सगरमाथामा भारी ओसार्न ड्रोन
अप्ठ्यारा हिमाली क्षेत्रहरूमा सजिलै सामान लैजान सकिने र मानवीय क्षति कम हुने देखिएपछि आरोहण व्यवस्थापनमा संलग्न कम्पनीहरू ड्रोन प्रयोगप्रति आकृष्ट छन्।
सगरमाथा पोलुशन कन्ट्रोल कमिटी (एसपीसीसी)का शेर्पाहरू गत फागुन २१ मा नाम्चे बजार हुँदै सगरमाथा आधारशिविरतर्फ लम्किए। वसन्तकालीन आरोहण शुरू हुनुअघि नै उनीहरूले दोस्रो शिविरसम्मको बाटो तयार पारिसक्नुपर्नेछ। यही बाटोबाट आरोहणका लागि आवश्यक हर सामान शिविरमा पुग्नेछन्। हरेक आरोहण यामको आरम्भमा यो नियमित गतिविधि हो। तर यसपालिको एउटा पृथक्ता के थियो भने, नाम्चेबाट हिंड्नासाथ उनीहरू फोनमा ड्रोन पाइलटहरूलाई भन्दै थिए, “छिटो आउनू, सँगै जानुपर्छ।”
काठमाडौंमा रहेका पाइलटहरू मिलन पाण्डे र राजविक्रम महर्जन भने ड्रोन सञ्चालनको अनुमति लिन गृह मन्त्रालय धाइरहेका थिए। स्टार्टअप ड्रोन कम्पनी एअरलिफ्टका सहसंस्थापक पाण्डे र महर्जन तिनै व्यक्ति हुन्, जसले गत वर्ष सगरमाथाको आधारशिविरबाट पहिलो शिविरसम्म सफल उडान गरेका थिए।
यो परीक्षणमा ड्रोनले पहिलो चरणमा १७ केजी बराबर अक्सिजनका सिलिन्डर बोकेर चार फेरो लगायो। अनि ६ हजार २०० मिटरको उचाइमा पुगेर पहिलो शिविर नजीकै भारी बिसायो। आरोहीलाई उचाइमा अक्सिजनको कमी हुन नदिन यी सिलिन्डर आवश्यक पर्छन्।
सगरमाथामा ड्रोनको परीक्षण उडानका क्रममा।
सगरमाथामा पहिलो चोटि भएको यस्तो प्रयोग चिनियाँ कम्पनी डीजेआईले उत्पादन गरेका दुई वटा फ्लाई कार्ट-३० ड्रोनबाट गरिएको थियो। यसकै लागि कम्पनीका प्रतिनिधि वाङ याङ पनि आएका थिए। परीक्षण सफल भएपछि यिनै ड्रोनले गत वर्ष २९ मे अर्थात् वसन्तकालीन आरोहणको अन्तिम दिन पहिलो शिविरबाट २३४ केजी फोहोर आधारशिविर ल्याए। एसपीसीसीको अनुरोधमा खुम्बु आइसफलबाट १२ वटा भर्याङ पनि ल्याइदिए।
खुम्बु आइसफल जोखिमपूर्ण ठाउँ हो, जहाँ थुप्रैले हिउँ पहिरोमा ज्यान गुमाउँछन्। बाटो बनाउन खटिनेहरूलाई पनि त्यहाँ निकै मुश्किल पर्छ र लामो समय खटिनुपर्छ। त्यहाँ ठूलाठूला हिमदरार हुन्छन् जहाँ भर्याङ राख्ने, डोरी टाँग्ने र हिउँका ढिस्का पन्छाउनेसम्मका काम गर्नुपर्छ।
चौथो शिविरसम्म भारी ओसार्ने शेर्पाहरू खुम्बु आइसफलको बाटो नबन्दासम्म अघि बढ्दैनन्। उनीहरूले आरोहीहरू आउनुअघि नै माथिल्ला शिविरमा खाना, अक्सिजन र अन्य आपत्कालीन सामग्री भण्डारण गरिसक्नुपर्छ। जोखिम क्षेत्रमा बाटो बनाउनेदेखि सामग्री ओसार्नेसम्मका काम शेर्पाहरूले शारीरिक बलकै भरमा गर्दै आएका छन्। तर अब ड्रोनले राहत दिने आशमा छन्।
.jpg)
