बसाइँसँगै बाँचिरहने स्रष्टा
९३ वर्षको उमेरमा निधन भएका साहित्यकार लीलबहादुर क्षेत्री प्रवासी नेपालीको पीडा समेटिएको कालजयी आख्यान ‘बसाइँ’ सँगै बाँचिरहनेछन्।
“त्यतिन्जेल म बाँच्छु कि बाँच्दिनँ,” लीलबहादुर क्षेत्रीले घरमा आएका पाहुनाहरूलाई भनेका थिए। क्षेत्रीले यो कुरा त्यो वेला भनेका थिए, जतिवेला गुवाहाटीका नेपालीभाषी समुदायले १४ दिनअघि १ मार्चमा उनको जन्मदिन भव्य रूपमा मनाउने तयारी गरिरहेको थियो।
शारीरिक रूपमा कमजोर भए पनि क्षेत्रीले नेपालबाट गएका अतिथिहरूसँग आफ्नो कालजयी उपन्यास बसाइँ सन् १९५८ मा प्रकाशित हुँदाको प्रसंग सुनाउँदा दिमाग अझै तेज रहेको छनक दिएका थिए।
मार्च १ मा तय भएको आफ्नो जन्मदिन समारोहमा उनी सहभागी भए। आफ्नो उपन्यास ब्रह्मपुत्रको छेउछाउको नयाँ संस्करण र लीलबहादुर क्षेत्री उपन्यास समग्रको पनि विमोचन गरे, तर ९३औैं जन्मदिन मनाएको १३औं दिनमै उनी यो संसारबाटै बसाइँ हिंडे।
उनको बसाइँ उपन्यास कम्तीमा पनि दुई पुस्ताका नेपालीलाई कण्ठ जस्तै थियो, किनभने सो उपन्यास त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समावेश थियो। लीलबहादुर क्षेत्रीका पुर्खा पनि अन्य हजारौं नेपाली जस्तै पूर्वी पहाडी जिल्लाबाट भारतको आसाम बसाइँ गएका थिए।
मान्छे धेरै कारणले बसाइँ जान्छ। विज्ञहरूले यसलाई ‘तान्ने’ (पुलिङ) र ‘ठेल्ने’ (पुशिङ) तत्त्व भनी व्याख्या गरेका छन्, अर्थात् मान्छे कि त ‘त्यो ठाउँ’ को आकर्षणले बसाइँ जान्छ कि त ‘यो ठाउँ’ को बाध्यताले। क्षेत्रीको उपन्यासका चरित्र ऋण, गरीबी र विभेद्ले बसाइँ जान बाध्य छन्।
हालैको भेटमा उनले के सुनाए भने, बसाइँ उपन्यासको पाण्डुलिपि उनले मदन पुरस्कार पुस्तकालयका कमलमणि दीक्षितलाई पठाएछन्। दीक्षितबाट कुनै जानकारी नपाएपछि आफ्नो उपन्यास प्रकाशन योग्य रहेनछ भन्ने उनलाई लागेछ।
“एकदिन दार्जीलिङका मेरा एक मित्र मेरो किताबमा हस्ताक्षर माग्न पो आइपुगे। मलाई त त्यो प्रकाशित भएको छ भन्ने थाहै थिएन,” क्षेत्रीले सो घटनाको स्मरण ताजा बनाए।
समयक्रममा बसाइँले कालजयी कृतिको ख्याति आर्जन गर्यो। बसाइँ प्रकाशन भएको आज ७० वर्षपछि पनि नेपालीको बसाइँ जाने क्रम टुटेको छैन। बसाइँ जान बाध्य पार्ने कारणहरूले अचेल त झन् त्यो वेलाभन्दा कैयौं गुणा बढी मानिस देश छाडिरहेका छन्।
फागुनमा गुवाहाटी पुगेको मदन पुरस्कार गुठीको टोलीसँग गफिंदै लीलबहादुर क्षेत्री।
बसाइँको पहिलो प्रकाशनको भूमिकामा क्षेत्रीले लेखेका छन्, ‘के नेपालीहरू आफ्ना चाहनाले देश छोडिरहेका छन्? हुनसक्छ धेरैको लागि त्यो सही होला, तर अरूका लागि भने यो बेग्लै विषय हो। मैले बसाइँमा यसको रहस्य र दुःखान्तको जरालाई खोतल्ने प्रयास गरेको छु।’
