कहाँ अड्कियो जनमत-नाउपा एकता?
अध्यक्ष रञ्जिता श्रेष्ठलाई बेवास्ता गरेर रेशम चौधरी सीके राउतसँग मिल्न खोजेपछि जनमत र नाउपाको एकता प्रक्रिया अड्किएको छ।
आन्तरिक विवादले चर्चामा रहँदै आएका दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई पछिल्लो समय एकताको विषयले फेरि चर्चामा ल्याएको छ। दुवै दलबीच एकीकरणका लागि छलफल पनि चलिरहेको छ।
बर्दिबासमा सम्पन्न सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले नाउपासँग एकता गर्न कार्यदल नै बनाएको छ। जनमतको केन्द्रीय कमिटी बैठकको निर्णयमा ‘जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टी सहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न’ कार्यदल गठन गरिएको उल्लेख छ।
जनमतले वरिष्ठ उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा बनाएको कार्यदलमा डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य छन्। नाउपाले भने एकताका लागि आधिकारिक निर्णय गरेको छैन। तथापि जनमतको कार्यदलसँग नाउपा संरक्षक रेशम चौधरी छलफलमा छन्। उनी कार्यदलका संयोजक खानसँगै जनमतका अध्यक्ष राउतसँग पनि छलफल चलाउँदै आएका छन्।
नाउपा संरक्षक चौधरीले त चैत ९ मा एकता हुने भनी आफ्ना नेता तथा कार्यकर्तालाई बताउँदै आएका छन्। हिमालखबरसँगको कुराकानीमा चौधरी नाउपा र जनमतबीचको एकता प्रक्रिया अन्तिम चरणमा रहेको दाबी गर्छन्। “एकताको अन्तिम चरणमा पुगेका छौं, पार्टी नाममा समेत सहमति भइसकेको छ,” उनी भन्छन्।
उनका अनुसार एकीकरणपछि नागरिक जनमत पार्टी नाम राख्ने तय भएको छ। पार्टीको चुनाव चिह्न लगायत अन्य विषयमा सहमतिका लागि छलफल भइरहेको उनको भनाइ छ। “अबको केही दिनमा पार्टी एकीकरण भएपछि चुनाव चिह्न सार्वजनिक गर्नेछौं,” चौधरी भन्छन्।
जनमतका तर्फबाट छलफल गरिरहेका खान पनि एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गर्छन्। यसका लागि तीव्र छलफल भइरहेको उनको भनाइ छ। “जनमत र नाउपाको विचार र सिद्धान्त एउटै छ। विचार र सिद्धान्त एउटै भएकाले दुई पार्टीबीच एकीकरण गर्न लागेका हौं,” खान भन्छन्।
यस विषयमा जनमतका अध्यक्ष राउत र नाउपा संरक्षक चौधरीबीच धेरै विषयमा सहमति भइसकेको उनको भनाइ छ। केही विषयमा सहमति जुटाउन कार्यदलले काम गरिरहेको उनी बताउँछन्। अहिले नाउपाका नेताहरूसँग नियमित छलफल चलिरहेको जनमतका उपाध्यक्ष खान सुनाउँछन्।
पार्टी एकताका लागि छलफलका क्रममा नाउपा संरक्षक रेशम चौधरी र जनमतका अध्यक्ष सीके राउत।
नाउपा संरक्षक चौधरी र जनमत उपाध्यक्ष खानले दाबी गरे जस्तो दुई दलबीच एकता कायम गर्न सजिलो भने देखिंदैन। यसमा नाउपा अध्यक्ष श्रेष्ठ असन्तुष्ट देखिन्छिन्। नाउपा नेताहरूका अनुसार अध्यक्ष श्रेष्ठलाई किनारा लगाउन चौधरीले राउतसँग एकता गर्न खोजेका हुन्। “रेशम चौधरीले पार्टीभित्र अध्यक्ष रञ्जिता श्रेष्ठसँग नसकेपछि एकताको चाल चलेका छन्,” नाउपाका एक नेता भन्छन्, “रञ्जिताजीलाई पनि यो कुरा थाहा छ, उनको सहमति विना एकता सम्भव छैन।”
यता, नाउपाका धेरै नेता पनि एकताका विषयमा सकारात्मक देखिंदैनन्। संरक्षक चौधरीले आफू प्रभावशाली बन्न एकता गर्न खोजेको अर्थमा बुझेका छन्। नाउपाका वरिष्ठ नेता सुरेन्द्र चौधरी जनमतसँग एकता भए धेरैजसो नेता-कार्यकर्ता विपक्षमा उभिने दाबी गर्छन्। “अहिले दुवै पार्टी फुटको सँघारमा छन्। यदि कसैले जनमत र नाउपालाई एकीकरण गरिहाल्यो भने पनि ९० प्रतिशत नाउपाका नेता-कार्यकर्ताले विद्रोह गर्नेछन्,” चौधरी भन्छन्।
