हिमाली क्षेत्र जोगाउने चिन्ता
हिमनदी पग्लिंदा नेपाल जस्तो सीमित स्रोतसाधन भएको देशमा झनै ठूलो असर पर्ने भएकाले जलवायु परिवर्तनका असरसँग जुध्न हाम्रो आवाज र पहल बढाउन आवश्यक छ।
लक्ष्मण गुरुङ
जलवायु परिवर्तनका असरबीच हिमाली क्षेत्रको हिउँ बचाउने र यसका लागि सरोकारवालालाई झकझक्याउने उद्देश्यले आज शुक्रबार (२१ मार्च) ‘वर्ल्ड ग्लेसियर्स डे’ (विश्व हिमनदी दिवस) मनाइँदै छ। यस सन्दर्भमा जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिले हिमाल र हिमनदी केकसरी संकटमा पर्दै छन् भन्नेबारे यस लेखमा चर्चा गरौं।
गत मंसीरको पहिलो साता गोरखाको पश्चिम भेगको यात्रामा गएको थिएँ। विगत केही वर्षदेखि म देशका विभिन्न स्थानमा गएर हाम्रो कृषि प्रणाली र पानीको स्रोतसँग हिमाल र पर्यावरणको सम्बन्ध के छ, यसमा आदिवासी र रैथाने जीवन अभ्यासले कसरी काम गर्छ भनेर बुझ्ने गरेको छु। गोरखाको पहाडी भेगमा म वास बस्ने घर अगाडि नै लमतन्न थियो धौलागिरि हिमाल। तर राति पुगेकाले देख्न पाइएन।
हिमाल हेर्नकै लागि भोलिपल्ट एकाबिहानै उठें। केही वर्षयता हिमाल र पहाडका सफा अनुहार हेर्न रातभर हिमालदेखि तल थुप्रिएर बस्ने धूलो र धूवाँले हिमाललाई ढाक्नु अगावै मौका छोप्नुपर्छ।
धौलागिरि हेर्दा हिउँ पर्ने समयमा पनि खाली जस्तै देखें। विगत वर्षको तुलनामा हिमालको हिउँ सकिंदै गएको प्रस्ट थियो। कालो पहाड जस्तै देखिन्थ्यो हिमाल।
म उठेको केही समयपछि वास बसेको घरकी आमा उठ्नुभयो र चिया पकाउने सुरसार गर्नुभयो। त्यही मौकामा उहाँसँग घर अगाडि रहेको धौलागिरिबारे जान्ने उद्देश्यले हिउँ रित्तिएकोबारे जिज्ञासा राखें। किनकि रैथाने भएको नाताले त्यस हिमाललाई उहाँले नै बढी चिन्नुहुन्थ्यो।
उहाँले धौलागिरिको हिउँ र यसको दैनिक जीवन, वातावरण र कृषिसँगको सम्बन्ध बताउँदै जानुभयो।
उहाँको अनुभवमा केही दशकअघिसम्म हिमाल वर्षभरि नै बाक्लो हिउँले ढाकिने, बिहानको ३/४ बजे नै हिमालको हिउँले घाम उदाउनु अगावै गाउँ उज्यालो बनाउने, हिउँको चमकले आँखै खाने, असोज अन्तिमदेखि वैशाखको दोस्रो सातासम्म जाडो हुने, जाडोका कारण गाउँमा लामखुट्टेको नामनिशान हुँदैनथ्यो। केही वर्षयता हिमालमा हिउँ रित्तिँदै गएको, गर्मी बढेको, बिहान हिउँले बनाउने उज्यालो हराएको, फागुनबाटै गर्मी बढ्ने र कात्तिकसम्म गर्मी हुने, लामखुट्टे बढेको, गर्मी बढेसँगै मृग र दुम्सी जस्ता जंगली जनावर भागेको, हिउँ सकिएको र चिसो घटेको कारण घरमाथिको जंगलमा ओसिलोपन कम भएको, सुक्खापन बढेर कोदो खेती घटेको जस्ता कुरा पनि उहाँले सुनाउनुभयो।
यस अनुभवमा वैज्ञानिक तथ्य र कारण जोडेर हिउँ, कृषि र पर्यावरणको सम्बन्ध प्रमाणित गर्न नसके पनि उक्त भनाइबाट हिमालको हिउँ रितित्नु र बताइएको घटनाका कारणबीच सम्बन्ध छ भन्ने अनुमान गर्न सकिन्थ्यो।
