मधेश बुझाउने ‘राजागंज’
सामाजिक तथा राजनीतिक विषय मिश्रित ‘क्राइम थ्रिलर’ जनराको फिल्म मार्फत मधेश बुझाउन निर्देशक र निर्माण पक्षले गरेको मिहिनेत प्रशंसनीय छ।
इटालीको भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा प्रदर्शन भएसँगै चर्चामा आएको फिल्म हो- ‘पूजा, सर’। त्यही ‘पूजा, सर’ नेपालमा भने राजागंजका नामबाट चैत १ गतेदेखि प्रदर्शनमा आएको छ।
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा चर्चा बटुलेका निर्देशक दीपक रौनियारको राजागंज नेपालमा भने केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले ‘सामाजिक सद्भाव भड्किने’ भन्दै केही दृश्य हटाएपछि विवादमा आएको छ। बोर्डले हटाएको दृश्य प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित छ।
२०७२ सालमा नयाँ संविधान जारी हुनुभन्दा केही साताअघि संविधानसभाबाट मधेश केन्द्रीय दलहरू असहमति जनाउँदै बाहिरिएका थिए। उनीहरूलाई लक्षित गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘रूखबाट दुई-चार आँप झर्दैमा केही फरक नपर्ने’ प्रतिक्रिया दिएका थिए।
मधेशका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको विभेदलाई प्राथमिकताका साथ उठाएको राजागंजमा ओलीले २०७२ भदौ २३ मा एमाले केन्द्रीय कार्यालयमा बोलेको भिडिओलाई समावेश गरेर राज्यले मधेशका असन्तुष्टिलाई नजरअन्दाज गरिरहेको प्रस्ट्याउन खोजिएको छ। त्यही दृश्य काटेर नेपालमा फिल्म प्रदर्शनमा गएको छ।
सार्वजनिक रूपमा बोलेका र पहिले नै मिडियामा आइसकेको भिडिओ हटाउँदा फिल्मले देखाउन खोजेको कथा अपुरो हुने निर्देशक रौनियारको तर्क छ। दृश्य काटिएकामा असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेन्सर बोर्डले फिल्मको टाइटललाई सत्य बनाइदिएको छ। हामी सबै राजागंजकै बासिन्दा रहेछौं। प्रधानमन्त्री पद पनि उच्चारण गर्न पाइएन।’
२०७२ सालमा नयाँ संविधान जारी हुनुअघि मधेशमा आन्दोलन चर्किएको थियो। त्यही मधेश आन्दोलनको पृष्ठभूमिमा दुई बालकको अपहरणको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ। बालक अपहरणको कथाभित्र मधेशको संस्कृति, विकृतिदेखि मधेशप्रति राज्यको हेपाहा दृष्टिकोण लगायत विविध आयाम समेटिएको छ। मधेशी समुदायकै प्रतिनिधित्व गर्ने निर्देशक रौनियारले आफैंले भोगेका र अनुभूत गरेका कतिपय कथा समेत राजागंजमा समावेश गरेको बताएका छन्।
मधेशकै सांसदका छोरा र प्रधानाध्यापकका छोरा अपहरणमा पर्छन्। फिल्मको कथा अपहरणमा परेका बालकको उद्धारका लागि खटिएकी प्रहरी अधिकृत पूजा थापा (आशा मगराती) वरिपरि घुम्छ। आशाले फिल्ममा पूजा सरका रूपमा सशक्त अभिनय गरेकी छन्।
विद्यालयकी प्रधानाध्यापक बनेकी ऋचा शर्मा, उनको बच्चा अपहरणकारी बनेकी आरती मण्डल र अर्को बालककी आमा बनेकी पशुपति राईको अभिनय दमदार छ। व्यक्तिगत रिसइबी बढ्दै जाँदा बदलाभावले बालक अपहरण भएको घटना कसरी पहाडी र मधेशी समुदायबीच विवादको बीउ बन्छ भन्ने पनि देखाउन खोजिएको छ।
