‘मुनामदन’ सँगै पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव शुरू
पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव शुरू भएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनमा आधारित नाटक मुनामदनका पंक्ति वाचन गर्दै पोखराका मेयर धनराज आचार्यले शनिबार महोत्सवको उद्घाटन गरेका छन्। पोखरा भ्रमण वर्षको सन्दर्भमा नाटक महोत्सवले महत्त्व राख्ने बताउँदै मेयर आचार्यले पोखरा शहरका लागि यो महोत्सव विशेष रहेको सुनाए।
महोत्सव उद्घाटन समारोहमा साहित्यकार सरुभक्त, कलाकार प्रकाश घिमिरे र दिया मास्के लगायतको उपस्थित थियो। उद्घाटन सत्रमा विविध सांस्कृतिक नृत्य तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पोखरा थिएटरले महोत्सवको आयोजना गरेको हो। महोत्सवमा नेपालका दुई तथा चीन, ट्युनिशिया, नर्वे र जापानका एक-एक नाटक मञ्चन हुनेछन्।
महाकवि देवकोटाको खण्डकाव्य मुनामदनमा आधारित नाटकको मञ्चनसँगै महोत्सवको शुरूआत भएको छ। चैत १२ सम्म चल्ने महोत्सवमा नाटक मञ्चनसँगै नाटक अनुभव आदानप्रदान, रंगकर्मी र कलाकारसँग अन्तरक्रिया तथा सांगीतिक प्रस्तुति पनि रहनेछन्।
चैत १० मा ट्युनिशियाको नाटक एस्च, चैत ११ मा चीनको द चार्मिङ जिन्जु ओपेरा, चैत १२ मा जापानको मास्टर शोको र मार्गरिता नाटकको मञ्चन हुनेछ। प्रत्येक दिन बेलुका ५ बजे पोखरा थिएटरमा नाटक मञ्चन हुने थिएटरका प्रमुख कार्यकारी अधिकृत परिवर्तनले बताए। पोखरालाई सांस्कृतिक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्य महोत्सवको आयोजना गरिएको उनको भनाइ छ।
यसअघि पोखरा थिएटरले २०७५ सालमा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवको आयोजना गरेको थियो।