पूर्व राजाको स्वागत र्यालीबारे नेताहरूको टिप्पणी
शीर्ष चार दलका नेताले पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा निस्केको र्यालीलाई धेरै महत्त्व दिन नहुने टिप्पणी गरेका छन् भने राप्रपा नेताले अहिलेको व्यवस्था विरुद्ध जनता सडकमा आएको तर्क गरेका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाह फागुन २५ मा पोखराबाट काठमाडौं फर्किंदा समर्थकले स्वागत गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ठूलो संख्यामा देखिएका समर्थकको र्यालीलाई लिएर देशभित्र र बाहिर पनि चर्चा भयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालसँगै विभिन्न संघसंस्थाको पहलमा स्वागत र्याली आयोजना भएको थियो। र्यालीसँगै एकातिर पूर्व राजा ज्ञानेन्द्रका समर्थक हौसिएका देखिन्छन् भने अर्कातिर राजनीतिक दलका नेता तथा कार्यक्रम आक्रोशित छन्।
यस्तो वेला राजनीतिक दलका नेता के सोचिरहेका छन्? उनीहरूले यसलाई कसरी विश्लेषण गरेका छन्? हिमालखबरले शीर्ष दलका नेतासँग यसबारे संक्षिप्त कुराकानी गरेको छ। नेताहरूसँगको कुराकानी उनीहरूकै शब्दमा :
नयाँ पुस्तालाई झुक्याउने प्रयास गरिएको छ, कदापि सफल हुँदैन : अष्टलक्ष्मी शाक्य
अष्टलक्ष्मी शाक्य
उपाध्यक्ष, नेपाल (एमाले)
ज्ञानेन्द्र शाह अहिले नितान्त नेपालका एक नागरिक हुन्। उनको स्वागतमा देखिएको र्यालीलाई राजावादीको नभनौं। राजावादी भन्ने शब्द नै चलाउनु हुँदैन। यस्ता शब्दबारे सञ्चारमाध्यमले पनि ध्यान दिन जरूरी छ। नेपालमा गणतन्त्र आएसँगै राजतन्त्र सकियो। राजतन्त्र, राजा नभएको देशमा कसरी राजावादी भन्न मिल्छ?
ज्ञानेन्द्र शाहका कदम पहिले पनि गलत थिए। निरंकुश शासन लादेका थिए। उनी पूर्व निरंकुश शासक हुन्। आफ्ना गल्ती सच्याउँदै अघि बढ्नुपर्ने वेला र्याल चुहाइरहेका छन्। सपनामा सोच्ने कुरालाई विपनामा सोचेर हुँदैन।
विश्व कहाँ पुगिसक्यो! नेपाली पनि विश्वभर छरिएर आफ्नो प्रतिभा देखाइरहेका छन्। अगाडि बढिरहेका छन्। पछाडि फर्किनुपर्छ भन्ने सोच कसैमा देखिएको छैन।
अहिले नेपालको पहिचान फरक छ। हरेक नागरिकले विश्वमा आफूलाई र नेपाललाई चिनाउने प्रतिस्पर्धा गरिरहेका छन्। विश्वमा नेपाललाई कसरी चिनाउने भनेर छलफल गर्ने समयमा ज्ञानेन्द्रले तमाशा गर्नु हुँदैन। नेपाली नागरिकको हैसियतले परिवर्तनको पक्षधर भएर अघि बढ्नुपर्छ।
नेपाली समाज बिस्तारै फड्को मारिरहेको छ। राणाशासनको अन्त्यदेखि राजतन्त्र फालेर गणतन्त्र आएको हो। जनताले चुनेको संविधानसभाबाट संविधान बनेको हो, जनताले बनाएको संविधान हो। त्यसैले नेपाली जनता अगाडि बढिरहँदा संविधानले नचिन्ने तत्त्वबारे धेरै चर्चा-परिचर्चा गरिरहनु हुँदैन।
हिजो दुःखपीडा भोगेर, एकअर्काको दुःखमा सहभागी भएर, संगठित भएर जनताले राजतन्त्र फालेका हुन्। मैले नै ११ वर्ष भूमिगत भएर काम गरें। राजतन्त्र फाल्ने अभियानमा कति नेपाली नागरिकले पढ्न पाएनन्, बोल्न पाएनन्, जेलजीवन भोगे, शहादत प्राप्त गरे। आफ्ना दुःखपीडाको कारण बुझेर जनता चेतना फैलाउँदै लोकतन्त्रमा आएका हुन्।
अहिले केही व्यक्ति नयाँ पुस्तालाई झुक्याउन सकिन्छ कि भनेर लागेका छन्। तर त्यो असम्भव छ। नयाँ पुस्ता झन् बढी स्वतन्त्रता खोज्छ भने समान नागरिकको हैसियतमा प्रतिस्पर्धा गर्दै अगाडि बढिरहेको छ। हिजो दुनियाँलाई चिन्न गाह्रो थियो, अहिलेको पुस्तालाई त्यो समस्या छैन। त्यसैले नयाँ पुस्तालाई झुक्याउने प्रयास कदापि सफल हुँदैन।
