मिडिया एक्सन नेपाल बन्यो अन्तर्राष्ट्रिय सञ्जालको सदस्य
मिडिया एक्सन नेपाल सूचना तथा लोकतन्त्र सम्बन्धी अन्तर्राष्ट्रिय नागरिक संस्थाहरूको सञ्जाल ‘कोलिसन अन इन्फर्मेशन एन्ड डेमोक्रेसी’ मा सामेल भएको छ।
फोरम अन इन्फर्मेशन एन्ड डेमोक्रेसी (एफआईडी)को नेतृत्वमा सन् २०२१ मा स्थापना भएको यस सञ्जालमा विश्वभरका ६५ वटा नागरिक संस्था सामेल छन्। यसले विश्वव्यापी सूचना र सञ्चार क्षेत्रमा लोकतान्त्रिक सुरक्षाका उपाय प्रवर्द्धन गरिरहेको छ।
यस सञ्जालमा सामेल भएसँगै मिडिया एक्सन नेपालले सूचना अखण्डता जोगाउने, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने तथा भ्रामक सूचना विरुद्ध लड्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ। मिडिया एक्सन नेपालले मिडिया विकास, पत्रकार सुरक्षा र नीति पैरवीका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
नेपालबाट मिडिया एक्सन नेपाललाई स्वागत गर्दै सञ्जाल तथा एफआईडीका कार्यकारी निर्देशक क्यामिली ग्रेनियरले भने, “सूचना तथा लोकतन्त्रका लागि गठित सञ्जालमा मिडिया एक्सन नेपाललाई स्वागत गर्न पाउँदा खुशी छौं। अभिव्यक्ति स्वतन्त्रता र सूचना प्राप्तिको अधिकार प्रवर्द्धन गर्ने मिडिया एक्सन नेपालको प्रतिबद्धता, विश्वव्यापी सूचना तथा सञ्चार क्षेत्रमा लोकतान्त्रिक सुरक्षाका उपायहरू कार्यान्वयनका लागि हाम्रो सामूहिक प्रयाससँग मेल खान्छ।”
सञ्जालको सदस्य भएपछि मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले मिडिया विकासलाई प्रवर्द्धन गर्ने र प्रेस स्वतन्त्रताको रक्षा गर्ने गहिरो प्रतिबद्धता बोकेको संस्थाका रूपमा विश्वव्यापी सञ्जालमा सामेल हुन पाउँदा सम्मानित महसूस गरेको बताए।