पोखरा कोटिहोम विवाद टुंगियो, महायज्ञका लागि बिरौटा तय
पोखरामा ‘श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ लगाउने स्थान तय भएको छ।
कोटिहोमका लागि स्थान छनोट समितिले पोखरा महानगरपालिका-१७, बिरौटास्थित हरिहरगुफाको जग्गा तय गरेको समितिका सदस्य दिवसमान प्रधानांगले बताए। बरालफी नजीकै रहेको यो जग्गा सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (सिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति)को स्वामित्वमा छ।
हरिहर गुफाकै जग्गामा कोटिहोम लगाउने सहमति जुटेको पोखरा-२ का वडाध्यक्ष समेत रहेका प्रधानांगले बताए। यसमा स्थानीय बासिन्दा पनि सहमत रहेको उनको भनाइ छ।
मानव सेवा फाउन्डेशनले पोखरामा कोटिहोम आयोजना गर्न लागेको छ। यसअघि फाउन्डेशनले पोखराको पर्यटकीयस्थल फेवा तालछेउमा कोटिहोम लगाउन खोजेको थियो।
त्यसका लागि फाउन्डेशनले पोखराका पुराना वरपीपलका रूख समेत काटेको थियो। तर पोखरा महानगरपालिकाले फेवा छेउमा कोटिहोम लगाउन स्वीकृति दिएन। फाउन्डेशनले रूख काटेर जम्मा गरेको काठ पनि महानगरले नियन्त्रणमा लियो।
कोटिहोम विवाद बढ्दै गएपछि झडप भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय, महानगर र फाउन्डेशनको सहमतिमा वैकल्पिक स्थान खोज्न समिति बनेको थियो। पाँच सदस्यीय समितिले हरिहर गुफा तय गरेको हो।