आसनग्रहणलाई ग्रहण लगाऔं
आसनग्रहणको चलन अनुपयुक्त छ, अनावश्यक छ, अव्यावहारिक छ, अशोभनीय छ, असमानतामूलक छ, अर्थहीन छ, असंगत छ, अनर्गल छ, अनुचित छ, अनुत्पादक छ त्यसैले यो त्याज्य छ।
वसन्त थापा
अचेलभरि सर्वत्र एउटा चलन बढेको छ। त्यो हो जुनसुकै सार्वजनिक सभा, समारोह, उत्सव वा कार्यक्रममा अतिथिलाई ‘आसनग्रहण’ गराउने चलन। त्यस्ता कार्यक्रममा विशिष्ट अतिथि हुन्छन्, प्रमुख अतिथि हुन्छन्, सभाध्यक्ष हुन्छन्, अन्य गण्यमान्य अतिथि हुन्छन् अनि सामान्य अतिथिगण (अथवा दर्शक वा श्रोता) हुन्छन्।
त्यस्तो सभासमारोह वा हरेक प्रकारको भेला तब मात्र शुरू हुन्छ जब उनीहरूलाई पालैपालो ओहोदाक्रम अनुसार मञ्चमा ‘आसनग्रहण’ गराइन्छ। कहिलेकाहीं त्यसरी मञ्चमा उक्लिएर आसनग्रहण गर्नेहरूको संख्या उनीहरूका अघिल्तिर दर्शकका रूपमा उपस्थित अन्य अतिथिको भन्दा बढी हुन्छ। यस्तोमा घञ्चमञ्च गर्दै मञ्चमा अतिरिक्त कुर्सी थप्नुपर्ने परिस्थिति पनि पैदा हुन्छ।
आसन त चाहिने नै भयो ग्रहण गर्नलाई। त्यसैले कुर्सी थपिन्छन्। कतिपय अवस्थामा आसनग्रहणकर्ताको कुनै खास भूमिका हुँदैन। उनीहरूलाई केवल शोभा बढाउन मञ्चमा बोलाएर आसन उपलब्ध गराइएको हुन्छ।
कार्यक्रम सञ्चालक वा उद्घोषकद्वारा यसप्रकार मञ्चमा सबैलाई आसनग्रहण गराइरहँदा सामुन्ने पहिलेबाटै आफ्नो आसन जमाएर बसिसकेका जनसामान्य दर्शक निरपेक्षभावमा ताली बजाइरहन बाध्य हुन्छन्। आसनग्रहणको यो कर्मकाण्ड सम्पन्न भएपछि बल्ल शुरूआत हुन्छ वास्तविक कार्यको उपक्रम जसका लागि भेलाको आयोजना गरिएको हुन्छ।
रमाइलो त के छ भने, कसैले बोल्न थाल्दैमा वा भाषण गर्न शुरू गर्दैमा आसनग्रहणको यो सिलसिला टुंगिंदैन। यो क्रम कार्यक्रम अवधिभर अटुट चलिरहन्छ। नियत समयमा नियत ठाउँमा पुग्ने संस्कार त हाम्रो समाजमा विकसित हुन बाँकी नै छ। त्यसैले ‘लेट लतिफ’ भनिने मानिसहरूको हामीकहाँ कमी छैन। त्यस्ता लेट लतिफको सभाकक्षमा आगमन भइरहन्छ जसको हिसाबकिताब मञ्चबाट उद्घोषकले राखिरहेको हुन्छ र मौका पाउनासाथ भन्छ, “भर्खरै पाल्नुभएका फलानाज्यूलाई आसनग्रहणका लागि अनुरोध गर्दछु।”
ढिलो आएकामा लज्जित महसूस गर्नुपर्नेमा त्यो व्यक्ति तालीको गडगडाहटबीच विजयीभावमा आसनग्रहण गर्दछ। ढिलो आएर हिरो पल्टिने मौका आसनग्रहणको घोषणाले उसलाई जो जुराइदिएको हुन्छ।
कहाँबाट कसरी शुरू भएको हो र कसले शुरू गरेको हो समयको अपव्यय गर्ने यो अनौठो चलन, त्यो थाहा भएन। तर यथार्थ के हो भने, यो चलन अचेलभरि देशव्यापी रूपमा फैलेको छ। सभा वा समारोहको प्रकृति राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक जेसुकै हुन सक्छ र आयोजक सरकारी वा गैरसरकारी संघसंस्था जुनसुकै हुन सक्छन्, स्कूल-कलेज वा राजनीतिक पार्टी हुन सक्छन्, तर हरेक आयोजनामा आसनग्रहणको कर्मकाण्ड उस्तै हुन्छ। अनिवार्य र अपरिहार्य उपक्रम बन्न पुगेको छ आसनग्रहण हरेक सभासमारोह र भेलाका लागि। बनमारा झार जसरी फैलेको छ यो देशव्यापी तवरमा।