त्यसो भए विश्वका देशहरूमा भएका हिमाल र बरफीय क्षेत्रमा हिउँको अवस्था कस्तो छ त? केही अध्ययनले निकालेको तथ्य हेरौं। बीबीसीमा १५ फेब्रुअरी २०२५ मा प्रकाशित मार्क पाउन्टिङ र एरवन रिवाउल्टले गरेको अध्ययन प्रतिवेदनमा आर्कटिक समुद्री आइसको घट्दो अवस्था र यसले त्यस क्षेत्रमा पारेको प्रभावबारे जानकारी छ। त्यहाँ उल्लेख भए अनुसार सन् १९८० देखि २०१० सम्म त्यस क्षेत्रमा सात वर्ग मिलियन वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बरफ घटेर २०१० मा आइपुग्दा ४.५ वर्ग किमी क्षेत्रफलमा खुम्चिएको छ। त्यस क्षेत्रमा बरफको सतह पग्लिनु, फैलिनु र घट्नुको प्रमुख कारण विश्वव्यापी बढेको तापक्रम, तातो हावा आदिलाई मानिएको छ।
सगरमाथा क्षेत्रमा पर्ने इम्जा हिमताल बर्सेनि साँघुरिंदै छ। तस्वीर : कुन्द दीक्षित
यस्तै, फाइनान्सियल टाइम्सको १९ फेब्रुअरी २०२५ को अंकमा नेचर जर्नलको अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै यूरोपको बरफीय क्षेत्र आल्प्स र परेनेसले शताब्दीको एकचौथाइभन्दा पनि कम समयमा त्यहाँको कुल बरफको क्षेत्रफलमध्ये करीब ४० प्रतिशत गुमाइसकेको उल्लेख गरिएको छ। तथ्यांक अनुसार उक्त क्षेत्रबाट २७३ बिलियन टन बरफ हराइसकेको छ। यसको कारण पनि बढ्दो तापक्रम र तातो हावालाई नै मानिएको छ। अनुसन्धानमा ग्रीनल्यान्ड र एटलान्टिक क्षेत्रलाई भने समावेश नगरिएको जनाएको छ।
नेपालका हिमालको हिउँ र बरफको अवस्थाबारे पनि अध्ययन तथा अनुसन्धानबाट निस्किएका तथ्य प्रकाशन भएका छन्। पर्यावरण र ग्रह विज्ञान सम्बन्धी जर्नल कम्युनिकेशन अर्थ एन्ड इनभाइरोमेन्टको भोल्युम ५ (सन् २०२४) मा विनोद दवाडी र उनको समूहले नेपालको हिमालमा पग्लिएर हिउँ हराइरहेकोबारे गरिएको अनुसन्धानको निष्कर्ष प्रकाशित छ। उक्त अनुसन्धान लेखले नेपालका हिमालमा हिउँ पग्लिने क्रम विगत वर्षमा भन्दा तीव्र रहेको, जलवायु परिवर्तन र यसबाट सिर्जित कारणले हिमाल र हिमनदी (ग्लेसियर) पग्लिएको, हिउँ पर्ने समयमा परिवर्तन आएको, हिउँ पर्ने दर कम भएको उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सन् २०२३ मा गरेको अध्ययन प्रतिवेदनले जलवायु परिवर्तनका कारण खुम्बु क्षेत्रको थ्यानबो हिमतालको आकार बढिरहेको र फुट्न सक्ने जोखिम रहेको पूर्व जानकारी दिएको थियो। उक्त ताल सन् २०२४ अगस्टमा फुटेर धेरै भौतिक संचरना, कृषि उत्पादन र पर्यटकीय पूर्वाधार नष्ट पारेको थियो। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको हिउँ र हिमतालमा भइरहेको परिवर्तनका कारण हिन्दू-कुश हिमाली क्षेत्रमा बसोबास गर्ने २६ करोड मानिस प्रभावित हुने पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ।
माथि चर्चा गरिएका व्यक्तिको अनुभव र अध्ययनहरूले देखाएको हिमाली क्षेत्र र यूरोपको बरफीय क्षेत्रमा हिउँको अवस्थामा आएको परिवर्तन र घटिरहेको बरफको सतहले जन्माएको प्राकृतिक विपद्, वातावरण र पर्यावरणमा पारेको प्रभाव, पग्लिएको बरफका कारण नदी र समुद्रको पानीको सतहमा आइरहेको बदलाव, यसको कृषि र कृषि समाजमा परेको असर बुझ्न सकिन्छ।
सामान्य रूपमा हेर्दा पनि हिमाली क्षेत्रमा बरफ पग्लिंदाका असर धेरै छन्। कम्युनिकेशन अर्थ एन्ड इनभाइरोमेन्ट जर्नलको भोल्युम ५ (२०२४)मा ताइगाङ झाङ, वेईकाई वाङ र वाओशेङ अनको लेखमा हिमनदी पग्लिएका कारण समुद्रको पानीको सतह बढ्नुका साथै आइस ड्याममा पानीको सतह तथा खाद्य सुरक्षा र पोषणमा असर पर्ने भनिएको छ।
