ईदको दिन परेका परीक्षा सार्न माग
मुस्लिम समुदायका अगुवाले ईद उल-फित्रको दिन परेका परीक्षा सार्न माग गरेका छन्।
उनीहरूले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन्। त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तर्गत स्नातक तहको दोस्रो सेमेस्टरको अन्तिम परीक्षा ईदको दिन परेको छ। त्यसलाई सार्न माग गरिएको हो।
मुस्लिम समुदायले मनाउने ईद उल-फित्र पर्व चैत १८ वा १९ गते पर्ने उनीहरूले जनाएका छन्। मुस्लिम समुदायका विद्यार्थीलाई समस्या पर्ने भएकाले परीक्षा सार्नुपर्ने उनीहरूको भनाइ छ।
नेपाल सरकारले गत २०८० माघ २९ मा राजपत्रमा प्रकाशित गरेको २०८१ सालका सार्वजनिक बिदामा ईद पनि परेको छ। त्यस दिन देशभर सार्वजनिक बिदा हुन्छ। तर, शैक्षिक संस्थाले सार्वजनिक बिदा हुने गरेको ईदका दिनमा पनि परीक्षा राखेका छन्। ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री भट्टराईले परीक्षा सार्न पहल गर्ने बताइन्।
यसैबीच मुस्लिम समुदायका अगुवाहरूले संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पनि ज्ञापनपत्र बुझाएको अबुल हुसैन अन्सारीले बताए।
यो पनि पढ्नुहोस् : ईदकै दिन परीक्षा : मौलिक हकमाथि प्रहार