सुन जस्तै २५ करोडमा पनि कुसाङकै पुर्पुरोमा चोट!
आठ वर्षअघि सात किलो सुन तस्करीमा कमजोर अनुसन्धानका कारण गिरोहका नाइके जोगिए भने कुसाङ लामाले न्यून सजाय पाएका थिए, यस पटक २५ करोड सहित पक्राउ पर्दा पनि त्यही नियति दोहोरिने आशंका गरिएको छ।
गुड्नु ६ रोडमा कमाउनु ६ नोटमा
जिन्दगीको भारी बोक्नु ६ चोटै चोटमा।
प्रहरीले चैत ४ गते राति काठमाडौंको झोरबाट नियन्त्रणमा लिएको ट्रक पछाडि लेखिएका पंक्ति हुन्, यी। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ट्रकबाट २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर सहित चालक कुसाङ लामालाई पक्राउ गरेको थियो। तीन वर्षअघि मात्र कारागारबाट निस्किएका लामाको जीवन ‘ट्रक-साहित्य’ मा जस्तै फेरि चोट खेप्ने बाटोतिर सोझिएको छ।
२५ करोड बरामद गरिएको ट्रक पछाडि लेखिएका पंक्ति।
एकैपटक यति धेरै नगद बरामद गरिएको पहिलो घटना हो। नगद सहित पक्राउ परेका लामाले यसअघि सुन तस्करीको आरोपमा सजाय काटेका थिए। यो ट्रक रसुवागढी-केरुङ जाने तयारीमा रहेको आधारमा प्रहरीले उनी सुन तस्करी गिरोहको सदस्य रहेको दाबी गरेको छ। “हामी सुन तस्करीको पाटोसँग जोडेर अनुसन्धान गरिरहेका छौं,” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेत भन्छन्।
आठ वर्षअघि सुन तस्करीमा जेल पर्दा लामा साहुको गाडी चालक थिए। पाँच वर्ष जेल सजाय काटेर निस्किएपछि उनले आमाको नाममा ट्रक किनेको पाइएको एसएसपी बस्नेत बताउँछन्।
प्रहरीले लामालाई बरामद गरिएको रकम सहित राजस्व अनुसन्धान विभागको जिम्मा लगाइसकेको छ। “अवैध मुद्रा सहित पक्राउ परेकालाई हामीले २४ घण्टाभित्र सम्बन्धित निकायमा बुझाउनुपर्ने भएपछि विभागको जिम्मा लगाइसकेका छौं,” अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्य भन्छन्, “कुसाङ लामाको सम्बन्ध केलाउने प्राविधिक पाटोबाट भने अनुसन्धान गरिरहेका छौं।”
अनुसन्धान संलग्न प्रहरी अधिकारीहरूका अनुसार अवैध सुन सहित पक्राउ परेको विगत र अहिले बरामद रकमको आकारले लामा सुन तस्करी गिरोहको सक्रिय सदस्य रहेको संकेत गर्छ।
जेलबाट निस्किएर फेरि गिरोहमै
यसअघि लामा २०७३ पुस १३ गते राति बा ८ च ७४२० नम्बरको टोयोटा-हाइलक्स पिकअपको एअर फिल्टरभित्र लुकाएर राखेको सात किलोग्राम सुन सहित काठमाडौंमा पक्राउ परेका थिए। तर त्यो सुन कसको थियो भन्ने ‘नेक्सस’ खुलाउन अनुसन्धानकारी निकाय असफल भएका थिए।
पैसा सहित बरामद गरिएको ट्रक।
त्यस वेला सुन तस्करीका घटनामा अहिले जस्तो सजिलै संगठित अपराधको मुद्दा चल्दैनथ्यो। संगठित अपराधमा मुद्दा नचल्ने भएपछि पक्राउ गरेको २४ घण्टाभित्र प्रहरीले राजस्व कार्यालयमा सामान सहित अभियुक्त बुझबुझारथ गर्थ्यो। संगठित अपराधमा अनुसन्धान गर्न नपरेमा अहिले पनि प्रहरीले त्यसै गर्नुपर्छ। लामालाई अहिले जस्तै त्यतिखेर पनि प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो।
