‘ज्ञानेन्द्रलाई दूध खुवाएर पाल्यौं, अहिले फणा उठाउन खोजिरहेका छन्’
‘गणतान्त्रिक व्यवस्थामा आएर राजतन्त्रको कुरा गर्न त लोकतन्त्रमा मात्र सम्भव छ। राजतन्त्रमा त बोल्न पनि पाइँदैन। तर लोकतन्त्र भन्दैमा जे पाए त्यही बोल्ने छूट हुँदैन।’
केही दिनयता सडक र सामाजिक सञ्जालमा ‘राजा आऊ देश बचाऊ’ नाराबाजी चलिरहेको छ। यो अराजक भीडले देशको प्रधानमन्त्रीलाई ‘..चोर देश छाड’ भन्दै वातावरण उत्तेजित बनाइरहेको छ। सयौं वर्षसम्म जनतालाई ‘रैती’ बनाई पशुवत् व्यवहार गर्ने तन्त्रको माग गर्दै उक्साउनेहरू त्यस्ता पात्रहरू हुन्, जसलाई तिनले ‘रामराज्य’ ठानेको तन्त्रमा चुइँक्क बोल्दा समेत गोलीको शिकार बनाइन्थ्यो। तिनले विष्णुको अवतार मान्ने नाइकेको अगाडि उभिंदा ‘सर्वस्वहरण’ मा परिन्थ्यो। जनतालाई शिक्षादीक्षाको माग राख्दा चारपाटा मुडी डाँडा कटाइन्थ्यो। भनिन्छ, मान्छेलाई आफ्नो अतीतले निकै उद्वेलित बनाउँछ, कुतकुत्याउँछ, ज्ञानेन्द्र शाह पनि हिजो ‘रैती’ माथि गरिएको यस्तै तानाशाही शासन प्रणालीबाट अभिभूत भए जस्ता देखिन्छन्।
त्यसैले उनी आफ्नो लयमा अगाडि बढिरहेको समाजलाई पछाडि फर्काउने स्वैरकल्पनामा डुबिरहेका छन्। ज्ञानेन्द्रको यस्तो स्वैरकल्पनामा रफू भरिदिने काम उनको निर्दलीय व्यवस्थामा रजगज गरेका कमल थापाहरू, ‘भ्रष्टाचारीलाई कीरा परोस्’ भन्दै ‘श्राप मन्त्र’ जप्दै हिंड्ने रवीन्द्र मिश्रहरू र जनताले खून-पसिना एक गरेर ब्यांकमा राखेको पैसा चलाएर ‘म लोन तिर्दिनँ’ भन्दै कुर्लने दुर्गा प्रसाईंहरूले गरिरहेका छन्। यी दुर्गा उनै हुन् जसले कहिले ‘मारवाडी समुदायलाई देशनिकाला गर्ने’ भन्दै चिच्याइरहेका हुन्छन् भने कहिले ‘नेपाललाई भारतको प्रान्त बनाए मोटरसाइकल ५० हजारमा चढ्न पाइन्थ्यो’ भन्दै सार्वजनिक विचार पनि व्यक्त गरिरहेका हुन्छन्।
यी अराजक पात्रहरूको गठजोडबाट हौसिएर मुख मिठ्याइरहेका सामाजिक सञ्जालका केही बौद्धिक चाहिं ‘राजतन्त्र आइसक्यो’ भन्दै किनारामा उभिई ताली बजाइरहेका छन्। गजब भइरहेको छ, दिल्लीमा गरिएको भन्दै १२ बुँदे समझदारीको धूवाँधार विरोध गर्ने तथाकथित राष्ट्रवादीहरू राजतन्त्र समर्थकहरूको जुलूसमा उत्तर प्रदेशका अति साम्प्रदायिक मुख्यमन्त्री तथा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रचारक योगी आदित्यनाथका पोस्टर लहराइरहेका छन्।
देशभित्र यो ताल छ भने दक्षिणतिर मोदीराजको प्रचारतन्त्र चाहिं ‘नेपाल पूरै राजतन्त्रमय भइसक्यो, लाखौं जनता सडकमा ओर्लिए र राजालाई नारायणहिटीमा स्थापित गराउन लागिसके, राजतन्त्र सहित विश्वको एक मात्र हिन्दू राष्ट्रको पुनरागमन हुनै लागिसक्यो’ भन्दै दुन्दुभि फुकिरहेको छ।