कसै कसैको भनाइमा आसनग्रहणको यस नौटंकीको बीउ रोप्ने काम जेसीज नामक संस्थाले गरेको हो। देशभरि नै विस्तार भएको छ उद्यमी, व्यवसायी र व्यापारीहरूको यस संस्थाको सांगठनिक सञ्जाल। समाजका खातापिता, पढालेखा, चल्तापुर्जा व्यावसायिक युवाको प्राधान्य रहेको यस्तो संस्थाको अभ्यासबाट जनसामान्य प्रभावित हुनु स्वाभाविक हो र यसको व्यवहारको अनुकरण गरिनु पनि उत्तिकै स्वाभाविक हो। कवि शिरोमणिकै भाषामा भन्नुपर्दा ‘बडाले जो गर्यो काम त्यो हुन्छ सर्वसम्मत’।
उनीहरूको सिको गर्दै अरूले पनि यो अभ्यास थाल्नाले आसनग्रहणको लहर नै चलेको हुन सक्छ र अहिले यहाँसम्म आइपुगेको हुन सक्छ। आसनग्रहणको यस चलनलाई जेसीजले थालेको र व्यापक बनाएको भन्ने यो भनाइ सम्भावनाको दायराभित्र रहेको छ।
हुन पनि आसनग्रहणको यस विचित्र परम्पराको तीतो स्वाद यस पंक्तिकारले आजभन्दा १९/२० वर्षअघि नै पहिलो पटक धरानमा पाएको थियो जेसीजकै संलग्नता रहेको एउटा सार्वजनिक समारोहमा। पंक्तिकार आश्चर्यचकित भएको थियो समारोहको प्रारम्भदेखि समापनको घडीसम्मै चलेको आसनग्रहणको अविराम सिलसिला देखेर। समारोहमा आफ्नै ताल र समयमा ढल्की ढल्की आउने अतिथिहरूको क्रम टुटेको होइन, अनि ती लेट लतिफ अतिथिहरूको सभाहलमा पदार्पण हुनासाथ उद्घोषकले तिनलाई स्वागत गर्न र आसनग्रहण गराउन पनि बिर्सेको होइन।
त्यस समारोहको कामकुरो एकातिर थियो, तर आसनग्रहणको पाखण्डले त्यसलाई ठिमीतिर लगिरहेको थियो। यस्तो प्रतीत हुन्थ्यो, अतिथिहरू समारोहको मूल प्रयोजनसित सम्बन्धित विषयमा सहभागी हुनका लागि नभई केवल आसनग्रहणको सम्मान पाउनलाई आइरहेका थिए।
समय सरासर बर्बाद गर्ने यस्तो स्वाँगे अभ्यासप्रति कुनै पनि विवेकशील व्यक्ति सहमत हुन सक्दैनथ्यो र यस पंक्तिकारलाई पनि चित्त बुझ्ने कुरै थिएन। त्यसैले पंक्तिकारले उसवेला हिमालमा लेख्ने गरेको आफ्नो स्तम्भ ‘ऋतुविचार’ मा त्यस समारोहका सञ्चालक र आयोजकको एक किसिमले आलोचना गरेको थियो आसनग्रहणको त्यस अपाच्य मञ्चन तथा व्यवहारलाई लिएर। स्तम्भमा यसप्रकारको निरर्थक अभ्यासलाई अघि बढाउन नहुने र त्यागिहाल्नुपर्ने सुझाव पनि दिइएको थियो। त्यस टिप्पणीले सम्बन्धित पात्रहरूलाई रूष्ट पार्ने काम मात्र गर्यो, सुझावको वास्ता कसैलाई भएन र उनीहरूको रवैयामा पनि कुनै परिवर्तन आएन।
जेसीज नै आसनग्रहणको यस भद्दा परम्पराको शुरूआतकर्ता हो भनेर ठोकुवा गर्न नमिल्ला, यद्यपि उसको योगदान भने यसमा रहेको कुरा माथिको उदाहरणले देखाउँछ। जे भए पनि अहिले यो परम्परा देशव्यापी रूपमा झाँगिएर यसले नेपाली सांस्कृतिक स्वरूप अख्तियार गरेको छ। यस्तो कुनै सभासमारोह वा भेलाको कल्पना गर्न सकिंदैन जहाँ आसनग्रहण नहोस्।
