बर्माको ‘साइबर स्क्याम’ अखडाबाट उम्किएका नेपाली बन्धक
तस्कर गिरोहले बेरोजगार नेपाली युवालाई थाइल्यान्डमा आकर्षक कमाइको लोभ देखाएर बर्मा पुर्याई बन्धक बनाउँदै विश्वकै सबैभन्दा कुख्यात अनलाइन ठगीमा प्रयोग गरिरहेको छ।
बुबाको ठेक्कापट्टा व्यवसाय नराम्ररी थलियो। निजी कम्पनीमा कार्यरत आमाले पनि जागीर गुमाइन्। तब गिरेन्द्र (परिवर्तित नाम)लाई २० वर्षकै उमेरमा पैसा कमाउनुपर्ने दबाब आइलाग्यो। भर्खर प्लस टू पास गरेका उनको पढाइ त्यहीं रोकियो।
चिनेजानेकाहरू विदेश पुगेर अर्थोपार्जन गरिरहेको देखे/सुनेकाले यस परिवारमा पनि छोरालाई वैदेशिक रोजगारीमा पठाउने सल्लाह भयो। आमाले चिनजानका एक व्यक्तिलाई गिरेन्द्रलाई विदेश पठाइदिन आग्रह गरिन्। ती व्यक्तिले दुबईमा ‘सेक्युरिटी’ गार्डमा पठाउन प्रस्ताव गरे, गिरेन्द्रलाई काम चित्त बुझेन। त्यसपछि उनको भेट सुनीता नामकी महिलासँग भयो। काठमाडौंमा होटल चलाउने र आफूलाई मेनपावर कम्पनीको ‘एजेन्ट’ बताउने सुनीताले थाइल्यान्डमा राम्रो आम्दानी हुने मार्केटिङ सम्बन्धी कामको अवसर रहेको र ‘डेटा इन्ट्री’ तथा ‘टाइपिङ’ को सीप मात्र भए पुग्ने सुनाइन्। गिरेन्द्र राजी भए। उनीसँगै सुनीताका भाइ भनिएका नीरेन्द्र (परिवर्तित नाम) पनि जाने भए।
चार लाख रुपैयाँ लागत। साढे एक लाख रुपैयाँ मासिक तलब।
प्रस्ताव पछ्याउँदै गिरेन्द्र उदयपुरस्थित आफ्नो गाउँ पुगेर ऋण काढे। अनि केही वर्ष थाइल्यान्ड बसेर फ्रान्स जाने र त्यहाँको सेनामा भर्ती हुने सपना बोकेर गत असोज दोस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। तर विमानस्थलको अध्यागमनले फर्काइदियो। दुई दिनपछि सुनीताले अध्यागमनका कर्मचारीलाई घूस खुवाएर आफूहरूलाई उडाएको गिरेन्द्र बताउँछन्। त्यसपछि उनीहरू भिजिट भिसामा नेपाल एअरलाइन्सको विमानबाट थाइल्यान्डको सुवर्णभूमि एअरपोर्ट उत्रिए।
बर्मामा बन्धक बनाएर अनलाइन ठगीको काम गर्न बाध्य पारिएका समीर थापा मगर र बब काठमाडौंमा। तस्वीर : अजय हाकुजू/हिमालखबर
थाइल्यान्ड पुगेपछि सम्पर्क गर्न भनी उनीहरूलाई मार्कु नामका व्यक्तिको मोबाइल नम्बर दिइएको थियो। नीरेन्द्रले ह्वाट्सएपबाट मार्कुलाई आफूहरू आइपुगेको जानकारी गराए। उनीहरूले काठमाडौंमै साटिएको ३०० अमेरिकी डलरमध्येबाट १०० को थाई भाट सटही गरे। त्यहींको सिमकार्ड लिए। शरीरभरि ट्याटु खोपेको मोटो व्यक्ति आफूहरूको नामको कार्ड ठड्याएर उभिइरहेको उनीहरूले परैबाट देखे।
त्यो व्यक्तिले उनीहरूलाई टोयोटाको कालो फर्च्युनर गाडीमा राखेर लग्यो। सात घण्टाको ड्राइभिङमा उसले चार वटा सुरक्षा चौकी कटायो। अन्तिम चौकीमा थाइल्यान्डको सैनिक थियो जहाँ निकै कडा जाँच भयो। राति १ बजेतिर उनीहरू मेसट पुगे। यो थाइल्यान्डको पश्चिमी भेगमा पर्ने ताक प्रान्तको शहर हो जुन बर्मासँग जोडिएको छ। त्यहाँ त्यो व्यक्तिले उनीहरूको फोटो खिच्यो। अनि ‘भोलि कम्पनीको मान्छे लिन आउँछ’ भन्दै एउटा होटलमा लगेर राख्यो।
