एनसेल फाउन्डेशनद्वारा एनपीएलको चौका बापतको शैक्षिक सामग्री वितरण शुरू
एनसेल फाउन्डेशनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा हानिएका प्रत्येक चौका बापत विद्यार्थीलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीको वितरण शुरू गरेको छ।
यसै कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका तीन विद्यालयमा ४४६ वटा शैक्षिक सामग्री वितरण गरिएको छ। कपिलवस्तु नगरपालिका-१० का राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर विशाखालक्ष्मी खड्काले शैक्षिक सामग्री वितरण गरेका हुन्।
त्यस्तै, राप्ती सोनारी गाउँपालिका-४ मा रहेको बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीलाई १८६ शैक्षिक सामग्री वितरण गरिएको छ। उनीहरूलाई एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले शैक्षिक सामग्री प्रदान गरेका हुन्।
शैक्षिक सामग्रीमा स्कूल ब्याग, कापी, सिसाकलम, इरेजर, कटर लगायत स्टेशनरी सामान समावेश छन्। एनपीएलमा हानिएका ६५३ चौका बापत एनसेल फाउन्डेशनले दुई हजार ६१२ वटा शैक्षिक सामग्री वितरण गर्नेछ।