शुक्लाफाँटा निकुञ्जमा मानव अधिकार उल्लंघन गरेका छैनौं : नेपाली सेना
नेपाली सेनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकहरूले त्यहाँका स्थानीयलाई दुर्व्यवहार तथा मानव अधिकार हनन नगरेको जनाएको छ।
हिमालखबरमा गत असोजमा प्रकाशित ‘थारू जंगल विना बाँच्दैन, सेना जंगल छिर्नै दिंदैन’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आफूहरूले प्रचलित कानून अनुसार नै कर्तव्य निर्वाह गरेको उल्लेख गरेको हो।
जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी गौरवकुमार केसीद्वारा प्रेषित पत्रमा भनिएको छ, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाल सरकारबाट स्वीकृत भए अनुसार तैनाथ उक्त गणले प्राप्त कार्यादेश अनुसार नै आफ्नो कर्तव्य र जिम्मेवारी वहन गरिरहेको हुँदा उल्लिखित घटनामा गणले दुर्व्यवहार गरी मानव अधिकार हनन गरेको भन्ने विषयमा नेपाली सेना खेद प्रकट गर्दै खण्डन गर्दछ।’
समाचार सम्प्रेषण भएपछि राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मझगाउँ, कञ्चनपुरलाई २०८१ कात्तिक १ गते पत्र पठाएको र निकुञ्ज प्रशासन कार्यालय मार्फत कात्तिक १२ गते उक्त आयोगको प्रदेश कार्यालयलाई जानकारी गराएको थियो। त्यसपछि आफूहरूले अनुसन्धान गर्दा गैरकानूनी गतिविधि रोक्ने र अनधिकृत रूपमा निकुञ्ज प्रवेशमा रोक लगाउने कार्य मात्र गरेको सेनाले उल्लेख गरेको छ।
सहायक रथी केसीद्वारा प्रेषित पत्रमा भनिएको छ, ‘नेपाली सेनाले उक्त घटनाको सम्बन्धमा अनुसन्धान तथा स्थलगत निरीक्षण गर्दा प्रकाशन भएको लेख तथा प्रसारित अनुसार नभई राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकले आफूलाई प्राप्त संवैधानिक तथा कानूनी जिम्मेवारी पूरा गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र हुने गैरकानूनी गतिविधि, चोरी शिकारी लगायत कार्यहरू रोक्नका लागि निकुञ्ज कार्यालयका कर्मचारी सम्मिलित पट्रोलहरू सञ्चालन गर्नुका साथै अनधिकृत रूपमा निकुञ्ज प्रवेशमा रोक लगाएको देखिन्छ।’