दुःखको जञ्जालबाट निस्किन खोज्दा यौनकर्ममा
घरेलु हिंसा, आर्थिक अभावबाट निस्किन खोज्दा यौनकर्ममा लाग्न पुगेका यौनकर्मी महिला थप पीडा र अवहेलना सहनुपरिरहेको सुनाउँछन्।
चिसिंदै गरेको साँझ। घर फर्किने हतारोमा दौडिइरहेका पैताला। फरक फरक गन्तव्यका लागि यात्रु डाकिरहेका आवाज। गाडीको चर्को हर्न र घाइँघुइँले बिथोलिएका चराको उड्ने गति।
घर फर्किनेको भीडमा घरबाट निस्किएको एउटा अधबैंसे अनुहार। त्यही अनुहारको पछि लागेका केही प्रौढको मोलमोलाइ। ती वचनले दिक्दार माया (परिवर्तित नाम)लाई दिक्क मान्ने छूट पनि छैन। यसरी काठमाडौंको रत्नपार्कमा हरेक साँझ ग्राहक पर्खिन थालेको १६ वर्ष बित्यो।
रत्नपार्कको आडमा उभिएर ग्राहक कुरिरहेकी उनी नजीकै एक तन्नेरी आए। करीब उनकै उमेरका थिए। तन्नेरीले प्रश्न गरे, “कति हो?”
“पन्ध्र सय,” उनले उत्तर दिइन्।
तन्नेरीले महँगो भएको बताए। केही बेर ‘बार्गेनिङ’ गरे। अन्तिममा ८०० रुपैयाँ तिर्न तयार भए।
जब उनीहरू बाटो लाग्दै थिए, एकाएक छेउमा उभिएकी तरुनीले ती पुरुषलाई इशारा गरिन्। ती पुरुष एकैछिनमा आकर्षित भए। मोलमोलाइको झन्झटै परेन, “कति?”
“पन्ध्र सय,” जवाफ आयो।
ती तन्नेरी केही नबोली युवतीको पछि लागे। उनी भने अघि ‘बार्गेनिङ’ गरेको सम्झिँदै टोलाइन्। उनले पछिल्ला वर्षहरूमा यस्ता थुप्रै नमीठा अनुभूति सँगालेकी छन्।
अब त उनको उमेर ५० नाघिसक्यो। यौवन छँदा जस्तो ग्राहक भेटिंदैन। भेटिए पनि ‘बार्गेनिङ’ गर्छन्। “पन्ध्र सयबाट बार्गेनिङ शुरू हुन्छ,” उनी भन्छिन् “८०० पाए त खुशीले जान्छु।”
उमेरमा एकै दिन सात जनासँग यौनसम्बन्ध राखेको उनी सुनाउँछिन्। अहिले भने मुश्किलले एक जना भेटिने गरेको उनी बताउँछिन्।
धादिङ घर भएका उनका बुबाआमा काठमाडौंको मखन टोलमा बस्थे। ज्यामी काम गर्थे र चार छोराछोरी पाल्थे। उनी जेठी छोरी हुन्। परिवारको न्यून आयस्रोतका कारण उनको बाल्यकाल त्यति सुखद रहेन।
कान्छो भाइ जन्मिएपछि आमाको मृत्यु भयो। त्यसपछि उनको स्कूले यात्रामा विराम लाग्यो। कक्षा ४ भन्दा माथि पढ्न पाइनन्। बुबा तीन छोराछोरी च्यापेर गाउँ फर्किए। उनी भने यतै ज्यामी काम गर्ने भनेर बसिन्। त्यस वेला १६ वर्षकी थिइन्।
काठमाडौंमै काम गर्दागर्दै सिन्धुपाल्चोकका एक युवकसँग माया बस्यो। उनी रिक्शा चलाउँथे। उनले १८ वर्षको उमेरमा प्रेमीसँग विवाह गरिन्। तर वैवाहिक जीवन सुखद बन्न सकेन।
