रूस-युक्रेन युद्धमा ज्यान गुमाएका पूर्व वडाध्यक्षले सकुशल फर्कन धेरै प्रयास गरेका थिए
नेपालबाट सँगसँगै मस्को गएर रूसी सेनामा भर्ती भएका स्याङ्जाका साजन गुरुङ तिलक बुढाथाेकीका नजीकका साथी थिए। गुरुङ लडाइँको क्रममा ढलेपछि बुढाथोकी बेचैन थिए।
रोल्पाको सुनछहरी गाउँपालिका-५ का तिर्खबहादुर बुढाथोकी (तिलक) गत वर्षको माघ १४ मा रूसले कब्जा गरेको युक्रेनी भूभाग डोनेक्स शहरभन्दा २५ किलोमिटर टाढा युद्धग्रस्त क्षेत्र नजीकैको मारिंका गाउँमा थिए। दिनरात ड्रोनबाट बमको वर्षा भइरहने बंकरको ड्यूटी सकेर अलि सुरक्षित मानिएको रूसी सेनाको ‘बेस’ मा सुस्ताउन आइपुगेका थिए। त्यही वेला फेसबूक मेसेन्जर मार्फत कुराकानीमा जोडिएका बुढाथोकी निकै निराश देखिन्थे।
युद्ध क्षेत्रबाट सकुशल नेपाल फर्कन्छु भन्ने आशा मारिसकेका थिए। फ्रन्टलाइनमा खटिंदा पानी र खानेकुरा झोलामै बोकेर जानुपर्ने सुनाए। उनलाई भोक र तिर्खा बिर्सेर आकाशबाट बर्सिरहने गोलाबारूदको हमलामा ज्यान जोगाउन असम्भव जस्तै लागेको थियो।
त्यसअघि दुई महीना इन्टरनेट नटिप्ने जंगलमा बस्दा घरपरिवारसँग कुरा गर्न पनि पाएका थिएनन्। बाहिरी संसारमा के भइरहेछ भन्ने जानकारी समेत थिएन। बंकरभित्र बसेर विपक्षीका बंकर कब्जा गर्ने क्रममा एकपछि अर्को नेपालीको ज्यान गएको खबरले उनको सातो गइसकेको थियो।
बंकरमा रहेको वेला पनि युक्रेनी सेनाले बाहिरबाट ड्रोनको सहायताले बम फ्याँकिरहन्थ्यो। बम खसेको निमेषभरमै हिउँले सेताम्य वरपरको जंगल कालो धूवाँको मुस्लोले ढाकिन्थ्यो। आँखै अगाडिको जमीनको स्वरूप नै बदलिएर अर्कै भइसक्थ्यो।
युद्ध क्षेत्रमा रहेका नेपालीहरू खाना र गोलीगठ्ठा सकिएपछि एउटा बंकरबाट अर्को बंकर चहार्थे। यसरी बाहिर निस्किएको चाल पाउने बित्तिकै युक्रेनी सेनाले निशाना लगाएर ड्रोनबाट बम, गोली प्रहार गर्थ्यो। सँगै भर्ती भएका साथी युक्रेनी सेनाको आक्रमणमा मरेको देखेका थिए। उनी पनि मन चिसो बनाएर बस्थे। “अब यहाँ गुमाउनु बाहेक पाउने केही छैन,” बुढाथोकीले टेलिफोनमा दिक्दारी पोखे।
रोजगारीको प्रलोभनमा दाङका एक दलालको लहलहैमा उनी भारतको दिल्ली हुँदै रूसको राजधानी मस्को पुगेका थिए। मस्कोमा रूसी सेनामा भर्ती भएर केही हप्ता सामान्य तालीम गरे। लगत्तै लडाइँको अग्रमोर्चामा खटाइएका उनी बिलखबन्दमा परेका थिए।
जसरी भए पनि भाग्ने दाउमा थिए। फुत्कन हरसम्भव प्रयास पनि गरे। लडाइँबाट भागेर सुरक्षित ठाउँमा जाने कुनै विकल्प नभेटिएकाले चरम निराशामा थिए। भाग्न गरिएका सबै प्रयास विफल भएपछि झन् निराशा थपिएको सुनाए।
