अन्तर्राष्ट्रिय स्तरमै उम्दा एनजीएस
प्राज्ञिक तथा व्यावसायिक संस्थाहरू राजनीति र व्यक्तिगत स्वार्थका कारण थिलथिलो भइरहेका वेला नेपाल भौगर्भिक समाजले भने आफूलाई अन्तर्राष्ट्रिय तहमै उम्दा संस्थाका रूपमा उभ्याएको छ।
साढे चार दशकअघि ‘देव्यै पृथिव्यै नम:’ भन्ने नाराका साथ पृथ्वीका पत्रहरूको अध्ययनमा संलग्न ३९ भूगर्भविद्ले पेशागत संस्था खोल्ने निर्णय गरे र त्यसको नाम राखे, नेपाल भौगर्भिक समाज (नेपाल जियोलोजिकल सोसाइटी-एनजीएस)।
त्यही एनजीएसले २०३७ सालदेखि भूगर्भशास्त्रका विभिन्न विद्या उपर अध्ययन, अनुसन्धान, जर्नल प्रकाशन, वैज्ञानिक भेला, ज्ञानविज्ञानको चर्चा, प्राज्ञिक बहस लगायत गर्दै आएको छ। पछिल्लो पिढीले अघिल्लो पुुस्ताका अध्येतालाई सम्मान, आदर, कदर गर्दै र नयाँलाई अध्ययन, अनुुुसन्धानमा प्रेरणा भर्दै लम्किरहेको छ।
नेपालमा विज्ञान विद्यासँग जोडिएका विभिन्न संस्था अस्तित्वमा छन्। जस्तो- नेपाल भौतिकशास्त्र समाज, रसायनशास्त्र समाज, नेपाल इन्जिनीयर एशोसिएशन, नेपाल चिकित्सक संघ आदि। संख्या, स्रोत, सामाजिक, आर्थिक, राजनीतिक प्रभाव र पहुँचमा अब्बल देखिएका कतिपय पेशागत संस्था प्राज्ञिक भूमिकामा भने खुम्चिएको देखिन्छ। यस अर्थमा एनजीएसले अन्य संस्थाको तुलनामा उचाइ लिइरहेको देखिन्छ।
ऊर्जा भर्ने जियोलोजिकल कंग्रेस
एनजीएसले गत फागुन २६ र २७ मा एघारौं ‘जियोलोजिकल कंग्रेस’ आयोजना गर्यो। सम्मेलनमा नेपाल सहित भारत, चीन, बेलायत, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, इटाली, पोल्यान्ड, कोरिया, जापान, भूटान, बाङ्लादेश र पाकिस्तानका भूवैज्ञानिक सहभागी थिए। भूगर्भशास्त्रीले सम्मेलनको मुख्य विषयवस्तु ‘जलवायु परिवर्तन अनुकूलन प्राकृतिक स्रोत र भूजोखिम व्यवस्थापनका लागि भूविज्ञान सभा’ माथि विभिन्न १४ वटा सत्रमा छलफल गरे।

२०५६ सालदेखि हरेक दुई वर्षमा यस्तो सम्मेलन आयोजना गर्दै आएको एनजीएसले कोरोनाभाइरसको महामारीको वर्ष पनि भर्चुअल सम्मेलन गरेको थियो। यस्ता सभामा अन्तर्राष्ट्रिय स्तरमा भूवैज्ञानिकको अनुभव, ज्ञान आदानप्रदान हुने, भूविज्ञानका क्षेत्रमा अनुसन्धान र अध्ययनबाट प्राप्त उपलब्धिबारे आपसमा छलफल हुन्छ।
भूविज्ञानका क्षेत्रमा प्राप्त उपलब्धि र प्रयोगबारे विचार-विमर्श हुनेगरी कार्यक्रम बनाइएको एघारौं कंग्रेसका कन्भेनर भूगर्भशास्त्रका प्राध्यापक डा. खुमनारायण पौडेल बताउँछन्। उनका अनुसार कंग्रेसमा ७० वटा कार्यपत्र पेश भएका थिए, जसमा १५ वटा विदेशका थिए।
४४ वर्षदेखि अनवरत जर्नल
