहेको संरक्षणको बिगुल
वन संरक्षणमा पाँच दशक बिताइसकेका भूमिरमण नेपाल दुखजिलो गरी हुर्काइएका रूख फेरि जोखिममा पर्न थालेको भन्दै वन र समुदायलाई कसिलोसँग जोड्ने अभियानमा छन्।
आज एउटा गाउँ त भोलि अर्कै। कहिले कसैलाई जरिवाना भराउनुपर्ने अनि कहिले कसैको अंशबन्डा गराइदिनुपर्ने। धादिङ जिल्ला अदालतका विचारी भूमिरमण नेपाल २०३० जेठ १ का दिन यस्तै कुनै कामले रुबीभ्यालीको थाङ्ने भर्याङतिर उक्लिंदै थिए।
त्यस वेला धादिङमा अनिकाल थियो। नीलकण्ठ नगरपालिका-२ का बासिन्दा भूमिरमणले घरैबाट एक पाथी मकै भुटेर बोकेका थिए। अनि साथीहरूसँग गणेश हिमालको फेदैफेद अघि बढ्दै थिए। त्यहीं जम्काभेट भयो, १० जनाको एउटा टोलीसँग। अन्न खोज्न हिंडेको उक्त टोलीका सबै जना भोकले फत्रकफत्रक परेका देखिए। भूमिरमणले झोलाको मकै बाँडिदिए।
यो उपकारले उनलाई बडो आनन्द महसूस गरायो। तर भोलिपल्ट आफैं भोकले रन्थनिन पर्यो। सबै जनाले गिट्ठा-भ्याकुर खोजेर खाए। तब पेट दुखेर बाटैमा थला परे। चिसोले पखाला पनि शुरू भयो। अलि गलिनसकेका साथीहरू दाउरा खोज्न निस्किए, तर एउटा सानो मुढोसम्म भेटिएन। कुनै वेलाको वन अब उजाड पाखो बनिसकेको थियो। इन्तु न चिन्तुको अवस्थामा उनीहरूलाई गाउँलेले सात दिनपछि उद्धार गरे।
यही अत्यासले भूमिरमणलाई वनको महत्त्व बुझायो। उनी ५० वर्षअघिको प्रसंग सुनाउँछन्, “त्यतिका दिनसम्म आगो बाल्न पाइएन। हाम्रै पालामा वन यति नाशिइसक्यो भने सन्तानका पालामा त केही रहँदैन, गरीबी झन् बढ्छ भन्ने लाग्यो।”
आफूमा आएको यो जागरणलाई उनले अभियानकै रूपमा अघि बढाए। २०३२ सालबाट ढुंगा, पँधेरा, रूखहरूमा वन जोगाउने नारा लेख्न थाले। पहिले इनामेलमा ब्रश चोपेर लेख्थे। तर २०० रुपैयाँ तलब रहेका भूमिरमणलाई २० रुपैयाँ इनामेल र १० रुपैयाँ ब्रशमा खर्चिनु अलि महँगै थियो। बिस्तारै ब्रशको साटो निगालो र सिमलीका डाँठ प्रयोग गर्न थाले। उनको नारा बनेको थियो- खिर्रो होस्, बांगो होस्, तर नांगो नहोस्!
