डढेलोबाट जैविक विविधता गुम्ने खतरा
नेपालमा वन डढेलो बढ्दै गएको र यसका कारण जैविक विविधता गुम्ने खतरा रहेको एक अध्ययनले औल्याएको छ।
अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीमा विद्यावारिधि गरिरहेका वन विज्ञ क्षितीज दाहालको नेतृत्वमा गरिएको अध्ययनमा नेपालमा वन डढेलो बढ्दै गरेको पाइएको हो। यस सम्बन्धी अध्ययन हालै ‘इन्फर्मेशन जियोग्राफी’मा प्रकाशित भएको छ।
नेपालका जंगलहरू जलवायु परिवर्तनका कारण बढ्दो वन डढेलोको गम्भीर जोखिममा रहेको अध्ययनले देखाएको छ। डढेलोको जोखिम नियन्त्रण गरिएन भने १७० मिलियन टन माटोको कार्बन र ३२५ मिलियन टन काठको कार्बन उत्सर्ग हुन सक्ने आकलन गरिएको छ।
त्यस्तै, अध्ययनले लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशमा डढेलोको उच्च जोखिम रहेको जनाएको छ। देशका २० वटा संरक्षित क्षेत्रमध्ये ६ वटामा डढेलोको उच्च जोखिम रहेको पनि औंल्याइएको छ। विशेष गरेर चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा जोखिम उच्च रहेको छ।
हिउँदेयाम सकिएसँगै नेपालमा डढेलो लाग्न थालिसकेको छ। अहिलेसम्म ५४ जिल्लाका ४३६ स्थानमा डढेलो लागेको तथ्यांक छ। अझै दुई महीना डढेलो लाग्ने जोखिम धेरै हुन्छ।
अमेरिकाको लस एन्जलसमा जस्तै डढेलोको जोखिम रहेको अध्ययनको नेतृत्व गरेका वन विज्ञ दाहाल बताउँछन्। “लस एन्जलस जस्तै नेपाल पनि कार्बन-तापमानको दुष्चक्रमा फसेको छ,” उनी भन्छन्, “मुख्य भिन्नता के छ भने नेपालका डढेलोले त्यस्ता जैविक विविधतालाई खतरामा पार्छन्, जुन पृथ्वीको अन्य कुनै ठाउँमा पाइँदैन।”
अध्ययनमा संलग्न काठमाडौं फरेस्टी कलेजका प्रा.डा. अम्बिकाप्रसाद गौतम नेपालमा डढेलो तीव्र गतिमा बढ्दै गएको बताउँछन्। “अहिले नै डढेलो नियन्त्रणका लागि कदम चालेनौं भने केही महीनामै महत्त्वपूर्ण जैविक विविधता गुमाउन सक्छौं,” प्रा.डा. गौतम भन्छन्।
त्यस्तै, अध्ययनमा संलग्न अमेरिकाको ज्याक्सन स्टेट युनिभर्सिटीका डा. रकि ताल्चाभडेल दुई दशकयता नेपालको दक्षिणी क्षेत्रमा वन डढेलो जोखिम बढ्दै गएको बताउँछन्। “तत्कालै प्रयास गरेनौं भने डढेलोले दशकौंको संरक्षण प्रयासलाई ध्वस्त पार्न सक्छ,” डा. ताल्चाभडेल भन्छन्।
अध्ययनमा संलग्न विज्ञहरूले डढेलो रोकथामका लागि रणनीति अपनाउन आग्रह पनि गरेका छन्। सामुदायिक गस्ती समूह, एआईमा आधारित प्रारम्भिक चेतावनी प्रणाली र अन्तरदेशीय सहकार्य आवश्यक रहेको अर्का विज्ञ नेदरल्यान्डसको ग्रोनिङ्गन विश्वविद्यालयका डा. प्रजल प्रधान बताउँछन्। “नेपालले जलवायु नीति तथा जैविक विविधता संरक्षण पहलहरूलाई दिगो विकाससँग जोडेर अघि बढ्नुपर्छ। जस्तो दिगो वन व्यवस्थापन अपनाएर काठ तथा गैरकाष्टजन्य वन उत्पादनहरूको उचित संकलन गरेर डढेलोको जोखिम कम गर्न सकिन्छ,” डा. प्रधान भन्छन्।
जलवायु तथा वन विज्ञ पशुपतिनाथ कोइराला वन डढेलो प्रायः एक्लिएका वन क्षेत्र र मुख्य सडक आसपासमा धेरै लाग्ने गरेको पाइएको बताउँछन्। स्टोरी साइकलका निर्देशक समेत रहेका कोइराला भन्छन्, “डढेलोले जैविक विविधतालाई मात्रै नभई नेपालको कार्बन व्यापारका लाभहरूलाई कमजोर पार्दै सन् २०४५ सम्म नेट-जीरो कार्बन देश भन्ने लक्ष्यलाई समेत खतरामा पार्नेछ।”
यस अनुसन्धानमा एरिजोना स्टेट युनिभर्सिटी, ज्याक्सन स्टेट युनिभर्सिटी, ग्रोनिङ्गन विश्वविद्यालय र काठमाडौं फरेस्टी कलेजका अनुसन्धाता संलग्न थिए। यसमा क्षितीज दाहाल, रकि ताल्चाभडेल, प्रजल प्रधान, सुजन पराजुली, दिनेश श्रेष्ठ, रामेश क्षेत्री, अम्बिकाप्रसाद गौतम, राजी ताम्राकार, शक्ति गुरुङ र रौरभ कुमार सहभागी थिए।