बाँकेको बालसुधार गृहमा झडप, ५० जना प्रहरीको नियन्त्रणमा
बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् भने प्रहरी टोलीले ५० जनालाई नियन्त्रणमा लिएको छ।
डुडुवास्थित जयेन्दु बालसुधार गृहमा गएराति झडप भएको थियो। झडपमा ६ जना बालबन्दी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक पातलीले बताए।
डीएसपी पातलीका अनुसार, गएराति दुई समूहबीच झडप भएको थियो। एउटा समूहले अर्को समूहका बालबन्दीलाई नियन्त्रणमा राखेको थियो। उनीहरूलाई बाहिर निस्किन दिएको थिएन।
प्रहरी टोली भित्र जान खोजेपछि ढुंगामुडा गरिएको थियो। उनीहरू आगजनी गरेका थिए। ढुंगामुडा प्रहारबाट केही प्रहरी घाइते भएको डीएसपी पातलीले बताए।
लामो समयको कसरतपछि शनिबार अपराह्न बालसुधार गृहभित्र प्रवेश गर्न सकिएको उनले बताए। त्यस्तै, एउटा समूहको नियन्त्रणमा रहेका अर्को समूहका बालबन्दीलाई पनि मुक्त गरिएको डीएसपी पातलीले जानकारी दिए। बालसुधार गृहमा २५० बालबन्दी रहेका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बालसुधार गृहभित्र प्रवेश गरेको छ। प्रहरी टोलीले ५० जना बालबन्दीलाई नियन्त्रणमा लिएको छ। “बालसुधार गृहभित्र प्रवेश गर्न सफल भएका छौं, ५० जनालाई नियन्त्रणमा लिएका छौं,” डीएसपी पातलीले हिमालखबरसँग भने, “भित्र आगजनी गरिएको छ। दमकलको सहायताले आगो निभाएका छौं।”
एउटा समूहको कुटपिटबाट घाइते भएका अर्को समूहका बालबन्दीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएको छ। उनीहरूको उपचार भइरहेको अस्पतालले जनाएको छ। गएराति डेढ बजे घाइतलाई उद्धार गरेर अस्पताल पुर्याइएको थियो।
यो बालसुधार गृहमा गत वर्ष पनि झडप भएको थियो। दुई समूहबीच कुटपिट हुँदा एक जनाको ज्यान गएको थियो।
यो पनि पढ्नुहोस् : सुधारगृहमा सल्किएको असन्तोषको आगो