पार्टीको साधारण सदस्य समेत नभएको व्यक्तिले एकताका लागि प्रयास गरिरहेकाले नेता तथा कार्यकर्तामा आशंका पैदा भएको उनको भनाइ छ। “नाउपाको साधारण सदस्यको हैसियत नभएको व्यक्तिले एकताको नाममा असाधारण शक्ति प्रयोग गर्न खोज्नु खेदजनक छ,” उनी भन्छन्, “यो कदमले पार्टी एकीकरण नभई दुवै पार्टीमा विभाजन ल्याउनेछ।”
रेशम चौधरी र रञ्जिता श्रेष्ठ पतिपत्नी हुन्। टीकापुर घटनामा चौधरी जेलमा रहेका वेला श्रेष्ठको नेतृत्वमा नाउपा गठन भएको थियो। उनकै नेतृत्वमा नाउपाले चुनाव लडेको थियो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नाउपाले तीन र नाउपाको समर्थनमा एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए। अहिले नाउपासँग चार सांसद छन्। ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा समानुपातिकमा पाएको मत खेर गएको थियो।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएपछि चौधरी २०८० जेठ १५ मा जेलमुक्त भएका थिए। त्यसपछि उनले पार्टीको नेतृत्वमा आउन खोजेका थिए। टीकापुरमा सम्पन्न महाधिवेशनबाट २०८० पुस २७ मा चौधरी निर्विरोध अध्यक्ष चुनिएका थिए। यस कदमबाट श्रेष्ठ सन्तुष्ट भइनन् भने उनी पक्षका नेता निर्वाचन आयोग पुगेका थिए। निर्वाचन आयोगले अध्यक्षमा चौधरीलाई मान्यता दिएन र श्रेष्ठ नै अध्यक्ष बनिन्। त्यसपछि दुवै जनाबीच नेतृत्वको विषयमा विवाद हुँदै आएको छ।
उता, जनमतले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षबाट एक सीट जितेको थियो। जनमत अध्यक्ष राउत सप्तरी-२ बाट निर्वाचित भएका थिए। समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाएकाले पाँच सीट थपिएका थिए। अहिले जनमतका ६ सांसद छन्।
नाउपा अध्यक्ष श्रेष्ठलाई किनारा लगाउन संरक्षक चौधरीले सांसद संख्याको आधारमा जनमतका अध्यक्ष राउतलाई नेतृत्व सुम्पिन खोजेको नाउपाका नेता तथा कार्यकर्ता अड्कल लगाउँदै छन्। यसले पनि नाउपाका नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएका छन्।
चैत ३ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ।
यस्तो असन्तुष्टिबीच जनमत र नाउपाबीच एकता हुन्छ त? हिमालखबरसँगको कुराकानीमा नाउपा अध्यक्ष श्रेष्ठ बाहिर हल्ला गरे जस्तो एकताका लागि छलफल नभएको बताउँछिन्। जनमतसँग एकताका लागि सामान्य छलफल भए पनि कुनै टुंगो नलागेको उनको भनाइ छ। “म पार्टी एकीकरणको विपक्षमा छैन, तर जसरी बाहिर हल्ला फैलाइएको छ, त्यस्तो केही भएको छैन। रेशमजीले चाहेर मात्र पार्टी एकीकरण हुन सक्दैन,” श्रेष्ठ भन्छिन्।
जनमतसँग एकताबारे पार्टीभित्र छलफल नभएको उनी बताउँछिन्। “पहिलो, पार्टीको अध्यक्ष म हुँ, मसँग कुनै ठोस छलफल भएको छैन,” उनी भन्छिन्, “अर्काे, पार्टीभित्र कुनै छलफल भएको छैन। पार्टी कमिटीको सहमति विना एकता सम्भव छैन।”
पार्टीले निर्णय गरेपछि मात्रै एकताका लागि छलफल हुने उनको भनाइ छ। “पहिला हाम्रो पार्टीमा छलफल हुनुपर्यो, सहमति जुट्नुपर्यो। पार्टीले एकता अघि बढाउने अधिकार दिएपछि बल्ल प्रक्रिया अगाडि बढ्छ,” उनी भन्छिन्।
यो कुरा जनमतका अध्यक्ष राउतसँग पनि राखेको उनी सुनाउँछिन्। संरक्षक चौधरीले चैत ९ मा एकता हुने भनेपछि अध्यक्ष श्रेष्ठले चैत ३ मा राउतलाई भेटेको बताउँछिन्। “यति हल्का रूपले छलफल गरेर पार्टी एकीकरण हुँदैन। त्यसका लागि ठोस योजना सहित छलफल गर्नुपर्छ,” श्रेष्ठ भन्छिन्, “मैले पार्टीको सहमति विना एकता गर्न सकिंदैन भनेपछि उहाँ (सीके राउत)ले पनि सहमति जनाउनुभयो। सबैको सहमतिमा मात्र पार्टी एकता हुन्छ।”