‘चिन्ता नलिनू, सबै ठीक हुनेछ’
कोरियाली लेखक बेक सीले आफ्नो संस्मरणात्मक कृतिमा मानसिक रोगसँगको संघर्ष बताउँदै जीवनमा खुशी हुनु या निराश हुनु स्वाभाविक यात्रा भएको बताएकी छन्।
मानसिक स्वास्थ्यबारे केही वर्षअघिसम्म विरलै छलफल हुन्थ्यो। अहिले पनि कतिपय समाजमा मानसिक स्वास्थ्यलाई वर्जित विषय सरह मानिन्छ। यसबारे छलफल र कुराकानी त परको कुरा, मानसिक स्वास्थ्यमा समस्या आउनुलाई पागलपनसँग जोडेर हेरिन्छ। तर पछिल्लो समय विशेषतः शहरी समाजमा यसबारे विमर्श बढ्दै गएको छ। डिप्रेशन, एन्जाइटी जस्ता समस्यालाई सामान्य रूपमा लिंदै स्वास्थ्यको संवेदनशील पाटोसँग जोडेर हेर्न थालिएको छ।
केही वर्षयता खासगरी कोभिड महाव्याधिपछि मानसिक स्वास्थ्यबारे साहित्य लेख्न पनि थालिएको पनि छ। दक्षिण कोरियाली लेखक बेक सीले यही विषयमा किताब लेखेकी छन्, आई वान्ट टु डाइ बट आई वान्ट टु इट टकोकी। यो संस्मरण कृतिमा लेखक बेकले आफ्नो मानसिक स्वास्थ्य समस्याबारे आख्यान झैं चाखलाग्दो शैलीमा लेखेकी छन्। कोरियाली भाषाको किताब कोरियाकै लेखक/अनुवादक एन्टोन हुरले सन् २०२२ मा अंग्रेजीमा अनुवाद गरेका हुन्। कोरिया सहित विभिन्न देशमा धेरै बिक्री भएको किताबको विश्वभरि चर्चा छ। डिप्रेशन र एन्जाइटीबारे आत्मीयतापूर्वक चर्चा गरेको भन्दै पाठकको ठूलो समूहले यसको सराहना गरेको थियो।
लेखक बेकले किताबलाई आफ्नो निजी कथा भने पनि व्यक्तिगत मात्र जस्तो लाग्दैन। किनकि मानसिक रोगसँग जुध्नेहरू धेरै छन्, र रोगका कारण जीवन, परिवार र समाजमा झेल्नुपरेका कठिनाइ साझा भोगाइ हुन्। आकारमा सानो भए पनि किताबले मानिसको भावनात्मक र मानसिक यात्रा अनि त्यसमा आएको समस्या बुझ्न सघाउँछ।
मानसिक समस्या भएकाहरू उपचारका लागि मनोचिकित्सककहाँ पुग्छन्। आफ्नो समस्या सुनाएर आवश्यक परामर्श र उपचार सेवा लिन्छन्। तर मानिसहरू मनोचिकित्सक वा परामर्शदातासँगको कुराकानीलाई अति गोप्य मान्छन्। आफ्नो मानसिक समस्याबारे सार्वजनिक स्थान र प्लेटफर्ममा कुरा गर्दैनन्। बेकले भने धेरैले संकोच मानेर लुकाउने कुरा सार्वजनिक गरेकी छन्। बेकले बाल्यकालदेखि नै आफू हल्का डिप्रेशनसँग जुधेको कहेकी छन्। उपचारका लागि मनोचिकित्सककहाँ गएको र त्यहाँ भएको कुराकानीलाई खुलेर प्रस्तुत गरेकी छन्। निजात्मक अनुभव छताछुल्ल पोख्न उनले हिम्मत गर्दा डिप्रेशन जस्तो कठिन अवस्थाबारे बुझ्न पाठकलाई सघाउँछ।
