प्रोटोनको ‘ई.मास-७’ नेपाली बजारमा
प्रोटोन कम्पनीको नयाँ विद्युतीय गाडी ई.मास-७’ नेपाली बजारमा आएको छ।
काठमाडौंको हायात रिजेन्सीमा आयोजित विशेष समारोहमा ‘ई.मास-७’ सार्वजनिक गरिएको हो। यो गाडी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ।
यो गाडी ६ वटा रंगमा बजारमा ल्याइएको छ। यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँबाट शुरू हुन्छ।
यसलाई नेपाली बजारमा ल्याएको जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोन ‘ई.मास-७’ सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए। “नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको वेला हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ,” गुप्ताले भने।
नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आउँदो वर्ष देशभर डिलरशिप संख्या विस्तार गर्ने जनाएको छ। प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन पूर्वाधार विकासमा लगानी गर्ने जनाएको छ।