उनी धुनीबेसीका चौतारामा ‘एक रूख काटौं, १० रूख रोपौं, नांगा पाखामा वृक्षरोपण गरौं,’ लेख्थे। अनि छिमेकी गाउँ पुगेर आफैं भन्थे, “धुनीबेसीले त वन जोगाउने काम थालिसकेछ नि?” यस्तो सुनेपछि त्यहाँका गाउँले पनि वन जोगाउन अग्रसर हुन्थे। उनीसँग सुझाव माग्थे। उनी वनपाले राख्ने उपाय सुझाउँथे। अनि अर्को गाउँ पुगेर भन्थे, “छिमेकी गाउँले त वनपाले राखिसकेछ नि।” आफू चाहिं के कम भन्दै त्यहाँका गाउँले पनि वनपाले राख्थे। भूमिरमणले गाउँलेहरूमा जगाइदिएको यस्तो प्रतिस्पर्धा र देखासिकीको भावना वन संरक्षणमा निकै प्रभावकारी बन्न पुग्यो।
युवा वयमा वन संरक्षण अभियानका दौरान भूमिरमण नेपाल (बायाँ)।
जागरण ल्याउने एउटा तरीका उनलाई २०३६ सालको जनमत संग्रहले पनि सिकायो। त्यति वेला घर-पर्खालका भित्ताभित्तामा चुनावी नारा लेखिएपछि उनलाई तिनै ठाउँमा वन जोगाउने कुरा चाहिं किन लेख्न मिल्दैन भन्ने लाग्यो। अनि नारा लेख्ने अभियान रूख-चौताराबाट घर-स्कूलका भित्तासम्म फैलियो– “बाँच्नु छ भने पहिला श्वास फेरौं, श्वास फेर्नु छ भने पहिला वन जोगाऔं।”
यस्तो खटाइ २०४० सालसम्म निरन्तर रह्यो। यसबीच उनलाई धेरैले पागल भन्न थालिसकेका थिए। तर वन मासिएकैले घाँस-दाउराको अभाव चर्किएपछि गाउँलेहरूले बिस्तारै कुरा बुझ्दै गए। “काठ तस्करहरूले एउटा रूखमा टाँचा लगाएर १० वटा रूख काटेको पनि उनीहरूले देखेकै थिए, त्यसैले साथ दिन थाले,” भूमिरमण सम्झन्छन्।
बिगुलदेखि भजनसम्म
वन जोगाउने अभियानमा भूमिरमण थुप्रै समुदायसँग नजीक भए। जिल्ला अदालतको कर्मचारी समेत भएकाले उनका कुरा धेरैले सुन्थे। बढ्दो जनसम्पर्क र सक्रियताकै कारण कतिले उनलाई त्यति वेला भूमिगत नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भन्दै अभियानमा अवरोध पनि गर्न खोजे। तर उनी यस्ता कुराले अड्किएनन्। बरु समुदायलाई जागरूक बनाउँदै संरक्षण समितिहरू बनाउन थाले। २०४० सालसम्ममा नीलकण्ठ, घट्टेपाखा, धोन्ध्रे, सिरुघारी आदि सामुदायिक वनमा यस्ता समिति बनिसकेका थिए।
समितिहरूले भित्ते लेखन, प्रचारप्रसार, वृक्षरोपण, डढेलो नियन्त्रण, वनको निगरानी, समुदायमा सचेतना विस्तार जस्ता काम झन् तीव्र पारे। २०४२ सालसम्म धादिङमा मात्र १० वटाभन्दा बढी समिति बनिसकेका थिए। भूमिरमण तिनमा पदाधिकारी भने बनेनन्, बाटो देखाउने काम मात्र गरिरहे।
यसबीच उनले बिगुल फुक्ने अभियान शुरू गरे। वनमा डढेलो लाग्दा वा अन्य आपद् पर्दा घर घर पुगेर मान्छे डाक्न समय लाग्ने भएकाले बिगुल प्रभावकारी हुने उनले बुझेका थिए। यही कुरा समितिका सदस्यलाई पनि सिकाउँदै गए। २०४३ सालमा वन तथा वातावरण संरक्षणमा काम गरेको भन्दै उनलाई जराजुरी ट्रस्टले ‘जराजुरी’ पुरस्कार दियो। त्यस बापत आएको ५०० रुपैयाँ बिगुल, मैनटोल खरीद, वृक्षरोपण, अग्निरेखा निर्माण लगायत काममा खर्चिए। “त्यो ५०० ले त्यति वेला अहिले पाँच अर्बले नहुने काम गरेको छ। बाँझा वन हरिया भएका छन्,” उनी तुलना गर्छन्।
