जसको फोटोले फिर्ता ल्यायो ४५ वर्षअघि चोरी भएका पौभा
काठमाडौंको इतुम्बहाःस्थित केशचन्द्र महाविहारबाट २०३७ सालमा तीन वटा पौभा चित्र चोरी भए। चोरी हुनुभन्दा दुई वर्षअघि चिनिया ताम्राकारले खिचेको फोटोकै प्रमाणका आधारमा ती चित्र ४५ वर्षपछि अमेरिकाबाट फिर्ता भएका छन्।
पुरातत्त्व विभागमा जागीरे फोटोग्राफर छँदा चिनिया ताम्राकार (७९)ले अनेकौं सम्पदाका अनगिन्ती तस्वीर खिचे। ती तस्वीरले ऐतिहासिक महत्त्वका चित्र, मूर्ति, शिलालेख, जात्रापर्व आदिको अभिलेख राख्दै गए।
तीमध्ये पनि तीन वटा चित्रको तस्वीरले अभिलेख मात्र राखेन, गुमिसकेको इतिहास जोगायो। ४५ वर्षअघि चोरी भएका ती चित्र उनले खिचेकै तस्वीरको प्रमाणका आधारमा नेपाल फिर्ता आउँदा उनी गदगद छन्।
सम्पदाको तस्वीर खिच्न दौडिने क्रममै ताम्राकार २०३५ सालमा काठमाडौंको इतुम्बहाः पुगेका थिए। उनी बस्ने यट्खाबहाः नजीकै पर्छ इतुम्बहाः। त्यस वेला त्यहाँ श्रावण शुक्ल प्रतिपदादेखि भाद्र कृष्ण औंसीसम्म चल्ने एकमहीने गुँला–उत्सव भइरहेको थियो। केशचन्द्र महाविहारमा विभिन्न सम्पदा प्रदर्शनीमा राखिएका थिए। त्यसै क्रममा उनले तीन वटा पौभाका तस्वीर खिचेका थिए।
तर त्यस वेला खिचेका तस्वीरले कुनै दिन विशेष अर्थ राख्लान् भन्ने उनलाई पत्तो थिएन। ऐतिहासिक महत्त्वका पौभा चित्र थिए ती। उनले तस्वीर खिचेको दुई वर्षपछि नै ती पौभा हराए। अर्थात् तिनको चोरी भयो।
त्यसपछिको खोजी कार्यका लागि उनले सुरक्षित राखेको पौभाका तस्वीर बलियो प्रमाण बने। चोरी भएको ४५ वर्षपछि तीनवटै पौभा चित्र गत फागुन २० गते नेपाल फिर्ता आएका छन्। सबै पौभा सयौं वर्ष पुराना हुन्।
ताम्राकार चार दशकअघि तस्वीर खिच्दाको समय स्मरण गर्छन्, “त्यस वेला फोटो खिच्दै गर्दा यी पौभा यति महत्त्वपूर्ण हुन् भन्ने कहाँ लाग्नु! चोरी होला भन्ने त कल्पना पनि थिएन। मलाई ती पौभा मन परेकाले फोटो खिचेर सुरक्षित राखेको थिएँ।”
चोरिएका पौभा देखाउँदै चिनिया ताम्राकार।
विसं २०३० को दशकमा उपत्यकामा सम्पदा चोरीको बिगबिगी थियो। त्यस वेला केशचन्द्र महाविहारको भौतिक अवस्था पनि जर्जर थियो। भवन ढल्न लागेको थियो भने छाना छियाछिया परेको, पर्खाल भिजेर ओसिएका र दलिनहरू कोल्टिएका अवस्था थियो। त्यस्तो संरचनामा मान्छे छिर्न सक्ने प्वाल बनाएर २०३७ भदौ २९ गते ती पौभा चित्र चोरी भएको इतुम्बहाःस्थित केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य बताउँछन्।
चोरी भएका पौभामध्ये एउटा ३०० वर्षभन्दा पुरानो चिन्तामणि लोकेश्वरको, दोस्रो ६०० वर्ष पुरानो गगनशिम भरोको पत्नी सहितको र अर्को १७०४ तिरको देउताको अघि प्रार्थनारत चार भक्त भएको पौभा थियो। यी पौभाले इतुम्बहाःको इतिहास उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने शाक्य बताउँछन्। कुनै वेला दोलखाका प्रशासकीय अधिकृत रहेका गगनशिम भरोको चित्र कसरी पौभामा बन्यो भन्ने इतिहास अध्येताले खोजी गर्नुपर्ने विषय भएको उनी बताउँछन्। उनका अनुसार गगनशिम सैनिक अधिकारी हुँदा तिब्बतसँग युद्ध गरेको र इतुम्बहाःका भगवान् तारासँग आफ्नो जितका लागि प्रार्थना गरेका थिए। युद्ध जितेपछि उनैले इतुम्बहाःमा मन्दिर जीर्णोद्धार गर्न र पौभा बनाउन लगाएको इतिहासमा पढ्न पाइने शाक्य बताउँछन्।
अनुसन्धाताहरूका अनुसार पहिला थान्का र पौभामा देवदेवीको मात्र आकृति बनाइन्थ्यो। तर चोरी भएर फिर्ता आएको इतुम्बहाःको ६०० वर्ष पुरानो पौभामा सैनिक अधिकारी गगनशिम र उनका रानीहरूको आकृति छ। “त्यसैले यो संस्कृति र इतिहास झल्काउने पौभा छ। इतिहास पढ्नेका लागि अनुसन्धानको विषय हुन सक्छ,” शाक्य भन्छन्।
कसरी फर्किए पौभा?
