उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार
रुपन्देहीको मायादेवी गाउँपालिकास्थित सुन्डी माविले उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिन थालेपछि विद्यार्थी मात्र होइन, अभिभावकमा समेत छोराछोरीलाई उत्कृष्ट बनाउने प्रतिस्पर्धा चलेको छ।
विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीलाई के पुरस्कार मिल्छ? सहज जवाफ हुन्छ, नगद, मेडल वा शैक्षिक सामग्री। रुपन्देहीको मायादेवी गाउँपालिकास्थित सुन्डी माविले भने उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिने गरेको छ।
विपन्न परिवारका विद्यार्थीलाई पढाइमा निरन्तरता दिन आर्थिक सहयोग होस् भन्ने उद्देश्यले भैंसी पुरस्कार दिने कार्यक्रम ल्याइएको विद्यालयका प्रधानाध्यापक केशव पौडेल बताउँछन्। “विद्यालयले उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिन थालेपछि विद्यार्थी मात्र होइन, अभिभावकमा समेत आफ्ना छोराछोरीलाई उत्कृष्ट बनाउने प्रतिस्पर्धा चलेको छ,” पौडेल भन्छन्।
भैंसी पुरस्कार दिन थालिएको १० वर्ष भएको छ। अहिलेसम्म ४१ वटा भैंसी वितरण गरिसकेको प्रधानाध्यापक पौडेल बताउँछन्।
विद्यालयमा अति विपन्न परिवारका विद्यार्थी पढ्छन्। कतिपय अभिभावकको जग्गाजमीन पनि छैन। अन्य सीप पनि छैन। गरीबीकै कारण अभिभावकले छोराछोरीको पढाइलाई महत्त्व दिने गरेका छैनन्। बरु विद्यार्थीलाई बीचमै पढाइ छुटाउँछन्। “भैंसी पाएपछि त्यसको कमाइले परिवारको खर्च चल्छ र छोराछोरीको पढाइ छुटाउँदैनन् भनेर पनि भैंसी पुरस्कार दिन थालेका हौं,” उनी भन्छन्।
प्रधानाध्यापक पौडेलका अनुसार पुरस्कार बापत भैंसी दिन थालेपछि पढाइलाई बेवास्ता गरेका विद्यार्थी पढ्ने र मिहिनेत गर्ने भएका छन्। भैंसीले परिवारको आम्दानी बढाउन समेत मद्दत पुगेको छ। यसले बीचमै पढाइ छुटाउने क्रम रोकिएको छ।
भैंसी पुरस्कार पाउन विद्यार्थीले पाठ्यपुस्तक घोकेर वा कक्षामा धेरै नम्बर ल्याएर मात्र पुग्दैन। लेखनसीप, पठनशैली र सिर्जनात्मक क्षमता पनि बढाउनुपर्छ। हरेक वर्ष विद्यालयले फरक फरक प्रतियोगिता आयोजना गरी सिर्जनशील र लगनशील विद्यार्थी छानेर पुरस्कृत गर्छ।
.png)
यस वर्ष फागुन १२ मा पुस्तक समीक्षा प्रतियोगिता आयोजना भएको थियो। कक्षा १ देखि ३ सम्म, कक्षा ४ देखि ६ सम्म, कक्षा ७ देखि ८ सम्म, कक्षा ९ र १० को छुट्टाछुट्टै समूह बनाएर समीक्षा गर्न लगाइएको थियो।
विद्यालयको पुस्तकालयमा करीब नौ हजार पुस्तक छन्। तीमध्ये विद्यार्थीलाई पुस्तक छान्न दिइएको थियो। छानेको पुस्तक पढेर त्यसको समीक्षा गर्न लगाइएको प्रधानाध्यापक पौडेल सुनाउँछन्।
प्रतियोगितामा पहिलो र दोस्रो हुने १० जना विद्यार्थीलाई भैंसी उपहार दिइएको हो। पुरस्कार पाउनेमा चार छात्रा छन्। “विद्यालयमा अभिभावक सहितको भेला गरेर उत्कृष्ट विद्यार्थीलाई मुर्रा जातको ६० हजार रुपैयाँ पर्ने ब्याउने भैंसी दिएर पठायौं,” उनी भन्छन्, “उत्कृष्ट भएका विद्यार्थीका बाबुआमा पनि निकै खुशी हुन्छन्। आफैं भैंसी डोर्याएर लैजान्छन्।”
विद्यालयले भैंसी पुरस्कार पाउन नसक्ने विद्यार्थीलाई पनि निराश बनाउँदैन। हरेक समूहका उत्कृष्ट सातौंसम्म हुने विद्यार्थीलाई पाँच हजार रुपैयाँका दरले नगद पुरस्कार दिने गरेको छ। भैंसी र नगद उपहार दिने रकमको जोहो दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल र उनका सहयोगीले गरेका छन्।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजीक रहेर पनि गरीबी र विपन्नताका कारण पढाइमा समस्या देखेपछि उम् होङ गिलले यस्तो योजना अघि सारेका थिए। गिल हरेक वर्ष पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन्छन्। “विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने तरीका धेरै छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पनि अनेकौं विधि छन्। विपन्न अभिभावक भएका ठाउँमा अभिभावकलाई पनि फाइदा हुने भएकाले भैंसी उपहार उत्कृष्ट लाग्यो,” गिल भन्छन्।