प्रत्येक दुई वर्षमा आयोजना हुने कंग्रेसको एघारौं संस्करणमा आइपुग्दा यसले ६८ वटा जर्नल प्रकाशनमा ल्याइसकेको छ। विज्ञान विद्यामा जर्नल प्रकाशनले गहनतम अर्थ राख्छ। एनजीएसले प्रारम्भदेखि नै गहकिला जर्नल प्रकाशित गर्दै आएको भूगर्भविद् आमोदमणि दीक्षित बताउँछन्।
अर्का, भूगर्भविद् प्राध्यापक विशालनाथ उप्रेतीका अनुसार सन् १९८१ देखि जर्नल प्रकाशन शुरू भएको हो। शुरूका केही वर्ष ६-६ महीनामा जर्नल प्रकाशन हुन्थे। त्यसपछि वर्षको न्यूनतम एउटा प्रकाशन गर्ने परम्परा छ।
राजनीतिभन्दा टाढा रहेको र अध्ययन तथा अनुसन्धानमा केन्द्रित भएकाले नै एनजीएसले यो यात्रा तय गरेको उप्रेती बताउँछन्। “जर्नलको सम्पादन, रिभ्यू लगायत सबै काम स्वयंसेवा हो,” उप्रेती भन्छन्, “एनजीएस जर्नलले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको छ।”
४४ वर्षदेखि अनवरत रूपमा जर्नल प्रकाशन हुँदै आएको छ। एनजीएसले जर्नल प्रकाशनका लागि बेग्लै सम्पादकीय टोली बनाएको छ जसमा हिमालयबारे अनुसन्धान गर्ने विदेशीहरू पनि छन्।
पछिल्लो १५ सदस्यीय सम्पादकीय टोलीको नेतृत्व ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनीयर डा. अनन्तमान सिंह प्रधानले गरेका छन्। टोलीमा नेपालका विभिन्न निकायमा कार्यरत ६ जना भूगर्भविद् छन्। त्यस्तै, विदेशी शिक्षण संस्थामा कार्यरत चार नेपाली छन् भने चार विदेशी छन्। जसमा जापानी, अमेरिकी, कोरियाली र जर्मन अनुसन्धाता छन्। “पियर रिभ्यू हुन्छ लेखहरूको। सम्पादकीय टोली बाहिरका विज्ञहरू पनि सहभागी हुन सक्छन्,” दीक्षित सुनाउँछन्।
हिमालयको चलायमान भूसतह, नेपालको भौगर्भिकपन, भौगोलिक अवस्थिति, खनिज र जीवांशको खोजका निम्ति नेपालको हिमालय धेरै अनुुसन्धाताको आकर्षण बनेको दीक्षित बताउँछन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्र ढकाल एनजीएसले उत्साहपूर्ण भएर काम गरिरहेको बताउँछन्। “नेपालमा विज्ञान विद्यामा विभिन्न व्यावसायिक संस्थाहरू छन्, तिनीहरूका कामको तुलना गर्न त मिल्दैन,” ढकाल भन्छन्, “नेपालमा एनजीएसको प्राविधिक योगदान राम्रो छ।”
टोनी हागनको सम्झना
एघारौं कंग्रेसको उद्घाटनका क्रममा अर्को एउटा महत्त्वपूर्ण पुस्तक लोकार्पण गरियो। राष्ट्रपति रामचन्द्र पौडेलले टोनी हागनले पश्चिम नेपालबारे लेखेको रिपोर्ट तथा टिपोटको आधारमा तयार गरिएको रिपोर्ट अन जियोलोजिकल सर्भे अफ नेपाल भाग-३ को लोकार्पण गरे।
सन् १९५० को दशकमा हागनले नेपालको भौगर्भिक अध्ययनको श्रीगणेश गरेका हुन्। नेपालका कुनाकन्दरा पैदल यात्रा गरेर भौगर्भिक, सामाजिक, आर्थिक पाटोबाट अध्यययन गरेका हागनले लेखेका नेपालको भूगर्भबारे दुई वटा पुस्तक प्रकाशित छन्।