एसपीसीसी शेर्पाहरूले पाइलटहरूलाई फोन गर्नुको ध्येय पनि त्यही हो। खुम्बु आइसफलमा ड्रोनले सामान पुर्याइदिए उनीहरूले यसकै लागि पटक पटक तलमाथि ओहोरदोहोर गरिरहन पर्दैन। अनि हिउँ पहिरो खसिहाल्ला जस्तो ठाउँमा लामो समय बसिरहनु पनि पर्दैन।
सगरमाथा क्षेत्रमा ड्रोन उपयोगबारे अहिले एसपीसीसी र खुम्बु पासाङल्हामु गाउँपालिकाले एअरलिफ्टसँग समन्वय गरिरहेका छन्। तीव्र गतिमा हिउँ पग्लिएर खुम्बु हिमनदीमा आइरहेको परिवर्तनले खुम्बु आइसफलको बाटो समेत पहिचान गर्न मुश्किल पर्ने गरेकाले अब थ्रीडी नक्शांकन गरेर भविष्यका लागि जीओ कोड तयार गर्ने योजना रहेको कम्पनीका मिलन पाण्डे बताउँछन्। तत्काल चाहिं खुम्बु आइसफलबाट दोस्रो शिविरसम्म बाटो जोडिएपछि ड्रोनबाटै अक्सिजन, औषधि र अन्य अत्यावश्यक सामग्री पुर्याउने एअरलिफ्टको योजना छ। डीजेआई फ्लाई ३० बाट एक पटकमा सामान्यतया ४० केजीसम्म भारी ओसार्न सकिन्छ।
ड्रोनबाट गत नोभेम्बरमा आमादब्लाम हिमालमा पनि फोहोर संकलन गरिएको थियो। पहिलो र दोस्रो शिविरबाट ६४१ केजी फोहोर आधारशिविर ल्याइएको थियो। चट्टानमा रहेको दोस्रो शिविर निकै साँघुरो र अप्ठ्यारो छ जहाँ सात वटाभन्दा बढी टेन्ट अट्दैनन्। पहिलो शिविरबाट त्यहाँ पुग्न डोरीमा ३०-४० मिटर जति झुन्डिनुपर्छ। वरपर हिउँ पग्लिसकेको हुनाले त्यहाँ पानी पनि आधारशिविरबाट जर्किनमा लैजानुपर्छ। अर्कातिर आरोहीका दिसापिसाबको दुर्गन्धले बसिसाध्ये थिएन।
आमादब्लम हिमालबाट ड्रोनको सहयोगमा संकलित फोहोर ।
“त्यस्तो ठाउँमा ड्रोनबाट सजिलै फोहोर संकलन गर्यौं,” ड्रोन पाइलट समेत रहेका एसपीसीसीका दावा जाङ्बु शेर्पा भन्छन्, “हामीलाई हिंडेर त्यहाँ पुग्न ६ घण्टाभन्दा बढी लाग्छ, ड्रोन त ६ मिनेटमै पुग्यो।” ड्रोनले छिनमै सामान ओसार्ने भएकैले यसपटक तल्लो शिविरबाट पठाइएको खाना माथिल्लो शिविरमा रहेकाहरूले तात्तातै खान पाए। “साथीहरूले तलबाट अन्डा, पाउरोटी र पानी पठाए। आइपुग्दा तातै थियो,” दावा जाङ्बु भन्छन्।
आकृष्ट व्यवसायी
सगरमाथाको माथिल्लो क्षेत्रमा आपत्कालीन उद्धारमा बाहेक हेलिकोप्टर प्रयोग गर्न पाइँदैन। हेलिकोप्टरले खुम्बु आइसफल र आसपासको क्षेत्रमा हिमपहिरोको जोखिम झन् बढाइदिन सक्छ। आधारशिविरसम्मै पनि हेलिकोप्टर उडाउन दिने/नदिनेबारे स्थानीय र हेलिकोप्टर व्यवसायीबीच जुहारी चलिरहेको छ। यस्तोमा माथिल्लो भेगमा मानिसले बोकेरै सामान ओसार्नुपर्ने बाध्यता थियो।