भोलिपल्ट अग्लो कदको चिनियाँ आयो। उसले पनि उनीहरूको फोटो खिच्यो र कसैलाई पठायो। अनि फर्डको रातो पिकअपमा चढाएर हुइँक्यायो। करीब साढे तीन घण्टापछि म्यानमार (बर्मा)–थाइल्यान्ड मैत्री पुल लेखिएको ठाउँ आयो। तर पुल नतरी जंगलको साँघुरो सडक हुँदै केही बेरमा एउटा सानो बजारमा पुर्याइयो। नजीकै खोला थियो, पारिपट्टि ठूलो भवन देखियो। गिरेन्द्र र नीरेन्द्रलाई गल्लीको बाटो हुँदै त्यही खोलाको तिरमा पुर्याएर रोकियो। गाडीबाट झारिएन। तर मोटरसाइकल, स्कूटरमा आएका मानिसले उनीहरूका झोला हत्तपत्त ताने। खोलामा नाउ गिरेन्द्रहरू भएतिरै आइरहेको थियो। उनीहरूलाई त्यही नाउमा चढाएर पारि पुर्याइयो, शायद बर्मातिर। “यो सब यति चाँडो चाँडो भएको थियो कि हामीले केही सोच्नै सकेनौं,” गिरेन्द्र भन्छन्, “मन चिसो भयो। नाउमा बसेका चिनियाँहरू राक्षस जसरी हाँसिरहेका थिए।”
नाउबाट झर्नासाथ राइफल बोकेको मानिस देखियो, सैनिकको जस्तो पोशाकमा चप्पल लगाएको। छेउमा फेरि कालो रङको फर्ड पिकअप हाजिर थियो। तर त्यो गाडी अघिल्लो जस्तो सफा थिएन। चढ्नासाथ ह्वास्स गन्हाउने। थोरै उकालो बाटो घुमाएर अघि बढेपछि बीचमा चौतारो आयो जहाँ ६ जना बन्दूकधारी खाजा खाइरहेका थिए। त्यहाँ पनि गिरेन्द्र र नीरेन्द्रको फोटो खिचेर फेरि अर्को गाडीमा चढाइयो। गाडी अनकन्टार गाउँ हुँदै अघि बढ्यो।
सडक छेउछाउ ‘बुलेटप्रूफ भेस्ट’ लगाएका १६/१७ वर्षका ठिटाहरू एके–४७ राइफल बोकेर पहरा दिइरहेका देखिन्थे। केही बेरमा सानो शहर आएपछि गाडीको लेन एक्कासि दाहिनेतिर फेरियो। अनि ठूलो कम्पाउन्डभित्र पुगेर रोकियो। त्यहाँ बन्दूकधारीहरू कोही गाँजा भरिरहेका, कोही तानिरहेका देखिन्थे। यहाँ उनीहरूलाई झोला आफैं झार्न भनियो। मोबाइल र पासपोर्ट खोसियो। बन्दूकधारीले एउटा कागजमा सही गर्न लगाए, जहाँ लेखिएको थियो– मानव तस्करी, लागूऔषध र मोबाइल निषिद्ध।
कम्पाउन्डमा रहेका थुप्रै भवनमध्ये उनीहरूलाई अलि परकोमा लगियो। बाहिरबाट भव्य देखिने भवनको भित्रपट्टि भने फोहर थियो। मार्बल ठाउँ ठाउँमा भत्किएको थियो। त्यही भवनमा अफ्रिकी मूलका सात केटी थिए। तिनको शरीरभरि चोट थियो। एक जना रोएको रोयै थिई। अब गिरेन्द्रलाई लाग्यो– हाम्रो पनि यही नियति हुने भो! आफूहरू बर्मामा बेचियौं कि भन्ने शंका त उनलाई पुलको साटो डुंगाबाट खोला तारिएबाटै पसिसकेको थियो। यो दृश्य समेत देखेपछि त अब रत्तीभर आश बाँकी रहेन।
त्यसपछि मार्च नाम गरेको पाकिस्तानी आएर उनीहरूलाई करीब ८०० मिटर परको ‘ओल्ड बिजनेश मेन कन्फरेन्स हल’ नामको भवनमा लग्यो। त्यहाँ ट्याटु खोपाएका, अजंगको ज्यानका चिनियाँ थिए। सबै जना हाफपाइन्ट, चप्पल लगाएर काम गरिरहेका। गिरेन्द्र र नीरेन्द्रलाई छेउको सोफामा बसिरहेको मलेशियनले ठाडै भन्यो, “तिमीहरू फस्यौ। बेचिएर आइपुग्यौ। यहाँ त अनलाइन स्क्याम गर्ने हो।”
“यो सुनेपछि म ट्वाइलेटमा गएर बेस्सरी रोएँ,” गिरेन्द्र भन्छन्।
उनीहरूलाई त्यहाँबाट मार्चले बिल्डिङ नम्बर ७ मा लग्यो। पाकिस्तानी व्यक्तिले काम गर्ने, सुत्ने ठाउँ देखाइदिए। अन्तर्वार्तापछि काममा लगाउने भनियो। अन्तर्वार्तामा यहाँसम्मको यात्रा र अंग्रेजी भाषाको ज्ञानबारे सोधियो। टाइपिङको गति जाँचियो। तलबको कुरै भएन। त्यसपछि ल्यापटप थमाइयो। गिरेन्द्रले शुरूमै गुगलमा आफू रहेको ठाउँ पत्ता लगाए, बर्माको म्यावादी।
०००