आसनग्रहणको सबभन्दा ‘क्लासिक’ नमूना यस पंक्तिकारले केही समयअघि रुपन्देही जिल्लाको एउटा गाउँको विद्यालयमा देख्न पायो। त्यहाँ टोनी हागन फाउन्डेशनले ‘नमूना युवा संसद्’ नामको प्रस्तुतिको आयोजना स्थानीय विद्यालयसित मिलेर गरेको थियो। विद्यार्थीद्वारा सांसदको भूमिका खेलेर गरिने एकप्रकारको नाटकको त्यस प्रस्तुति हेर्नलाई अभिभावक, शिक्षकशिक्षिका, पूर्व विद्यार्थी समूह, आमा समूह, युवा समूह, सामाजिक कार्यकर्ता आदि सम्मिलित दर्शकको निकै राम्रो उपस्थिति थियो।
प्रमुख अतिथि थिए गाउँपालिकाका अध्यक्ष जो निर्धारित समयभन्दा केवल डेढ घन्टा ढिला आइपुगे। तिनको प्रतीक्षामा डेढ डेढ घन्टा कुर्नुपरेकामा दर्शक यसै आलसतालस भइसकेका थिए, त्यसमाथि शुरू भयो आसनग्रहणको लामो शृंखला। त्यहाँ उपस्थित हरेक व्यक्तिको पद र ओहोदा सहितको नाम पुकार्दै उनीहरूलाई आसनग्रहण गराउन थालियो। नाम बोलाउँदा पनि मर्यादाक्रमउपर ध्यान पुर्याइएको प्रस्ट हुन्थ्यो, जस्तो पहिले वडाध्यक्षको नाम अनि त्यसपछि वडा सदस्यको नाम। त्यसरी आसनग्रहण गर्नेहरूमा थिए होलान् घटीमा पनि डेढ सय व्यक्ति। आसनग्रहण गर्न नडाकिएकाहरूमा थिए केवल त्यहाँ उपस्थित विद्यार्थी।
अब तपाईं नै भन्नोस्, त्यसरी डेढ डेढ सय व्यक्तिको नाम बोलाउँदा, निजले उठेर नमस्कार गर्दा र आसनग्रहण गर्दा कति समय लाग्यो होला? त्यतिले नपुगेर कार्यक्रम सञ्चालकले पछि आउने अतिथिलाई पनि स्वागत गर्ने र आसनग्रहण गराउने आश्वासन पनि दिए र नभन्दै त्यस्तो गरे पनि।
‘क्लासिक’ भन्न सकिने अर्को एउटा उदाहरण छ रामेछाप जिल्लाको एउटा गाउँको। यो पनि एउटा विद्यालयभित्रै भएको घटना हो, तर हेडमास्टरको कार्यकक्षमा। निकै फराकिलो थियो तिनको कार्यकक्ष- चारैतिर कुर्सी लहरै राख्दा १५-२० जना अटाउने। वडाध्यक्ष, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य आदि र हामी बाहिरबाट गएका अतिथिलाई हेडमास्टरको रोहबरमा आसनग्रहण गराइयो सहायक हेडमास्टरद्वारा हरेक अतिथिको नाम र ओहोदाको छोटो परिचय दिंदै।
अनि त्यसपछि आसनग्रहण गराइसकेका तिनै व्यक्तिहरूलाई फेरि पालैपालो आत्मपरिचय दिन लगाइयो। या त उपस्थित अतिथिलाई आत्मपरिचय दिन लगाउनुपर्थ्यो या छोटो परिचय सहित उनीहरूलाई गराइएको आसनग्रहण नै काफी थियो। दुवै थोक गराउने त्यो तरीका अनावश्यक मात्र होइन हास्यास्पद पनि थियो। तर आसनग्रहण गराउने आदतबाट मजबूर एउटा व्यक्तिले अन्यथा गर्न सक्दैनथ्यो।
यहाँ दुई विद्यालयको उदाहरण प्रस्तुत गरिएको भए पनि यी त केवल प्रतिनिधि घटना हुन्। आसनग्रहणको यो रोग विद्यालयमा मात्र सीमित छैन। शुरूमै उल्लेख भइसकेको छ, समाजका हरेक तप्का, अंग र वर्ग ग्रस्त छ यस रोगबाट। जुनसुकै किसिमको सभासम्मेलन, आयोजन आसनग्रहण विना पूरा हुँदैन, वास्तवमा भन्नुपर्दा शुरू नै हुँदैन।