सुन तस्करीका घटनामा भरिया तहका व्यक्ति मात्र पक्राउ पर्ने र मालिक उम्काइने गरेको भन्दै प्रहरीको क्षमता र नियतमै प्रश्न उब्जिन थालेपछि २०७१ सालयता केही घटनामा संगठित अपराधमा अनुसन्धान भएको छ। तर सरकारी वकीलको कार्यालयबाटै अवरोध हुन थालेपछि प्रहरीले थोरै परिमाणमा भेटिएका सुनका घटनामा संगठित अपराधमा अनुसन्धान गर्न जाँगर चलाउन छोडेको थियो। त्यस वेला सात किलो सुन सानै परिमाण मानिन्थ्यो।
प्रहरीले राम्ररी अनुसन्धान गरेको एउटा घटना हो, २१ किलोग्राम सुन तस्करी। २०७१ सालमा गरिएको अनुसन्धानमा २१ किलो सुन तस्करीमा सावरमल जोधानी, बालकृष्ण अग्रवाल र आकाशकुमार बज्राचार्य लगानीकर्ता रहेको पाइएको थियो। उनीहरूका लागि काम गर्ने सहयोगी, भरिया सहितको चार तहको गिरोहले सुन तस्करी गरिरहेको तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय)को अनुसन्धानबाट खुलेको थियो।
त्यति वेला गिरोहमा सामेल १४ जनाले चार तहको संरचना खडा गरेर सुन तस्करी गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। तर जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले वस्तुनिष्ठ प्रमाण नभेटिएको भन्दै अभियुक्तलाई जमानतमा छोडेर थप अनुसन्धान गर्न फाइल प्रहरीमै फिर्ता पठाएको थियो।
त्यो २०७२ वैशाख १२ गतेको भूकम्पपछिको समय थियो। सबैको ध्यान विपत्तितिर केन्द्रित भएकोे मौका छोपेर सरकारी वकीलको कार्यालयले अभियुक्तलाई जमानतमा छोड्ने निर्णय गरेको थियो। संगठित अपराधमा मुद्दा नचलाउने निर्णय भएपछि प्रहरीले सामान सहित पक्राउ परेका व्यक्तिहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाएको थियो। लगत्तै विभागले सबैलाई धरौटीमा छोडेको थियो।
यस घटनापछि प्रहरीले ससाना परिमाणमा सुन बरामदका घटनामा संगठित अपराधमा अनुसन्धान गर्नै छोड्यो। “हाइलक्सबाट बरामद सात किलो सुन तस्करीको घटनामा पनि सामान र मान्छे तुरून्तै राजस्व अनुसन्धान विभागमा बुझाएका थियौं,” त्यो घटनाको अनुसन्धान गरेका एक प्रहरी निरीक्षक भन्छन्, “थप ‘नेक्सस’ खोज्ने लेठो गरिएन।”
त्यति वेला लामाले केरुङ-रसुवागढी नाकामा एक जना ‘विदेशी भोटे’ ले काठमाडौंसम्म सामान पुर्याइदिए एक लाख २० हजार रुपैयाँ दिने बताएपछि ल्याइदिएको अनुसन्धानका क्रममा बताएका थिए। अदालतमा पनि त्यस्तै बयान दिए। बरामद सुन तत्कालको बजार भाउ अनुसार तीन करोड १६ लाख २६ हजार रुपैयाँको थियो।
रसुवाको टिमुरेसम्म चलाउने ना २ ख ५१४६ नम्बरको ट्रकमा ‘चीन जान पाउने एक जना ड्राइभरले’ सुन ल्याएको र त्यहाँबाट हाइलक्समा हालेर काठमाडौंसम्म ओसारेको लामाले बताएका थिए। त्यो हाइलक्स सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-६ का इन्द्रलाल श्रेष्ठको थियो। मासिक ७० हजार रुपैयाँ बुझाउने शर्तमा लामालाई भाडामा दिएको श्रेष्ठले अदालतमा बताएका थिए।
तर थप अनुसन्धानको जिम्मा पाएको राजस्व अनुसन्धान विभागले यो गिरोहको ‘नेक्सस’ उधिन्न त परै जाओस्, मुद्दा समेत कमजोर दफा टेकेर लगाएको पाइएको छ। चीन जान पाउने ड्राइभरले टिमुरेसम्म सुन ल्याएको लामाले बताए पनि त्यो ट्रक कसको थियो र चालक को थियो भन्नेसम्म विभागको अनुसन्धानले खुलाउन सकेन।
पछि एक जना ट्रक व्यवसायी प्रमोदराज अधिकारी अदालतमा उपस्थित भएका थिए। आफ्नो ट्रक रोक्का राखेको भन्दै छुटाउन अदालतमा निवेदन दिएका थिए। त्यसपछि मात्रै त्यो ट्रक अधिकारीको रहेको खुलेको थियो। उनको भूमिकाबारे अनुसन्धान नै भएन।
