फस्टाउँदो फूल चियामा कानूनी अड्चन
पर्याप्त स्रोतसाधन र जनशक्ति हुँदाहुँदै पनि कानूनको अभावका कारण व्यवसायी नेपालमै फूल चिया उत्पादन गर्न पाइरहेका छैनन्।
फूल हेर्नका लागि मात्र प्रयोग हुन्छ? होइन, खानका लागि पनि हुन्छ। पछिल्लो समय त चियाका लागि पनि फूल प्रयोग भइरहेका छन्।
काठमाडौं लगायत देशका ठूला शहरमा अंग्रेजीमा ‘फ्लावरिङ टी’ तथा ‘ब्लूमिङ टी’ भनिने ‘फूल चिया’ रुचाउन थालिएको छ। एक वा एकभन्दा बढी फूल राखेर बनाइने फूल चिया स्वस्थकर पनि मानिन्छ। पछिल्लो समय यसको उपभोग बढ्दै गएको छ।
प्रायः हर्बल चिया बिक्री हुने ठाउँमा फूल चिया पाइन्छ। नेपालमा गुलाब, गोदावरी (क्रिसान्थेमम), चमेली (ज्यास्मिन), घण्टी फूल (हिबिस्कस), बटर फ्लाई पी, क्यमोमाइल लगायत विभिन्न फूल चियाको स्वाद लिन पाइन्छ।
यी चिया कानूनी रूपमा नेपालका उत्पादन होइनन्। सबै विदेशबाटै ल्याउने गरिएको छ। “अहिले बिक्री भइरहेको फूल चिया विदेशको हो। नेपालमै उत्पादन गर्न पाइएको छैन,” व्यवसायी अनुप शर्मा भन्छन्।
नेपालमा विभिन्न थरीका फूल फुल्छन्। व्यावसायिक रूपमा फूल खेती पनि हुँदै आएको छ। तर ती फूलबाट चिया बनाउन सकिएको छैन। “विदेशबाट ल्याएर बेच्न पाइन्छ, नेपालकै फूलबाट उत्पादन र बिक्रीवितरण गर्न पाइएको छैन,” शर्मा भन्छन्।
कानूनी व्यवस्था नभएका कारण आधिकारिक रूपमा नेपालकै फूलबाट चिया बनाउन नपाइएको व्यवसायी बताउँछन्। “केहीले नेपालकै फूल चिया बनाइरहेका होलान्, तर त्यो वैधानिक होइन। जति वेला पनि कारबाहीमा पर्न सकिन्छ,” एक व्यवसायी भन्छन्।
फूलबाट पनि चिया बनाउन सकिने गरी हर्बल चिया अन्तर्गत नराखिएका कारण स्वदेशमा उपलब्ध फूलबाट चिया उत्पादन र बिक्रीवितरण गर्न नसकिएको व्यवसायीको गुनासो छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फूललाई चिया अन्तर्गत परिभाषित गरेको छैन।
विभागले परिभाषित गरे अनुसार चिया भन्नाले क्यामेलिया जातको बिरुवाको पात, पालुवा, कलिला डाँठबाट मात्र उत्पादन भएको चिया (पत्ता, टुक्रा र धूलो)लाई सम्झनुपर्छ। यसमा अन्य बाहिरी पदार्थ तथा रङ लगाइएको हुनु हुँदैन। साथै, विभागले निश्चित किसिमले गुणस्तर परिधि पनि निर्धारण गरेको छ।
चियाबारे गरिएको परिभाषामा अन्य फूल नपर्ने भएकाले उत्पादन, बिक्रीवितरण गर्ने व्यवस्था नभएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनको भनाइ छ। ‘ड्राई फ्लावर’ (सुक्खा फूल)लाई चिया अन्तर्गत राखिएको छैन। चियाको मापदण्डभित्र नपर्ने भएकाले उत्पादन, बिक्रीवितरणका लागि अनुमति दिन नसकिएको महर्जन बताउँछन्।
“कुनै वनस्पति खाद्य वा पेय पदार्थका रूपमा स्वास्थ्यका लागि उपयोगी भनेर प्रमाणित नभएसम्म मान्यता दिन सकिंदैन,” प्रवक्ता महर्जन भन्छन्, “तर परम्परादेखि खाइपिइ गर्दै आएका वस्तुमा समस्या छैन।”
व्यवसायी भने फूल चियाको विषयमा विभागले ध्यान नदिएको गुनासो गर्छन्। जस्तो- अहिले मोरिंगा पाउडर, सिस्नुको पाउडर बिक्रीवितरणको अनुमति दिइएको छ। त्यसैगरी, फूल चियाको पनि उत्पादन, बिक्रीवितरण गर्न दिनुपर्ने उनीहरूको माग छ।
नेपाली समाजमा पुस्तौंदेखि खाइआएको फूल चियालाई स्वास्थ्यका लागि राम्रो मानिन्छ। तर त्यही फूल चिया उत्पादन र बिक्रीवितरण गर्न नपाइएको व्यवसायीको गुनासो छ। “पुस्तौंदेखि प्रयोगमा छ, कुनै हानि गरेको छैन। बाहिरबाट ल्याएर बिक्री भइरहेको छ, तर यतैको फूल प्रयोग गर्न पाइएको छैन,” व्यवसायी शर्मा भन्छन्, “अब त्यसको उत्पादन र व्यवसायीकरण गर्न सरकारले मापदण्ड बनाउनुपर्छ।”
विभागका प्रवक्ता महर्जन भने नयाँ वनस्पतिको हकमा पूर्ण अध्ययन-अनुसन्धान गरी प्रयोगशाला मार्फत प्रमाणित गराएपछि मात्रै प्रयोगमा ल्याउन पाइने तर्क गर्छन्। खानपानमा प्रयोग भइरहेको भन्दा पनि व्यावसायिक रूपमा उत्पादन गर्न आवश्यक मापदण्ड पूरा गर्नुपर्ने उनको भनाइ छ।
व्यवसायी भने अन्तर्राष्ट्रिय रूपमा अध्ययन-अनुसन्धान गरेर प्रयोगमा आइसकेको वनस्पतिलाई नेपालमा फेरि अध्ययन-अनुसन्धान गरेर प्रमाणित गर्न सम्भव नभएको बताउँछन्। जैविक प्रविधि विज्ञ समेत रहेका व्यवसायी शर्मा संयुक्त राष्ट्रसंघ अन्तर्गत ‘फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशन’ र अमेरिकाको ‘फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन’ जस्ता निकायबाट अनुसन्धान भई स्थापित भइसकेको विषयमा फेरि अनुसन्धान गर्न गाह्रो हुने बताउँछन्।
नेपाली बजारमा फूल चियाको प्रयोग बढ्दै गएको छ। नेपालमै उत्पादन गर्ने अनुमति दिएमा फूल चियाको आयात कम गरी निर्यात समेत गर्न सकिने व्यवसायी बताउँछन्। शर्मा भन्छन्, “फूल चियाको प्रयोग बढिरहँदा उत्पादन र बिक्रीवितरणको चाँजोपाँजो सरकारले मिलाउनुपर्छ।”