उति वेला समितिमा बस्नेहरू पढेलेखेका व्यक्ति र विदेशबाट फर्किएका लाहुरे आदि मात्र हुन्थे। निरक्षर वृद्धवृद्धा, युवा, किशोरकिशोरी, महिलालाई बुझाउनै मुश्किल थियो। यस्तोमा उनले धार्मिक र लोकसंस्कृतिको सहारा लिए।
फँडानीले नांगिएका डाँडा।
२०५१ सालमा भूमिरमणले विभिन्न भजन समूहलाई संगठित बनाउँदै ‘हरियाली भजन समूह’ दर्ता गरे। परम्परागत भजन-नृत्यको तालीम चलाउने समूहले तिनैमध्येबाट वन संरक्षणका लागि ‘हरियाली सांस्कृतिक टोली’ पनि बनायो। टोलीले प्रस्तुत गर्ने लोकदोहोरी र नृत्यहरू वन-वातावरण जोगाउन उत्प्रेरित गर्ने खालका हुन्थे।
यस क्रममा कतिले वन संरक्षणको सन्देशयुक्त बालन गाए त कतिले मारुनी नाचे। यस्तो लोकशैलीले सबै खालका गाउँलेको ध्यान खिच्यो। एउटा गीत यस्तो थियो-
पहिलाका जंगल, अहिले नांगा पहाड भए,
रूखका पातहरू झरेर उजाड भएर आउँछ र
कोइली चरालाई गर्मीले उखरमाउलो बनाउँछ र
कोइली चरी के भयो भन्दै थाल्यो कराउन। कठैबरा थाल्यो कराउन।
वरको छायाँ छ,
जस्तो तिम्लाई पानी प्यास, त्यस्तो हामीलाई वनको माया छ।
ए के गर्ने भन भन साथी हो,
नारायण : हरियाली
हरेक समितिमा यस्ता भजन समूह क्रमशः जोडिंदै गए। यसबीच अग्निरेखा बनाउने क्रममा धादिङमा पहिलो पटक वनको सीमांकन पनि भएको उनलाई सम्झना छ। “काम गर्दै गएपछि एउटाले अर्को कामलाई पनि फाइदा पुर्यायो। सीमांकनपछि हस्तान्तरण हुन बाँकी सामुदायिक वन हस्तान्तरण भए,” उनी भन्छन्।
यसरी वन र प्राकृतिक स्रोतको महत्त्वबारे जनचेतना फैलाउन उनले सयौं कार्यक्रम सञ्चालन गरे। यस क्रममा काठ तस्कर र भूमाफियाको निशानामा पनि परे, ज्यान जोगाउनै हम्मे पर्यो। “यस क्षेत्रमा काम गर्न ज्यानको बाजी थाप्नुपर्छ भन्ने थाहा पाइसकेकै थिएँ, त्यसैले पहिल्यैदेखि तयार थिएँ,” उनी भन्छन्।
हत्केलामा ज्यान
विसं २०४७ मंसीरको तेस्रो साता भूमिरमण जरुङ, सिमटारमा वन सम्बन्धी छलफलमा थिए। गजुरी-चालिसे झरेपछि सडकमा दुई जना मान्छेले उनको बाटो छेके। एक थिए, सत्यमान पाठक। काठ तस्करीमा संलग्न पाठकले उनलाई नजीकैको जुँघे खोलाबाट खसाल्न खोजे। कुटपिट गरे। भूमिरमणको नाक-मुखबाट रगत बग्न थाल्यो। त्यतिले पनि नपुगेर काट्न भनी पाठक खुकुरी लिन हिंडे। त्यही वेला गाउँलेहरू पुगेर भूमिरमणलाई भगाए। दुई वर्षपछि धादिङ जिल्ला अदालतले पाठकलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।