हागनले लेख्न थालेको, तर सन् २००३ मा निधन भएपछि रोकिएको रिपोर्ट तथा टिपोटहरू समेटेर भूगर्भविद् विशालनाथ उप्रेतीको सम्पादकत्वमा तेस्रो भाग प्रकाशन भएको हो।
टोनी हागनको पुस्तक विमोचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल।
हागनकी छोरी डा. कार्टिन हागन, जो हागन फाउन्डेशनको संरक्षक हुन्। उनको योगदान र आफ्नो प्रयासबाट पुस्तक प्रकाशन हुन सकेको उप्रेती सुनाउँछन्। “पुस्तक लेख्ने सोच बनाएर केही संकलन गर्न थालिएको मात्र रहेछ। रिपोर्ट, टिपोटहरू पनि कुनै जर्मन भाषामा, कुनै अंग्रेजीमा रहेछन्। ती सबै समेटेर पुस्तकका रूपमा ल्याउन सकियो,” उप्रेती भन्छन्, “हागनले नेपालको भौगर्भिक अध्ययनको प्रारम्भ गरेको योगदानलाई जीवन्त राख्ने प्रयास हो।”
नयाँ र अघिल्ला दुई वटा पुस्तकको स्वामित्व पनि एनजीएससँग छ। टोनी हागनको स्मृतिमा स्थापना गरिएको ‘टोनी हागन मेमोरियल अवार्ड’ पहिलो पटक उप्रेतीलाई प्रदान गरिएको छ।
‘टक सेरिज’ र प्राज्ञिक छलफल
एनजीएसको अर्को कार्यक्रम भनेको ‘एनजीएस टक सेरिज’ हो जसमा हिमालयको भौगर्भिक अध्ययन लगायत विभिन्न विद्याका अनुसन्धाताले अनुसन्धानका क्रममा प्राप्त ज्ञान, आविष्कार, जानकारीमा केन्द्रित रहेर प्राज्ञिक छलफल गर्ने परम्परा बसालिएको छ।
दुई वर्षयता सातौं ‘टक प्रोगाम’ आयोजना गरेको एनजीएसको ‘वेबसाइट’ मा उल्लेख छ। पछिल्लो पटक गत माघ ३ मा चीनको सिचुवान विश्वविद्यालयका एशोसिएट प्रोफेसर डा. विंकविई टिएनले तिब्बतमा आएको भूकम्पबारे प्रस्तुति दिएका थिए।
अहिले एनजीएससँग आबद्ध भूगर्भशास्त्रीको आजीवन सदस्य संख्या एक हजार २०० छ। भूगर्भशास्त्रमा स्नातकोत्तर अध्ययन गरेकाहरू यसको आजीवन सदस्य हुने व्यवस्था छ। संस्थामा विदेशी सदस्य पनि छन्। आजीवन सदस्य बाहेक संस्थाले मानार्थ सदस्यता प्रदान गर्ने गरेको छ, विशेष गरेर हिमालयको भौगर्भिक अध्ययनमा योगदान गरेको आधारमा।
एघारौं कंग्रेसकै क्रममा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक माइक सर्ल र नेपालका वरिष्ठ भूगर्भशास्त्री जगदीश्वरनाथ श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको छ। यस संस्थामा आबद्ध ३५ मानार्थ सदस्यमध्ये १३ विदेशी छन्।
एनजीएस हाँक्ने पहिलो पुस्ताका कतिपयको निधन भइसकेको छ भने बाँकी उमेरका कारण शिथिल बन्दै गएका छन्। अहिले दोस्रो र तेस्रो पुस्तामा एनजीएस पुस्तान्तरण हुनुपर्ने समय आएको छ।
पहिलो पुस्ता जस्तै एनजीएसलाई अगाडि बढाउन दोस्रो र तेस्रो पुस्ताका लागि चुनौती पनि छ। अहिलेसम्म कायम एनजीएसको ‘जिनियस’ प्रयासले निरन्तरता प्राप्त गर्न सक्यो भने एनजीएस कालान्तरसम्म नेपालको विज्ञानसँग सम्बन्धित संस्थाहरूबीच उम्दा भइरहन सक्नेछ।
(पोखरेल स्वतन्त्र पत्रकार हुन्।)