मासिए चौतारा, ढले वरपीपल
पाँच दशकअघि पोखराको पहिचान बोकेका वरपीपलका चौतारा पछिल्लो केही दशकयता मासिंदै जाँदा नामेट हुने अवस्थामा पुगेका छन्।
चौतारीको बरै ढलेछ,
चौतारीको पीपल ढलेछ।
बाटो हिंड्ने बटुवाको,
शीतल ढलेछ...।
ठ्याक्कै अचेल पोखरा क्षेत्रप्रताप अधिकारीका शब्द र सुरेश अधिकारीको संगीतमा शिशिर योगीले स्वर भरेको यो गीत जस्तै छ। कतै चौतारा मासिएका छन्, कतै चौताराका वरपीपल।
पोखरामा सडक र गाडी भित्रिनुअघि भने पैदल हिंडेरै एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्दा बाटामा भेटिने वरपीपलका चौतारोमा बटुवा विश्राम लिंदै लामो सुस्केरा हाल्थे। गर्मीमा शीतल छहारीका लागि होस् वा बिहान-साँझमा गाउँलेहरू बसेर गफिन होस्, चौतारा नै साक्षी हुन्थे। विसं १९५० को दशकअघिको दृश्य हो, यो।
तिब्बत यात्राका लागि १९५५ सालमा नेपाल आएका जापानी बौद्ध भिक्षु एकाई कावागुचीले पनि त्यति वेलाको पोखरा र आसपासको परिदृश्य पुस्तकमा वर्णन गरेका छन्। हिउँदको एक साँझ पोखरा बसेर मुस्ताङ हुँदै तिब्बततिर लागेका कावागुचीको १९६५ सालमा प्रकाशित थ्री इयर्स इन तिब्बत पुस्तकमा पोखरा र आसपासको क्षेत्रको अस्तित्व र सौन्दर्य वर्णित छ।
त्यति वेला चौताराछेउमै पोखरी हुन्थे। गोठालाहरू गाईवस्तुलाई पानी पिलाउँथे र चौतारामा एक झमट निद्रा पुर्याएर घर फर्किन्थे। शीतल हावाले रूखका पात एकअर्कासँग ठोक्किंदा निस्किने ध्वनिले मन्त्रमुग्ध बनाउँथ्यो। कीटपतंगको आश्रयस्थल चौतारामै चराचुरुंगीका चिरबिरको आवाज गुन्जिन्थे।
कास्कीको लाचोकस्थित पीपलको चौतारो। केही दशकअघि पोखरामा रहेका यस्तै चौतारा अहिले देखिंदैनन्।
पछि सडक बन्यो, गाडी चल्न थाले, घर बन्दै गए। गाउँबाट पोखरा शहरमा विकास हुन थालेसँगै वरपीपलका रूख काटिन थाले, चौतारा मासिंदै गए। पोखराको पहिचान बोकेका चौतारा हेर्दाहेर्दै हराए।
आधुनिक पोखरा शहरमा त रूख र चौतारा हटाइँदै गए, कंक्रिटका ठूल्ठूला भवन ठडिंदै आए। शहरमा रहेका रूख र ऐतिहासिक चौताराको संरक्षण गर्दै पूर्वाधार निर्माण हुनुपर्ने भए पनि सन्तुलन कायम नगर्दा चौतारा मासिएको अध्येताहरू बताउँछन्।
चराचुरुंगी र कीटपतंगको आश्रयस्थल त मासिएको छ नै, पोखराको पर्यावरण र सौन्दर्यमा पनि असर परेको छ। “पहिले धर्म भनेकै चौतारा बनाउनु हुन्थ्यो, त्यसैले पोखरामा धेरै चौतारो बने,” इतिहासका अभिलेखकर्ता सुनिल उलक भन्छन्, “त्यति वेला पोखरा बजारभरि निकै चौतारा हुन्थे, अहिले सबै मासिएका छन्।”
प्राकृतिक पंखाको नाश
तत्कालीन पोखरा नगर पञ्चायतको तथ्यांक अनुसार २०३४ सालमा पोखरामा ६३२ चौतारा थिए। विकासले गति लिएसँगै नाशिंदै गए। त्यसको दुई दशकपछि २०५७ सालसम्म आइपुग्दा २७८ मा झरे।
पोखरा-१४ स्थित चौतारो।
पछिल्ला केही दशकमा त चौतारा मासिने क्रम झन बढ्यो। इतिहास अभिलेखकर्ता उलकका अनुसार दुई दशकको अवधिमा पोखराका झन्डै ४४ प्रतिशत चौतारा मासिएका छन्।
समाजशास्त्री डा. जगन्नाथ अधिकारीले गरेको अध्ययन अनुसार २०५७ सालमा पोखरामा २७८ वटा चौतारा रहेको देखिएको हो। त्यसपछि आधिकारिक रूपमा पोखरामा चौताराबारे अध्ययन भएको छैन। तर चौतारा मासिएको प्रस्टै छ।
