काठमाडौंतिर भनिए जस्तो कर्णालीको पछौटेपन र गरीबी देखिएन
कृषि परियोजनाले स्थानीय किसानलाई निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीमा उकासेछ। टनेलमा बेमौसमी तरकारी खेती, अदुवा, बेसार र बहुवर्षीय केरा खेतीबाट स्थानीय किसानको आम्दानी बर्सेनि बढ्दै गएको छ।
तुलसी गौतम
गत कात्तिकमा पंक्तिकार सहितको टोली कर्णालीका जिल्ला कालीकोट र मुगु पुगेको थियो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा ती जिल्लामा सञ्चालित तीनवर्षे जीवनस्तर सुधार र जैविक विविधता संरक्षण सम्बन्धी परियोजनाको स्थलगत मूल्यांकन गर्न समाज कल्याण परिषद्का तर्फबाट हाम्रो टोली त्यहाँ गएको थियो। डेढ वर्षअघि सकिएको परियोजनाको प्रभाव हेर्न कात्तिक २४ गते गएका हामी मंसीर १ मा फर्किएका थियौं।
त्यहाँका ठूल्ठूला नांगा पर्वतका खोंचमा रहेका केही बस्तीमा पुग्दा काठमाडौंतिर भनिए जस्तो कर्णालीको पछौटेपन र गरीबी देखिएन। बरु त्यहाँको मौलिक तर सुधारिएको कृषि र वनजन्य उत्पादनलाई बजारसँग जोड्न र सामाजिक विकासमा जागरण ल्याउन सके कर्णालीमा समृद्धि ल्याउन सकिन्छ भन्ने लाग्यो।
कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ३ को साँते गाउँबाट टोलीले काम शुरू गर्यो। त्यहाँ कृषि प्रविधि अन्तर्गत केरा, आलु, अदुवा, बेसार, खेती गर्न सिकाइएको रहेछ। तथ्यांक समूहका पूर्व अध्यक्ष सीताराम अधिकारीले ५० जनाको कृषि समूहका सदस्यहरूसँग छलफल गरे। छलफलबाट निष्कर्ष निकाले, परियोजना सञ्चालनअघि समूहका सदस्यमध्ये ३२ जना अर्थात् ६४ प्रतिशतका परिवारलाई तीन महीनासम्म खान पुग्थ्यो, परियोजना अन्तर्गत व्यावसायिक रूपमा आलु, बेसार, अदुवा खेती गर्न थालेपछि ६ महीनासम्म खान पुग्यो। यसैगरी, पहिले तीनदेखि ६ महीना मात्र खान पुग्ने १५ जना (३० प्रतिशत) ले परियोजनापछि नौ महीना खान पुगेको र बाँकी तीन जना (६ प्रतिशत)को खेतीबाटै गुजारा चलेको बताइयो।
कृषि परियोजनाले स्थानीय किसानलाई निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीमा उकासेछ। टनेलमा बेमौसमी तरकारी खेती, अदुवा, बेसार र बहुवर्षीय केरा खेतीबाट स्थानीय किसानको आम्दानी बर्सेनि बढ्दै गएको छ।
कालीकोटको शुभकालिका गाउँपालिका-३ को साँते गाउँमा गरिएको केरा खेती।
स्वास्थ्यकर्मीको परीक्षा दिन तयारी गरेका स्थानीय एक युवाले यहाँका किसान मिहिनेती भएको बताए। “किसानहरू आफ्नै बारीमा उमारिएका सागपात खान्छन्, सन्तुलित खाना खान्छन्, त्यसैले निरोगी छन्,” उनले भने।
‘उत्पादन गर्न सिक्यौं, बजार खोइ?’