सयौं वर्ष पुराना महत्त्वपूर्ण पौभा चित्र हराएपछि खोजी गर्न इतुम्बहाःका बासिन्दासँग प्रमाण भएन। खोजी गर्दै जाँदा इतुम्बहाः सुधार समितिका तत्कालीन अध्यक्ष क्याप्टेन चन्द्रबहादुर शाक्य र सचिव स्वस्तिरत्न शाक्य फोटोग्राफर ताम्राकारकहाँ पुगेका थिए। यी दुई व्यक्तिले २०३७ सालमै पुरातत्त्व विभाग, हनुमानढोका प्रहरी कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारमा पौभा हराएको जानकारी गराउँदै प्रमाणमा ताम्राकारले खिचेको तस्वीर पठाएका थिए। तर लामो समयसम्म यो विषयले निकास पाएन।
सन् २००३ मा अमेरिकाको स्मिथसोनियन इन्स्टिच्यूशन अन्तर्गतको इमेजिनएशिया फेमिली प्रोग्राम्सका समन्वयकर्ता स्टिफन ट्रुएक्स एकर्ड नेपाल आएका थिए। उनी परम्परागत कलामा चाख राख्ने व्यक्ति थिए। उनले अमेरिकाको साक्लर ग्यालरीमा सन् २००३ मा प्रदर्शनीमा राख्ने भनिएका पौभा चित्रहरू नेपालका जस्तै भएको इतुम्बहाःका अधिकारीहरूलाई जानकारी दिए। त्यसपछि फोटोग्राफर ताम्राकारसँग भएका पौभाका तस्वीर अध्ययनका लागि एकर्डलाई पठाइयो। तस्वीर भिडाएर हेर्दा अमेरिकामा प्रदर्शनीमा राख्न लागिएका पौभा इतुम्बहाःकै भएको देखियो।
त्यसपछि तिनलाई फर्काउने पहल पुरातत्त्व विभागका तत्कालीन महानिर्देशक कोषप्रसाद आचार्यले थाले। चोरिएका पौभाको वर्तमान स्थिति र प्रामाणिकता पुष्टि गर्न इन्टरपोलले ताम्राकारले खिचेका तस्वीरको अध्ययन गर्यो। उनीसँग विभिन्न समयमा सोधपुछ गर्यो।
नेपाल सम्पदा पुन:स्थापना अभियानका सचिव सञ्जय अधिकारीले पनि बारम्बार प्रमाण पेश गर्दै चिनिया ताम्राकार, इतुम्बहाःका पदाधिकारी, न्यू योर्कका डिस्ट्रिक्ट अटर्नी आदिसँग कैयौं पटक अनलाइन बैठक गरे।
यी सबै अध्ययन, छलफलमा इन्टरपोल र न्यू योर्कका डिस्ट्रिक्ट अटर्नीले ताम्राकारले खिचेका तस्वीरलाई नै केन्द्रमा राखेका थिए। “इन्टरपोलका सदस्य कति पटक त इतुम्बहाःमै आएर कसरी, कहिले खिचेको भनेर पनि चिनिया दाइसँग कुरा गरे,” केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष शाक्य भन्छन्, “चिनिया दाइले खिचेका फोटो हुँदैनथे भने हाम्रै पौभा भएर पनि प्रमाणको अभावमा हामीले फिर्ता पाउँदैनथ्यौं होला।”
प्रमाण र विस्तृत अध्ययनबाट नेपालकै भन्ने पुष्टि भएपछि ४५ वर्षपछि गत फागुन २० गते यी पौभा स्वदेश फर्किएका छन्। म्यानहट्टनका डिस्ट्रिक्ट अटर्नीले न्यू योर्कस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत चक्रकुमार सुवेदीलाई पौभा हस्तान्तरण गरेपछि यी पौभा विजयमान सिंह र न्यू योर्कको नेवा गुठीलाई जिम्मा लगाइएको थियो। उनीहरूले नै खर्च जुटाएर पौभा फिर्ता ल्याए।
यी पौभासँगै विभिन्न समयमा लिच्छवि, मल्ल र शाहकालमा चोरी भएका अन्य २० सम्पदा पनि फिर्ता आएका छन्। हाल पुरातत्त्व विभागमा रहेका यी सम्पदा पुन:स्थापनाका लागि चाँडै सम्बन्धित ठाउँमै पठाइने तयारी भइरहेको छ।
चोरिएको ४५ वर्षपछि पौभा फिर्ता हुने खबरले इतुम्बहाःवासी जति खुशी छन्, त्यसको दोब्बर खुशी आफू भएको ताम्राकार बताउँछन्। “धेरै खुशी लागेपछि त्यो कुरा कसरी पोख्ने भन्ने हुँदो रहेछ। मलाई त्यस्तै भएको छ अहिले।”
पौभा फिर्ता आउँदा उनी विगतमा यिनको सोधीखोजीका लागि निकै खटिएका इतुम्बहाः सुधार समितिका अध्यक्ष क्याप्टेन चन्द्रबहादुर शाक्य र सचिव स्वस्तिरत्न शाक्यलाई सम्झिरहेछन्।