वन संरक्षणका लागि उपभोक्ता समूह गठन सहित विभिन्न गतिविधिका यी तस्वीर भूमिरमणले सम्हालेर राखेका छन्।
भूमिरमण एकपटक दैलेखतिर वनबारे अध्ययन गर्न गएका थिए। एउटा सामुदायिक वनमा पसेर स्केच बनाउँदै गर्दा गाउँलेले घेरे, नसोधी आफ्नो वनमा पसेकामा आपत्ति जनाए। उनले आफू पनि वन संरक्षक नै रहेको बताए। तर गाउँलेले पत्याएनन्। उनलाई उल्टै बाँधेर राखे। खासमा जिल्ला कार्यालयमा वन हस्तान्तरणको माग गर्दै पटक पटक जाँदा र बालीमा लागेको रोग हेरिदिन कृषि कार्यालयलाई अनुरोध गर्दा पनि वास्ता नगरिएपछि उनीहरू चिढिएका रहेछन्। र, भूमिरमणलाई तिनै कुनै कार्यालयको मान्छे ठानेर यसरी घेरेका रहेछन्।
जबर्जस्ती गर्दा ज्यानै जाने स्थिति थियो। भूमिरमणले आफू वन संरक्षक नै रहेको भन्दै छाडिदिन अनुनय गरे। तब गाउँलेले उनको कुरा झूटो ठहरिए हात काटिदिने तर त्यस बापत कतै उजुरबाजुर गर्न नपाउने गरी तमसुक गर्नुपर्ने शर्त राखे। “अर्को उपाय नभएपछि तमसुकमा सहीछाप गरिदिएँ,” उनी भन्छन्, “त्यसमा मैले कुनै अड्डा-अदालतमा प्रश्न उठाउन नपाउने र उठाए यसैले बदर हुने व्यहोरा उल्लेख थियो।” सहीछाप गरिसकेपछि एक जनाले भूमिरमणको झोला खोतले। त्यहाँ ‘हस्तकुमारी र भूमिरमणका कुरा’ शीर्षक समाचार छापिएको भित्तेपत्रिका देखियो। त्यसबाट उनी वन संरक्षक रहेको खुलेपछि गाउँलेले बल्ल छाडिदिए।
२०५० कै दशकमा धादिङमा पृथ्वी राजमार्गभन्दा माथिका वनबाट काठ तस्करी बढेपछि उनी गोप्य रूपमा बुझ्न गए। चरौंदी खोलामा रातको १२ बजेतिर ट्रक आयो। त्यसमा तीन-चार जनाले काठ लोड गर्न लागे। उनी फोटो खिच्दै थिए। त्यही वेला तस्करले उनलाई देखिहाले। उनी हत्तपत्त भागेर नजीकैको पानीघट्ट पुगे अनि धूलैधूलो लागेको गुन्द्री ओढेर सुतिदिए। “यो देखेपछि उनीहरूले पागल रहेछ भनेर छोडे। घट्टको धूलो नभएको भए तस्करले मलाई त्रिशूलीमै विलीन बनाउँथे होला,” उनी सम्झन्छन्।
त्यस्तै, २०५३ सालमा भूमिरमण दोलखाको जिरीमा चीज फ्याक्ट्रीले वन विनाश गरेको सुनेपछि बुझ्न भनी गए। त्यहाँ जिल्ला वन, उपभोक्ता र उद्योग व्यवस्थापनबीचको व्यवस्थापन बुझ्ने, साँच्चै वन विनाश गरिएको रहेछ भने त्यसो नगर्न सम्झाउने उनको उद्देश्य थियो। तर दुई दिन हिंडेपछि भूमिरमण भिरालो डाँडामा पुगेर अर्धचेत भए। त्यही वेला कसो-कसो अदालतको परिचयपत्र र नागरिकता खल्तीबाट बाहिर फ्याँके। “मरिगए घरमा खबर पुगोस् भनेर यसरी फ्याँकेको थिएँ। तर झन्डै २ घण्टापछि होश आउँदा कागतीको बोटमा अल्झिएको रहेछु,” उनी सुनाउँछन्।
१० वर्षे द्वन्द्वका क्रममा माओवादीले पनि भूमिरमणलाई पटक पटक दुःख दियो। कहिले वन लगेर धम्क्यायो त कहिले आफ्नो पार्टीमा आउन भन्यो। आउन नमान्दा ‘कति दिन बाँचेर हिंड्छस्’ भन्दै तर्साइयो। “खासमा माओवादीले मलाई सरकारको मान्छे, सुराकी ठान्थ्यो। घरबाट निस्किएपछि फर्किने पाइने हो कि होइन भन्ने स्थिति थियो,” उनी सम्झन्छन्।