थाइल्यान्डसँग जोडिएको म्यावादी बर्माको कयन राज्य अन्तर्गत पर्छ जहाँ जातीय सेनाको शासन चल्छ। बर्मा सरकारले सन् २००६ मा देशका आदिवासी/जातीय सेनालाई राष्ट्रिय सेना मातहत ल्याएर स्वशासनको अधिकार सहित सीमा सुरक्षा फौज बनाउने निर्णय गरेको हो। सोही अन्तर्गत डेमोक्य्राटिक बुद्धिस्ट आर्मी (डीकेबीए)लाई कयन राज्यको सीमा सुरक्षा दस्ता (केबीजीएफ) बनाइयो। यसले सन् २००९/१० देखि त्यहाँ शासन थालेको हो। केबीजीएफ म्यानमारका जातीय सेनामध्ये सबैभन्दा शक्तिशाली मानिन्छ।
सीमाक्षेत्र जातीय संगठनको नियन्त्रणमा पुगेको सात वर्षपछि (सन् २०१७ देखि २०२१ को बीचमा) म्यानमार-थाइल्यान्ड-चीन सीमामा साइबर स्क्याम फैलिन थाल्यो। फ्रन्टियर म्यानमारका अनुसार कयन राज्य अहिले साइबर स्क्याम चलाउने बर्माको सबैभन्दा ठूलो क्षेत्र हो।
बर्माका ‘साइबर स्क्याम’ का अखडाबाट उद्धारपछि ‘सेफ हाउस’ मा कामदार।
चीनसँग सीमा जोडिएको उत्तर-पूर्वी शान प्रान्तको कोकाङ क्षेत्र पनि साइबर ‘स्क्याम’ का लागि कुख्यात छ। त्यहाँ सन् २०२३ को अक्टोबरमा दर्जनौं चिनियाँ नागरिक मारिएपछि चीनले त्यस्ता साइबर स्क्याम बन्द गराउन दबाब दियो। त्यसपछि बर्माको सैनिक सरकारले कडाइ गर्यो। यो कडाइ विरुद्ध अर्कन आर्मी, म्यानमार न्याशनल डेमोक्र्याटिक अलाइन्स आर्मी र ताङ न्याशनल लिबरेशन आर्मी अहिले पनि एक भएर लडिरहेका छन्। विद्रोही सेना ‘युनाइटेड वा स्टेट आर्मी’ ले चाहिं त्यहाँ सरकारसँग सम्झौता गरेर शासन चलाइरहेछ। कोकाङ क्षेत्र साइबर स्क्याम चलाउन प्रतिकूल बनेपछि म्यावादी ठूलो अखडा बनेको हो।
सूचना प्रविधिको क्षेत्रमा आकर्षक जागीरको लोभ देखाएर विश्वभरबाट बेरोजगार युवालाई चिनियाँ आपराधिक गिरोहले स्क्याम अखडामा भित्र्याउने गरेको छ। त्यहाँ पुर्याएपछि उनीहरूलाई केटी बनेर अन्जान व्यक्तिहरूलाई मायाजालमा पार्न र क्रिप्टोमा लगानी गर्न उक्साएर डिजिटल माध्यमबाट लूटपाट धन्दा चलाइन्छ। युनाइटेड स्टेट्स इन्स्टिच्यूट अफ पीस नामक संस्थाले पूर्वी एशियाली मुलुकमा अन्तर्देशीय अपराधबारे मे २०२४ मा सार्वजनिक गरेको अध्ययनमा बर्माका साइबर स्क्यामबाट वार्षिक ६४ बिलियन अमेरिकी डलर ठगी भइरहेको उल्लेख छ।
बर्मामा मात्र कम्तीमा एक लाख मानिसलाई तस्करी गरेर जबर्जस्ती साइबर स्क्याममा लगाइएको संयुक्त राष्ट्रसंघले दुई वर्षअघि सार्वजनिक गरेको तथ्यांकमा छ। अर्कै काम देखाएर त्यहाँ पुर्याउने र त्यसपछि जबर्जस्ती डिजिटल लूटपाटमा लगाउँदा नमान्नेलाई शारीरिक यातना दिइन्छ। पारिश्रमिक दिइँदैन, त्यहाँबाट निस्कन उल्टै पैसा मागिन्छ। संयुक्त राष्ट्रसंघले यसलाई आधुनिक दासत्वको संज्ञा दिएको छ। बर्मामा सन् २०२१ मा सैनिक ‘कू’ भएपछि साइबर स्क्याम झनै उर्वर बनेको हो। यसअघि लाओस, भियतनाम, कम्बोडियामा पनि चिनियाँ गिरोहले साइबर स्क्याम चलाएका थिए। सन् २०२१/२२ तिर त्यहाँका सरकारले ती धन्दा बन्द गराएपछि ‘स्क्यामर’ हरूले बर्मालाई ‘हब’ बनाएका छन्।
०००
यही आधुनिक दासत्व झाँगिइरहेको म्यावादीमा गिरेन्द्रहरूलाई हुलियो। कम्पनीमा छिरेपछि उनीहरूलाई अर्कै नाम राख्न भनियो। गिरेन्द्रले नेत्र छाने। कुनै दिन यो अन्धकारबाट निस्कने उज्यालो देखाउने ठानेर उनले ‘नेत्र’ नाम छानेका रे। नीरेन्द्रले चाहिं ‘राम’ राखे।
नीरेन्द्र र गिरेन्द्र कुरा गर्दै टहलिरहेका थिए।
– “नेपाली हो ?”
