यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रम औपचारिक रूपमै बन्द हुने, नेपालका कम्तीमा ४० कार्यक्रम रोकिने
६ साताको समीक्षापछि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का अधिकांश कार्यक्रम औपचारिक रूपमै बन्द गर्न लागेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन्।
सामाजिक सञ्जाल एक्स मार्फत विदेशमन्त्री रुबियोले यूएसएआईडीबाट विभिन्न देशमा सञ्चालनमा रहेका तथा अमेरिकी स्वार्थ नमिल्ने पाँच हजार २०० सम्झौता रद्द गरिएको र यसबाट अर्बौं डलर जोगिएको दाबी गरेका छन्। उनले यूएसएआईडीले अर्बौं डलर अमेरिकी स्वार्थ अनुकूल नहुने ठाउँमा र कतिपय त प्रतिकूल हुने ठाउँमा खर्च गरेको समेत दाबी गरेका छन्।
रुबियोले यूएसएआईडी मार्फत सञ्चालनमा रहेका ८३ प्रतिशत कार्यक्रम रद्द गरी करीब १८ प्रतिशत कार्यक्रम भने अमेरिकी विदेश मन्त्रालय मार्फत सञ्चालन गरिने उल्लेख गरेका छन्। उनले अमेरिकी संसद्सँगको परामर्शमा यी कार्यक्रमलाई मन्त्रालय मार्फत प्रभावकारी ढंगमा सञ्चालन गरिने पनि उल्लेख गरेका छन्।
गत २० जनवरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाले लगत्तै यूएसएआईडीको सहायता रोक्का गर्दै हजारौं कर्मचारीलाई बिदामा बस्न निर्देशन दिइएको थियो। उनले एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डीओजीई)लाई यो संस्थाको समीक्षा गर्ने जिम्मा दिंदै ९० दिनभित्र यसबारे निर्क्योलमा पुगिने बताइएको थियो। जस अनुसार विदेशमन्त्री रुबियोले समीक्षापश्चात् अधिकांश कार्यक्रम खारेज गरिएको उल्लेख गरेका हुन्। अब यूएसएआईडीका एक हजार कार्यक्रम मात्रै सञ्चालन हुनेछन्।
नेपालका कति कार्यक्रम रोकिन्छन्?
विदेशमन्त्री रुबियोले घोषणा गरे अनुसार नेपालमा यूएसएआईडीका कति कार्यक्रम रोकिन्छन् भन्ने प्रस्ट छैन। यस सम्बन्धी सार्वजनिक औपचारिक दस्तावेज उपलब्ध छैन। यसअघि नै यूएसएआईडीले १३ माघमा अर्थ मन्त्रालयलाई पत्र पठाएर राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशसँगै तीन महीनाका लागि कार्यक्रम निलम्बन हुने जनाइसकेको छ। अमेरिकाले सहयोग निलम्बन गरेसँगै अमेरिकी सहायताका कार्यक्रमको भुक्तानी, सम्झौता, ठेक्का प्रक्रिया आदि सबै काम रोकिएका छन्। अमेरिकी सहायतामा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना समेत रोकिएको छ।
यूएसएआईडीले गत साउन ३ गते पत्रकार सम्मेलन गरेर सन् २०२२ यता २०२७ सम्मको पाँच वर्षका लागि ६५ करोड ९० लाख अमेरिकी डलर (अहिलेको मूल्यमा करीब ९० अर्ब रुपैयाँ) बराबरका कार्यक्रम सञ्चालन गरिरहेको बताएको थियो। यी कार्यक्रममध्ये नेपाल सरकारको बजेट प्रणाली मार्फत कार्यान्वयन हुनेगरी ४० प्रतिशत र विभिन्न संस्था, गैरसरकारी संस्था आदि मार्फत कार्यान्वयन हुनेगरी ६० प्रतिशत कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिइएको थियो। अब यी कार्यक्रममध्ये अधिकांश पूर्ण रूपमा रोकिएका छन्।
यूएसएआईडीले सन् २००० यता मात्र नेपाललाई १.५ अर्ब अमेरिकी डलर अर्थात् दुई खर्ब सात अर्ब रुपैयाँ बराबरको सहयोग गरेको दाबी गरेको छ। नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको सशक्तीकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा यो रकम खर्च गरिएको जनाइएको छ।
अमेरिकाको वाशिङ्टन डीसीस्थित समाचार संस्था पन्चबाउल न्यूजले यूएसएआईडीका खारेज भएका संसारभरिका कार्यक्रमको सूची सार्वजनिक गरेको छ। खारेज गरिएका हजारौं कार्यक्रमको सूची यूएसएआईडी सम्बद्ध स्रोतले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको थियो। यस सूचीका आधारमा नेपालमा पनि यूएसएआईडीका सम्झौता भइसकेका कम्तीमा ३४ कार्यक्रम रद्द गरिएका छन्। यूएसएआईडी नेपाल अन्तर्गत सम्झौता भइसकेका यी कार्यक्रममा ३२ करोड ९४ लाख अमेरिकी डलर (करीब रु. ४६ अर्ब १२ करोड) खर्च लागतको अनुमान गरिएको थियो। यसमध्ये १७ करोड ४२ लाख ५५ हजार डलर खर्चका लागि स्वीकृति भइसकेको थियो। त्यसैगरी, यूएसएआईडीको अफिस अफ एक्विजिशन एन्ड असिस्टेन्स अन्तर्गत ६ वटा कार्यक्रमका लागि दुई लाख ८१ हजार अमेरिकी डलर (करीब रु. चार करोड)को सम्झौता भएको कार्यक्रम पनि रद्द भएको छ।
रद्द भएका कार्यक्रममा कर्णाली खानेपानी सुरक्षा क्रियाकलाप, डेमोग्राफिक्स एन्ड हेल्थ सर्भेमा सहयोग गर्ने कार्यक्रम लगायत छन्।