घरजग्गा बजार काठमाडौंमा शिथिल, तराईका केही जिल्लामा धेरै किनबेच
दुई वर्षदेखि जारी घरजग्गा कारोबारको शिथिलता फागुन महीनामा पनि कायम रहेको देखिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत फागुनमा देशभरिका मालपोत कार्यालयबाट ४६ हजार ६१ वटा घरजग्गाको किनबेच भएको छ। यो माघ महीनाको कारोबार जति पनि होइन। माघमा ४६ हजार ६९ वटा घरजग्गा किनबेच भएका थिए।
नेपालमा पछिल्लो तीन वर्षयता घरजग्गा कारोबारमा मन्दी छाएको व्यवसायीले बताउने गरेका छन्। तथ्यांकले पनि घरजग्गाको किनबेच शिथिल भएको देखाउँछ। घरजग्गा बजारमा चकाचौंध भएका वेला कारोबार संख्या हरेक महीना ७५ हजारको हाराहारीमा हुने गर्थ्यो।
यो वर्ष पोहर जति पनि कारोबार भएको छैन। गत वर्षको फागुनमा ५१ हजार वटा घरजग्गा किनबेच भएका थिए। यस वर्षको सोही महीनामा त्यो संख्या झन्डै पाँच हजारले घटी छ।
गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म तीन लाख २९ हजार ८३५ वटा घरजग्गा कारोबार भएकामा यस वर्षको सोही अवधिमा तीन लाख २४ हजार ३३९ वटा मात्रै घरजग्गा किनबेच भएका छन्। यसले बितेको वर्षका तुलनामा समेत माग नबढेको देखाउँछ।
खासगरी घरजग्गा कारोबारको केन्द्र काठमाडौंमा नै किनबेच सुस्त छ। गत फागुन महीनामा काठमाडौं उपत्यकामा तीन हजार ८९० वटा घरजग्गा किनबेच भए। गत पुस र माघमा पनि यत्ति नै संख्यामा कारोबार भएको तथ्यांक छ। काठमाडौंमा पनि भक्तपुर र ललितपुरमा किनबेच बढी छ।
घरजग्गा कारोबार उच्च हुने वेला काठमाडौंमा मासिक झन्डै नौ हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेका थिए। यसले काठमाडौंमा घरजग्गाको बजारमा मागमा ठूलो कमी आएको देखाउँछ।
तराईका केही जिल्लामा तुलनात्मक रूपमा घरजग्गा कारोबार धेरै भएको विभागको तथ्यांकले देखाउँछ। फागुनमा इनरुवामा सबैभन्दा धेरै एक हजार ८६७ वटा घरजग्गा किनबेच भए। मोरङ, झापा, धनुषा, सप्तरी, सर्लाही जस्ता जिल्लामा घरजग्गाको किनबेच धेरै छ।
देशको अन्य क्षेत्रमा कारोबार खस्किंदा पनि तराईका केही जिल्लामा कारोबार बढ्नुले ती क्षेत्रमा बसाइँसराइ उच्च भएको हुन सक्ने संकेत गर्छ।
घरजग्गा व्यवसायी घरजग्गाको कारोबार बढ्ने अपेक्षा गरिरहेका छन्। उनीहरूले अर्थतन्त्रको शिथिलताका पछाडि घरजग्गा कारोबार सुस्त हुनु मुख्य कारण मान्ने गरेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले केही समयअघि हिमालखबरसँग कुरा गर्दै घरजग्गा कारोबारको मन्दी नहट्दासम्म अर्थतन्त्र गतिशील नहुने विचार राखेका थिए।
घरजग्गाको बजार चलायमान हुन नसक्नुमा नेपाल राष्ट्र ब्यांकले घरजग्गा क्षेत्रमा घुमाउरो तरीकाले हुने लगानीमा लगाम कसेको, घरजग्गाको मूल्य उच्च भएको तथा नेपालमा सम्पत्ति बेचेर विदेशमा लैजाने गरेको लगायतलाई कारण मानिन्छ। राष्ट्र ब्यांकले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन जारी गर्दै ब्यांक तथा वित्तीय संस्थालाई अनियन्त्रित कर्जा प्रवाहमा नियन्त्रण गरिदिएको थियो। यसले गर्दा पछिल्ला दुई आर्थिक वर्षमा कर्जा प्रवाह सुस्त छ। ब्यांक तथा वित्तीय संस्थाको कर्जा प्रवाह नियन्त्रण हुँदा त्यो रकम घरजग्गाको बजारमा भित्रिन पाएको छैन, जसकारण घरजग्गाको माग खस्किएको छ।
घरजग्गाको बजारमा धेरै रकम खन्याएका देशभरिका सहकारी संस्था धर्मराएका कारण पनि यो बजार शिथिल हुन पुगेको छ। त्यसैगरी, समस्यामा परेपछि व्यवसायीले धितो राखेको घरजग्गा ब्यांक तथा वित्तीय संस्थाले सर्कानुपरेको छ। यसले बजारमा मागभन्दा आपूर्ति धेरै बनाएको छ।
पछिल्ला वर्षमा देशभित्रको सम्पत्ति बेचेर विदेशमा घर किन्ने प्रवृत्ति बढेको छ। विभिन्न विकसित देशमा अध्ययन र कामका लागि गएका युवा स्थायी रूपमा सोही मुलुकमा बस्ने प्रवृत्तिका कारण शहरी क्षेत्रमा घरजग्गामा लगानी गर्नुको साटो नेपालको सम्पत्ति बेचेर सोही मुलुकमा घर किन्ने प्रवृत्ति बढ्दो छ।
साथसाथै, नेपालमा घरजग्गाको मूल्य उच्च आम्दानी भएका मुलुकमा भन्दा पनि धेरै भइसकेका कारण पनि घरजग्गाको बजार शिथिल भएको व्यवसायीले बताउने गरेका छन्। सरकारले घरजग्गा कारोबार उकास्न घरजग्गा क्षेत्रमा जाने ऋणमा गरिएको नियन्त्रण हटाउनुपर्ने, कित्ताकाटको झन्झट हटाउनुपर्ने, घरजग्गा बजारलाई प्रवर्द्धन गर्ने नीति अघि सार्नुपर्ने लगायत माग व्यवसायीले राख्दै आएका छन्।