कसैले उनीहरूको ध्यान तान्यो।
त्यहीं भेटिए– समीर, बब, युनिक, टाइसन, रेब लगायत ११ जना नेपाली। यीमध्ये दुई महिला थिए। यी जम्मै स्क्याम अखडामा छिरेपछि राखिएका नाम हुन्। उनीहरूमध्ये कोही नेपालबाटै त कोही दुबई हुँदै आएका थिए। भनेको काम नगरे, बिगारे र लक्ष्य पूरा नगरे चिनियाँको कुटाइ खानुपर्ने उनीहरूले नयाँ नेपाली साथीलाई सुनाए। चरम यातना दिन ‘डार्क रूम’ रहेको खुलाए जहाँ अँध्यारो कोठामा हात बाँधेर लामो समय पानीधरि नदिई राखिन्छ।
कुनामा थियो, गिरेन्द्रको कार्यकक्ष। काम पूरा नगर्ने र बिगार्नेलाई यातना दिइएको उनी प्रत्यक्ष देख्थे। करेन्ट लगाउने, कुट्ने, चर्को घाममा लुगा नलगाई सेकाउने, पानीको जार काँधमा बोकेर २०० चोटि उठबस गर्नुपर्ने आदि सजाय थिए। “यो सब देखेर म कुनामा घोप्टो परेर रुन्थें,” गिरेन्द्र सम्झन्छन्।

शुरूमा टाइपिङको गति, च्याटिङको सीप बढाउने तरीका सिकाइयो। केही समयछि रूटिन आयो, दिउँसो ३ बजेदेखि बिहान ९ बजेसम्म काम गर्ने। “अहिले पनि मेरो शरीर यही रूटिनमा चल्न खोज्छ,” उनी भन्छन्। गिरेन्द्रलाई अनलाइनमा अलिसिया फारुज नामबाट काम गर्न आदेश दिइयो। अनि विभिन्न व्यक्तिका मोबाइल नम्बरको सूची थमाइयो।
स्क्यामरले अलिसियाका नामबाट यस्तो कथा बुनेका हुन्छन्– ऊ सिंगापुरमा बस्ने ३० वर्षीया केटी हो। ब्रान्ड फाइनान्समा काम गर्ने ऊ फेशन डिजाइनर पनि हो। एकदमै पैसावाल छे।
अनि उसका नाममा यसरी ठगी हुन्छ– पहिलो चरणमा उसले ती नम्बरमा सम्पर्क गरेर सम्बन्ध बनाउँछे। विश्वास आर्जन गर्छे। ख्यालठट्टा गर्छे। सम्बन्ध बन्दै गएपछि आफू भन्दै कुनै केटीले नुहाइरहेको भिडिओ पठाउँछे। “त्यसपछि केटाहरूको मेसेज ह्वार्र आउँथ्यो,” गिरेन्द्र सम्झन्छन्।
अचानक अलिसिया स्क्याम गर्ने प्लेटफर्म बीटुबी बाइनान्समा व्यस्त हुन्छे। केटालाई पनि त्यही प्लेटफर्ममा छिराएर सामान अर्डर गर्न लगाइन्छ। त्यस बापत उसको खातामा ३० डलर कमिशन पठाइन्छ। यसलाई ‘इन्जेक्शन’ को चरण भनिने गिरेन्द्र बताउँछन्। यसरी ग्राहक पल्काउन आफूहरूलाई २६५ अमेरिकी डलरसम्म खर्च गर्न दिइने अलिसिया बनेर लुट्न बाध्य परिएका उनी सुनाउँछन्। यो चरणलाई ‘भीआईपी वान’ पनि भनिन्छ।
त्यसपछि ‘भीआईपी टु’ को पालो। यसमा सम्भावित ग्राहकलाई अलिकति पैसा हाल्न लगाइन्छ र तुरुन्तै कमिशन थपेर उसको खातामा पठाइन्छ।
त्यसपछि शुरू हुन्छ, ‘भीआईपी थ्री’। अलिसिया नामको अकाउन्टले अब एकैचोटि अत्यधिक कमिशन आउने भनी पैसा हाल्न लगाउँछ। छद्म नामको प्रेमजालमा फसेको ग्राहक खुरुखुरु मान्छ। यसलाई ‘किलिङ’ चरण पनि भनिन्छ। तर क्रिप्टो, बाइनान्सको वेबसाइट फर्जी भएको उसले त्यति वेला थाहा पाउँछ जति वेला उसको धेरै थोक गुमिसकेको हुन्छ। पैसा लगानी हुन छोडेपछि त्यो एकाउन्ट बन्द हुन्छ।
बर्मामा अनलाइन स्क्याम चलाउनेहरूले प्रयोग गरेको लाेगाे।