कुनै पनि सभासम्मेलन वा समारोह समयमा शुरू नहुने अर्को नेपाली रोगको प्रसंग बेग्लै छ। निर्धारित समयभन्दा एक घन्टा पछाडि कार्यक्रम प्रारम्भ हुनुलाई एकदम सामान्य रूपमा लिने गरिन्छ र ‘नेपाली टाइम’ अनुसार समयमा शुरू भएको मानिन्छ। विशेष वा प्रमुख अतिथिको पगरी गुथेर आउने नेता, मन्त्री वा जुनसुकै पद धारण गरेका व्यक्तिहरू अपवादस्वरूप मात्रै कुनै पनि कार्यक्रममा समयमा आइपुग्छन्। मानौं, ढिलो गरेर सामान्य नागरिकलाई कुराउने संवैधानिक अधिकार नै प्राप्त गरेका छन् उनीहरूले।
जस्तो- रुपन्देही जिल्लाको त्यस गाउँपालिकाका अध्यक्ष कार्यक्रममा ढिलो आएर देखाएका थिए। ढिलो आएकामा कुनै सफाइ छैन, कुनै आत्मग्लानि छैन, न अपराधबोध छ न क्षमायाचना। जस्तो- गाउँपालिकाका ती अध्यक्षले आफू ढिला आएकामा न सफाइ दिए न दुःख व्यक्त गरे न त क्षमा नै मागे। फेरि त्यसरी ढिलो आइपुग्ने प्रमुख अतिथिलाई नै हतारो हुन्छ कार्यक्रमस्थल छाड्ने। उनीहरूको सुविधाका लागि कार्यक्रमलाई छोट्याएर टुंग्याउनुपर्ने हुन्छ।
समयलाई अमूल्य त भन्छौं, तर समयको सरासर अपव्यय गरिने यो कस्तो वाहियात परम्परा अँगालेका छौं हामीले आजको गणतान्त्रिक नेपालमा? जुन प्रयोजनका लागि भेला गरिएको हो सोझै त्यो कार्य सम्पन्न गरे भइहाल्यो। जस्तो- कसैको भाषण वा प्रवचन छ भने त्यो होस्, कसैले गीत गाउनु छ भने गाओस्, नाच्नु छ भने नाचोस्, संवाद गर्नु छ भने त्यो गरोस्। जुन कार्यव्यापारका लागि भेला भएको हो त्यो कार्य सम्पन्न गर्यो, काम सकियो। संयुक्त राज्य अमेरिकाका तीसौं राष्ट्रपति क्यालभिन कुलिजले ‘द बिजनेश अफ बिजनेश इज बिजनेश’ भने झैं कामसित कामको मतलब राख्नुपर्छ। व्यर्थमा आसनग्रहणको यो तमाशा किन?
मनोविश्लेषकहरूले के भन्छन् कुन्नि आसनग्रहण गर्न पाएकामा गजक्क पर्ने मनोवृत्तिलाई? शायद केही नभए पनि केही हुँ भन्ने फोस्रो आत्मसन्तुष्टि मिल्छ होला आसनग्रहणकर्तालाई। अनि आसनग्रहण गर्न पाउने र गर्न नपाउनेबीच तथा माथि मञ्चमा अटाइनअटाइ बस्ने र मञ्चको तल बस्ने सामान्यजनबीच देखिने फरक प्रकारान्तरले उही पुरानो फरक हो- माथि र तलको, उँच र नीचको, ठूलो र सानाको। यसलाई सदियौं पुरानो सामन्ती संस्कारकै आधुनिक संस्करणका रूपमा पनि लिन सकिन्छ।
समानता र मानवीय मर्यादा जस्ता शब्दले कुनै अर्थ राख्छन् भने, समयको सदुपयोग गर्ने बानी बसाल्ने हो भने र आफ्नो आचरण र संस्कारलाई आधुनिक युग अनुकूल बनाउने हो भने आसनग्रहणको यो भद्दा चलन जति सक्यो छिटो छाड्नु विवेकसम्मत हुनेछ। यो चलन अनुपयुक्त छ, अनावश्यक छ, अव्यावहारिक छ, अशोभनीय छ, असमानतामूलक छ, अर्थहीन छ, असंगत छ, अनर्गल छ, अनुचित छ, अनुत्पादक छ त्यसैले यो त्याज्य छ।
अब समय भएको छ सबैले ‘आसनग्रहणमाथि ग्रहण लगाऔं’ भन्ने र सोही बमोजिम सामाजिक आचरण सुधार्ने।