कृषि परियोजनाका लाभग्राही सबै किसानसँग मीठा अनुभव मात्र रहेनछन्। परियोजनाबाट खेती प्रविधि सिकेर उत्पादनमा लागे पनि बजार नपाएको र विभिन्न प्राविधिक समस्याले वेलावेला दु:ख दिने गरेको गुनासो गर्नेहरू धेरै भेटिए।
शुभकालिका गाउँपालिकाका अगुवा किसान, वडा नम्बर ५ का नन्दराम जैसी धान, मकै खेती गर्न छाडेर तरकारी खेती मात्र गर्छन्। उत्पादित तरकारी आफैं डोकोमा डुलाएर गाउँमै बिक्री गर्छन्। उनले पालिकाबाट फाट्टफुट्ट सहयोग पाएको, कृषि मन्त्रालयको बजेट जिल्ला तहमा नआएको गुनासो गर्दै माथिबाट हेर्न आउनेले फोटो खिचेर लैजाने मात्र काम गरेको भनेर आक्रोश पोखे।
शुभकालिका गाउँपालिका-५, सुकाटियाका केशव बोहरा सुन्तला र कागतीको नर्सरीमा।
यही गाउँपालिकाको वडा नम्बर ५, सुकाटियाको तल्लोबत्तीसमा सुन्तला, कागती, अम्बा, ओखरको नर्सरी बनाउन परियोजनाबाट सहयोग पाएका युवा क्लबका अध्यक्ष केशव बोहराले पनि गुनासो पोखे। परियोजनाको अवधि छोटो भएकाले प्राविधिक कुरा धेरै सिक्न नपाएको बताए। साथै, उत्पादन गरे पनि बजारको अभावले पिरोलेको समेत उनको भनाइ थियो।सुन्तला लटरम्म फले पनि बोकेर मान्म पुर्याउँदा ज्याला पनि नउठ्ने, बस्ती डाँडामा र खेती फेदीतिर हुँदा रेखदेख गर्न गाह्रो पर्ने, चोरी हुने, ओखरको बिरुवा बिक्री नभएको र सिकेको प्रविधि पनि अधकल्चो भएको जस्ता विविध समस्या रहेको उनले बताए। “उत्पादन प्रविधि र बजार व्यवस्थापन दुवै कृषि विकासका लागि अपरिहार्य पाटा हुन्, तर हामीलाई उत्पादन गर्न त सिकाइयो, बजार नै छैन। बजारसम्म लैजान सार्वजनिक गाडी छैन,” उनले भने।
शुभकालिका गाउँपालिका-५ का वडाध्यक्ष मिमबहादुर शाहीले परियोजना प्रभावकारी भएको भन्दै प्रशंसा गरे। उनले पालिकाकै सिफारिश र निर्देशनमा परियोजनाका लाभान्वित समूहको छनोट भएको, पालिकाका उपाध्यक्ष नेतृत्वको टोलीले आयोजनाको अनुगमन र हरेक तीन महीनामा मूल्यांकन गर्ने गरेको, बाल तथा युवा क्लबको जनचेतना अभियानबाट छाउपडी प्रथा, महिला हिंसा र बालविवाह रोकिएको बताए। यसले परियोजना बाहिरका गाउँबस्तीमा समेत सचेतना ल्याएको उनले चर्चा गरे।
परियोजनाको प्रभावबारे टोलीले शुभकालिका गाउँपालिका-५ का वडाध्यक्ष मिमबहादुर शाहीसँग गरेको छलफल।
शुभकालिका-५ का छत्रबहादुर शाहीले चार वर्षअघि स्याउका तीन सय बिरुवा रोपेका रहेछन्। ओखरका करीब सात सय बिरुवा रोपिएको अर्को बगैंचा पनि रहेछ। यी बगैंचाभित्र घुसुवा बाली अदुवा र बेसारले खेती खर्च उठाएका छन्। बन्दाकोभीको पनि खेती गरेका उनलाई बजारको समस्या रहेनछ। किलोको साठी रुपैयाँमा तल्लो भेगमा बिक्री भइरहेको छ। ओखरले उत्पादन दिन थालेपछि सुर्खेत लगेर बिक्री गर्ने योजना रहेको उनले सुनाए।
शुभकालिका गाउँपालिका-५, सुकाटियामा बेसार र सुन्तला खेती।