गिरेन्द्रका अनुसार यो ठगी धन्दामा मायाजाल, प्रलोभन, धम्की सबै उपाय प्रयोग गरिन्छ। ह्वाट्सएप, टिकटक, इन्स्टाग्रामबाट सम्भावित ग्राहकको नम्बर लिने एउटा टोली नै हुन्छ। त्यो नम्बर गिरेन्द्र जस्ता शुरूआती चरणमा प्रवेश गरेकालाई दिइन्छ। ‘किलिङ’ चरण चलाउन भने ‘लिडर’ लाई मात्र दिइन्छ। यस्तै शैलीबाट मासिक १० हजार डलर लुट्ने लक्ष्य दिइने गिरेन्द्रको भनाइ छ।
उनका अनुसार यसरी काम गर्नेहरू एउटा कम्पाउन्डमा २० हजारको हाराहारीसम्म हुन्थे। त्यहींभित्र क्यासिनो, बजार, क्लब, रेस्टुराँ, बार, पब, पैसा सटही केन्द्र सबै छन्। “पैसा भए त्यहाँ सबथोक थियो। सिर्फ पारिश्रमिक र स्वतन्त्रता थिएन,” गिरेन्द्र भन्छन्, “तैपनि नयाँ नयाँ मानिस आउँथे। आँखै अगाडि फसेको देखिन्थ्यो। गर्न केही सकिंदैनथ्यो।”
दोस्रो महीनाको एकदिन चमत्कार भयो। कम्पनीका मान्छे र सुरक्षाकर्मी आएर नेपालीहरूको फोटो खिचे। उनीहरूलाई घर फर्काउन यस्तो गरिएको गाइँगुइँ चल्यो। नभन्दै पाँच जना नेपाली निस्किए। गिरेन्द्रले फर्केकाहरूसँग गोप्य रूपमा सम्पर्क गरे।
त्यसको दुई महीनापछि उनीहरूले गिरेन्द्रलाई त्यहाँबाट उम्काउन सघाउने भन्दै नेपालमै रहेका विवेक राईसँग सम्पर्क गराइदिए। विवेकले डेढ लाखभन्दा बढी रकम मागे। यसअघि बर्माबाटै फर्किएकी अर्की एक महिलाले पनि त्यहाँबाट निकाल्न सघाउने तर डेढ लाख रुपैयाँ चाहिने भनेपछि उनी निराश भएका थिए। विवेक भने बर्मामा फसेकालाई निकाल्न भन्दै नेपालस्थित बर्मेली दूतावास पनि धाएको पाइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एक प्रहरी अधिकारी बताउँछन्।

गिरेन्द्र यत्तिको पैसा तिर्ने हैसियतमा थिएनन्। यस्तैमा त्यहाँबाट उम्किएकाहरूमध्येकै एकले उनलाई नेपाली मूलका बर्मेली सञ्जय प्रधानको सम्पर्क नम्बर दिए। उनले ६ जना नेपालीको सूची प्रधानलाई पठाए। त्यही वेला गिरेन्द्रलाई लक्ष्य नपुर्याएको भन्दै पानीको जार काँधमा बोकेर उठबस गराइयो। “मेरो घाँटी नै सड्कियो,” उनी भन्छन्।
फेरि अचानक प्रधानको मेसेज आयो, “नआत्तिनू, हामी निकाल्ने प्रयास गरिरहेका छौं।” त्यसपछि फेरि हप्तौं हराए। अंग्रेजी नयाँ वर्षको पार्टी ‘स्क्याम क्याम’ मा चलिरहेको थियो। त्यही वेला प्रधानले मेसेज गरे, “हामी रेस्क्यू गर्न आउँदै छौं। ३०/४० मिटर पर मात्र छौं।” तर यो खुशी लामो समय टिकेन। “डीकेबीए (केबीजीएफ)सँग डिलिङ मिलेन,” प्रधानको खबरले क्याम्पमा रहेका नेपाली निराश भए।
त्यो ‘डिलिङ’ के थियो, कसैलाई थाहा छैन। केबीजीएफको नियन्त्रणमा रहेको उक्त ठाउँ छिर्न र निस्कन उसको अनुमति अनिवार्य छ।
दुई सातापछि अचानक केबीजीएफका हतियारधारी व्यक्ति आएर पासपोर्ट नम्बरबाट नेपालीलाई बोलाउन थाले। त्यसमा चार जनाको नाम मात्र थियो। तीमध्ये एक जना ‘लिडर’ बनिसकेकाले आउन नमानेको गिरेन्द्र बताउँछन्। लिडर बनाइएकाहरूलाई भने गिरोहले मासिक तलब नै दिने गर्थ्यो।
