पाथीभरा केबलकार विवादको वार्ताबाट समाधान खोज्न अधिकारकर्मीको अपील
मानव अधिकारका क्षेत्रमा क्रियाशील पाँच संस्थाले पाथीभरा केबलकार निर्माण सम्बन्धी विवादको वार्ता र संवादबाट समाधान खोज्न अपील गरेका छन्।
जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, एम्नेस्टी इन्टरन्याशनल नेपालका निर्देशक निराजन थपलिया, न्याय तथा अधिकार संस्था (जुरी-नेपाल)का अध्यक्ष रुकमणि महर्जन, एड्भोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले संयुक्त प्रेस विज्ञप्ति जारी गरी वार्ता र संवादबाट समाधान खोज्न अपील गरेका थिए।
पाथीभरामा केबलकार बनाउन नहुने भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन्। ‘नो केबलकार’ पक्षले लामो समयदेखि प्रदर्शन गर्दै आएको छ। यसक्रममा सुरक्षाकर्मीसँग झडप हुँदा गोली समेत चलेको थियो। गोली लागेर दुई जना घाइते भएका थिए।
सरकार र ‘नो केबलकार’ पक्षले वार्ताका लागि समिति गठन गरेका छन्। केही चरणमा वार्ता भए पनि सहमति जुट्न सकेको छैन।
यसै विषयलाई लिएर मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्थाले ध्यानाकर्षण भएको जनाएका छन्। पाँचै संस्थाको टोलीले केबलकार निर्माण क्षेत्रको स्थलगत अनुगमन पनि गरेका छन्। अनुगमनपश्चात् वार्ता र संवादबाट समाधान खोज्न अपील गरेका हुन्।
अधिकारकर्मीको अपील