सदियौंदेखि दबिएका सीमान्तीकृत समुदायलाई वाणी दिएको र राज्य संयन्त्रमा प्रतिनिधित्व दिलाएको संघीय गणतान्त्रिक व्यवस्थाबाट असन्तुष्टहरू यो व्यवस्थाको कमजोरीले त्यसै हौसिने नै भए। तर जनबलले १७ वर्षअघि सत्ताच्युत भएका ज्ञानेन्द्र शाह फेरि किन ‘सिंहासन’ मा बस्ने स्वैरकल्पनामा डुबिरहेका छन्? कसको आडमा उनको चुरीफुरी बढिरहेको छ? उनले हिजो आफूलाई ‘जेलनेल’ नगरी नागरिकका रूपमा सम्मानजनक स्थान दिएर राख्ने दलका नेता र जननिर्वाचित संस्थासँग केको बलमा घरीघरी जोरी खोजिरहेका छन्? उनी किन ‘राजा आऊ देश बचाऊ’ भन्दै नाराबाजी गरिरहेको भीडमा घुसी राजतन्त्रमा झैं ‘रैतीको नाममा सम्बोधन’ गर्दै हिंडिरहेका छन्? के उनी देशलाई द्वन्द्वमा धकेलेरै भए पनि सत्ताप्राप्तिको अन्तिम प्रयत्न गर्ने दाउमा छन्? गणतन्त्रमा किन उठिरहेका छन् राजतन्त्रका कुरा? यी यस्ता प्रश्न हुन् जसमाथि स्वस्थ बहस गर्दै राज्य, दल र नागरिक समाजले ‘विष निकालिएका सर्प’ रूपी ज्ञानेन्द्र शाहप्रति के-कस्तो धारणा सहितको नीति अख्तियार गर्ने हो, सोच्न आवश्यक भइसक्यो।
हिमालखबरले यिनै प्रश्नमाथि मन्थनको प्रारम्भ गरेको छ। आज हामीले यही सेरोफेरोमा आधारित रही वामपन्थी आन्दोलनबाट आएका मानव अधिकारकर्मी तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलसँग लामो भिडिओ संवाद गरेका छौं। प्रस्तुत छ, हिमालखबरका निम्ति जेबी पुन मगरले प्याकुरेलसँग गरेको भिडिओ संवादको सम्पादित अंश :
पञ्चायतकालमा सुनिने ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा अहिले सडकमा सुनिन थालेको छ। यो नारा किन लागिरहेको छ? कुरा त्यहाँबाट शुरू गरौं।
मेरी आमाले मलाई जहिल्यै बाबु राजा भन्नुहुन्थ्यो। म पनि मेरो नातिलाई बाबु राजा नै भन्छु। बाबु राजा यसो गर, उसो नगर भन्छु। त्यो फुर्क्याउने काम हो। जनबलले राजा फालेको १७ वर्ष भइसक्यो। हामीले गणतान्त्रिक संविधान बनाएका छौं। त्यो कुनै राजाको निगाहबाट बक्स भएको संविधान होइन। यो देशमा राजतन्त्रले जनताका अधिकार कुल्चेको हामीले देखेका भोगेका छौं। त्यसका निम्ति हामीले लड्दै आएका हौं। त्रिभुवनकै पालादेखि हेरौं। राणाहरूले खोपीको देउता बनाएर राखेका त्रिभुवनलाई हामीले बाहिर निकाली संवैधानिक राजा बनायौं। उनी गणतान्त्रिक राजा बन्नसम्म राजी थिए। त्यसैले हामीले उनलाई संवैधानिक राजा बनाएर राख्यौं।