आफूले भोगेको समस्याबारे किताबको भूमिकामा उनले लेख्छिन्, “किताबको भूमिका नै मलाई मन पर्ने सबैभन्दा सुन्दर भाग हो, जसलाई म बारम्बार पल्टाउने गर्छु। म एकदमै निराश भएको वेला पनि साथीले सुनाएको चुट्किला सुनेर मजाले हाँस्ने गर्छु। त्यसपछि पेट खाली भए झैं लाग्छ र टकोकी (लोकप्रिय कोरियाली परिकार) खान बाहिर निस्किन्छु। मलाई त्यति निराशा पनि लाग्दैन, खुशी पनि लाग्दैन। यस्तो लाग्छ, म निराशा र खुशीबीच कतै उभिएकी छु। मलाई थाहै थिएन, यी र यस्तै विरोधाभासमा पनि मानिस बाँच्छन्।”
किताब १६ भागमा विभाजित छ। हरेक भागमा उनले भोगेको निराशाको कथा र त्यसबारे चिकित्सकसँग भएको कुराकानी छ। पहिलो भागलाई उनले ‘स्लाइट्ली डिप्रेश’ नामकरण गरेकी छन्। जसमा उनले आफ्नो डिप्रेशनका लक्षणबारे बोलेकी छन्। आफू चरम निराशाको बिरामी नभई हल्का निराश भइरहने समस्याबाट जुधेको बताएकी छन्। सानैदेखि अन्तर्मुखी र अलि बढी भावुक प्रकृतिकी उनी बिस्तारै निराश हुने बानीबाट कसरी प्रताडित भइन् भन्ने खुलाएकी छन्।
दोस्रो भाग ‘एम आई अ प्याथोलोजिकल लायर’ मा बेक आफ्नो झूटो बोल्ने बानी र पिउने बानीबारे लेख्छिन्। चिकित्सकसँगको कुराकानीपश्चात् उनी भन्छिन्, “जब तिमी कठिन समयमा हुन्छौ, तिमीलाई यो संसारकै सबैभन्दा कठिन समय हो भन्ने लाग्छ। र, त्यस्तो सोच आउनु कुनै अपराध होइन।”
‘आई एम अन्डर कन्स्ट्यान्ट सर्भिलियन्स’ शीर्षक दिइएको तेस्रो भागमा उनले सानैदेखि एकखाले चर्म रोगले सताएको र त्यसले स्वाभिमानमा कस्तो असर पारेको छ भन्ने लेखेकी छन्। उनी लेख्छिन्, “कहिलेकाहीं मलाई लाग्छ, ३५ वर्षीया म २८ वर्षीय मलाई देखेर खुशी छैन। मैले २८ वर्षीया मलाई भेट्न पाए भन्नेछु– ‘सबै ठीक हुनेछ, चिन्ता नलिनू।’ तर त्यो भन्न जति सजिलो छ, त्यसो गर्न त्यति सजिलो छैन।”
किताबको चौथो भाग ‘माई डिजायर टु बिकम स्पेशल इज नट स्पेशल एट अल’ मा उनी आफ्नो साथी बनाउन नसक्ने बानी र त्यसले ल्याएको एक्लोपनबारे बोल्छिन्। अन्त्यमा लेख्छिन्, “मलाई लाग्छ, मलाई माया गर्ने कोही होस्। र, यो पनि चाहन्छु, कोही त्यस्तो होस् जसले मलाई तँ एक्लै बस्नुपर्छ भनेर पनि भनिदियोस्।” यसले उनको साथी पनि चाहने र एक्लो हुन पनि चाहने विरोधाभासपूर्ण बानी बताउँछ।
‘द्याट गडड्याम सेल्फ स्टिम’ शीर्षक राखिएको पाँचौं भागमा बेक आफ्नो अति संवेदनशील हुने बानीबारे लेख्छिन्। आफ्नो यही बानीले उनलाई निराशातर्फ धकेलेको हो भन्ने उनलाई लाग्छ। तर चिकित्सकसँगको कुराकानीपश्चात् उनी लेख्छिन्, “भावना भनेको एकतर्फी बाटो जस्तै हो। तिमीले नराम्रो भावना रोक्यौ भने राम्रो भावना पनि आउँदैन।”