अर्को, विकास, सुशासन, रूपान्तरण, परिवर्तन, समृद्धि निरन्तर चलिरहने प्रक्रिया हो। यसमा मुलुकले फड्को मारिरहेको छ। अहिले जनतामा राम्रो नेपाल, समृद्ध नेपालको चाहना छ, त्यसैले जनताको चाहना विपरीत पुरानो कुरा कोट्याउनु हुँदैन।
ज्ञानेन्द्र शाह देशका एक नागरिक हुन्। नागरिक सरह पाउने सबै हकअधिकार पाउनुपर्छ। तर हिजोका दिनमा जनतालाई थिचोमिचो गर्ने, निरंकुशता लाद्नेहरूबाट सचेत हुन जरूरी छ।
अहिले छिमेकी देशहरूले पनि ज्ञानेन्द्रको पक्षमा उभिनेहरूलाई अनेकौं ढंगले सहयोग गरेको देखिन्छ। छिमेकीले पनि नेपालको संविधानको बर्खिलाफ र नेपाली जनता विरुद्धका गतिविधिमा संलग्न हुन मिल्दैन। यो कुरा बुझ्न जरूरी छ।
लास जिउँदो भएर आएको इतिहास छैन : कान्तिका सेजुवाल
कान्तिका सेजुवाल
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेका छौं। व्यवस्था परिवर्तन भइसकेको छ। पूर्व राजाबारे धेरै चर्चा-परिचर्चा गरिरहनु पर्दैन।
अहिले हामीले चर्चा गर्ने भनेको देशमा कसरी परिवर्तन ल्याउन सकिन्छ? विकासको नयाँ मोडल के हुन सक्छ? नयाँ नेपालको निर्माणबारे चर्चा-परिचर्चा गर्ने हो।
अहिले जनता आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा विकासको खोजीमा छन्। तुरुन्त लाभ खोजिरहेका छन्। त्यसैले रुष्ट पनि छन्। कोही सरकारसँग रुष्ट छन्, कोही विपक्षीसँग रुष्ट छन्, कोही अन्य कारणले पनि रुष्ट छन्। यो स्वाभाविक हो।
राणाशासन, बहुदल हुँदै लोकतन्त्रमा आएका हौं। हामीले उहिल्यै राजतन्त्र फालिसक्यौं। लास जिउँदो भएर कहिल्यै नआए जस्तै पुरानो व्यवस्था पनि फर्केर आउँदैन।
बेरोजगारी लगायत समस्याले गर्दा मान्छे सडकमा आएका हुन्। यो लोकतान्त्रिक अधिकारभित्रको कुरा हो। लोकतन्त्रको सुन्दरताका रूपमा नै पूर्व राजालाई पनि बोल्ने अधिकार छ।
राजतन्त्र फर्किंदैन, तर दलहरू सुध्रिनै पर्छ : अमृता थापा मगर
अमृता थापा मगर
स्थायी कमिटी सदस्य, नेकपा (माओवादी केन्द्र)
जनताले मिल्काएकाहरू नेपालमा मात्र होइन, अन्त पनि फर्कन कोशिश गरेको इतिहास पढ्न पाइन्छ। तर राजतन्त्र फर्कने भन्ने कुरा न विश्व परिस्थिति अनुकूल छ न त नेपालका लागि सान्दर्भिक छ।
जनयुद्ध र जनआन्दोलनको बलमा गठन भएको संविधानसभाले गणतन्त्रको घोषणा गर्यो। दलहरूले उदारतापूर्वक पूर्व राजा नागरिकका रूपमा बस्न पाउने कुरा स्विकारे। ज्ञानेन्द्र सानैदेखि महत्त्वाकांक्षी देखिन्छन्। ज्ञानेन्द्रको महत्त्वाकांक्षा, सरकारको नालायकी र धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर लागेका अन्तर्राष्ट्रिय दुराशयबीच यस्तो प्रदर्शन भए जस्तो लाग्छ।
जनतालाई ‘डेलिभरी’ दिन नसकेको नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकारले समावेशी-समानुपातिकको मर्ममा प्रहार गर्ने गरी संविधान संशोधनको हल्ला चलायो। कुलमान घिसिङको हुर्मत लिने, उपसभामुख हटाउन खोज्ने, सहकारी काण्डमा आफ्नो मान्छे जोगाउने काम जस्ता घटनाले जनता निराश र आक्रोशित भए। यही सन्दर्भमा झिंगे दाउ खेल्न खोजेको देखिन्छ, जुन पूरा नहुने सपना हो।