तर त्यसपछि बनेका उनका छोरा राजा महेन्द्रले जनताको अभिमतबाट बनेको सरकारलाई सैन्यबलले हटाए। ‘कू’ गरे। उनले हामीलाई ३० वर्ष अँध्यारोमा धकेले। यो हामी सबैलाई थाहा छ। त्यसैले हामीले उनका छोरा राजा वीरेन्द्रलाई जनआन्दोलनको बलबाट संवैधानिक राजा बनायौं। वीरेन्द्रले वेलावेला निहुँ खोजे पनि संवैधानिक परिधि नाघेनन्। तर वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले ‘म दाजु जस्तो चूप लागेर बस्ने होइन’ भन्दै शक्ति हातमा लिएर के के गरे, तपाईं हामीलाई थाहा छ। उनले देशलाई निरंकुशतातर्फ धकेलेपछि पुनः सबै राजनीतिक दल मिलेर राजतन्त्र नै फाल्यौं। जनबलको अगाडि शिर निहुर्याउने तर अलि बढी असन्तुष्टि बढेको मौका पाउनासाथ सर्पले फणा उठाए झैं टाउको उठाइहाल्ने हुनाले ‘अब राजतन्त्र बोक्न सकिंदैन, हामी गणतन्त्रमा जानुपर्छ’ भनेर हामीले संविधानसभाबाट राजतन्त्रलाई बिदा गरेर गणतान्त्रिक संविधान जारी गरेका हौं। यो गरेको पनि १७ वर्ष पुगिसक्यो।
हाम्रा नेताहरूको सदाशयता भन्नुहोस् वा उनीहरूभित्र रहेको दण्डहीनताको चरित्रले गर्दा, तत्कालीन राजा ज्ञानेन्द्रलाई कुनै कारबाही नगरी सम्मानजनक स्थानमा राख्यौं। उनले गरेको बदमासीको सजाय भोग्नु परेन। उल्टै हामीले ज्ञानेन्द्रलाई सत्ताच्युत गरेपछि बस्ने ठाउँ दियौं, नागरिक सरहका अधिकार दियौं र सुरक्षा गर्यौं। अहिले पनि उनी कतै जाँदा राज्यले उनको सुरक्षाको जिम्मा लिइरहेकै छ। नभए त्यति वेला ज्ञानेन्द्र हिंड्न नसक्ने अवस्थामा थिए।
नेपाली जनताको चरित्र कस्तो छ भने उनीहरू बदला लिन चाहँदैनन्। क्षमाशील छन्। विविधतायुक्त समाज भएकाले हाम्रा समाज बढी सहनशील छ। सबैलाई मिलाएर लिएर जानुपर्छ भन्ने भावना छ। यो हाम्रो राष्ट्रिय संस्कृति हो। त्यसकारण पनि हामीले तत्कालीन राजा ज्ञानेन्द्रलाई राम्रो व्यवहार गर्यौं। उनलाई सम्मानजनक स्थानमा राख्यौं। तर ज्ञानेन्द्रले त्यो सदाशयतालाई दुरुपयोग गर्न थालेका छन्। उनले गणतान्त्रिक लोकतन्त्रले दिएको स्पेसको दुरुपयोग गर्न थालेका छन्। लोकतन्त्रको सुन्दरता नै हो- त्यहाँभित्र आफूलाई मन लागेको बोल्न पाइन्छ। तर त्यसको नाउँमा जथाभावी चाहिं गर्न पाइँदैन। गणतन्त्रको मूल्य र मान्यताभन्दा बाहिर जान पाइँदैन।
तपाईंले गणतन्त्रको मूल्य र मान्यताको कुरा गर्नुभयो। हिजोआज हरेक मौकामा प्रधानमन्त्रीलाई नामै काढेर ‘चोर देश छाड’ जस्ता अराजक नाराबाजी लगाइन्छ। तपाईंले त राजतन्त्रमा पनि स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ भन्दै संघर्ष गर्नुभएको हो। के त्यो तन्त्रमा यसरी मनपरी बोल्न पाइन्थ्यो?