केही नेपाली युद्धभूमिबाट फुत्किएर नेपाल आइपुगेको खबर सुनेका थिए। रूसी सेनामा भर्ती हुँदा गोली लागेर घाइते भएका दैलेखका कृष्णकुमार शाही लगायत केही युवा भागेर नेपाल आएका थिए। उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत शाहीबारे चासो देखाएका थिए। “टिचिङमा गएर भेट्नु अनि भन्नु नि,” भाग्ने तयारीमा रहेका बुढाथोकीले भनेका थिए।
गत वर्षको माघमा एक दिन आधा घण्टा कुराकानी गरे। उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह गरेका थिए। तर उद्धार भइहाल्छ भन्नेमा विश्वास नलागेको भए पनि आशा मारिसकेका थिएनन्। “निस्कने योजना भएर नि के गर्ने? विकल्पै छैन। अब जे भन्छ, त्यही मानेर बस्ने हो,” उनले भने, “सेकेन्ड सेकेन्डमा बम पड्किन्छन्। यो क्षेत्रमा भेडाबाख्रा छापिए जस्तो सेना छापिएका छन्। उतातिर युक्रेनी छन्।”
रूसी सेनामा भर्ती भएपछि तिर्खबहादुर बुढाथोकी (तिलक)।
मासिक तीन लाख तलब, रूसको नागरिकता र स्थायी बसोबासको सुविधाको प्रलोभनमा रूसी सेनामा भर्ती भएका केही नेपाली युवा युद्धको भयावह अवस्था देखेर भागेका थिए। लडाइँमा घाइते भएकाहरू अस्पतालबाटै रूसी अध्यागमनको आँखा छलेर मस्को पुगेका थिए। नेपाली दूतावासको पत्र बनाएर घर फर्कन सफल भएका थिए।
युद्ध क्षेत्रमा पुगेका युवालाई फर्कन कठिन थियो। रूसी अध्यागमन कार्यालयलाई छलेर युक्रेनबाट फर्कन पनि सम्भव थिएन। एकपछि अर्को गर्दै भाग्न थालेपछि पूर्वी युक्रेनी क्षेत्रमा रहेको रूसी अध्यागमन कार्यालयमा नेपाली सैनिकको सूची बुझाइएको थियो। कोही भाग्न खोजे पक्राउ गरेर उनीहरूको बटालियनमै फर्काउन भनिएको थियो।
नेपाल फर्किएका घाइते सैनिकहरूका अनुसार भाग्ने क्रममा रूसी सुरक्षाकर्मीले पक्राउ गरेका नेपालीलाई कारबाहीस्वरूप लामो समयसम्म लडाइँ चर्किएको क्षेत्रमा परिचालन गरिन्थ्यो। केहीलाई हिउँले भरिएको बंकरमा राखेर शारीरिक यातना पनि दिने गरिएको थियो। भाग्न कठिन भएको बुझेका बुढाथोकी मृत्यु कुरेरै बसेको सुनाउँथे।
थुप्रै पटक भाग्ने प्रयास गरेका उनी सफल भएका थिएनन्। नेपाल सरकारले उद्धार गर्ला भन्ने विश्वास पनि थिएन। “प्रक्रिया पुर्याएर, मैले यस्तो गरें, उस्तो गरें भन्ने कुरा मात्र गरेर केही हुँदैन। मन्त्री आएर कुरा सुन्छन् कि!” उनले रूसी समकक्षीसँग वार्ता गरेर आफूलाई सुरक्षित स्थानमा लैजान नेपालका परराष्ट्रमन्त्रीलाई अनुरोध गर्दै भनेका थिए, “परराष्ट्रमन्त्रीले वार्ता गरे होलान्, तर त्यो आशा पनि छैन।”
युद्ध मैदानमा कतिन्जेल बाँचिन्छ भन्ने अन्योलबीच घरमा रहेका १२ वर्षीय छोरा र ६ वर्षीया छोरीको सम्झनाले पिरोलिरहेको सुनाएका थिए। छोराछोरीको पढाइका लागि कमाउन भनेर रूसी सेनामा भर्ती भएका उनले रूस पुग्न १० लाख रुपैयाँ डुबाइसकेका थिए। रूसी सेनामा भर्ती भए बापत पाउने तलबभन्दा ज्यानको बढी माया लागेको सुनाएका थिए। सबैभन्दा ठूलो धोको सकुशल घर फर्किएर परिवारलाई भेट्नु थियो।