योभन्दा पनि चकित पार्ने त सवा तीन करोड रुपैयाँ बिगो दाबी सहित मुद्दा हालेको विभागले एक करोड रुपैयाँसम्मको बिगोका लागि मात्र सजायको माग गरेको देखिएको छ। भन्सार ऐन, २०६४ को दफा ५७ उपदफा १ को खण्ड ‘ङ’ अनुसारको कसूर लगाइएको थियो।
खण्ड ‘ङ’ मा ५० लाखभन्दा बढी र एक करोड रुपैयाँसम्म बिगोका लागि सजाय तोकिएको हुन्छ। जबकि नेपाल सुनचाँदी व्यवसायी संघले सात किलो सुनको तत्कालीन बजार मूल्य सवा तीन करोड रुपैयाँ हुने भन्दै सनाखत गरिदिएको थियो। त्यही सनाखतलाई बिगो दाबीको आधार मानिएको थियो।
यो बिगो अनुसार खण्ड ‘च’ को कसूर र सजायको माग गर्नुपर्नेमा विभागले तुलनात्मक रूपमा कम सजाय हुने ‘ङ’ अनुसार अभियोग लगाएको थियो। यसमा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। खण्ड ‘च’ मा एक करोड रुपैयाँभन्दा बढी बिगो भएको मुद्दामा दुई वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। अहिले ‘ङ’ र ‘च’ दुवै व्यवस्थाको संशोधन भएको छ।
जिल्ला अदालत, काठमाडौंले २०७४ असारमा लामालाई एक वर्ष कैद र तीन करोड १६ लाख २६ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। हाइलक्स धनी श्रेष्ठलाई भने सफाइ दिएको थियो।
ट्रकमा लगिंदै गरेको डलर।
यस विरुद्ध दुवै पक्ष उच्च अदालत, पाटन पुगेका थिए। उच्चका न्यायाधीशद्वय हरिप्रताप केसी र मुहम्मद साविर हुसैनको संयुक्त इजलासले २०७५ भदौमा जिल्लाकै फैसला सदर गरिदिएको थियो। जरिवाना तिर्न नसकेपछि लामा थप चार वर्ष जेल बसेका थिए। दुवै गरेर पाँच वर्ष जेल सजाय भुक्तानपछि २०७८ मा नख्खु कारागारबाट मुक्त भएका थिए।
जेलबाट छुटेपछि उनी फेरि सुन तस्करीकै गिरोहमा जोडिएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसएसपी बस्नेत बताउँछन्। त्यतिखेर कसूरदार ठहर भएका लामा र सफाइ पाएका श्रेष्ठको ‘नेक्सस’ केलाउन भन्सारले उनीहरूको टेलिफोन सम्पर्कको प्राविधिक अनुसन्धान गरेको थिएन।
ठूलो आर्थिक लाभ हुने संगठित प्रकृतिका अपराधमा सामेल तल्लो तहमा काम गर्ने व्यक्ति पक्राउ परिहालेमा गिरोहका नाइकेले उसको परिवारलाई आर्थिक सहायता दिने गरेका छन्। “कुसाङ लामाले पनि यस्तै आश्वासन मात्र होइन, सुविधा नै पाएको हुन सक्ने आकलन छ,” अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृत भन्छन्, “नत्र फेरि त्यही धन्दामा नजोडिनुपर्ने हो। अहिले त उनी ट्रकका मालिक नै भएका छन्।”
आठ वर्षअघि पक्राउ पर्दा पनि लामाले प्रारम्भिक सोधपुछका क्रममा सुन कसले दिएको र कसलाई दिनुपर्ने भन्ने तथ्य खोलेका थिएनन्। अहिले पनि आफूलाई केही थाहा नभएको बताउँदै आएका छन्। “ट्रक राखेको ठाउँमा कसैले पैसा हालिदिएका हुन्,” लामाको भनाइ उद्धृत गर्दै एक अनुसन्धान अधिकृत भन्छन्, “निकै अड्कलेर मात्र बोल्छन्।”
पहिले सुन सहित पक्राउ परेका लामाको ‘नेक्सस’ केलाउन नसकेको विभागले अहिले पनि यो जालो छिचोल्नेमा शंका उत्पन्न भएको छ। जसले गर्दा फेरि पनि गिरोहका नाइके जोगिने र नगद सहित पक्राउ परेका लामाले नै जेल सजाय भोग्नुपर्ने हुन सक्ने आकलन गरिंदै छ।