राजतन्त्र भनेको शासन प्रणाली हो। त्यो व्यवस्थामा अवस्था कस्तो थियो भने, हामी त्यति वेला भित्ताको पनि कान हुन्छ भन्थ्यौं। दुई जना मान्छे यसरी बोल्न पाइँदैनथ्यो। पञ्चायतको कुरै छाडिदिनुहोस्, ज्ञानेन्द्रकाललाई नै सम्झनुहोस् न, त्यो त तपाईंहरूले नै भोग्नुभयो। तपाईंहरूको अफिसमा सेना पठाइयो। त्यो हामी सबैले भोगेका हौं। गणतान्त्रिक व्यवस्थामा आएर राजतन्त्रको कुरा गर्न त लोकतन्त्रमा मात्र सम्भव छ। राजतन्त्रमा त बोल्न पनि पाइँदैन। तर लोकतन्त्र भन्दैमा जे पाए त्यही बोल्ने छूट हुँदैन।
केपी ओली मात्र होइन, कुनै पनि प्रधानमन्त्रीलाई देश छोड् भन्न पाइन्छ? यदि हामीले ज्ञानेन्द्रलाई देश छाड भन्यौं भने के हुन्छ? यो कुरा विचार गर्नु पर्दैन? कसले कसलाई देश छोडाउने, यो देश त सबैको हो नि! त्यसैले मैले अघि पनि भनें- हामीले सम्मानजनक रूपमा तत्कालीन राजालाई देश छाड नभनेर सम्मानजनक स्थान दिएर राखेका हौं। हामीले उनलाई कहिल्यै देश छाड भनेनौं। किनकि यो देश तिनको पनि हो। हामीले के भन्यौं भने, ‘तिमीले हिजो गरेको गल्तीको सजाय पायौ, राजतन्त्रविहीन अवस्थामा पुग्यौ र साधारण नागरिक बन्यौ। त्यसैले तिमी त्यही बमोजिम बस।’ तर ज्ञानेन्द्रलाई दिएको छूटको गलत फाइदा उठाउन थालियो।
एकपालि दरभंगा गएको थिएँ, अगाडिबाट हात्तीमा चढेको एक जना भर्खरको केटा लावालस्कर सहित आइरहेको छ। मैले यो के हो भनेर सोधें। उनीहरूले ‘यो हाम्रो परम्परा हो, ऊ हाम्रो राजा हो’ भन्ने जवाफ दिए। दरभंगामा कुनै समय दरभंगा महाराजा थिए। ती युवा तिनकै शाखा सन्तान रहेछन्। भारतमा धेरै राजा-रजौटाको उन्मूलन त अंग्रेजले गरिदिएका थिए। केही बाँकी थिए, ती पनि पछि सकिए।
दरभंगाको राजतन्त्र पनि उन्मूलन भइसकेको थियो, तर त्यसका नाति-पनातिलाई ‘म राजा हुँ’ भनेर हात्ती चढेर हिंड्न मन लाग्यो। ज्ञानेन्द्रलाई पनि त्यस्तै इच्छा लाग्यो होला। ‘म पनि राजा त्रिभुवनको नाति र राजा महेन्द्रको छोरा हुँ। मेरा दाजु राजा थिए, म पनि राजा नै हो’ भन्ने लागेको हुन सक्दछ। ज्ञानेन्द्र मठमन्दिरमा जाँदा मान्छेको भीड देखेर हौसिएका होलान्। यदि साँच्चिकै ज्ञानेन्द्रलाई आफ्नो जनमत छ भन्ने विश्वास छ भने चुनाव आउँदै छ, त्यहाँबाट जितेर आए भइगयो। दुईतिहाइ बहुमत ल्याई संविधान संशोधनको प्रक्रियामा गई राजतन्त्र ल्याए भइगयो नि!
विस्तृत संवाद भिडिओमा हेर्नुहोस् :