नेपालबाट सँगसँगै मस्को गएर रूसी सेनामा भर्ती भएका स्याङ्जाका साजन गुरुङ उनका नजिकका साथी थिए। गुरुङ पनि लडाइँको क्रममा ढलेपछि बुढाथोकी बेचैन भएका थिए। “अस्ति मरेको साजन गुरुङको कुरा सुन्नुभयो होला नि! हामी ४००-५०० मिटरको फरकमा थियौं। सँगसँगै भर्ती भएको, तालीम गरेको, सँगै आएको,” सहकर्मी सम्झिंदै उनले भनेका थिए।
गुरुङ फरक बटालियनमा गएपछि कमान्डरले भेट्न दिएन। आँखै अगाडि साथी ढले। मस्कोस्थित नेपाली दूतावासले कति दिनसम्म उनको मृत्युको खबर समेत दिएन। बुढाथोकीले घरपरिवार र दूतावासले ‘पेल्यो भने मात्र विवरण दिने’ भएकाले रूस-युक्रेन युद्धमा मारिने र घाइतेको संख्या यकीन नभएको बताएका थिए। रूसी सेनाले सही सूचना नदिएर परिवारलाई थप प्रताडित बनाएको उनको गुनासो थियो।
नेपालबाट दिल्ली हुँदै मस्को पुग्दासम्म नेपाली युवालाई ‘फ्रन्टलाइन’ मै गएर लड्नुपर्ला जस्तो लागेको थिएन। उनलाई पनि ‘त्यति साह्रो पनि नहोला। रूसी लड्ने हुन्, हामी पछाडि बस्ने हो। केही समयपछि आफैं साम्य होला’ भन्ने लागेको थियो। तर अवस्था सोचे जस्तो भएन। केही हप्ता हतियार समात्ने र ड्रोन चलाउने तालीम दिएर युक्रेनी सेनाको बंकर कब्जा गर्न खटाइयो। फ्रन्टलाइनमा खटाइएका धेरैजसो फर्किएनन्।
परिस्थिति भयावह बन्दै गएपछि लडाइँमा बाँचेकाहरू अत्तालिएका थिए। “जो पनि घर फर्किन चाहन्छ। सबैको चाहना पैसा चाहिएन, सुरक्षित पुगे हुन्थ्यो भन्ने छ,” बुढाथोकीले भनेका थिए, “सरकारले नजान भने पनि हाम्रो बाध्यता थियो।”
ज्यान जोगाउन याचना गरिरहेका बुढाथोकीले अनेक प्रयास गरे पनि भाग्न सकेनन्। अन्ततः रूस-युक्रेन युद्धमा ज्यान गुमाए। “रूस र युक्रेन लडाइँमा परेर दुःखद निधन भएको छ। म मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु,” रोल्पाबाट प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले फागुन २७ को संसद् बैठकमा सभामुखको ध्यानाकर्षण गराउँदै भनिन्।
बुढाथोकीले फागुन १३ गते लडाइँमा गएको खबर गरेका थिए। फागुन २४ गतेदेखि सम्पर्कविहीन उनको एकाएक मृत्युको खबर आयो। पारिवारिक स्रोतका अनुसार चार नेपालीसँगै फ्रन्टलाइनमा खटाइएको वेला दुई जनाले ड्रोन आक्रमणमा परेर ज्यान गुमाए। शव ल्याउने टुंगो नभएपछि कुशको शव बनाएर परिवारजनले अन्तिम संस्कार गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घर्तीले आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारेर नेपाली युवालाई लैजाने गरेकाले युद्धमा ज्यान गुमाउने र अंगभंग हुनेको संख्या बढिरहेकोमा चिन्ता व्यक्त गरिन्। “दलाल, एजेन्टहरूलाई पहिचान गरेर तत्काल कारबाही गरेर युद्धग्रस्त क्षेत्रमा जाने कुरा बन्द गराउन सम्माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन्।
