क्षितीज बने फ्रिस्टाइल चेस च्याम्पियन
हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनशिपको उपाधि फिडेमास्टर क्षितीज भण्डारीले जितेका छन्।
फाइनलमा क्यान्डिडेट मास्टर मिलन लामालाई पराजित गर्दै भण्डारीले उपाधि जितेका हुन्। ‘बेस्ट अफ थ्री’ को आधारमा दरबारमार्गस्थित होटल रोयल सिंगीमा आयोजित फाइनलमा भण्डारीले शुरुआति दुवै खेल जितेर २-० ले जितेका हुन्।
उनले सेमिफाइनलमा पुनम प्रसाईंलाई पराजित गरेका थिए। सुजन काफ्लेलाई हराएर लामा फाइनलमा पुगेका थिए।
पूर्व विश्व चेस च्याम्पियन बबी फिसरले शुरू गरेको फ्रिस्टाइल चेसको प्रतियोगिता नेपालमै पहिलोपल्ट आयोजना गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ। यसमा उपाधि विजेता भण्डारीले २५ हजार, उपविजेता लामाले नौ हजार ६००, सेमिफाइनलमा रोकिएका प्रसाईं र काफ्लेले समान ६ हजार ४०० रुपैयाँ पुरस्कार प्राप्त गरे।
हिमालयन चेस एकेडेमीले पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको एक लाख २५ हजार रुपैयाँ पुरस्कारको हिमालयन ब्लिज कपको उपाधि राजन पुरीले जितेका छन्। स्वीस प्रणालीको आधारमा नौ राउन्ड सञ्चालित ब्लिज कपमा अपराजित रहँदै उनले ७.५ अंक जोडेर पहिलो स्थान प्राप्त गरेका हुन्।
सात जित, एक हार र एक बराबरीसँगै मुहान नरसिंह श्रेष्ठले ७.५ अंक बनाएका थिए। तर, उनलाई टाइब्रेकरको आधारमा उछिन्दै पुरी च्याम्पियन भएका हुन्।
सात जित र दुई हारको नतिजा सहित सात अंक बनाएका अभिक शाह तेस्रो भए। पुरीले १५ हजार, श्रेष्ठले सात हजार ५०० र शाहले ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
त्यस्तै, ब्लिजमा महिलातर्फ कुसुम तामाङ विजेता बनिन्। महिलातर्फ यू-८ मा रुबेश्री चौलागाईं, यू-१२ मा निहाना श्रेष्ठ, यू-१४ मा नायुमा मगर र यू-१६ मा प्रज्ञा पन्त प्रथम भए।
पुरुषतर्फबाट यू-८ मा शुभांग प्रधान, यू-१० मा अभियान राई, यू-१२ मा दीपन मैनाली, यू-१४ मा प्रवीर केसी र यू-१६ मा अनमोल राई प्रथम भए।
यस्तै, फिडे रेटिङ दुई हजारमूति सीताराम अग्रवाल, एक हजार ७०० मुनि कृश अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसीएतर्फ आशिर्वाद थापा उत्कृष्ट भए। प्रतियोगितामा ५० खेलाडी सहभागि थिए।
हिमालयन चेस एकेडेमीले प्रदान गर्ने वर्षका उत्कृष्ट खेलाडीमा सात्विकमान तुलाधरले प्लेयर अफ दि इयर २०२४ अवार्ड जितेका छन्। प्रेमविक्रम अधिकारीले फेयर प्ले र अनलाइन एरिना अवार्ड जिते।
नायुमा मगरले कन्जेनियालिटी अवार्ड, प्रवीर केसीले ट्याक्टिकल टाइटन, निहाना श्रेष्ठले क्वीन्स अफ दि हिमालयज र शुभांग प्रधानले राइजिङ स्टार अवार्ड जितेका छन्। एकेडेमीले नेपालको पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई लाइफटाइम एचिभमेन्टबाट सम्मान गरेको छ।