छैटौं भाग ‘ह्वाट शूड आई डु टु नो माइसेल्फ बेटर’ मा उनी आफ्नो लेखाइबारे लेख्छिन्। चिकित्सकसँगको कुराकानीपश्चात् उनले निराशा र खुशीलाई जीवनका आयामका रूपमा मात्र लिनुपर्छ भन्छिन्।
‘रेगुलेटिङ, जजिङ, बिइङ डिसअपोइन्टेड, लिभिङ’ शीर्षकको सातौं भागमा लेखकले आफूले आफैंलाई कठिन रूपमा लिने बानीबारे बोल्छिन्। यस्तै, आठौं भागमा औषधिको असरबारे चिकित्सकसँग भएको कुराकानीबारे लेख्छिन्। नवौं भाग ‘अब्सेसन विथ एपिरेन्स एन्ड हिस्टोरिक पर्सनालिटी डिसअर्डर’ मा बेक आफ्नो शारीरिक बनावट र कस्तो देखिन्छु भन्नेबारे निकै चिन्तित र संवेदनशील रहने विषयमा चर्चा गर्छिन्। चिकित्सकसँगको कुराकानीपश्चात् उनी लेख्छिन्, “म मोटी र कुरूप भए पनि आफूलाई चासो दिएको र माया गरेको देख्न चाहन्छु।”
‘ह्वाई डु यू लाइक मी? विल यू स्टिल लाइक मी इफ आई डु दिस?’ शीर्षक राखिएको दशौं भागमा उनी आफ्नो खस्किँदै गएको स्वाभिमानबारे चिकित्सकसँग कुरा गर्छिन्। कुराकानीपश्चात् उनी भन्छिन्, “महत्त्वपूर्ण कुरा तिमीले माया पाउँछौ वा पाउँदैनौ भन्ने होइन, प्राप्त मायालाई तिमीले कसरी लिन्छौ भन्ने हो।”
एघारौं भाग ‘आई डन्ट लुक प्रिटी’ मा बेक आफूले आफैंलाई नराम्री ठान्ने अनुभूतिबारे चिकित्सकसँग कुरा गर्छिन्। कुराकानीपश्चात् अन्त्यमा भन्छिन्, “तिमीले सोचे झैं चिजहरू खराब हुँदैनन्। मलाई अहिले लाग्छ, मैले त्यस्तो सोच्नु आफूमाथि आफैंले गरेको अन्याय थियो।”
‘रक बटम’ शीर्षक राखिएको बाह्रौं भागमा उनले आफूलाई खराब मानिस ठान्न थालेको अनुभूति आफ्नो चिकित्सकसँग सुनाउँछिन्। अति संवेदनशील हुने आफ्नो बानीले अरूलाई असर पो गर्छ कि भन्नेमा उनी चिन्तित छिन्। तेह्रौं भाग ‘इट्स ओके, दोज हु डन्ट फेस डार्कनेस क्यान नेभर एप्रिसिएट द लाइट’ मा आफूले आफूलाई उज्यालो नजरबाट हेर्नुपर्ने कुरा गर्छिन्।
किताबको चौधौं भाग ‘फर्म वान इनकम्प्लिटनेस टु अनदर’ शीर्षकमा छ, जसमा उनी आफूभित्र रहेका कमजोरी र अपुरोपन केलाउँछिन्। यस्तै, पन्ध्रौं भाग ‘रिफ्लेक्शन्स अन लाइफ फलोइङ थेरापी’ भनिएको छ। यस भागमा बेक आफ्नो थेरापी अनुभवलाई फर्केर हेर्छिन्। आफ्ना तीता-मीठा अनुभव जसले उनलाई निराशातर्फ धकेलेका थिए, त्यसलाई पुर्न विगततिर चिहाउँछिन्।
पुस्तकको अन्तिम भागमा टकोकी कसरी पकाउने र खाने भन्ने रेसिपी दिन्छिन्। शायद उनी पुस्तकको अन्तिम भागमा भन्न चाहन्छिन्, निराश हुनु कुनै असामान्य कुरा होइन, निराश व्यक्तिका पनि आफ्नै इच्छा-आकांक्षा हुन सक्छन्।