ब्याजदर लगातार घट्दै, ब्यांकमा थुप्रियो पाँच खर्ब
दुई वर्षअघि उच्च बिन्दुमा पुगेको ब्यांक तथा वित्तीय संस्थाको ब्याजदर पछिल्ला महीनामा लगातार घटिरहेको छ।
२०७९ माघमा वाणिज्य ब्यांकहरूले दिने ऋणको ब्याज सर्वाधिक उच्च बिन्दुमा पुगेको थियो। त्यति वेला वाणिज्य ब्यांकहरूको ब्याजदर सरदरमै १३.०३ प्रतिशत थियो। अप्ठ्यारोमा परेका ऋणीले योभन्दा बढी ब्याजदर तिरेर समेत ऋण लिएका थिए।
त्यति वेला उच्च बिन्दुमा पुगेको ब्याजदर त्यसपछि भने क्रमशः ओर्लिन थाल्यो। यो क्रम अहिलेसम्म जारी छ। नेपाल राष्ट्र ब्यांकका अनुसार गत माघमा वाणिज्य ब्यांकले सरदर ८.५५ प्रतिशतमा ऋण दिइरहेका थिए, जुन ऐतिहासिक रूपमा सस्तो ब्याजदरमध्ये एक हो।
ब्यांक तथा वित्तीय संस्थामा कर्जाको माग शिथिल भएको तथा बचत बढेकाले ऋणको ब्याजदर सस्तिएको हो। यसले ऋण लिने र लगानीकर्तालाई नयाँ अवसर दिएको छ। ब्याजदर सस्तो हुँदा ब्यांकबाट ऋण लिएर लगानी गर्न, घरजग्गा, सवारीसाधन जस्ता सम्पत्ति जोड्न सजिलो हुन्छ।
ब्याजदर उच्च बिन्दुमा पुगेका वेला औद्योगिक-व्यावसायिक क्षेत्रलाई ठूलो धक्का पुगेको व्यवसायीले बताएका थिए। देशमा आयात उच्च भएर विदेशी मुद्राको सञ्चिति तीव्र गतिमा खस्किएपछि राष्ट्र ब्यांकले ब्याजदर बढाउने नीति लिएको थियो। यसले ब्यांकको ऋणको लागत उच्च भई ब्याजदर चर्किएको थियो। पछिल्लो समयमा रेमिटेन्सको आप्रवाहमा वृद्धि तथा कर्जा प्रवाहको सुस्तताले गर्दा ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ।
अहिले ब्यांक तथा वित्तीय संस्थासँग पाँच खर्ब रुपैयाँभन्दा धेरै ऋण लगानी गर्न सक्ने क्षमता भएको बताइन्छ। यद्यपि कर्जाको माग सुस्त छ र ब्यांक तथा वित्तीय संस्थाले थप ऋण विस्तार गर्न सकिरहेका छैनन्।
ऐतिहासिक रूपमा नेपालमा ब्यांक तथा वित्तीय संस्थाले उच्च रूपमा कर्जा प्रवाह गरेका थिए। पछिल्ला तीन दशकमा वार्षिक औसत २० प्रतिशत हाराहारीमा कर्जाको वृद्धि भए पनि बितेका दुई आर्थिक वर्षमा सुस्त छ। आर्थिक वर्ष २०७९/८० मा ४.६ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा ६.१ प्रतिशतले कर्जा बढेको छ। व्यवसायीका अनुसार यो निकै थोरै हो।
कर्जाको प्रवाह बढ्न नसक्नुले ऋण काढेर उद्योग व्यवसाय स्थापना गर्ने प्रवृत्ति शिथिल भएको संकेत गर्छ। साथै, घरजग्गा तथा शेयर बजार जस्ता सम्पत्ति कारोबारका क्षेत्रमा जाने ऋण पनि मुर्झाएको बुझाउँछ।