भोलिपल्ट केबीजीएफले चार जनालाई ‘स्क्याम क्याम्प’ बाट निकाल्यो। “पिंजडाबाट निस्कँदा मुख छोपेर रोएँ,” गिरेन्द्र भन्छन्। चिनियाँले दिएको आईडी कार्ड त्यहीं राखियो। उनीहरूलाई गाडीमा राखेर केबीजीएफको कार्यालयमा लगियो जहाँ एक जनालाई १० हजार भाट बाटो खर्च दिइयो। त्यसपछि ६६९ भन्ने ठाउँमा तीन दिन राखियो। त्यहीं उनीहरूले अर्का एक जना साथी छुट्न बाँकी रहेको केबीजीएफका मानिसलाई सुनाए। भोलिपल्टै ल्याइदिए। त्यही पालोमा स्क्याम अखडामा बन्धक रहेका पाकिस्तानी, फिलिपिनी, भारतीयहरू पनि छुटाइए। “भोलिपल्ट १८/२० वटा सैनिक गाडीको लस्कर सहित हामीलाई थाइल्यान्ड पुर्याइयो,” गिरेन्द्र भन्छन्।
उनीहरूलाई एउटा एनजीओले जिम्मा लिएको थियो। त्यसैले बर्माबाट फर्कने र त्यहाँ बसेको खर्च समेत बेहोरिदियो। तर निस्किएकामध्ये एक साथीले थाइल्यान्डस्थित नेपाली दूतावासमा खबर गरेपछि उनीहरूलाई त्यहीं बोलाइयो। त्यहाँ पुगेपछि भने आफूहरू बेखर्ची बनेको र नेपाल पठाइदिन आग्रह गर्दा अपराधी सरह व्यवहार गरिएको गिरेन्द्र सम्झन्छन्। “घर जाने खर्च छैन, दूतावासले सहयोग गर्नुपर्यो भन्यौं,” उनी भन्छन्, “तर दूतावासका कर्मचारीले जहाँदेखि आएको त्यहीं पुर्याइदिन्छु, हामी तिमीहरूको बाआमा होइन भने।”
त्यसपछि उनीहरू होटलदेखि जहाजसम्मको खर्च जसोतसो जोहो गरेर आफैं फर्किए।
गत जनवरीमा थाइल्यान्डबाट चिनियाँ अभिनेता वाङ चिङलाई अपहरण गरेर म्यावादी पुर्याइएको थियो। थाई प्रहरीले ७ जनवरीमा उनलाई उद्धार गर्यो। यो घटनापछि चीन, बर्मा र थाइल्यान्डले म्यावादीका साइबर स्क्याम अखडामा ‘संयुक्त अपरेशन’ शुरू गरेका छन्। यही क्रममा नेपालीलाई समेत त्यहाँबाट मुक्त गरिएको हो। तर संयुक्त राष्ट्रसंघले एशियाको पछिल्लो छिमलकै सबैभन्दा ठूलो स्क्याम भनेको, पूर्वी एशियाका चार देशमा फैलिएको स्क्यामका अखडामा अरू कति नेपाली छन्, कसैलाई थाहा छैन। त्यहाँबाट फर्किएकाहरू दुई हजारको संख्यामा हुन सक्ने अनुमान गर्छन्।
छ्यापछ्याप्ती अनलाइन एजेन्ट
थाइल्यान्डमा कामको अवसर
काम : सेल्स/मार्केटिङ
तलब : १५ सय डलर
काम गर्ने अवधि : ८ घण्टा
ब्रेक : १ घण्टा
लागत : शून्य
टेलिग्राममा यस्तो विज्ञापन देखेपछि चितवनका बबको ध्यान तानियो। सपरिवार चलाएको कृषि फार्म कोभिड-१९ पछि उठ्नै सकेको थिएन। बबले ढिलो नगरी आफू जान चाहेको भनी मेसेज पठाए। वर्षा नामबाट उनलाई भिडिओ अन्तर्वार्ता मार्फत छनोट गर्ने जानकारी आयो। उनी तयार बसे। तर अन्तर्वार्ता लिने वर्षाको भिडिओ ‘म्यूट’ थियो। अन्तर्वार्तापछि उनलाई काठमाडौं बोलाइयो। त्यसपछि शुरूमा डेढ लाख रुपैयाँ लाग्ने र त्यो थाइल्यान्ड पुगेपछि फिर्ता हुने बताइयो। बब बसेको नयाँ बसपार्कस्थित होटलमै वर्षाले पैसा लिन मान्छे पठाइन्।
