पत्रकार हाकुजूमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
हिमालखबरकर्मी अजय हाकुजूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका क्रममा मंगलबार पाटन संयुक्त क्याम्पसमा झडप भएको थियो। झडपका तस्वीर खिच्ने क्रममा हाकुजूलाई आक्रमण गरिएको हो।
पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गरी पत्रकार हाकुजूमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। महासंघले भनेको छ, ‘स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि भएको यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादतीका रूपमा लिएको छ।’
आक्रमणमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि पत्रकार महासंघले माग गरेको छ। यससँगै पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन पनि आग्रह गरिएको छ।
यसैबीच नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गरी पत्रकार हाकुजूमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्न गर्न गरेको छ। महासचिव रामचन्द्र अर्याल (आरसी)ले जारी गरेको विज्ञप्तिमा आक्रमणको घटनाको निन्दा गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल कानूनी दायरमा ल्याउन माग गरिएको छ।