.jpg)
जस्तोसुकै प्रतिकूलतामा उनले वन जोगाउने अभियान भने छाडेनन्। यही लगनशीलताले जगाएको विश्वासका कारण विकट गाउँबाट पनि वन संरक्षणका लागि उनीसँग सल्लाह र सहयोग लिन आउने बढे। यही कारण अहिले धादिडमा मात्र ९०० वन संरक्षण समिति छन्। बाँझा डाँडा हरिया भएका छन्। तर पहिले तस्करले गर्ने काम अहिले सरकारी विभाग र कार्यलयहरूकै मिलेमतोमा हुने गरेकाले वन अझै सुरक्षित नरहेको उनी बताउँछन्। “वन, वातावरणको पक्षमा वकालत गर्नेहरूको पनि असुरक्षा बढेको छ,” उनी भन्छन्, “पहिला-पहिला देखिने गरी धम्क्याउँथे, मार्न खोज्थे, तर आजभोलि गलत कार्यमा मुछिदिएर बदनाम गरिदिने प्रचलन आएछ।”
दुई वर्षअघि नीलकण्ठमै वन फँडानी भइरहेको थियो। प्रचारप्रसार समिति पहिले जस्तो सक्रिय थिएन। संरक्षणका लागि गाउँमा पहिले जति मान्छे पनि छैनन्। यस्तैमा त्यहाँ प्रहरीले सात लाख रुपैयाँ बराबरको दुई ट्रक काठ बरामद गर्यो। तर यो काम भूमिरमणको संलग्नतामा भएको आरोप लगाइयो। उनी तस्करीमा संलग्नहरूले आफूलाई फसाउन र भोलिका दिन तस्करी अझ सजिलो बनाउन यस्तो काम गरेको बताउँछन्। उनी भन्छन्, “यहाँ पाइला पाइलामा जोखिम छ। अभियन्ताले संरक्षणको कुरा गर्छ। तर राजनीति, सत्ता, शक्ति तस्करलाई बचाउनतिर लाग्छन्।”
एउटै रहर
भूमिरमणलाई लाग्छ- उपभोक्ता समितिलाई एकपटक हस्तान्तरण गर्दैमा वनको रक्षा हुँदैन। समितिमा रहनेहरूमा निरन्तर खबरदारी गरिरहने र वन जोगाउने तदारुकता पनि हुनुपर्छ। समयानुकूलका र स्थानीयलाई आकर्षण गर्ने खालका योजना ल्याइनुपर्छ।
भूमिरमण अहिले वन संरक्षणमा जागरूकता कम हुँदै गएको र यही कारण वन फेरि पहिले जस्तै उजाड हुने जोखिम देखिरहेछन्। यस्तै जोखिमको संकेत हो- पहिले जस्तो डढेलो निभाउने जुझारु समूह अहिले नहुनु। उपभोक्ता समिति र समूहहरूबीच फाटो देखिनु। जस्तो- धादिङमा यस्ता समूहमा लाखौं सदस्य छन्। तर तिनलाई उपभोक्ता समितिले वास्ता गर्दैनन्। जबकि कुनै वेला एउटा रूख काटेको बदलामा १० वटा रोप्ने, अग्निरेखा बनाउने, वनमा कतै बन्चरो ठोकेको सुनिंदा तस्करीको आशंका गरी तत्काल पुगिहाल्ने काम यिनैले गरेका थिए। तर आज सामुदायिक वन समूह एक्लिएका छन्।

“यहाँ उपभोक्ता समिति, वन कार्यालयका कर्मचारी भत्ता विना बाहिर निस्किंदैनन्। हाम्रा समूहले काम गर्न खोज्दा पनि तगारो हाल्छन्,” भूमिरमण भन्छन्, “वन कार्यालयको पनि निगरानी छैन। स्थानीय विकास ऐन एकातिर, कर्मचारी अर्कातिर छन्। ठूला रूख व्यापारीको जोखिममा छन्, साना रूख डढेलोको। अनि कसरी वनको रक्षा हुन्छ?”