श्रीमान् कुलतमा फसेका रहेछन्। दिनहुँ झैझगडा गर्न थाले। “कुटाइ नखाएको दिनै हुँदैनथ्यो,” पुराना दिन सम्झिँदै उनी भन्छिन्, “कैयौं रात दूधे बालक च्यापेर पाटीमा सुतेकी छु।”
यसरी उनले १० वर्ष गुजारिन्। यसबीचमा तीन सन्तान जन्मिए।
एकदिन श्रीमान्लाई छाडेर गाउँ जाने निधो गरिन्। सन्तान बोकेर सिन्धुपाल्चोक पुगिन्। त्यसयता श्रीमान्सँग भेट पनि भएको छैन। “श्रीमान् रहे/नरहेको केही खबर छैन,” उनी भन्छिन्।
केही वर्ष सासूससुरासँग बसिन्। गाउँमै मेलापात गरिन्। सासूससुराको मृत्युपछि भने गाउँ बस्न सकिनन्। तीन सन्तान बोकेर पुनः काठमाडौं पसिन्।
दैनिक व्यवहार चलाउन क्याटरिङमा भाँडा माझ्न थालिन्। काम पाएको दिन ठीकै कमाइ हुन्थ्यो। तर मौसमी कामले सन्तान पाल्न मुश्किल हुँदै गयो। एकदिन कामको खोजीमा रहेका वेला एक यौनकर्मीले भनिन्, “तिम्रा छोराछोरीलाई पढाउन सक्नेगरी कमाइ हुन्छ, हिंड।”
शुरूमा त उनी राजी हुन भइनन्। तर महीनामा केही दिन मात्र पाइने ‘क्याटरिङ’ को कामले जीविका चलाउन गाह्रो हुँदै गयो। बिस्तारै ‘छोराछोरीलाई पढाउन पुग्ने कमाइ हुन्छ’ भन्ने वाक्यले तान्यो। अनि यौनकर्मका लागि तयार भइन्। “शुरू शुरूमा निकै गाह्रो भयो,” उनी भन्छिन्, “बिस्तारै बानी पर्दै गयो।”
उनी यौनकर्ममा लागेको १७ वर्ष लाग्यो। यसबीचमा पाएको पीडाले भने उनलाई पिरोलिरहन्छ। यौनकर्मीलाई हेप्ने, अपमान गर्ने गरिएको उनको अनुभव छ। “हाम्रो पीडा बुझ्ने कोही हुँदैन। घरपरिवारले बहिष्कार गर्छ,” उनी भन्छिन्।
माया जस्तै सविता (परिवर्तित नाम) पनि यौनकर्मी हुन्। सुखसयलमै हुर्किएकी उनले विवाहपछि भने अनेक हैरानी झेल्नुपर्यो।१९ वर्षको उमेरमा प्रेमविवाह गरेकी उनले शारीरिक तथा मानसिक यातना भोग्नुपर्यो। जसोतसो तीन वर्ष दुःख सहेरै श्रीमान्सँग बसिन्। त्यसबीचमा एउटी छोरीको जन्म भयो।
पछि श्रीमान्को व्यवहार झन् बिग्रिंदै गयो। “एकदिन राति श्रीमान्को कुटाइ खप्न नसकेर माइतीघर गएँ,” उनी भन्छिन्, “आमा बितिसक्नुभएको थियो। एक वर्षपछि माइतीघरमा पनि बस्न सकिनँ।”
माइतीघरबाट निस्किएपछि उनले केही समय ज्यामी काम गरिन्, कहिले अर्काको घरमा भाँडा माझिन्। हुर्किंदै गरेकी छोरी बोकेर घर बनाइरहेको ठाउँमा काम खोज्न पुग्थिन्।
त्यही क्रममा काठमाडौंकै एक धनाढ्यको घरमा काम गर्न बसिन्। आठ वर्ष काम गरिन्। तर एकदिन साहुनीले आफ्ना श्रीमान्सँग सल्केको बात लगाइन्। अनि त्यहाँबाट पनि निस्किनुपर्यो।