सांसद घर्तीको ध्यानाकर्षण किन पनि भएको थियो भने बुढाथोकी उनकै गृहजिल्ला रोल्पाका कार्यकर्ता थिए। सुनछहारी गाउँपालिका-५, जैमकसलाका बुढाथोकी २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए। घर्तीको दल नेकपा (एमाले)ले बुढाथोकीलाई स्थानीय निर्वाचनमा उम्मेदवार बनाएको थियो। माओवादी दबदबा रहेको रोल्पाको स्थानीय निर्वाचनमा वडाध्यक्षमा विजयी हुने अन्य दलका सीमित उम्मेदवारमध्ये एक थिए, बुढाथोकी।
पहिलो कार्यकाल सकिएपछि ४४ वर्षीय बुढाथोकी २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा पुन: उम्मेदवार बनेका थिए। थवाङसँग सीमा जोडिएको माओवादी प्रभावित क्षेत्रमा एमालेको उम्मेदवार भएर अघिल्लो पटक जित निकालेका उनलाई हराउन यस पटक भने माओवादीले शक्तिको सक्दो प्रयोग गर्यो। बुढाथोकी वडाध्यक्षमा पराजित भए। चुनावमा लागेको ऋणले उनलाई गाउँमा बस्न दिएन।
त्यसपछि २०८० असोजमा रूसी सेनामा भर्ती भएका थिए। चुनावमा लागेको ऋणबाट उत्रिने सबैभन्दा राम्रो विकल्प त्यही लागेको थियो। किनकि नेपाली सेनामा भर्ती भएर अढाई वर्ष काम गरिसकेका थिए। उनलाई चिन्नेहरूका अनुसार द्वन्द्वको समयमा माओवादीले बुढाथोकीको परिवारलाई चरम मानसिक दबाब दिएर सेनाबाट राजीनामा गर्न बाध्य पारेका थिए।
रूस-युक्रेन युद्ध शुरू भएसँगै नेपाली युवा त्यतातिर जान थालेका थिए। त्यसैले नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रूस जान कडाइ गरेको थियो। दलाललाई मोटो रकम बुझाइसकेका उनी दिल्ली हुँदै रूस पुगेका थिए।
उनी जस्तै दलाल मार्फत रूसी सेनामा भर्ती भएका कैयौं नेपाली अहिले बिचल्लीमा छन्। युद्धमा घाइते भएका युवकका परिवार चरम आर्थिक संकटमा छन्। युद्धमा ज्यान गए वा घाइते भएकामा क्षतिपूर्तिको व्यवस्था भएको बताइए पनि पाउन सहज भने छैन। अहिलेसम्म दुई परिवारलाई मात्र पहिलो किस्ताको रकम दिइएको छ। कागज प्रमाणको अभावमा बाँकी पीडितले हालसम्म कुनै क्षतिपूर्ति पाएका छैनन्।
रूसी सेनामा भर्ती भएका नेपालीको जीवन रक्षार्थ अभियान चलाइरहेकी कृतु भण्डारीका अनुसार युक्रेनसँग युद्ध लड्ने क्रममा ६५ जनाले ज्यान गुमाएका छन् भने ११७ जना घाइते भएका छन्। सरकारले भने ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ।
सरकारले रूसी सेनामा भर्ती भएका नेपालीको संख्या र अवस्थाबारे केही जानकारी गराउन सकेको छैन। न त रूसी सरकारले घोषणा गरे अनुसार युद्धमा ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गरेको छ। “दुई जनाको परिवारलाई पहिलो किस्ताको रकम दिएको छ,” भण्डारी भन्छिन्, “रूस जान पैसा लाग्ने भएकाले पनि पीडितहरू जान सकेका छैनन्।”
यो पनि पढ्नुहोस्