जब लीलबहादुर क्षेत्री टुप्लुक्क आइपुगे
कहिल्यै नटुंगिने नेपाली नियति वा रहरको चित्रण ‘बसाइँ’ का सर्जक लीलबहादुर क्षेत्री एउटा सार्थक जिन्दगी बाँचेर बिदा भएका छन्।
क्याम्पसमा एक जना साथी थिए, मोटोघाटो र अलि श्यामल वर्णका। ताप्लेजुङबाट पढ्न धनकुटा आएका थिए। धनकुटा बहुमुखी क्याम्पसका सहपाठी उनलाई म घरीघरी जिस्क्याइरहन्थें, “ओइ, मोटे कार्की!”
उनी खिस्स हाँस्थे मात्र।
अनिवार्य रूपमा पढ्नुपर्ने गरी हाम्रो भागमा परेको थियो, लोकप्रिय बसाइँ उपन्यास। उनी त्यसकै जीवन्त पात्र मोटे कार्की जस्तै लाग्थे।
एकदिन साथीहरूकै माझ मैले उनलाई जिस्क्याएँ, “ओइ, मोटे कार्की। तेरी झुमा चाहिं खोइ हँ?”
उनी बोले, “बढी नकरा रिकुटे! झुमालाई त तैंले अस्ति नै उडाएको होइन?”
उनले यति भनिसक्दा साथीहरू गलल हाँसे। म चाहिं अक्क न बक्क!
त्यसपछि भने मैले आफूलाई रिकुटे भनी माग्ने जोखिम उठाउन सकिनँ। त्यस दिनदेखि उनलाई मोटे कार्कीको नामले जिस्क्याउन छोडें।
लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासका पात्रहरूको जीवन्त प्रस्तुतिको प्रभाव थियो, रिकुटे नामबाट सम्बोधनको सुुइरोले मुटुसम्मै घोच्नुको कारण। क्षेत्रीको अमर कृति बसाइँ जो-जतिले अनिवार्य वा ऐच्छिक रूपमा पढे, उनीहरूले मोटे कार्की र झुमालाई जति सहानुभूति राखे, उत्ति नै रिकुटेप्रति नकारात्मक भए।
भर्खरै कलेज परिसर टेकेर बसाइँ उपन्यासको पात्र र परिवेशसँग खेल्दै गरेको किशोरावस्थाको मलाई रिकुटे भन्नु र भनाउनु किन पो मन पर्थ्यो?
*** *** ***
२०६८ माघ तेस्रो साता पूर्वोत्तर भारतको आसाममा साहित्यिक भ्रमण गर्ने अवसर जुर्यो। त्यो वेला रोङबोङ तेरोङ थिए, आसाम साहित्य सभाका सभापति। आसाममा सभाको नेतृत्व गर्न पाउनु ठूलो प्रतिष्ठाको विषय हुँदो रहेछ, नेपालमा प्रज्ञा-प्रतिष्ठानको कुलपति बन्न पाउनु जस्तै।
सभाले आयोजना गरेको कार्यक्रममा नेपालबाट जानेमध्येको सूचीमा मेरो नाम पनि परेको सूचना कवि शशि लुमुम्बुबाट प्राप्त भएपछि मेरा पाइला उत्साहले उचालिएका थिए। यसको चाँजोपाँजो कवि सुरेन्द्र लिम्बू ‘परदेशी’ ले मिलाएका रहेछन्।
आसामको पनि झन्डै अरुणाचल प्रदेशको नजीकै लिडुमा कार्यक्रम राखिएको थाहा पाउँदा बर्माको पातकोई पहाड हेर्ने उत्सुकताले मनमा हलचल मच्चाइरहेको थियो। इतिहासकार इमानसिंह चेम्जोङले लिम्बूहरूको एक हाँगो बर्माको चिन्दविन नदीको हुक्काङ उपत्यकामा युद्ध हारी पातकोई पहाड नाघी आसामको मैदानी भूमि हुँदै हालको नेपालको पूर्वी भेगमा पसेको उल्लेख गरेका छन्। त्यसैले टाढैबाट भए पनि पातकोई पहाड हेर्ने उत्सुकता जागेको थियो।
हामी जहाँ जाँदै छौं, त्यहाँ नजीकै डिगबोईमा कवि हरिभक्त कटुवालको घर छ भन्ने थाहा पाउँदा झन् पुलकित भएँ। कवि कटुवालको घरमा पनि पुग्ने र सकेसम्म परिवारका सदस्यसँग भेटघाट गर्ने इच्छा पलाएको थियो।