विकास निर्माण गर्दा प्रकृतिलाई ध्यान नदिएका कारण पोखराका ‘प्राकृतिक पंखा’ मासिएको वनस्पतिशास्त्री कल्याण पन्त बताउँछन्। उनी पीपललाई प्राकृतिक पंखाको संज्ञा दिन्छन्। पीपलका पात हलुका हुन्छन्। एउटा पातलाई हावाले हल्लाएपछि त्यसले अरू पातलाई हल्लाउँदै शीतलता प्रदान गर्ने भएकाले यसले प्राकृतिक पंखाको काम गर्ने पन्तको भनाइ छ।
पीपलको रूख।
गैरजिम्मेवार विकास निर्माणले ऐतिहासिक रूख नाश भएको उनी बताउँछन्। “विकासका बहानामा वातावरणको शोषण तीव्र भएको छ। ऐतिहासिक रूख, चौतारालाई निर्मम तरीकाले काटिएको छ जुन दुःखको विषय हो,” वनस्पतिशास्त्री पन्त भन्छन्।
वरपीपल र चौतारा सांस्कृतिक सम्पदा मात्र नभएर पर्यावरणको अभिन्न अंग पनि रहेको उनी सुनाउँछन्। तर कुनै निकाय जिम्मेवार नहुँदा जोगिन नसकेको उनको भनाइ छ। “बाहिरको अभ्यास रूखलाई असर नपारी बरू बाटो घुमाएर लैजान्छन्, तर हाम्रोमा भने रूख नै काटेर भए पनि बाटो लैजान्छन्। अनेक बहाना बनाएर रूख नै सिध्याउँछन्,” वनस्पतिशास्त्री पन्त भन्छन्।
‘पोखरा नगर पञ्चायत, २०३४’ दिग्दर्शनमा उल्लेख भए अनुसार पोखराका १८ वटा वडामा सबैभन्दा धेरै चौतारा वडा नं. ११ मा ५७ वटा थिए। २०५७ सालसम्म आइपुग्दा २२ वटामा झरेका थिए।
त्यस्तै, सबैभन्दा बढी चौतारा वडा नं. ९ मा मासिएका छन्। २०३४ सालमा ५५ वटा चौतारा रहेको वडा नं. ९ मा २०५७ सालमा जम्मा नौ वटा मात्र बाँकी रहे। अहिले त त्यो संख्या पनि घटेको छ।
त्यति वेला पूर्वाधार निर्माणकै लागि पोखराका चौतारा भत्काइएको जानकारहरू बताउँछन्। वातावरणीय र सौन्दर्य संरक्षणमा बेवास्ता गरेकै कारण चौतारा, वरपीपल मासिए, जुन क्रम अझै जारी छ।
समाजशास्त्री डा. अधिकारीले २०५७ सालमै गरेको शहरीकरण, सरकारी नीति तथा बढ्दो सामाजिक र वातावरणीय समस्याबारे गरेको अध्ययनले पनि पोखरामा विकास निर्माण गर्दा वातावरणीय पक्षलाई बेवास्ता गरिएको देखाएको थियो। पोखराको बढ्दो शहरीकरणको वर्तमान ढाँचाले दिगो विकासलाई प्रवर्द्धन गर्न नसकेको अध्ययनको निष्कर्ष थियो।
वरपीपल मास्न उद्यत सरकार
उहिलेको मात्र होइन, अहिलेको पोखरामा पनि चौतारा र वरपीपल जोगाउनुपर्छ भन्ने सोच देखिंदैन। केही समयअघि मात्र कोटिहोमका लागि भनेर पोखरा वडा नं. ६, १३ र १४ का पुराना चौतारा काटेर ठुटै बनाइएका थिए। पोखरा-६ मा त स्थानीय सरकारको अनुमति लिएर नै रूख काटिएका थिए।
पोखरा-१४ मा ठुटो पारिएका चौतारा।
त्यस्तै, अन्य दुई वडामा पनि अनेक आश्वासन दिएर मानव सेवा फाउन्डेशनले रूख ठुटो बनाएको थियो। फाउन्डेशनले करीब ३३ वटा रूख काटेको महानगरको आकलन छ। रूख काटेकै विषयमा महानगर र फाउन्डेशनबीच बारम्बर नोकझोंक नै चल्यो।
करीब १०० वर्ष पुराना वरपीपल र सिमलका चौताराको महत्त्वलाई बेवास्ता गरी जथाभावी रूपमा ऐतिहासिक रूख काट्नेलाई कारबाही नगरेको भन्दै संरक्षणकर्मी तथा स्थानीय बासिन्दाले चर्को विरोध जनाएका थिए। वरपीपलका रूख काट्नेलाई कानूनी कारबाहीको दायरमा ल्याउनुपर्ने संरक्षणकर्मी बताउँछन्।
तर यस विषयमा लामो समयदेखि अलमल कायम छ। स्थानीय सरकार वा डिभिजन वन कार्यालयमध्ये कसको क्षेत्राधिकारमा पर्ने भन्ने अन्योल छ। अहिले डिभिजन वन कार्यालय, कास्कीले अनुसन्धान गरिरहेको छ।