बब गत दशैंको फूलपातीको अघिल्लो दिन थाइल्यान्ड उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा त्यहीं भेटिए, गोरखाका २४ वर्षीय समीर थापा मगर। उनी पनि यस्तै टेलिग्रामको सूचना पछ्याउँदै जागीरका लागि हिंडेका थिए। आईटीका विद्यार्थी समीरलाई ‘क्लिनर’ को काम भनिएको थियो।
समीरसँग पनि वर्षाले नै एक लाख ३० हजार रुपैयाँ लिएकी थिइन्। ठमेलको ज्याथामा भेटेर एक लाख पाँच हजार नगद र बाँकी २५ हजार ‘बाइनान्स’ बाट दिएको उनी बताउँछन्। भारतमा केही समय कूकको काम गरेका समीर त्यही वेलादेखि बाइनान्स एकाउन्ट खोलेर डिजिटल करेन्सीको कारोबार गर्थे। बेरोजगार रहेका उनी छोरी, पत्नी सहितको परिवार पाल्न धौधौ परेपछि राम्रो कमाइ हुने कामको खोजीमा थिए। “काखकी छोरीको भविष्यका लागि भए पनि विदेश जानुपर्ने टुंगोमा पुगियो,” समीर सुनाउँछन्।
बर्मामा जातीय सैनिक संगठन केबीजीएफका सदस्यसँग उद्धार गरिएका नेपाली।
काठमाडौंबाट बब र समीर भारतको कोलकाता पुगे। त्यहाँ दुई दिन बसेर भोलिपल्ट म्यानमारको रंगुन विमानस्थलमा ओर्लिए। त्यहाँ उनीहरूलाई थाइल्यान्ड लैजाने मानिस लिन आउने भनिएको थियो। उक्त दिन गोल्डेन भिल्लामा राखियो। भोलिपल्ट लिन अर्कै मानिस आयो। उसले पासपोर्ट लियो र २२/२३ घण्टाको ड्राइभिङपछि राति म्यावादी पुर्यायो। १५/२० वटा गाडी फेरेर त्यहाँ पुर्याइएको उनीहरू बताउँछन्। “म्यावादी पुगेपछि पो थाहा भयो, हामी त स्क्याममा फसेका रहेछौं,” बब भन्छन्।
शुरूमा उनीहरूले आफूहरूलाई झुक्याइएको भन्दै काम गर्न मानेनन्। त्यसपछि क्रमशः तीन वटा क्याम्पमा उनीहरूलाई सारियो। ती सबैमा उनीहरूले काम नगर्ने अडान लिए। त्यहाँबाट चौथो कम्पाउन्डमा लगियो जहाँ हतियारधारी सैनिक तैनाथ थिए। “त्यसपछि त काम नगरी उपाय भएन,” समीर थप्छन्।
समीर र बब केटीको भेषमा ‘स्क्यामर’ बने। मासिकको १० हजार डलर लुट्नुपर्थ्यो। टार्गेट नपुगेको दिन यातना भोग्नुपर्थ्यो। त्यसबाट जोगिन भए पनि उनीहरू सक्दो खटिन्थे। खेद व्यक्त गर्दै समीर आफूले एक महीनामा २२ हजार डलरसम्म लुटेको बताउँछन्।
बर्माको ‘स्क्याम’ अखडामा नेपालीलाई पुर्याउन काठमाडौंमै चिनियाँ गिरोह सक्रिय रहेको कुरा २०८० सालमै खुलेको थियो। ४२ वर्षीय चिनियाँ नागरिक लियाङ जून बर्माका साइबर स्क्याम अखडामा नेपाली पठाएको अभियोगमा २०८० असारमा पक्राउ परेका थिए। काठमाडौंको दरबारमार्गमा वाईवाईपी सर्भिसेज नामक ब्यूटीपार्लर खोलेर त्यसैको आवरणमा मानव तस्करी गरेको खुलेको थियो। ब्यूटीपार्लरमै काम गर्ने एक महिला र उनकी बहिनीलाई लियाङले थाइल्यान्डमा मासिक एक हजार अमेरिकी डलर तलब हुने र खान-बस्न कम्पनीले दिने भन्दै एक लाख रुपैयाँ लिएर २०७९ साउनमा पठाएका थिए।