शुभकालिका गाउँपालिकाको अर्को गाउँ हाउडीमा पुगियो। त्यहाँका किसानले औषधीय गुणयुक्त वनस्पति सतुवा खोज्न वन जाने गरेका स्थानीयहरूले पछिल्लो समय आफ्नै बारीमा यसको खेती गर्न थालेको बताए। राम्रो मूल्य पाउने, व्यापारीहरू घरमै आएर किन्ने र परियोजनाले प्राविधिक सहयोग गर्ने भएपछि किसान सतुवा खेतीमा हौसिएका रहेछन्। जमीनमुनि पिंडालु जस्तै केही लाम्चो फल्ने सतुवा घरायसी उपयोगका साथै घरखर्च टार्न त्यहाँका प्राय: सबैले खेती गरिरहेका छन्। सतुवा खेतीबाट उत्पादन लिन कम्तीमा तीन-चार वर्ष लाग्ने रहेछ। विगतमा किलोकै १२ हजार रुपैयाँका दरले सतुवा खरीद गरेका व्यापारीले अहिले राम्रो भाउ नभएको भन्दै नकिनेपछि उत्पादन थन्किएको किसानले बताए।
शुभकालिका गाउँपालिका-६, हाउडीका किसान उत्पादित सतुवा देखाउँदै। इन्सेटमा सतुवा र त्यसको बीउ।
हाउडी गाउँमा हामीले दूध वा दूध चिया खान खोज्दा पाएनौं। कारण खोजी गर्दा त त्यहाँ गाईबस्तु पालन नभएर होइन, परम्परागत मान्यताका कारण हामीले दूध चिया नपाएका रहेछौं। आफ्ना शाही जाति बाहेकका मानिसलाई दूध खान दिन नहुने र दिएमा देवता रिसाउने मान्यता रहेछ।
त्यहाँबाट हामी मान्म हुँदै मुगुतिर हानियौं। मुगु भन्ने बित्तिकै रारा ताल सबैको रोजाइमा पर्छ नै। हामी पनि एक रात राराकै किनारमा बस्यौं। बिहान तालमा पोखिएको सूर्योदयको लालिमा शब्दमा वर्णन गर्नै नसकिने खालको सुन्दर थियो।
रारा ताल।
हामी गमगढी हुँदै सोरु गाउँपालिकाको सोरुकोटमा वास बस्न पुग्यौं। भोलिपल्ट हाम्रो कार्यक्षेत्र सोरु वडा नम्बर १ को कार्यालयछेउ थियो। परियोजनाका लाभग्राही किसान २०/२५ जना उपस्थित थिए, तर बोल्ने तीन-चार जना मात्र। तीमध्ये धामी पानसिंह नेपालीले दुई-तीन वर्षअघि तालीममा सिकाइए अनुसार नै तरकारी खेती गरिरहेको बताए। महिला समूहकी अध्यक्ष मांग्री शाहीले चाहिएको वेला बीउ र मल नपाइने र गमगढी पुग्दा पनि बीउ पाउन नसकेको गुनासो गरिन्। परियोजनाले बीउ उत्पादन गर्न सिकाएको भए पनि कीराले गर्दा स्वस्थकर बीउ उत्पादन गर्न नसकेको समस्या पनि उनले सुनाइन्।
यस पंक्तिकारले पालिकाको कृषि शाखामा गएर गाउँ गाउँ पुगेर किसानका समस्या बुझ्न कृषिका पूर्व विभागीय कर्मचारीका हैसियतले कृषि अधिकृतलाई सुझाव दिएको थियो। हामीले कृषि विकास गर्ने बाटो त देखायौं, तर माथिबाट त्यसको अनुगमन र सहजीकरण हुन नसक्दा यसको प्रतिफल दूरदराजका किसानले पाउन नसकेकाले विकासे प्रयासको सार्थकतामा प्रश्न उठ्नु स्वाभाविकै हो।
कुरा गर्दै जाँदा मौरीपालक किसानहरूको पनि समस्या रहेछ। मौरीपालन गर्न सिकाएर घार पनि दिएको, सात जना किसानले पालेको तर कीराले मौरी मार्न थालेपछि यसबाट कसरी जोगाउने भन्ने समस्या देखियो। परियोजना आउँछन्, सिकाउँछन् र अवधि सकिएर जान्छन्। परियोजनाले सिकाए अनुसार उत्पादनतिर लाग्ने क्रममा विभिन्न समस्या देखिन थाल्छन्। पंक्तिकारले किसानसँग नजीक भएर बुझे अनुसार यो सरकारी या गैरसरकारी विकास परियोजना सबैतिरको साझा समस्या हो। यद्यपि पानसिंहले भने जस्तै कृषि परियोजनाले किसानलाई बाठो हुन सिकायो, अर्थात् परम्परागत कृषिको बाटोबाट फड्को मारेर आधुनिक खेती गर्न सक्ने बनायो।