समयक्रममा बसाइँको अंग्रेजी अनुवाद पनि भयो। उपन्यास प्रकाशनको ५०औं वर्ष पुगेको अवसरमा सन् २००८ मा बसाइँको अनुवाद युनिभर्सिटी अफ लन्डनको ‘स्कूल अफ अफ्रिकन एन्ड एशियन स्टडीज’ (सोआस)का प्रोफेसर नेपालविज्ञ डा. माइकल जे हटले गरे। तर त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभागले स्नातकोत्तरको पाठ्यक्रम परिमार्जन गर्ने क्रममा बसाइँलाई पाठ्यक्रमबाट हटाएको छ।
अंग्रेजीमा अनुवाद भएको लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यास।
गत महीना मदन पुरस्कार पुस्तकालयका सदस्यहरू गुवाहाटीस्थित क्षेत्रीको घरमा पुग्दा उनलाई आफ्नो कोठाबाट बैठक कोठामा आउन पनि सहारा चाहिएको थियो। तर जसै काठमाडौंबाट गएका सहृदयीसँग उनी गफिँदै गए, एक घण्टा बितेको पत्तै भएन। जहिल्यै नेपाल जाँदा आफूले पाएको मायाका किस्सा सुनाउँदै उनी उत्साहित हुँदै कुराकानी गर्दै रहे।
क्षेत्री आफ्ना छोरा र परिवारसँग बसोबास गरिरहेका थिए। कोठाभरि किताबैकिताबको चाङ थियो, जसलाई उनी ‘जंगल’ भन्थे। बुहारी कल्पनाले क्षेत्रीलाई नेपालबाट आउने अतिथिहरूले बेग्लै ऊर्जा दिने कुरा सुनाएकी थिइन्।
“तपाईंहरूको उपस्थिति उहाँलाई बुटी सरह भएको छ,” उनले भनेकी थिइन्, “उहाँ त रातमा पनि आफ्ना पुस्तकहरूसँग कुरा गरिरहनुहुन्छ।”
तीन साताअघि नेपालबाट आएका आगन्तुकलाई बिदाइ गर्न ठमठम हिंडेर ढोकासम्म पुगेका लीलबहादुर क्षेत्री। तस्वीर : कुन्द दीक्षित
साँच्चै उनलाई हाम्रो आगमनले स्फूर्ति दिएको हुनुपर्छ। अघि आउँदा उनलाई डोर्याउनुपरेको थियो, तर हामीलाई बिदा गर्दा आफैं हिंडेर ढोकासम्म आइपुगे।
उनको जन्म १ मार्च १९३३ मा भारतीय राज्य आसामको गुवाहाटीमा भएको थियो। सन् २०१६ मा उनलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो।
सन् २०२१ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट पद्मश्री ग्रहण गर्दै लीलबहादुर क्षेत्री। तस्वीर: प्रेसिडेन्ट अफ इन्डिया/एक्स
भाषा-साहित्यमा पुर्याएको योगदान बापत सन् २०२० मा उनले भारतका राष्ट्रपतिबाट पद्मश्री पुरस्कार पाएका थिए। उनको उपन्यास ब्रह्मपुत्रको छेउछाउले भारतीय साहित्य अकादमी पुरस्कार पाएको थियो।
नौ वर्षअघि जगदम्बा-श्री सम्मान पाउँदा आयोजित समारोहमा उनले आफ्नो मन्तव्यमा भनेका थिए, “हाम्रा पुर्खाले नेपाल छोडेर पुस्तौंदेखि नेपाल बाहिरै बसोबास गरिरहेका छन्। तर हाम्रा लागि नेपाली भाषा, साहित्य र नेपाली संस्कृति अमूल्य छ।”
(नेपाली टाइम्सबाट महेश्वर आचार्यले गरेको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)