पातकोई पहाडको दर्शन पनि गरियो। अनि कवि कटुवालको घरैमा पुग्न नपाए पनि बाटैमा उनकी जेठी छोरी कविता शर्मासँग भेट भयो। आधा घण्टा जति बातचित गर्ने अवसर मिल्यो। कविताले भनेकी थिइन्, “बुबाले बित्ने वेलामा आफ्नो रातो डायरी हराएको भनिरहनुहुन्थ्यो। लौ न, त्यो डायरी भेटिन्छ कि? तपाईंहरूले सहयोग गर्नुपर्यो।”
लिडुको भव्य साहित्यिक समारोहमा सहभागिता जनायौं। प्रशस्तै नेपालीभाषीसँग पनि भेटघाट भयो।
समारोह त्यो ऐतिहासिक मैदानमा आयोजना गरिएको थियो, जहाँ दोस्रो विश्वयुद्धताका बर्मा फ्रन्टका लागि जापान विरुद्ध लड्न अंग्रेज गठबन्धनले हवाई मैदानका रूपमा प्रयोग गरेको थियो। त्यो मैदानलाई हेरेर मैले बर्मा फ्रन्टमा रहेर दोस्रो विश्वयुद्ध लड्ने आफ्ना दिवंगत बुबालाई सम्झें। बडो भावुक भइयो, बुबाले लडेको विश्वयुद्धकालीन हवाई मैदान टेक्दा।
“ल है, इन्द्रबहादुर राईले लेखेको कथाको लिखापानी यहीं हो,” हामीलाई आसाम घुमाइरहेका स्थानीय विष्णु शर्माले भने। लिखापानीको दृश्य हेर्दाहेर्दै ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ कथाकी पात्र जयमायाको झल्को आयो। उनलाई सम्झिँदा मन अमिलो भयो।
*** *** ***
आसाम साहित्य सभाको कार्यक्रममा सहभागी हुन नेपालबाट जाँदै गरेका प्रज्ञा-प्रतिष्ठानका प्राज्ञहरू भाउपन्थी, विष्णु प्रभात र बेञ्जु शर्मासँग काकडभिट्टामा भेट भएको थियो। भाषाशास्त्री टंक न्यौपाने, कवि कृष्णभूषण बल, गजलकार मधु पोखरेलका साथै पत्रकारहरू जनकऋषि राई र सीता मादेम्बा सहितको हाम्रो टोलीलाई लिन आसामबाट सवारी दूतका रूपमा कवि रण काफ्ले खटिएका रहेछन्। कवि काफ्लेले हामीलाई सिलिगुडी हुँदै रेलयात्रा मार्फत आसामको राजधानी गुवाहाटी पुर्याए। स्थानीय शिव मन्दिर नजीकैको अतिथि सदनमा बस्ने व्यवस्था थियो।
“यहाँसम्म आइपुगेपछि कामाक्षा दर्शनमा त जानुपर्यो नि!” भाषाशास्त्री टंक न्यौपाने अलि ढिपी कसेर प्रस्ताव राख्दै थिए। कृष्णभूषण बल, मधु पोखरेलले पनि स्वरमा स्वर मिसाए। कामाक्षा दर्शनको कुराले बेञ्जु दिदीलाई झन् पुलकित बनायो। रण काफ्ले कामाक्षा दर्शन गराउन उत्साहित भए।
कामाक्षा पुगेपछि साहित्यकार दर्शन गर्न मन्दिरभित्र पसे। विष्णु प्रभात, शशिजी र म मन्दिर बाहिरै रहेर कामाक्षाको इतिहास अध्ययनका सामग्री खोज्नतिर लाग्यौं। केही किताब किन्यौं। करीब दुई घण्टापछि कामाक्षाको शिला ढोगेर फूलप्रसाद सहित फर्क्यो, प्राज्ञ टोली।
आसाम आइसकेपछि कामाक्षा जस्तै महत्त्वपूर्ण अर्को तीर्थको दर्शन गर्न छुटाइरहेका छौं कि जस्तो लागिरहेको थियो। मैले त्यो तीर्थको नाम लिएर सवारी दूत रणजीलाई भने, “लीलबहादुर क्षेत्रीको घरमा जाऔं न!”