फिल्मले प्रहरीमा हुने विकृति, दबाब र प्रभावको चलखेल उजागर गरेको छ। प्रहरी अधिकृत बनेका दयाहाङ राई, विजय बराल, आशा मगराती र निकिता चाण्डक मार्फत प्रहरीभित्रका राम्रा र नराम्रा पक्ष केलाइएका छन्।
यससँगै फिल्मले महिला र तेस्रोलिंगीको विषय पनि उठाउन खोजेको छ। अधिकांश फिल्ममा महिलालाई कमजोर, पुरुषलाई मनोरञ्जन दिने पात्रका रूपमा प्रस्तुत गरिंदै आएकामा राजागंजमा सशक्त र नेतृत्वदायी भूमिकामा प्रस्तुत गरिएको छ। प्रहरी अधिकृत, प्रधानाध्यापकसँगै अपहरणकारीको भूमिकामा समेत महिला नै छन्। त्यसो त नेतृत्व क्षमता र कार्यक्षमतामा अब्बल हुँदाहुँदै पनि महिलाहरू दबाबमा रहेको यथार्थ प्रहरी अधिकृत पूजाको निराशाबाट प्रस्तुत गरिएको छ।
फिल्ममा गौमाया गुरुङ, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठ लगायत कलाकारको अभिनय पनि प्रसंशनीय छ। मिस नेपाल निकिता चाण्डकले प्रहरीमा रहेकी मधेशी महिलाको भूमिका राम्रोसँग निभाएकी छन्। विश्वास गरेर जिम्मेवारी दिने हो भने मधेशी महिला प्रहरीमा सक्षम अधिकृत बन्न सक्छन् भन्ने सन्देश निकिता मार्फत प्रस्तुत गरिएको छ।

बलिउडका निर्देशक अनुराग कश्यप कार्यकारी निर्माता रहे पनि राजागंजले बलिउडको सिको गरेको छैन। बलिउडका काल्पनिक र फगत मनोरञ्जनका लागि निर्मित फिल्मभन्दा राजागंज फरक छ। यसले तराई-मधेशका वास्तविक समस्याको उठान गरेको छ।
वास्तविक समस्यामा आधारित यो चलचित्र हल्काफुल्का मनोरञ्जन खोज्ने दर्शकलाई मन नपर्न सक्छ। त्यस्तै, एकपछि अर्को उपकथा जोड्न खोज्दा दर्शकलाई बुझ्न कठिन हुन्छ। धेरै वटा विषय एकै ठाउँमा प्रस्तुत गर्दा अलमल नित्याउँछ।
सन् २०१२ मा बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन भएको रौनियारको पहिलो फिचर फिल्म हाइवेको समीक्षकले प्रशंसा गरेका थिए। तर नेपाली दर्शकले रुचाएनन्। त्यसैले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रशंसा बटुलेको हाइवे नेपाली फिल्म हलमा धेरै समय चल्न सकेन।
त्यस्तै, रौनियारकै सन् २०१६ मा सार्वजनिक ह्वाइट सन अर्थात् सेतो सूर्यले पनि अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रशंसा बटुलेको थियो। पुरस्कृत पनि भएको थियो। नेपाली समीक्षक र बौद्धिक वर्गले पनि प्रशंसा गरेको फिल्मलाई आमदर्शकले भने त्यति माया गरेनन्।
झन्डै एक दशकपछि आएको रौनियारको तेस्रो फिल्म राजागंजलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दर्शक र बौद्धिक वर्गले प्रशंसा गरेका छन्। सामाजिक तथा राजनीतिक विषय मिश्रित क्राइम थ्रिलर जनराको फिल्म गम्भीर दर्शकका लागि रुचिकर हुन सक्छ। बलिउडका काल्पनिक र तामझाम कथामा रस बसेका दर्शकलाई मन नपर्न सक्छ।
तथापि मधेशका समस्या र विभेदलाई केन्द्रमा राखेको फिल्ममा कलाकारको अभिनय र प्राविधिक विषय अब्बल छ। दर्शकले जुन रूपमा लिए पनि फिल्म मार्फत मधेश बुझाउन निर्देशक र निर्माण पक्षले गरेको मिहिनेत प्रशंसनीय छ।
यो पनि पढ्नुहोस् : ‘मधेशीलाई इन्डियन मान्ने मानसिकता तोड्न पनि फिल्म बन्नुपर्छ’