किरणको कीर्तिमान
सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमान बनाएका छन्।
दाङको लमहीमा आइतबार कोशी प्रदेश विरुद्धको खेलमा शतक बनाउँदै ठगुन्नाले एकै सिजनमा दुई शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन्। यसअघि उनले फागुन २६ मा गण्डकी प्रदेश विरुद्धको खेलमा शतक प्रहार गरेका थिए।
अहिलेसम्म एकै सिजनमा दुई शतक प्रहार गर्ने कीर्तिमान त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीको नाममा थियो। उनले गत वर्षको प्रतियोगितामा दुई शतक प्रहार गरेका थिए। ठगुन्नाले आइतबार दोस्रो शतक प्रहार गर्दै भण्डारीसँग बराबरी गरेका हुन्।
आइतबार कोशी विरुद्धको खेलमा छैटौं नम्बरमा ब्याटिङका लागि आएका ठगुन्नाले ९१ बलमा ११५ रन बनाए। उनले १२ चौका र चार छक्का प्रहार गरे।
यसअघि गण्डकी विरुद्धको खेलमा १२१ रन बनाएर उनी अविजित रहेका थिए। उनले १०१ बलमा नौ चौका र ६ छक्का प्रहार गरेका थिए।
गण्डकीले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा उनको शतकीय पारीको मद्दतले सुदूरपश्चिमले सहजै जित हासिल गरेको थियो। सुदूरपश्चिमले गण्डकीलाई ४३ ओभरमा ६ विकेटले पराजित गरेको थियो।
प्रधानमन्त्री कपमा अहिलेसम्म तीन शतक मात्रै लागेका छन्। दुई शतक ठगुन्नाका नाममा छन् भने एक शतक त्रिभुवन आर्मी क्लबका तीर्थराज दासले बनाएका थिए।
आर्मी क्लबका प्रारम्भिक ब्याटर दासले चैत २ मा कोशी विरुद्धको खेलमा शतक प्रहार गरेका थिए। उनी १२९ बलमा ११२ रन बनाउँदै अविजित रहेका थिए। दासले १४ चौका र एक छक्का प्रहार गरेका थिए।
प्रतियोगितामा आइतबारसम्म सबैभन्दा बढी रन बनाउने खेलाडी ठगुन्ना नै हुन्। उनले आठ खेलबाट ३३७ रन बनाएका थिए।
त्यस्तै, आर्मी क्लबका दास दोस्रो नम्बरमा छन्। उनले पनि आठ खेल खेलेर ३३३ रन बनाएका छन्। तेस्रो नम्बरमा रहेका कर्णाली प्रदेशका अर्जुन घर्तीले सात खेलबाट २६८ रन जोडेका छन्।
बलिङमा नेपाल प्रहरी क्लबका ललित राजवंशी शीर्षस्थानमा छन्। उनले सात खेलमा ३० विकेट लिएका छन्।
दोस्रो नम्बरमा त्रिभुवन आर्मी क्लबका शहाब आलमले सात खेलमा २० विकेट लिएका छन्। तेस्रो नम्बरमा कर्णालीका दीपेन्द्र रावतले पनि सात खेलमा २० विकेट लिएका छन्।