कहाँ पुग्यो जनमत-नाउपा एकता प्रक्रिया?
एकताका लागि प्रयासरत जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच नेतृत्व, नाम र चुनाव चिह्नबारे सहमति बनेको छ भने प्रदेश र जिल्लास्तरमा कसरी एकीकरण गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।
केही महीनायता पार्टी एकीकरणका लागि प्रयासरत जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच कार्यदल तहमा छलफल प्रारम्भ भएको छ। दुवै पार्टीले गठन गरेका कार्यदलको पहिलो बैठकमा छलफल सकारात्मक रूपमा अघि बढेको बताइएको छ।
जनमत र नाउपाका कार्यदलबीच चैत १० मा छलफल भएको हो। कार्यदलको बैठकले पार्टी एकीकरणको मोडालिटीबारे छलफल गरेको जनमतका तर्फबाट कार्यदलका सदस्य डा. शरदसिंह यादव बताउँछन्। जनमतका प्रवक्ता समेत रहेका यादव भन्छन्, “कार्यदलको पहिलो बैठक भएको कारणले परिचयात्मक र पार्टी एकीकरणको मोडालिटीबारे छलफल भयो।”
कार्यदलमा जनमतबाट अब्दुल खान, डा. यादव र बालगोविन्द चौधरी छन्। त्यस्तै, नाउपाबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगौरा थारू छन्। पहिलो बैठकमा मोडालिटीबारे छलफल भएको र प्राविधिक विषय अर्को बैठकमा मिलाइने यादवको भनाइ छ।
दुवै पार्टीबीच नेतृत्व, नाम र चुनाव चिह्नबारे लगभग सहमति जुटिसकेको छ। यसबारे दुवै पार्टीको नेतृत्व तहमै छलफल भएको यादव बताउँछन्।
एकीकरणपछि रेशमलाल चौधरी संरक्षक, सीके राउत अध्यक्ष र रञ्जिता चौधरी सहअध्यक्ष रहने सहमति बनेको छ। यससँगै पार्टीको नाम नागरिक जनमत पार्टी हुने पनि तय गरिएको छ। नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न ढकियालाई नै नयाँ पार्टीको चुनाव चिह्न राख्न दुवै दलका नेतृत्व सहमत छन्।
छलफलमा दुवै दलको कार्यदल।
यी बाहेकका विषयमा कार्यदलमा सहमति जुटाइने भएको छ। विशेषगरी दुवै पार्टीका केन्द्रीय कमिटी र पदाधिकारीको सम्मानजनक सहभागितालाई लिएर कार्यदलमा छलफल हुँदै छ।
त्यस्तै, प्रदेश र जिल्ला तहसम्मका सबै समितिलाई कसरी एकीकृत गर्ने भन्ने विषयमा सहमति निर्माणको प्रयास भइरहेको जनाइएको छ। “मुख्य कुरामा पार्टी केन्द्रीय नेतृत्वबीचमै सहमति भइसकेको छ। कार्यदलले अन्य प्राविधिक विषय मिलाउने काम गरिरहेको छ,” यादव भन्छन्।
दुवै दल एकीकरणप्रति सकारात्मक रहेको र अन्य प्राविधिक विषय अर्कोे बैठकमा मिलाएर लैजाने तय गरिएको छ। केही दिनभित्रै पार्टी एकता गर्ने तयारी रहेको दुवै पार्टीका नेता बताउँछन्। यादव भन्छन्, “जतिसक्दो छिटो पार्टी एकीकरणलाई मूर्त रूप दिनेगरी काम गरिरहेका छौं।”
एकीकरणपछि बन्ने नयाँ पार्टी तराई-मधेशमा बलियो शक्तिका रूपमा उभिने उनीहरूको विश्वास छ। संघीय संसद्मा प्रतिनिधित्वको हिसाबले पनि नयाँ दल मधेशकेन्द्रित सबैभन्दा ठूलो दल बन्नेछ।
हाल जनमतका ६ सांसद छन्। त्यस्तै, नाउपाका चार सांसद छन्। अहिले मधेशकेन्द्रित जसपाका सात, जसपा, नेपालका पाँच र लोकतान्त्रिक समाजवादी पार्टीका चार सांसद छन्।
दुवै पार्टी स्थापना भएको पनि धेरै समय भएको छैन। नाउपा तीन वर्षअघि र जनमत ६ वर्षअघि स्थापना भएका थिए।
टीकापुर प्रकरणमा रेशम चौधरी जेलमा रहेका वेला रञ्जिता श्रेष्ठको नेतृत्वमा तीन वर्षअघि नाउपा गठन भएको थियो। उनकै नेतृत्वमा नाउपाले चुनाव लडेको थियो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नाउपाका तीन र नाउपाको समर्थनमा एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए। अहिले नाउपासँग चार सांसद छन्। ‘थ्रेशहोल्ड’ कटाउन नसक्दा नाउपाले समानुपातिकमा पाएको मत खेर गएको थियो।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएपछि चौधरी २०८० जेठ १५ मा जेलमुक्त भएका थिए। त्यसपछि उनले पार्टीको नेतृत्वमा आउन खोजेका थिए। टीकापुरमा सम्पन्न महाधिवेशनबाट २०८० पुस २७ मा चौधरी निर्विरोध अध्यक्ष चुनिएका थिए।
यस कदमबाट श्रेष्ठ सन्तुष्ट भइनन् भने उनी पक्षका नेता निर्वाचन आयोग पुगेका थिए। निर्वाचन आयोगले अध्यक्षमा चौधरीलाई मान्यता दिएन र श्रेष्ठ नै अध्यक्ष बनिन्। त्यसपछि दुवै जनाबीच नेतृत्वको विषयमा विवाद हुँदै आएको छ। दुवै श्रीमान्-श्रीमती हुन्।
मधेशमा पृथक्तावादी आन्दोलन चलाएर चर्चामा आएका सीके राउत सरकारसँग भएको वार्तापछि खुला राजनीतिमा आएका हुन्। उनले ६ वर्षअघि आफ्नै नेतृत्वमा पार्टी खोलेका थिए।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षबाट एक सीट जितेको थियो। जनमत अध्यक्ष राउत सप्तरी-२ बाट निर्वाचित भएका थिए। समानुपातिकमा ‘थ्रेशहोल्ड’ कटाएकाले पाँच सीट थपिएका थिए। अहिले जनमतका ६ सांसद छन्।