स्क्याम अखडामा एक महीना काम गरेपछि बिरामले थलिएकी ती महिलालाई ७५ हजार रुपैयाँ तिराएर नेपाल फर्काइएको थियो। बहिनी उतै थिइन्। यता आएपछि दिदीले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिइन्। सोही आधारमा लियाङलाई पक्राउ गरेर मुद्दा चलाए पनि तस्कर गिरोहको थप सञ्जाल खुलाउन प्रहरी सफल भएन। लियाङले नेपालीको नाममा कम्पनी खोलेर बर्मामा मानिस पठाउने गरेका थिए। काठमाडौं जिल्ला अदालतले शोषण गर्ने उद्देश्यले विदेश पुर्याएको कसूरमा उनलाई दुई वर्ष जेल सजाय तोकेको थियो, गत जेठमा। यो न्यूनतम सजाय मात्र हो। शोषण गर्ने उद्देश्यले विदेश पुर्याए पाँच वर्षसम्म कैद हुने व्यवस्था छ।
बर्माको साइबर स्क्याम अखडामा पुर्याएर बेचेको अभियोगमा नेपालमा मुद्दा चलेको यो एक मात्र घटना हो। त्यसपछि कतिपय नेपाली फर्किएर जाहेरी दिए पनि कोही पक्राउ परेका छैनन्।
काम पूरा नगरेकाे भन्दै चिनियाँ गिरोहले कुटपिट गर्दा समीर थापा मगरको खुट्टामा लागेको चोट। तस्वीर : अजय हाकुजू/हिमालखबर
दुबई कनेक्शन
मानव तस्करको समूहले विश्वकै सबैभन्दा ठूलो ‘अनलाइन स्क्याम’ मा खाडी मुलुकमा रहेका नेपालीलाई समेत पुर्याउने गरेको छ। हालै त्यहाँबाट केबीजीएफले फिर्ता पठाइदिएका ११ जनामध्ये आधाजसो दुबई हुँदै बर्मा पुगेका थिए। तिनैमध्येका हुन्, झापाका योगराज लिवाङ। भिजिट भिसामा दुबई गएर काम गरिरहेका उनी थप राम्रो कमाइ हुने बाटो खोजिरहेका थिए। यस्तोमा फेसबूकमा आएको सूचना पछ्याउँदै र केही मानिसलाई भेटेर उनी अक्टोबर २०२२ मा बर्मा पुगेका थिए।
गत भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका–१३ मा क्रिप्टो करेन्सीको कारोबार गर्ने अखडामा छापा मारेर दुई चिनियाँ सहित ३६ जनालाई पक्राउ गरेको घटनाले पनि दुबई पुग्ने नेपाली आपराधिक गिरोहको निशानामा रहेको खुलाएको थियो। यस गिरोहका अगुवाहरू दुबईमा भेट भएपछि नेपालमा अवैध कारोबारमा सामेल भएका थिए। दुबई, चीन, नेपालमा संगठित तवरले अवैध कार्य गरेको भन्दै उनीहरू विरुद्ध साढे १० करोड रुपैयाँ बराबर बिगोको अभियोग दर्ता छ। “चिनियाँहरूको सम्पर्क बर्मा, थाइल्यान्ड, लाओस, कम्बोडियातिर पनि देखिएको थियो,” अनुसन्धानमा संलग्न एक प्रहरी नायब उपरीक्षक भन्छन्, “यो समूहले नेपालीलाई उता पठाएको प्रमाण नभेटिए पनि शंका गर्ने आधार छन्।”
मानव तस्करीमा सक्रिय एजेन्टले रोजगारका लागि भौंतारिएकाहरूलाई दुबईलाई ट्रान्जिट बनाएर राख्छन्। भिजिट भिसामा दुबई पुगेपछि उनीहरू राम्रो काम पाइने सम्भावित मुलुक ढुकेर बस्छन्। यसरी लगिएकाहरूलाई राख्न त्यहाँ अपार्टमेन्ट नै भाडामा लिइएको पाइएको हालै मात्र मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ओमबहादुर राना बताउँछन्। दुबईबाट बर्मा पुग्ने थुप्रै नेपालीलाई आफूले बर्मामा भेटेको गोरखाका समीर सुनाउँछन्। दुबई भिजिट भिसामा जान सहज मुलुक मानिन्छ। यही सहजतालाई तस्करको गिरोहले दुरुपयोग गरिरहेको छ।
(सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
यी पनि पढ्नुहोस्