उनले त्यहाँसम्म पुर्याउने सूची नभएको सुनाए। खल्लो अनुभूति भयो।
कामाक्षा दर्शनपछि खानपिन तथा केही बेरको सुस्ताइ। अनि गुवाहाटी छाड्ने वेला हुँदै थियो। पहिल्यै तय भए अनुसार साहित्यिक टोली तीनसुकियातर्फ हिंड्ने कार्यक्रम थियो।
‘बूढालाई एकैछिन भए पनि भेट्न पाए हुन्थ्यो! समय पनि छैन, के गर्ने होला?’ टोलीमा यस्तै गाइँगुइँ र थकथकी चलिरहेको थियो। कृष्णभूषण बल अलि बढी थकथकाइरहेका थिए।
यस्तो वेला तिनै बूढा आफैं टुप्लुक्क आइपुगे। मानिलिऔं, हामीले दर्शन गर्न नगई नहुने कामाक्षा जत्तिकै महत्त्वपूर्ण तीर्थ आफैं अतिथि सदन आइपुगे। ती तीर्थ अर्थात् उपन्यासकार लीलबहादुर क्षेत्री थिए। उनी अतिथि सदन आइपुग्दा नेपाली टोली ठूलै विस्मयमा पर्यो।
नेपाली लेखकहरूको टोलीले सोधीखोजी गर्दै उनको दर्शन गर्न जानुपर्नेमा उल्टै उनी आफैं नेपाली लेखकलाई भेट गर्न आइपुगेका थिए। यो उनको सामान्य विनयशीलता थिएन। उनी भन्दै थिए, “तपाईंहरू आएको सुनें, त्यति सन्चो पनि छैन। तैपनि तपाईंहरूको मोहले तानेर म आफैं भेट्न आइपुगें।”
त्यही मौकामा मैले पनि आफ्नो कथासंग्रह आतङ्कको छायाँमुनि टक्र्याएँ, सिंगो सूर्यको अगाडि टुकी पिलपिलाए जस्तै। उनलाई पुस्तक दिंदा हर्षको सीमा नै रहेन।
२०६८ सालमा साहित्यकार लीलबहादुर क्षेत्रीलाई पुस्तक दिंदै राजकुमार दिक्पाल।
उनी भर्खरै आइपुगेका थिए, कुराकानी हुन पाएको थिएन। तर गुवाहाटीबाट तीनसुकियाको रेल छुट्ने वेला भइसकेको थियो। हतारले हतास हुँदै गएको टोलीको अवस्था बुझेर उनी आफैं नेपाली टोलीलाई पुर्याउन रेल्वे स्टेशनसम्म हिंडे। त्यस वेला ७९ वर्षका थिए। उनको विनयशीलताको वर्णन गरिसाध्य छैन।
रेल्वे स्टेशनमा पुग्दा रेल आउन आधा घण्टा बाँकी थियो। उनीसँग बसाइँ उपन्यासको रचनागर्भबारे केही जिज्ञासा राख्न मन लाग्यो। थोरै कुराकानी गर्ने अवसर पाएँ, गुवाहाटी रेल्वे स्टेशनमा उभिएरै।
तेह्रथुमको छथर क्षेत्रको सुदापबाट उनका बुबा पुलिसको जागिर खान आसाम पुगेका थिए। परिवार नै आसाम पुग्यो। लीलबहादुर उतै जन्मिए।
