थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट
पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
गाउँबाट टाढा रहेका केही थारू युवाले पाँच वर्षअघि दाङको घोराहीमा बृहत् केचहरी (भेला) गरे। केचहरीमा सहभागी युवाले थारू समुदायको परम्परागत रैथाने परिकार र संस्कृतिको प्रवर्द्धन र बजारीकरण गर्न एउटा रिसोर्ट सञ्चालन गर्नुपर्ने अवधारणा अघि सारे।
कोही रिसोर्टका लागि स्थान छनोटमा त कोही नाम जुराउन जुटे। कसैले लगानीको हरहिसाब गर्न थाले। धेरै लगानी चाहिने देखिएपछि कतिपय त झस्किए नै। गाह्रोसाह्रो गरेर जोडेको पैसा डुब्ने पो हो कि भन्ने चिन्ता थपियो। तैपनि उनीहरूले साझा निर्णय गरे, रिसोर्ट खोल्ने।
रिसोर्टको नाम जुराए- कबिला। थारू भाषामा कबिलाको अर्थ इष्टमित्र तथा आफन्त हुन्छ। उनीहरूले रिसोर्ट सञ्चालन गर्न कबिला हस्पिटालिटी ग्रूप नामक कम्पनी नै दर्ता गराए। यही ग्रूप मार्फत घोराही बजारदेखि करीब चार किलोमिटर पश्चिम तुलसीपुर जाने बाटोमा स्यानी अम्बापुरको सेवार खोला छेउमा रिसोर्ट खोल्ने तय भयो।
घोराही उपमहानगरपालिका-१६ स्थित स्यानी अम्बापुरमा करीब १० कट्ठा जमीन भाडामा लिए। त्यसपछि २० युवाले ३० लाख रुपैयाँ जम्मा गरे। पाँच वर्षअघि यसरी जोरजाम गरेर खुलेको रिसोर्टमा अहिले सात करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको प्रबन्ध निर्देशक विकास चौधरी बताउँछन्। “जेनतेन गरेर ३० लाख जोडेका थियौं। अहिले कमाउँदै लगानी गर्दै जाँदा सात करोड पुगेको छ,” उनी भन्छन्।
महामारीको मार
२०७६ सालमा कबिला रिसोर्ट सञ्चालन गरेको केही समयमै विश्वव्यापी कोभिड-१९ महामारी फैलियो। त्यसको मारमा रिसोर्ट पनि पर्यो। “कहिल्यै व्यापार-व्यवसाय नगरेका हामीले रिसोर्ट चलाएको केही महीनामै बन्द गर्नुपर्ने भयो। त्यस वेला धेरै संकटमा थियौं,” विकास भन्छन्।
.jpg)
बन्दाबन्दी खुलेसँगै रिसोर्ट सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्योल थियो। ठूलो रकम लगानी भइसकेको थियो। अन्तत: सबैले चलाउने नै सहमति गरे। केही समय घाटामै भए पनि चलाउनुपर्छ भन्ने निर्क्योल गरेको उनी सुनाउँछन्। “घाटा-नाफाको वास्ता नगरेर रिसोर्ट सञ्चालन गरिरह्यौं। केही वर्ष घाटामा गए पनि अहिले सरोबरमा आइसकेका छौं,” विकास भन्छन्।
थारू समुदायलाई व्यवसायमा जोड्ने ध्येयले रिसोर्ट सञ्चालन गरेको कबिला हस्पिटालिटी ग्रूपका अध्यक्ष कुलवीर चौधरी सुनाउँछन्। “हाम्रो उद्देश्य नै थारू समुदायलाई व्यवसायमा जोड्ने थियो। त्यसैले नाफाघाटा हेरेनौं,” कुलवीर भन्छन्।
यसले थारू समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुगिरहेको उनको भनाइ छ। त्यसका लागि थारू परिकार र सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्। थारू परिकारलाई व्यावसायिक बनाउन सहयोग पुगेको उनी बताउँछन्।
अर्कातिर, गाउँघरमा रोजगारी पनि सिर्जना भएको छ। रिसोर्टले रैथाने परिकार र उत्पादन खरीद गर्छ। स्थानीय बासिन्दा दैनिक १० किलोग्रामसम्म माछा, घोंगी, गँगटा रिसोर्टमा बिक्री गर्छन्। पहिले दैनिक उपभोगका लागि मात्र माछा, घोंगी, गँगटा खोज्ने स्थानीय बासिन्दा अहिले बिक्री गरेर आयआर्जन गरिरहेको अध्यक्ष कुलवीर बताउँछन्।
त्यसभन्दा पनि ठूलो यसले दिने सन्देश भएको उनको भनाइ छ। कृषिमा निर्भर थारू युवालाई व्यवसायतिर लाग्न पनि प्रेरित गरिरहेको उनी सुनाउँछन्। “कृषिमा मात्र नभई व्यापार-व्यवसाय पनि गर्न सकिंदो रहेछ भन्ने सन्देश गएको छ,” कुलवीर भन्छन्।
रैथाने स्वाद
कबिला रिसोर्टमा थारू परिकार पाक्छन्। थारू परिकारमा ढिक्री, अनदी चामलको रोटी, लोकल भालेको मासु, हाँसको छोइला, बंगुरको मासुका परिकार, माछाका परिकार, घोंगी, गँगटा लगायत रैथान परिकार पाइन्छन्। “थारू परिकारका लागि कबिला रिसोर्ट ब्रान्ड नै बनेको छ,” प्रबन्ध निर्देशक विकास भन्छन्।

पछिल्लो समय नेपालीसँगै अन्य परिकार समेत थपेका छन्। आगन्तुकले रैथाने थारू परिकारसँग अन्य परिकार पनि मन पराइरहेको उनी सुनाउँछन्। अन्य बजारभन्दा सस्तो र स्वादिष्ट परिकार पाइने भएकाले पनि धेरैको रोजाइमा परिरहेको उनको भनाइ छ।
बजार बढ्दै गएसँगै उनीहरूले सेवा पनि थपेका छन्। शुरूआतमा खानेकुरा मात्र थिए। अहिले वासको पनि व्यवस्था गरेका छन्। त्यस्तै, बैठक, गोष्ठी, सभा, सम्मेलन गर्न सेमिनार हल बनाएका छन्। साँझबिहानको खाना खुवाउन गाउँको झल्को दिनेगरी छुट्टाछुट्टै कटेज बनाएका छन्।
रिसोर्टबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ४० जनाले रोजगारी पाएको प्रबन्ध निर्देशक विकास बताउँछन्। रिसोर्टमा १४ जना कर्मचारी छन्। त्यस्तै, माछा, गँगटा, घोंगी तथा गाउँबाट रैथाने उत्पादन ल्याउन ११ जना खटिन्छन्।
यससँगै १५ जना कलाकार पनि रिसोर्टसँग जोडिएका छन्। उनीहरूले दैनिकजसो सांस्कृतिक प्रस्तुति राख्छन्। “चाडपर्वको अघिपछि त दैनिक थारू संस्कृति झल्किने कार्यक्रम गर्छौं। अन्य वेला पनि आगन्तुकको रुचि अनुसार सांस्कृतिक कार्यक्रम गर्छौं,” उनी भन्छन्।
कलाकार समूहले एउटा प्रस्तुति गरे बापत पाँच हजार रुपैयाँ पाउँछ। त्यस बाहेक कलाकारले प्रस्तुतिका आधारमा पनि पारिश्रमिक पाउने गरेका छन्।