अर्को, ‘भाइ फुटे, गँवार लुटे’ जस्तो भएको हो। अन्तरिम व्यवस्थापिकादेखि नै बहुमत होइन, सहमतिका आधारमा चल्नुपर्छ भन्ने आवाज उठाउँदै आएका छौं। २०७२ सालको विनाशकारी भूकम्प, संविधान घोषणा जस्ता कुरामा सबै दलले सहकार्य गर्दै आएका पनि हुन्।
दलहरूले गल्ती गरेका कारण जनता रिसाएका छन्। जनतासँग माफी माग्दै गल्ती नदोहोर्याउने र रूपान्तरण हुने प्रतिबद्धता जनाउनै पर्छ। हामीले विशेष रूपान्तरण अभियान चलाएका पनि छौं। अन्य दलले पनि त्यस्तै गर्नुपर्छ जस्तो लाग्छ। माओवादी आफ्नो भागको गल्ती स्विकार्न तयार छ। अन्य दललाई पनि गल्ती स्विकारेर रूपान्तरण हुनुको विकल्प छैन। तर राजतन्त्र कुनै हालतमा फर्कंदैन, फर्कनु हुँदैन।
लिमा अधिकारी
कोषाध्यक्ष, राष्ट्रिय स्वतन्त्र पार्टी
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो : लिमा अधिकारी
ज्ञानेन्द्र शाहलाई स्वागत गर्न फागुन २५ मा निकालिएको र्यालीलाई कुशासन र भ्रष्टाचार विरुद्ध जनताको आक्रोशपूर्ण आवाजका रूपमा लिनुपर्छ। जनता सरकारद्वारा निम्त्याइएका बेथिति विरुद्ध विकल्प खोजिरहेका छन् भन्ने प्रस्ट भएको छ।
अहिले पुराना राजनीतिक दलहरूले जनतालाई ‘डेलिभरी’ दिन सकेका छैनन्। भ्रष्टाचार व्याप्त छ। ठूल्ठूला भ्रष्टाचारका काण्ड बाहिर आएका छन्। त्यसमा ठूला दलका नेतालाई कारबाही भएको छैन।
जनताले सुशासन चाहेका छन्। विकास चाहेका छन्। समृद्धि चाहेका छन्। विकल्प खोजिरहेका छन्।
त्यसैले राजनीतिक दलहरू सच्चिनुपर्छ। जनतालाई सुशासन दिनुपर्छ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। पूर्व राजाको र्यालीलाई धेरै महत्त्व दिन आवश्यक छैन।
‘यो व्यवस्था र यी नेताबाट देशको भलो हुँदैन : कुन्ती शाही
कुन्ती शाही
महामन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टी
पूर्व राजा पोखराबाट काठमाडौं आउँदा स्वतस्फूर्त रूपमा जनताको स्वागत अभूतपूर्व देखियो। अहिलेसम्म कुनै आन्दोलनमा जनता यसरी सडकमा स्वतस्फूर्त रूपमा आएको देखिएको थिएन।
जनता सुखी हुन्छन्, खुशी हुन्छन्। देशमा स्थायित्व हुन्छ, समृद्धि हुन्छ। नेपाली जनताका छोराछोरी देश बनाउनका लागि आफ्नो श्रम खर्च गर्छन्। अर्थतन्त्र बलियो हुन्छ। मुलुकको स्रोतसाधनको प्रयोग नेपाली जनताका लागि हुन्छ भनेर सात दलको सम्झौतामा आफ्नो श्रीपेच र राजगद्दी जनतालाई सुम्पेर राजा १८ वर्षसम्म नागरिकको हैसियतमा बस्नुभयो।
यस अवधिमा नेताहरूको शैलीले इतिहासमा सबैभन्दा कमजोर अर्थतन्त्र भएको मुलुक, सबैभन्दा बढी भ्रष्टाचार भएको देश र भ्रष्टाचारी नेपालीको पहिचान स्थापित भयो। जनताले तिरेको करमाथि हालीमुहाली गरेर आफू र आफ्ना वरिपरिका सीमित मान्छेलाई बलियो बनाउने र जनतालाई विश्वसामु भ्रष्टाचारी पहिचान गराउने काम भयो।
माओवादीले दिएका सपना, सात दलहरूले बाँडेका सपना पूरा हुन सकेनन्। यिनै दल र यही व्यवस्थाबाट देश अघि बढ्न सक्दैन। किनभने देशको अर्थतन्त्र, सामाजिक परिवेश कमजोर अवस्थामा छ।
राष्ट्रका कुनै संरचना विधिसम्मत चलेका छैनन्। विधिलाई आफू अनुकूल चलाइएको छ। विधिको शासन छैन। कुशासन छ। सबै ठाउँमा चरम बेथिति छ।
संघीयताका नाममा केही मान्छेलाई हात्तीका रूपमा पालिएको छ। धर्मनिरपेक्षताको नाममा हाम्रो धर्मसंस्कृतिलाई मासिएको छ। त्यसै विरुद्ध जनता सडकमा आएका हुन्। अब यो व्यवस्था र यी नेताबाट देशको भलो हुँदैन।