उनले जानेको काम नै घरभित्रको थियो। अर्को घरमा काम खोजिन्। उनको नयाँ घरमा बिजुली थिएन। घर नजीकैको पसलमा मोबाइल चार्जमा छोडेर काममा लागिन्। पसलेले उनका दाजुलाई फोन गरेर भनिदिएछन्, “तेरी बहिनी त शरीर बेच्छे।”
दाजु र दिदीले सोधपुछ गरे। छोरीलाई आफूहरूसँगै लगे। त्यसपछि छोरीसँग भेटघाट गर्न समेत दिएनन्। छोरीसँगको बिछोडले राम्ररी काम गर्न पनि सकिनन्। त्यो घरमा काम गर्न छोडिन्। भौंतारिएर हिंडिरहेका वेला उनको भेट एक यौनकर्मी महिलासँग भयो। त्यसपछि उनी बिस्तारै यौनकर्ममा लागिन्। यौनकर्ममा लागेको दशक भयो।
माया र सविता जस्तै काठमाडौंमा यौनकर्मी महिलाको संख्या ११ हजार रहेको एक सर्वेक्षणले देखाएको छ। नेपालमा यौनकर्मी महिलाको संख्या सम्बन्धी विभिन्न अध्ययनमा फरक फरक तथ्यांक भेटिन्छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले २०७३ सालमा गरेको एक अध्ययन अनुसार नेपालमा ५४ हजार १९७ यौनकर्मी महिला छन्।
त्यस्तै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को एक तथ्यांक अनुसार नेपालमा ६७ हजार ३०० यौनकर्मी महिला छन्। पछिल्लो समय स्वासा नेपाल र जागृति महिला महासंघले गरेको सर्वेक्षणले यो संख्या अझ बढी रहेको देखाएको छ। उनीहरूको सर्वेक्षण अनुसार नेपालमा ८५ हजार यौनकर्मी महिला छन्।
यौनकर्मी महिलालाई समाजले हेर्ने दृष्टिकोण भने राम्रो छैन। प्रहरीले पक्राउ गर्ने, दुःख दिने, सार्वजनिक अपराधको कसूरमा मुद्दा चलाउने, समाज भाँड्ने तत्त्वका रूपमा चित्रण गर्ने गरिएको उनीहरूको गुनासो छ। त्यस्तै, स्वास्थ्य सेवामा पहुँच नहुने गरेको उनीहरू बताउँछन्।
यौनकर्ममा संलग्न महिलाको हकहित र सुरक्षामा लामो समयदेखि क्रियाशील गोरेटो नेपालकी निवर्तमान अध्यक्ष विमला गुरुङ यौनकर्मलाई अपराध मान्न नहुने बताउँछिन्। “यौनकर्मलाई अपराधीकरण गरिएको छ। यौनकर्ममा लागेका महिलालाई लाञ्छना-कलंक लगाइन्छ, हिंसा र भेदभाव गरिन्छ। राज्यले प्रदान गर्ने सेवासुविधामा यौनकर्मीको पहुँच छैन,” उनी भन्छिन्।
त्यस्तै, जागृति महिला महासंघकी कार्यकारी निर्देशक लक्ष्मी रानाभाट यौनकर्मी महिलाले विभिन्न यौनरोगको शिकार हुनुपरेको बताउँछिन्। उनका अनुसार यौनकर्ममा संलग्न महिला यौनजनित रोग एसटीडी, एचआईभी एड्स लगायत स्वास्थ्य समस्याको बढी जोखिममा हुन्छन्।
सुरक्षित यौनसम्पर्कका लागि आवश्यक साधन प्राप्त गर्न कठिनाइ हुने र स्वास्थ्य सेवा लिने क्रममा पनि भेदभाव सहनुपरेको यौनकर्मी सुनाउँछन्। यौनकर्मलाई अपराधको कोटिमा राख्न नहुने उनीहरूको माग छ।
यो पनि पढ्नुहोस्