उनका अनुसार अहिले उपभोक्ता समिति भए पनि वनले अग्निरेखा बनाउन सघाउँदैन। वन कार्यालयसँग बिरुवा भए पनि त्यो रोप्नुपर्ने ठाउँका लागि उपयुक्त हुँदैन। ठाउँ अनुसारको बिरुवा आफैं उत्पादन गर्न वन समूहसँग स्रोत छैन। अहिले समुदाय लक्षित कार्यक्रम नै हुन छाडेका छन्। त्यसैले डढेलो निभाउन कोही अघि सर्दैन। वनमा रातभर मशिन चल्दा पनि स्थानीय स्तरमा कुरा उठाइँदैन।
यस्ता कुराले मन पोल्न थालेपछि भूमिरमणले एउटा कार्यक्रम ल्याएका छन्- रूखका लागि जीवन, जीवनका लागि रूख। उनका अनुसार यो कार्यक्रम सफल बनाउन स्थानीय तह, खासगरी वडा कार्यालय र वन कार्यालयको सहयोग चाहिन्छ। यसमा वनको हैसियत अनुसार बढीमा १० रूखसम्मको जिम्मा एउटा व्यक्तिलाई दिइन्छ। त्यही व्यक्तिले आफ्नो जिम्मेवारीका रूखको पहरेदारी गर्ने, काट्न र डढेलो लाग्न नदिनेसम्मका काम गर्नुपर्छ। यसरी संरक्षण गर्ने व्यक्तिलाई जीवनमा कुनै आपत् आइपरे उसले भोगचलन गर्न पाउने गरी एउटा रूखसम्म काट्न दिइनुपर्छ। रूख काट्नासाथ उसले तत्काल १० वटा बिरुवा रोपिहाल्नुपर्छ। “तर उसको विपत् रूख काटेरै सल्टाउनुपर्ने प्रकृतिको हो कि होइन भन्ने चाहिं समितिले छलफलबाट तय गर्नुपर्छ,” उनी भन्छन्, “यसो गर्दा वन र मानिसको जीवन एकअर्कासँग जोडिन्छ।”
भूमिरमणले घरमा सजाएका सम्मानपत्र।
उनले आफ्नो योजनामा सघाउन प्राविधिक सहयोग मागेका छन्, तर वन कार्यालयले स्रोत अभाव देखाएको छ। त्यसैले अब आफ्नै लगानीमा अघि बढिरहेका छन्। शुरूमा निजी वनको ‘नम्बरिङ’ गर्दै छन्।
पर्यावरणको संरक्षणका लागि रातदिन लागिरहेका उनको योगदानको कदर पनि भइरहेको छ। वन तथा वातावरण संरक्षण समाज, नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव समिति, वर्ल्डवाइड फन्ड फर नेचर लगायत दर्जनौं संघसंस्थाले भूमिरमणलाई सम्मान गरेका छन्। यस्ता सम्मानबाट पाउने रकम कहिले नर्सरी बनाउन त कहिले समूह विस्तारमा सकिने गरेको उनको भनाइ छ।
कतिले ‘वन अब धेरै बढिसक्यो, किन जोगाइरहनुपर्यो?’ भनेको सुन्दा भूमिरमणलाई उदेक लाग्छ। “यो भनेको त छोराछोरी हुर्किएपछि किन रेखदेख गर्ने भन्नु जस्तै हो, पर्यावरणलाई जीवनसँग नजोडेकाहरूले यस्तो सोच्छन्,” उनी भन्छन्, “तीन दशक लगाएर जोगाएको वनलाई बेवास्ता गर्ने हो भने बन्जर पाखो बन्न एक वर्ष पनि लाग्दैन। पृथ्वीको तातोपन बढ्दै गएको वेला बाँच्नकै लागि पनि वन अझ चाहिएको छैन र?”