आधुनिक समाजमा बुद्धकालीन तरंग
‘बुद्धकालीन समाज’ पुस्तकले प्राचीन समाजमा धर्म, जातिवाद र सामाजिक संरचनामा आएको परिवर्तनको चर्चा गर्दै आधुनिक समाजमा बुद्धका उपदेशको महत्त्व र प्रभावबारे चिन्तन गर्न प्रेरित गर्छ।
गौतम बुद्धको समयमा सामाजिक, धार्मिक र सांस्कृतिक अवस्था कस्ता थिए? बुद्धको जीवनकाल र उनको शिक्षामा आधारित समाजको संरचनामा केकस्ता परिवर्तन आए? यी प्रश्नको उत्तर पाइने महत्त्वपूर्ण र चाखलाग्दो कृति हो, बुद्धकालीन समाज। उमाकान्त पौड्याल लिखित पुस्तकले बुद्धकालको समाज, धर्म र संस्कृतिबारे गहिरो विश्लेषण प्रस्तुत गरेको छ।
पुस्तक बुद्धकालको समाजमा भएका सामाजिक र धार्मिक परिवर्तनको अध्ययनमा आधारित छ। लेखक पौड्यालले बुद्धको शिक्षाबाट भएका परिवर्तन तथा जातिवाद र सामाजिक असमानता विरुद्ध बुद्धको दृष्टिकोणलाई स्पष्ट गर्न कोशिश गरेका छन्। बुद्धकालीन समाजका विविध पक्षलाई उजागर गर्नु र सामाजिक, धार्मिक प्रभावको विश्लेषण गर्नु पुस्तकको उद्देश्य देखिन्छ। बुद्धले आफ्नो ज्ञान र दर्शन जनजीवनमा समाहित गरेर समाजको सुधारमा कस्तो भूमिका खेलेका थिए भन्ने पनि प्रस्तुत गरिएको छ।
समाजको जातिवाद र लैंगिक असमानताबारे बुद्धको दृष्टिकोण कस्तो थियो भनेर पुस्तकमा केलाइएको छ। बुद्ध जातिवादका विरोधी थिए र सबै मानिस समान हुन् भन्ने दृष्टि राख्दा रहेछन्। उनको संघमा पनि जातजन्य भेदभाव नरहेको र उनले सबै मानिसलाई समान व्यवहार गरेको विवरण पुस्तकमा पाइन्छ। उनले समाजमा व्याप्त असमानता र शोषणको विरुद्धमा आवाज उठाएका थिए। उनी लैंगिक समानताका पक्षपाती थिए र समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता समेत राख्थे। यस्तो दृष्टिकोणले तत्कालीन मानिसहरूमा चेतना भर्ने काम गर्यो र समाजको सुधारमा प्रभाव पार्यो।
पुस्तकमा हिन्दू र बौद्ध धर्मबीचका अन्तरलाई स्पष्ट पार्ने प्रयास गरिएको छ। बौद्ध धर्मले हिन्दू धर्मको पुराना मान्यताको विकल्पमा एक सरल, व्यावहारिक र समतामूलक धर्मको स्थापना गर्यो। बुद्धको दर्शनले धर्म-पन्थको नाममा कर्मकाण्डमा सीमित समाजलाई सरल र व्यावहारिक जीवनदर्शन प्रदान गर्यो। समाजमा आध्यात्मिक भावना र धार्मिक विश्वास बढायो। सबै प्राणी समान हुन् र कर्मको आधारमा जीवन सुध्रिन्छ भन्ने सन्देश बुद्धले दिएका छन्।
लेखक पौड्यालको लेखन शैली सरल र सरस छ। उनले प्राचीन इतिहास र समाजका जटिल पक्षलाई सरल शब्दमा प्रस्तुत गरेका छन्। लेखकले बुद्धका उपदेश तथा विचारलाई सजीव र व्यावहारिक तरीकाले प्रस्तुत गरेका छन्। पुस्तकमा रहेका उदाहरण र ऐतिहासिक सन्दर्भ मननीय छन् र बुद्धकालीन समाज चियाउने आँखीझ्याल बनेका छन्। पुस्तकका प्रत्येक अध्यायमा विश्लेषणात्मक दृष्टिकोण राखिएका छन्, जसले पाठकलाई बौद्धिक मन्थनको ठाउँ दिन्छ।
लेखकले केही पक्षमा विचार गर्न सकेको भए पुस्तक अझै कसिलो बन्ने थियो। आधुनिक समाजमा बुद्धका उपदेशको प्रभावको विश्लेषण पुस्तकमा छैन। यस्तै, आधुनिक शोध, समाजशास्त्रीय विवेचना र ऐतिहासिक अध्ययन गर्न सकिन्थ्यो। बुद्धको जीवन र शिक्षाबारेको चर्चा अझ विस्तारमा प्रस्तुत गर्नुपर्ने महसूस हुन्छ। यसका साथै, प्राचीन ग्रन्थहरूको उद्धरण र विश्लेषणलाई थप बढाउनुपर्ने देखिन्छ।
सारमा, बुद्धकालीन समाजले पाठकलाई बुद्धकालीन समाज र संस्कृतिको गहिरो अध्ययन गर्न प्रेरित गर्छ। पुस्तकले इतिहासको मात्र अध्ययन होइन, वर्तमान समाजको सन्दर्भमा पनि विचार गर्न उपयुक्त सामग्री दिएको छ। यसमा रहेका ऐतिहासिक विश्लेषण आधुनिक सामाजिक र धार्मिक सन्दर्भमा पनि प्रासंगिक छन्। पुस्तकले प्राचीन समाजमा धर्म, जातिवाद र सामाजिक संरचनामा आएको परिवर्तनको चर्चा गर्दै आधुनिक समाजमा बुद्धका उपदेशको महत्त्व र प्रभावबारे चिन्तन गर्न पनि उत्प्रेरित गर्छ।
यो पनि पढ्नुहोस्- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’