पोखरा कोटिहोम विवाद सुल्झिँदै, वैकल्पिक स्थानको टुंगो
पोखरामा कोटिहोम सञ्चालनका लागि वैकल्पिक स्थानबारे टुंगो लागेसँगै यसअघि उत्पन्न विवाद सुल्झिने भएको छ।
मानव सेवा फाउन्डेशनले पोखरामा आयोजना गर्न लागेको कोटिहोमलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ। फाउन्डेशनले पोखराको पर्यटकीयस्थल फेवा तालछेउमा ‘श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ लगाउन खोजेको थियो।
त्यसका लागि फाउन्डेशनले पोखराका पुराना वरपीपलका रूख काटेको थियो। त्यसपछि पोखरा महानगरपालिकाले कोटिहोम गर्न स्वीकृति दिएको थिएन। फाउन्डेशनले रूख काटेर जम्मा गरेको काठ पनि महानगरले नियन्त्रणमा लिएको थियो।
महानगरले अनुमति नदिए पनि गत फागुन २३ गते कोटिहोमका लागि भूमिपूजन गरिएको थियो। त्यस क्रममा कोटिहोम आयोजक पक्ष र नगर प्रहरीबीच झडप भएको थियो। विवाद चर्किंदै गएपछि कोटिहोम गर्ने विषयमा जोडिएको धार्मिक संवेदनशीलतालाई लिएर सहमति गर्न आयोजक र महानगरमाथि चौतर्फी दबाब परेको थियो।
विवाद सुल्झाउन मानव सेवा फाउन्डेशनका पदाधिकारी, महानगर र स्थानीय प्रशासनबीच फागुन २६ मा भएको छलफलमा फेवा तालछेउमा कोटिहोम सञ्चालन गर्न नहुने र वैकल्पिक स्थान खोज्ने सहमति बनेको थियो। त्यसपछि पोखरा महानगर, प्रशासन र फाउन्डेशनका प्रतिनिधि सम्मिलत पाँच सदस्यीय समिति बनाइएको थियो। समितिलाई कोटिहोमका लागि वैकल्पिक स्थान खोज्ने जिम्मेवारी दिइएको हो।
समितिका एक सदस्यका अनुसार वैकिल्पक स्थान टुंगो लागिसकेको छ। फेवा ताल छेउमा कोटिहोम सञ्चालनको अनुमति नपाएसँगै पोखराका अन्य दुई ठाउँलाई विकल्पका रूपमा हेरिएको थियो। तीमध्ये एक ठाउँका लागि सहमति जुटेको उनले हिमालखबरलाई बताए। “कोटिहोम सञ्चालन गर्ने स्थानबारे सहमति समितिमा सहमति जुटेको छ। अहिल्यै ठाउँको नाम भन्न मिलेन, आइतबार निर्णय गरेर सिफारिश गर्छौं,” उनले भने।
समितिमा पोखरा महानगरका तर्फबाट वडा नंं. २ वडाध्यक्ष दिवसमान प्रधानांग र वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगी, फाउन्डेशनका तर्फबाट विष्णुराज गिरी र विजयकुमार रेग्मी तथा सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन्। समितिलाई वैकल्पिक स्थान सिफारिश गर्न आइतबारसम्मको समय दिइएको छ।
पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले समितिले सिफारिश गर्ने वैकल्पिक स्थानबारे छलफल गरेर अनुमति दिइने बताए। आइतबार समितिले सिफारिश गरेसँगै महानगरले सरोकारवालासँग छलफल गरेर निर्णय गर्ने उनको भनाइ छ।