यस्तै, क्लाइमेट एन्ड रिसोर्सेजमा प्रकाशित वैष्णवी चन्द्रशेखरको अनुसन्धान लेखमा हिन्दू-कुश हिमाली क्षेत्रको तापक्रममा आएको परिवर्तनका कारण हिमनदी पग्लिएको र यसको कारण बाढीको जोखिम र पानीको संकट निम्तिने लेखिएको छ। ब्रह्मपुत्र, गंगा र इन्दु नदी वरपर बसोबास गर्ने मानिस जो बरफको पानीको स्रोतमा निर्भर छन् उनीहरू बढी प्रभावित हुनेतर्फ सचेत गराइएको छ। यसबाट नेपाल र भारतमा पनि विशेष गरेर पानी र खाद्यान्न सुरक्षा तथा उत्पादनमा असर पर्नेछ भने नेपालमा जलविद्युत् उत्पादनको लक्ष्यमा प्रत्यक्ष प्रभाव पर्नेछ।
हिमनदी पग्लिंदा नेपाल जस्तो सीमित स्रोतसाधन भएको देशमा यसको असर झनै ठूलो पर्ने पक्का छ। कम हिउँ परेकै कारण हिमाली भेगमा कृषि उत्पादनमा कमी आएको छ। जसको कारण हिमाली भेगको खाद्य सुरक्षामा चुनौती थपिएको छ। गत २०२५ जनवरीको शुरूतिर हिउँ पर्ने मौसममा पनि माछापुच्छ्रे हिउँ पग्लिएर कालो पत्थर जस्तो देखिएको तस्वीर सामाजिक सञ्जाल र केही विदेशी अनलाइन पोर्टलमा व्यापक रूपमा छाएको थियो।
पुसमा पनि हिउँ नपर्दा कालो पत्थर जस्तो देखिएको माछापुच्छ्रे हिमाल। तस्वीर : युनिश गुरुङ
जलवायु परिवर्तनको प्रभावबाट हिमालय क्षेत्रको हिउँ पग्लिंदा विभिन्न संकटमय परिणाम देखिनेछन्। जसमा पर्यावरणीय सन्तुलनमा असर, वातावरणीय प्रदूषण वृद्धि, हिमालको हिउँमा आधारित भई बग्ने नदीको पानीको सतहमा कमी, आकस्मिक बाढी र हिमपहिरो, कृषि क्षेत्रमा असर आदि छन्। यी खराब परिणामबाट सबैभन्दा धेरै प्रभावित हुने पनि कृषिमा निर्भर किसान परिवार, गरीब, सीमान्तीकृत र महिला नै हुन्। खाद्य असुरक्षा र पानी संकटको शिकार पनि तिनै वर्ग हुनेछन् जससँग जलवायु परिवर्तन र यसका असरसँग जुध्ने क्षमता हुँदै हुँदैन।
हिमाल र हिमनदी पग्लिने कारण जन्मिनु र जन्माउनुमा पक्कै पनि नेपाल जस्तो अति कम विकसित राष्ट्रको भूमिका न्यून छ, केही घरेलु कारण बाहेक। जलवायु गडबडी र पृथ्वीको तापमान वृद्धिको घटनामा विकसित र औद्योगिक देशहरूले ऊर्जा उत्पादन गर्न प्रयोग गरेको कोइलाको कारण उत्सर्जन भएको कार्बन, विभिन्न रासायनिक ग्यास बढी जिम्मेवार छन्। तसर्थ यस्ता सम्भावित क्षति र नोक्सानीबाट पर्यावरण, मानव जीवन, पानी र खाद्यान्न आदि जोगाउन हिमालको हिउँ जोगिन जरूरी छ।
जलवायु परिवर्तनका असर र संकटबाट जुध्न यसका कारक पक्ष कम गर्दै लैजाने, समस्या निराकरण गर्ने उपायका लागि प्रविधि र लगानी चाहिन्छ। तर यो नेपाल जस्ता गरीब देशले व्यवस्थापन गर्ने हैसियत राख्दैन। यसका लागि जलवायु र हरित विकासका लागि छुट्याइएको अन्तर्राष्ट्रिय कोषको सहयोग लिन प्रयास गरिनुपर्छ। प्राप्त स्रोत लिएर ज्ञान र प्रविधिको इमानदार प्रयोग गर्नुपर्छ। सोह्रौं योजना (२०८१/८२-२०८५/८६)मा समेटिए अनुसार जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सक्रिय काम गर्नुपर्छ। यसो गर्न चुक्यौं भने नेपालले भविष्यमा धेरै क्षति बेहोर्ने, भूमिहीन, गरीब परिवार बढ्ने र समग्र विकास प्रक्रियामा प्रभाव पर्ने जटिल अवस्था आउन सक्छ। त्यति मात्र होइन, सुशासन र शान्ति कायम गर्न कठिन हुन गई घरेलु कलहको सिर्जना हुन सक्छ।
(लेखक गुरुङ दिगो कृषि विकास र पर्यावरणको क्षेत्रमा काम गर्छन्।)