भैंसी पुरस्कार दिन थालेपछि कति वेला कस्तो संयोग जुर्छ भने एकै घरका दुई-तीन भाइबहिनी उत्कृष्ट हुन्छन्। कोही विद्यार्थी लगातार हरेक वर्ष प्रथम भएर भैंसी पुरस्कार लैजान्छन्। तिनैमध्येकी एक हुन्- कक्षा ९ मा अध्ययनरत सन्ध्या लोध।
उनले दुई वर्षअघि पनि प्रथम भएर भैंसी पाएकी थिइन्। अहिले पनि पाइन्। आमा शकुन्तला भन्छिन्, “छोरी लगातार फस्ट भएर भैंसी पुरस्कार ल्याएकी छिन्। भैंसीको आम्दानीले घरखर्च चलेको छ।” उनका बुबा विदेशले भैंसीको आम्दानीबाट छोरीको उच्च शिक्षा पढ्ने इच्छा पूरा गरिदिने बताउँछन्।
भैंसी पुरस्कार कार्यक्रमले विद्यार्थीलाई मिहिनेती, परिश्रमी र सिर्जनशील बनाएको छ। आफूलाई उत्कृष्ट बनाउन उनीहरू पढाइ र सिर्जनशीलतामा ध्यान दिइरहेका छन्। कक्षा ८ मा अध्ययनरत नन्दनी लोध यसपालि तेस्रो पटक उत्कृष्ट भइन्।
पुरस्कार लिन उनले हजुरबुबालाई बोलाइन्। विद्यालयमा पुगेका हजुरबुबा राममिलन लोध भन्छन्, “गरीब छौं। छोराछोरीलाई कापीकलम पनि कसरी जुटाउने र पढाउने भन्ने थियो। अब यही भैंसी पालेर पढाउँछु।”
उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार प्रदान गर्दै दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल।
प्रतिस्पर्धा र पुरस्कारले विद्यार्थी टिकाउन र शैक्षिक गुणस्तर सुधार्न सहयोग पुगेको विद्यालयको निष्कर्ष छ। त्यसैले विद्यालयमा साप्ताहिक, मासिक र त्रैमासिक रूपमा सिकाइ मूल्यांकन हुन्छ। यसबाट विद्यार्थीको क्षमता विश्लेषण गरिन्छ। सिकाइ मूल्यांकनपछि विद्यार्थीलाई कुन विधि अपनाएर सिकाउने भन्ने निचोड निकालिन्छ। शैक्षिक स्तर सुधार्न वेलावेला अतिरिक्त कक्षा पनि चलाउने गरिएको छ।
विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गराइन्छ। हरेक क्रियाकलापमा प्रतिस्पर्धा गराउने र पुरस्कार दिने गरेको शिक्षक विष्णुमाया घिमिरे बताउँछिन्। “यसले विद्यार्थीमा पढाइप्रति रुचि जागेर प्रतिस्पर्धी बन्न प्रेरित गरेको छ,” घिमिरे भन्छिन्।
२०२० सालमा स्थापित सुन्डी माविमा १० वर्षअघिसम्म यस्तो व्यवस्था थिएन। अन्य सामुदायिक विद्यालय जस्तै भौतिक पूर्वाधारविहीन थियो। न आवश्यक भवन थियो न त डेस्क-बेन्च। विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य थिए।
त्यतिखेर लुम्बिनी घुम्न आएका दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिलको नजर विद्यालयमा पर्यो। त्यसपछि उनी र उनका सहयोगीले परोपकारी काम थालेपछि विद्यालयको मुहार फेरिएको हो। उनीहरूले पाँच करोड रुपैयाँभन्दा बढीको लगानीमा दुईतले आधुनिक नयाँ विद्यालय भवन तयार गरिदिएका छन्।
वेलावेलामा आएर शिक्षण सिकाइका नयाँ अभ्यास सिकाएका छन्। कम्प्युटर र पुस्तकालय स्थापना गरिदिएका छन्। “एकातिर, विद्यालयको भौतिक पूर्वाधार राम्रो भयो। अर्कातिर, उत्कृष्ट विद्यार्थीले भैंसी पुरस्कार पाउने, अरू वेला पनि निरन्तर मूल्यांकन गरेर प्रोत्साहन दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ,” मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी भन्छन्, “सिकाइमा प्रतिस्पर्धा र मूल्यांकनले विद्यार्थी टिकाउन र गुणस्तर बढाउन सघाउने रहेछ।”