कोटिहोमका लागि पोखरामा ठुटो पारिएका रूख।
फेवा तालछेउ कोटिहोम गर्न दिन नहुने र रूख काट्नेलाई कानून बमोजिम कारबाही हुनुपर्ने भन्दै यो विषय अदालतमा पुगेको छ। अधिवक्ता भगवती पहारी, कुमारी रानाभाट र गीत आचार्यले उच्च अदालत, पोखरामा दायर गरेको रिट विचाराधीन छ।
यसअघि पनि हाँगा छिमल्ने नाममा पुराना रूख ठुटै पारिएका थिए। पोखरा-१९ मा गत वर्ष बाँदरले दुःख दिएको भन्दै वडा कार्यालयले ‘मेरो रूख, म काट्छु’ अभियान नै चलाएको थियो। चौतर्फी विरोध भएपछि मात्र वडा कार्यालय पछि हटेको थियो।
रूख जोगाउन गण्डकीमा प्रदेश वन ऐन, २०८० र नियमावली, २०८१ कार्यान्वयनमा छन्। अझ २०७५ सालमै प्रदेश सरकारले वरपीपल, सिमल तथा चौतारो संरक्षण ऐन ल्याएको थियो। ऐनमा प्राकृतिक तथा ऐतिहासिक महत्त्वको कुनै वर, पीपल, सिमल र चौतारालाई बिगार्न, मास्न वा हटाउन नपाउनेगरी तोक्न सक्ने व्यवस्था छ। तर कार्यान्वयनको जिम्मेवारी पाएका स्थानीय सरकारले बेवास्ता गर्दा संरक्षण हुन सकेको छैन।
पोखराको नयाँ बजारस्थित वरपीपल चौतारो। अब पोखरामा यस्ता चौतारा छिटपुट मात्रै छन्।
स्थानीय सरकार संवेदनशील नहुँदा पटक पटक हाँगा छिमल्ने नाममा, सडक विस्तार गर्ने लगायत बहानामा ऐतिहासिक रूख हटाइँदै आएको संरक्षणकर्मी रामबहादुर पौडेल सुनाउँछन्। “यसरी तीव्र रूपमा रूख काटिए भोलिका सन्ततिका लागि चौतारा, वरपीपल भन्ने नै रहँदैनन्,” पौडेलको चिन्ता छ।
इतिहासका अभिलेखकर्ता उलक पहिले धर्मका लागि चौतारो बनाउने प्रचलन रहेको सुनाउँछन्। जसले गर्दा पोखरामा धेरै चौतारा बनेका थिए। “पोखरा-८ मा पहिले सिमलका रूख भएकै कारण सिमलचौर भनियो, अहिले त सिमलको रूख नै कम छ,” उनी भन्छन्, “पोखराको पर्स्याङमा आँपको बगैंचा हुने गर्थ्यो। अनि पोखरा बजारभरि निकै चौतारा हुन्थे।”
उति वेला चौतारा बटुवाका लागि सास फेर्ने ठाउँ हुन्थे। स्थानीय बासिन्दाका लागि पनि दुःखसुख साटफेर गर्ने ठाउँ हुन्थे। अहिले गाडी गुड्छन्, सामाजिक सञ्जाल गफिने ठाउँ बनेका छन्। तैपनि चौताराको महत्त्व कम नभएको उलक सुनाउँछन्। “चौताराको हिजोको आवश्यकता एउटा थियो, अहिले तापक्रम नियन्त्रण गर्न, शहरको सौन्दर्य बढाउन, संरक्षणका लागि पनि यसको महत्त्व छ,” उनी भन्छन्।
कास्कीको लाचोकस्थित पीपलको चौतारामा स्थानीय बासिन्दाको जमघट।
उहिले धर्मका लागि वरपीपल रोपिन्थ्यो, अहिले भने पोखरामा धार्मिक संस्थाले नै वरपीपलका रूख निमिट्यान्न पारेको छ। धर्मको विषय टाढा हुँदै गए पनि पर्यावरणका लागि भए पनि चौतारो र वरपीपल जोगाउन जरूरी रहेको संरक्षणकर्मी बताउँछन्। समाजशास्त्री त नयाँ पुस्ताका लागि भए पनि चौतारो जोगाउँदै वरपीपल रोप्नुपर्नेमा जोड दिन्छन्।
चौतारा र वरपीपलको महत्त्व झल्किने गरी राष्ट्रकवि माधवप्रसाद घिमिरेले कविता नै कोरेका छन्। २०३४ सालमा साझा कवितामा संगृहीत ‘वैशाख’ कवितामा घिमिरेले वरपीपल रोप्ने इच्छा नै जाहेर गरेका छन्। अझ पोखरामा त प्राकृतिक सौन्दर्य जोगाउन पनि चौतारो र वरपीपल आवश्यक छन्। राष्ट्रकवि घिमिरेको कविताका पंक्ति यति वेला पोखरेलीका लागि झन् सान्दर्भिक बनेका छन्।
चौतारीमा वरपीपलको बोट नौलो लगाउँ,
छाहारीको तलतिर बसी गीत यौटा म गाउँ।