यसै कारण खुम्बु आइसफलमा आफ्नो कम्पनीका तीन जना गुमाउनुपरेपछि इम्याजिन नेपालका प्रबन्ध निर्देशक मिङ्मा जी शेर्पा आरोहण व्यवस्थापनमा खटिनेहरूको सुरक्षाका लागि प्रविधिको खोजीमा लागे। सोही क्रममा उनले चीनमा आरोहणमा ड्रोन प्रयोग भइरहेको देखे।
.jpg)
“चीनमा सात हजार ५४६ मिटर अग्लो मुस्तआगा अटा हिमालको दोस्रो शिविरसम्म ड्रोनबाट सामान ओसारपसार गरिंदै थियो। यो काम यति छिटो भइरहेको थियो कि बेसक्याम्पबाट पठाइएको खाना उनीहरू दोस्रो शिविरमा तातै खाइरहेका थिए,” उनी भन्छन्, “यही देखेपछि मलाई जोखिमपूर्ण आइसफलमा किन ड्रोन उपयोग नगर्ने भन्ने लाग्यो।”
त्यसपछि उनले डीजेआई कम्पनीका बाङ याङसँग सम्पर्क गरेर सगरमाथाको दक्षिणी पाटोमा पनि ड्रोन परीक्षण गरिदिन प्रस्ताव राखे। गाउँपालिका अध्यक्षले स्थानीय स्तरमा समन्वय गरिदिए। विषयविज्ञताका हिसाबले एअरलिफ्ट पनि जोडियो। परीक्षणपछि डीजेआईले ती ड्रोन एअरलिफ्टर गाउँपालिकालाई हस्तान्तरण गरेको छ।
.jpg)
ड्रोनले काम सजिलो बनाउने देखिएपछि अब एसपीसीसी र अरू आरोहण कम्पनी आफैं ड्रोनको व्यवस्था गर्न तत्पर देखिएका छन्। अहिले कर्मचारीलाई ड्रोन चलाउन सिकाइरहेका उनीहरू अत्यधिक चिसो ठाउँमा ब्याट्री कत्तिको दिगो रहला भन्नेमा चासो राखिरहेका छन्।
आइसफलमा भारी बोकेर ओहोरदोहोर गर्न जोखिम रहेकाले आफूहरूले पनि ड्रोन किन्ने योजना बनाइरहेको नेपालको सबैभन्दा ठूलो आरोहण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पा बताउँछन्। “हिमालमा काम गर्ने शेर्पाहरूको संख्या पनि कम भइरहेको छ। त्यसैले त्यो ठाउँमा उपयुक्त हुने ड्रोन जसले बनाए पनि किन्न सकिन्छ,” उनी भन्छन्।
हरेक वसन्त याममा करीब १०० जनालाई सगरमाथा आरोहणको व्यवस्थापन गराउने सेभेन समिटले आधारशिविरमा झन्डै ३० हजार केजी सामान ओसार्नुपर्छ। खाना, अक्सिजन र औषधि गरी ६ हजार केजी जति सामान त्यहाँबाट पनि माथि लैजानुपर्छ।
.jpg)
त्यसमध्ये दुई हजार केजी जति कुहिने सामग्री माथि नै छाडिने र बाँकी फेरि आधारशिविरमै फर्काउनुपर्ने कम्पनीले जनाएको छ। “त्यसैले ड्रोनले राम्रो काम गर्ने देखियो भने हामी चार-पाँच वटा नै किन्न सक्छौं,” मिङ्मा भन्छन्।
एसपीसीसीका कार्यकारी निर्देशक छिरिङ शेर्पाले पनि सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनका लागि भविष्यमा आफैंले ड्रोन किन्ने योजना सुनाए। ड्रोन महँगो हुने भएकाले साना आरोहण कम्पनी भने अलमलमा छन्। सगरमाथा क्षेत्रमा आवश्यक पर्ने ड्रोन बाहिरबाट ल्याउँदा एक करोड रुपैयाँ जति लगानी गर्नुपर्छ। पार्टपुर्जा ल्याएर नेपालमै जडान गरिंदा चाहिं त्यसको आधा मूल्य जतिमा कारोबार गर्न सकिने एअरलिफ्टको विश्वास छ।