विगतमा ब्यांक तथा वित्तीय संस्थाले उच्च गतिमा कर्जा प्रवाह गर्दा घरजग्गा बजार चम्किएको थियो। त्यससँगै मूल्य तीव्र गतिमा बढेको थियो। अहिले घरजग्गाको कारोबार मात्रै होइन, मूल्य पनि घटिरहेको छ।
खासगरी केन्द्रीय ब्यांकले कर्जाको दुरुपयोग भएको आशंका सहित चालू पूँजी सम्बन्धी मार्गदर्शन लगायत कर्जा प्रवाहलाई कडाइ गर्ने नीतिहरू अघि सारेको छ, जसले व्यवसायीलाई आवश्यकता र औचित्यभन्दा बढी ऋण लिन रोक लगाएको छ। त्यसै कारण ऋण लिएर घरजग्गा जस्ता क्षेत्रमा खन्याउने प्रवृत्ति रोकिएको छ।
ब्यांकले बचतकर्तालाई दिने ब्याजदर पनि निरन्तर घटाइरहेका छन्। दुई वर्षअघि बचत खातामा औसत ८.५ प्रतिशतसम्म ब्याजदर पाइने गरेकोमा अहिले घटेर पाँच प्रतिशतभन्दा पनि तल ओर्लिएको छ। गत माघमा वाणिज्य ब्यांकहरूको बचत खाताको ब्याजदर औसतमा ४.६२ प्रतिशत मात्र छ।
मुद्दती निक्षेप भनिने लामो अवधिको बचतमा पनि ब्याजदर आधासम्मले घटेको छ। दुई वर्षअघि कतिपय वाणिज्य ब्यांकले बचतकर्तालाई बचतमा १३ प्रतिशतसम्म ब्याज दिएका थिए। त्यो अहिले ६ प्रतिशत हाराहारीमा ओर्लिइसकेको छ।
अर्थशास्त्रीहरू ब्याजदर कम हुनुलाई लगानीमैत्री अवस्था मान्छन्। आर्थिक वृद्धिलाई विस्तार गर्न तथा रोजगारी बढाउन केन्द्रीय ब्यांकले ब्याजदर घटाउने नीति अघि सार्छन्। यसको उल्टो मूल्यवृद्धि दर उच्च भयो भने ब्याजदरलाई कडाइ गरिने खालको कठोर मौद्रिक नीति अघि सारिन्छ।
ब्याजदरको गिरावट सबै क्षेत्रका लागि लाभदायक भने हुँदैन। विशेषगरी, पेन्सन, भत्ता वा निश्चित बचतमा भर परेका व्यक्तिका लागि घट्दो ब्याजदर सुखद कुरा होइन। किनभने ब्यांकमा बचतमा आउने ब्याज रकम घट्न पुग्छ, जबकि त्यसकै हाराहारी वा त्योभन्दा बढी मूल्यवृद्धि हुन्छ। बचतको ब्याजभन्दा मूल्यवृद्धि दर बढी हुँदा रकमको वास्तविक मूल्य घट्न जान्छ।
ब्याजदर घट्ने प्रवृत्ति आगामी महीनामा के हुन्छ, अनुमान गर्न कठिन छ। कतिपय अर्थशास्त्री राष्ट्र ब्यांक कर्जा प्रवाहको गति बढाउने बाटोमा जान नहुने तर्क गर्छन्। सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) सम्बद्ध अर्थशास्त्री डा. विश्वास गौचन राष्ट्र ब्यांकले अत्यधिक कर्जा प्रवाह रोक्न सचेत रहनुपर्ने बताउँछन्।
गौचनका अनुसार उच्च कर्जा प्रवाहको विगतको पाठबाट सिकेर फेरि वित्तीय अस्थिरता ल्याउने बाटोमा जानु हुँदैन। तर व्यवसायी अर्थतन्त्रको शिथिलता अन्त्यका लागि कर्जा प्रवाहमा लचिला नीति अघि सार्नुपर्ने र बढीभन्दा बढी कर्जा वितरणलाई सजिलो पार्नुपर्ने तर्क गर्छन्।