सोरुकै कमानसिंह छत्यालले कृषि परियोजनाले आत्मनिर्भर हुन सिकाएको बताए। समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा रहेको उनको पाखो जग्गामा ३०० बोट स्याउ र १५० बोट ओखर रहेछन्। उनका अनुसार बगैंचाका ठूल्ठूला पाटाभित्र सिमी, कोदो, कागुनो, फापर, आलु जस्ता परम्परागत बाली लगाउँदा खान पुगेको छ। परियोजनाले प्रविधि सिकाएर आयआर्जन गर्न सिकाएको, यसकै आधारमा पालिकाले गत वर्ष अगुवा कृषक भनेर ५० हजार नगद पुरस्कार दिएर सम्मान गरेको समेत उनले सुनाए।
गमगढी फर्कने क्रममा सोरुको वडा नम्बर ८ पाल्तीखालमा मुगु कर्णालीको छेउमा १०-१२ वर्षदेखि होटल चलाइरहेकी रेखा खड्का (३६) भेटिइन्। गाउँपालिकाको समन्वयमा एक संस्थाले तालीम दिएपछि ‘होमस्टे’ सञ्चालन गरेकी उनले पाहुनालाई अर्गानिक कृषि उपज खुवाउँदी रहिछन्। उनले आफू राजनीतिक दलका मान्छेबाट ठगिएको पीडा पोखिन्। “चुनाव ताका पार्टीका मान्छे आउँछन्, खान्छन् र हाम्रो पार्टीले चुनाव जितेपछि पैसा दिन्छौं भनेर कापीमा उधारो लेख्छन्। यसो भनेर गएपछि उनीहरू बेपत्ता हुन्छन् र हामी गरीबलाई मार्छन्। उनीहरूलाई कसरी चिन्ने र समाउने?” सोझासाझा मानिसलाई यस्ता घटनाले पनि राजनीतिप्रति वितृष्णा जगाइरहेको देखियो।
वासको राम्रो व्यवस्था भए पनि बस्ने गरी कोही नआउने, दिउँसो खाजा खाने मान्छे पनि थोरै आउने भएकाले लगानी त परको कुरा, ज्याला पनि नउठ्ने रेखाले बताइन्। यस्तो समस्यामाथि ठग्नेहरूले उधारो खाएपछि झनै सकस भएको उनको वेदना थियो।
यसपछि हामी नेपाली भाषाको उद्गम थलो खस साम्राज्यको छेउमा रहेको जुम्लास्थित कनकसुन्दरी मन्दिर, चन्दननाथ मन्दिर र भैरव मन्दिर गएर दर्शन गर्यौं। त्यहाँबाट दैलेखको ज्वालामुखीमाई र पेट्रोलियम अन्वेषण स्थल हेर्दै सुर्खेत झर्यौं र जहाजबाट काठमाडौं आयौं।
कालीकोट र मुगुका गाउँहरू पुग्दा त्यहाँ विकासे चेतना आइसकेको पायौं। कृषिमा उन्नत प्रविधि र ठाउँसुहाउँदो विविधीकरण र व्यवसायीकरण हुन थालेको छ। गैरसरकारी संस्थाहरूले परियोजना सञ्चालन गर्नुअघि गाउँपालिकाको स्वीकृति लिनुपर्ने, उपाध्यक्षको नेतृत्वमा हरेक तीन महीनामा अनुगमन गर्ने, समाज कल्याण परिषद्बाट स्वतन्त्र विषयगत मूल्यांकन परामर्शदाताको नेतृत्वमा प्रभावकारिताको मूल्यांकन गर्ने परिपाटी छ। जुन प्रावधानका कारण ती संस्थाहरूले कमीकमजोरीबाट उन्मुक्ति पाउन नसक्ने प्रबन्ध गरिएको छ। तर हालै नेपाल सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालित परियोजनाहरूको प्रभावकारितामाथि प्रश्न गर्दै यिनको अध्ययन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा अनुगमन टोली बनाउने निर्णय गरेको छ। विज्ञता, संयन्त्रका हिसाबले यो कति उपयुक्त होला? यो कदमले स्थानीय पालिकालाई अविश्वास गरे जस्तो नहोला?
आज कृषि प्रविधि गाउँ गाउँ पुगेको छ। उत्पादनको बजारीकरणका लागि सरकारले संकलन केन्द्र र सहकारी बजारको अवधारणा पनि ल्याएको छ। तर समय अनुसार प्रविधिमा देखा पर्ने समस्याको निराकरण गर्नु र बजार सुनिश्चित गर्नु आजको आवश्यकता हो। तब मात्र कर्णाली सहित सबैतिर विकासे प्रयास सार्थक हुन सक्छ।