‘जुन सन्तुष्टि नाटकमा छ, त्यो फिल्ममा छैन’
लामो समयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारले नाटकमा पाइने सन्तुष्टि फिल्ममा प्राप्त नहुने गरेको अनुभव सुनाएका छन्।
कलाकारलाई नाटक र फिल्ममध्ये केले सन्तुष्टि दिन्छ? कलाकार प्रकाश घिमिरे नाटकतिर ढल्किन्छन्। नाटकमा पाइने सन्तुष्टि फिल्म खेल्दा प्राप्त नहुने उनको अनुभव छ। “नाटक गर्दा कलाकार आनन्दित हुन्छौं, सन्तुष्टि मिल्छ। फिल्ममा दर्शकलाई सन्तुष्टि मिल्छ,” घिमिरे थप्छन्, “फिल्ममा कैयन् पटक एउटै ‘टेक’ लिनुपर्छ, नाटकमा दिनदिनै नयाँ हुन्छ।”
पोखरामा जारी पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्रो दिनको ‘द स्टेज इज कलिङ यू’ सत्रमा बोल्दै कलाकार घिमिरेले नाटकले दिने सन्तुष्टि सुनाएका हुन्। ४० वर्षअघि खेलेको पहिलो नाटक जब इज्जत सल्कन्छको स्मरण गर्दै घिमिरेले दुई वर्षसम्म रिहर्सल गरेपछि मञ्चन भएको सुनाए।
उनी अध्यक्ष रहेको सूर्योदय युवा क्लबका सचिव अनुप बराल थिए। रंगकर्ममा लाग्ने जोशकै कारण क्लबमै रहेकाहरूबाट नाटक रिहर्सल गरिएको घिमिरेले सुनाए। बुबाहरूलाई देखाएर सुझाव लिंदै नाटकलाई परिष्कृत गरिएको र दुई वर्षपछि बल्ल मञ्चन गरिएको कलाकार घिमिरेले बताए।
.jpg)
छलफलमा बोल्दै कलाकार दिया मास्केले पनि आफ्नो पहिलो नाटक खुमाको स्मरण गरिन्। पहिलो नाटकमा काम गरेपछि मात्रै नाटकको महत्त्व बुझेको उनले सुनाइन्।
“खुमाको पहिलो प्रदर्शन नै भारतमा भएको थियो। द्वन्द्वको विषयमा आधारित नाटक खुमा नेपाली भाषामा देखाइँदै थियो, तर त्यहाँ नाटक हेरिरहेका नरुने कोही थिएनन्,” मास्केले भनिन्, “त्यति वेला लाग्यो, नाटक त धेरै शक्तिशाली रहेछ।”
उनले नाटक एउटै शैलीको नहुने बताइन्। नाटकमा संगीतदेखि डिजाइन, प्रकाश, नृत्य सबैथोक अटाउने सुनाइन्।
रंगकर्ममा रहिरहन के गर्नुपर्छ भनी प्रस्तोता अन्जु दाहालले सोधेको प्रश्नमा कलाकार मास्केले थिएटरलाई सबैले सघाउनुपर्ने बताइन्। “थिएटर बाँच्नु भनेको सबै किसिमको आर्टफर्म बाँच्नु हो,” मास्केले भनिन्।
.jpg)
उनले नाटक मनोरञ्जनको मात्र नभएर व्यक्तिको मानसिक स्वास्थ्यका लागि थेरापीका रूपमा काम गर्न सक्ने विधा रहेको बताइन्।
चैत १० मा ट्युनिशियाको याच नाटक प्रदर्शन गरिएको थियो। अमिनल्लाह एल गेजलद्वारा निर्देशित नाटकमा सामाजिक विषयवस्तुलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरिएको छ।
आज चीनको द चार्मिङ जिन्जु ओपेरा नाटक मञ्चन गरिनेछ। पोखरामा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सव चैत १३ सम्म चल्नेछ।