जब दोस्रो विश्वयुद्धको बम र बारूदका छिटाहरू आसामसम्मै आइपुगे, तब ज्यानको मायाले लीलबहादुरलाई खोकिलामा च्यापेर उनको परिवार पुर्ख्यौली थलो सुदाप फर्कियो। कक्षा २ मा पढिरहेको वेला उनी केही समयका लागि सुदाप आएर बसेका थिए।
मनमा रिमरिम आउने पुर्ख्यौली थलो सुदापको सम्झना, कानमा गुन्जने नेपाली लवज र आँखामा आइरहने गाउँबाट बसाइँ हिंड्नेको ताँतीको दृश्य नै उनका लागि बसाइँ उपन्यासको कथानकको आधार बन्यो। उनी युवावस्थामा आइपुगेपछि थप अनुसन्धानमा लागे।
नेपालबाट आरा काट्न आसाम पुग्ने युवालाई भेटे। उनीहरूको बाध्यता र विवशताका कथाहरू सुने। हो, त्यसपछि जन्मिए झुमा, मोटे कार्की र रिकुटे जस्ता पात्र। अनि जन्मियो, कालजयी उपन्यास बसाइँ। रेल्वे स्टेशनमा उभिंदाउभिंदै उनी बोले, “यदि बाल्यकालमा म नेपाल नगएको भए बसाइँ नजन्मन पनि सक्थ्यो।”
यो उपन्यास स्वैरकल्पना होइन, नेपाली समाजशास्त्रलाई जीवन्त रूपमा प्रतिविम्बित गर्ने आख्यान हो। यो उपन्यासमा नेपाली समाजको अवस्था र बाध्यताप्रतिको दूरदृष्टि छ। हिजो गरीब नेपाली मात्र बसाइँ हिंड्थे र अधिकांशको गन्तव्य आसाम हुन्थ्यो। आज धनी नेपाली पनि बसाइँ हिंडिरहेछन्। उनीहरूमध्ये अधिकांशको गन्तव्य हुन पुगेको छ, अमेरिका, यूरोप र अस्ट्रेलिया। अहिलेको बसाइँ यात्रामा लाखौंलाख रुपैयाँ ऋणमा डुबेर कतिपय मृत्युमार्ग भएर हिंडिरहेछन्।
क्षेत्रीको उपन्यास बसाइँमा कहिल्यै नटुंगिने नेपाली नियति वा रहरको चित्रण हो। यी उपन्यासकार आफूलाई नेपाली पाठकको मनमा अमिट छाप छाडी फागुन २९ मा बसाइँ सरे, कहिल्यै नफर्कने गरी।
एरिस्टोटलले विश्वविजयको यात्रामा निस्कनुअघि आफूसँग आशीर्वाद माग्न आएका शिष्य अलेक्जेन्डरलाई भनेका थिए, “हेर बाबु, सफलता त भाग्यले पनि निर्धारण गर्छ, तर सार्थक जीवनका लागि आफ्नो मिहिनेतको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। तिमी आफैं भन, तिमी आफ्नो जीवनलाई सफल बनाउन चाहन्छौं कि सार्थक!”
लीलबहादुर क्षेत्रीले एउटा सार्थक जिन्दगी बाँचे।
यो पनि पढ्नुहोस् : बसाइँसँगै बाँचिरहने स्रष्टा