बाँकेको बाल सुधारगृहमा किन भइरहन्छ झडप?
पछिल्ला दुई वर्षमा चार पटक झडप भएको बाँकेको बाल सुधारगृहमा गत वर्ष एक जनाको ज्यान नै गएको थियो। किन हुन्छ झडप?
बाँकेको बाल सुधारगृहमा झडप हुँदा ३६ जना घाइते भएका छन्। उनीहरूको भेरी अस्पताल नेपालगन्ज र नर्सिङ होममा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनीहरूको अवस्था सामान्य छ।
डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधारगृहमा चैत १ गते राति बाल बन्दीबीच झैझगडा भएको थियो। त्यसले झडपको रूप लिंदा उनीहरू घाइते भए। उनीहरूले बाल सुधारगृहमा आगजनी समेत गरे।
एकातिर आगजनी भइरहेको थियो भने अर्कातिर बाल बन्दीबीच झडप। शुक्रबार राति शुरू भएको तनाव शनिबार दिउँसो प्रहरी प्रवेश गर्न पाएपछि मात्र नियन्त्रणमा आएको थियो। उनीहरूले प्रहरीलाई नै इँटा र ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो। उनीहरूको आक्रमणबाट केही प्रहरी घाइते भएका छन्।
प्रहरीले बल प्रयोग गरेर शनिबार दिउँसो ५० जनालाई नियन्त्रणमा लिएपछि विवाद साम्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले हिमालखबरलाई जानकारी दिए। झन्डै १६-१७ घण्टापछि स्थिति नियन्त्रणमा आए पनि बाल सुधारगृहबाट उद्धार गरिएका बाल बन्दीलाई राख्न समस्या भएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ।
उनका अनुसार अहिले बाल सुधारगृहमा २५५ बाल बन्दी छन्। “बाल सुधारगृहमा आगजनी हुँदा बस्नलायक छैन,” उनी भन्छन्, “यत्तिका धेरै बालबन्दी छन्, कहाँ व्यवस्थापन गर्ने हो? अहिले समस्या आएको छ, व्यवस्थापनका लागि छलफल गरिरहेका छौं।”
बाँकेको बाल सुधारगृहमा पटक पटक झडप भइरहन्छ। यसअघि २०८० असोज ४ मा पनि झडप भएको थियो। उनीहरू विभिन्न माग राख्दै आन्दोलन गर्छन् र आआफैं लड्छन्। बाल बन्दीबीचको झडपमा गत वर्ष एक जनाको ज्यान समेत गएको थियो।
त्यति वेला रुपन्देहीको कञ्चन गाउँपालिका-४ का २१ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो। उनी अदालतबाट जेल सजाय भएर २०७९ असार १० मा बाल सुधारगृह आएका थिए। अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी कसूरमा दोषी देखिएका थिए। त्यो झडपमा १० जना घाइते भएका थिए।

त्यसको चार महीनापछि २०८० पुस १६ मा फेरि झडप भयो। त्यति वेला बाल सुधारगृहमा ठूलो क्षति भएको थियो। उनीहरूले प्रशासन कार्यालयका विभिन्न सामग्री तोडफोड गरेका थिए।
त्यसको केही महीनापछि फेरि झडप भयो। त्यति खेर उनीहरूले त्यहाँ खटिएका प्रहरीलाई आक्रमण गरेका थिए। आक्रमणमा तीन प्रहरी घाइते भएका थिए।
अहिले फेरि चौथो पटक झडप भएको हो। अहिले ३६ जना घाइते छन् भने सुधारगृहमा आगजनी गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी जोशी क्षमताभन्दा बढी बाल बन्दीलाई एउटै ठाउँमा राख्दा समस्या आएको बताउँछन्। अहिले बाल सुधारगृहमा क्षमताभन्दा चार गुणा बढी बाल बन्दी छन्। त्यहाँ १८ वर्षभन्दा माथिका धेरै बन्दी छन्। १८ वर्ष नपुगेकालाई राख्न बाल सुधारगृहको अवधारणा बनाइए पनि २६ वर्ष पुगेकाहरू पनि त्यहीं रहेको जाेशी जनाउँछन्।
मुद्दाको किनारा नलाग्दासम्म उनीहरूलाई सुधारगृहमै राखिन्छ। जसले गर्दा पनि उमेर नमिल्ने बाल बन्दीबीच झडप हुने गरेको उनको भनाइ छ।
त्यसैगरी, सुधारगृहमा प्रहरीले बल प्रयोग गर्न नमिल्ने र हतियार विना सादा पोशाकका प्रहरी मात्र बस्ने भएकाले समस्या आएको छ। सुधारका लागि राखिएका बाल बन्दीलाई क्षमताभन्दा बढी र खुला रूपमा छाडिएकाले पनि यस्तो समस्या देखिएको उनी बताउँछन्।
यस्तै, ठूलाले सानालाई हेप्ने, दुर्व्यवहार गर्ने जस्ता क्रियाकलाप पनि झैझगडाको कारण बन्ने गरेको छ। “कानूनले १८ वर्ष पूरा गरेका किशोरलाई अलग्गै राख्नुपर्ने व्यवस्था गरेको छ, तर यहाँ १८ होइन, २६ वर्षका पनि छन्,” उनले भने, “मुद्दा किनारा नलाग्दासम्म १८ वर्षभन्दा माथिकालाई पनि बाल सुधारगृहमा राखिरहने परिपाटी छ, जसले गर्दा पनि समस्या देखिएको हो।”
उनका अनुसार एउटा बाल सुधारगृहमा ४० देखि ५० जनालाई राख्नुपर्छ। १८ वर्षभन्दा माथिका बन्दीलाई अन्य कारागारमा सार्ने कानून बनाउनुपर्छ।
यस्तै, बाल सुधारगृह बाहिर प्रहरीलाई हतियार सहित सुरक्षामा खटाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। कम्तीमा पनि सुरक्षाकर्मीलाई बर्दी सहित सुधारगृह बाहिर राख्दा बाल बन्दीले बाहिर प्रहरी छ भन्ने महसूस गर्ने उनी बताउँछन्। अर्को, उनीहरूलाई गल्ती गरेर सुधारगृहमा आएका हौं र सुध्रिनुपर्छ भन्ने महसूस गराउनुपर्ने जोशीको भनाइ छ।
यो पनि पढ्नुहोस् : सुधारगृहमा सल्किएको असन्तोषको आगो