उचाइमा केबलकार मृत्युको कारण बन्न सक्ने विज्ञको राय
स्थानीय हावापानीसँग अभ्यस्त नभई एकैचोटि केबलकारले तीन हजार ८०० मिटर माथि लग्दा अक्सिजनको कमीले लेक लागेर मृत्यु हुन सक्ने वैज्ञानिक कारणबारे मुक्कुमलुङ (पाथीभरा)मा केबलकार बनाउनुअघि ध्यान दिइनुपर्थ्यो, दिइएको छैन।
मुक्कुमलुङ (पाथीभरा)मा केबलकार बनाइछाड्ने ढिपीका पछाडि दिइने एउटा बलियो तर्क हो– ‘केबलकार बनेपछि उकालो चढ्न नसक्ने वृद्धवृद्धा, अशक्त र केटाकेटीलाई देवीको दर्शन गराउन सकिन्छ। त्यसो भएपछि अहिले सिजनमा आउने दैनिक १६ हजार तिर्थालुको संख्या बढेर तेब्बर हुन्छ।’ जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलका भनाइमा सिजनमा मुक्कुमलुङ (पाथीभरा)मा दैनिक १६ हजारसम्म दर्शनार्थी आउँछन्।
यो तीर्थस्थल नेपालको पूर्वी हिमाली क्षेत्रमा अवस्थित महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। यस चुचुरोमा लिम्बू समुदायले आफ्नो आराध्य देवी युमाको पूजा गर्छ भने हिन्दू धर्मावलम्बीले पाथीभरा देवीका रूपमा पूजापाठ गर्छन्। हरेक वर्ष हजारौं आस्थावान् आउने हुनाले केबलकार बनाउन सके राम्रो आर्जन गर्न सकिने ध्येयले व्यवसायी चन्द्र ढकालले त्यहाँ केबलकार बनाउन खोजिरहेको देखिन्छ। त्यसका निम्ति उनलाई राज्यको सुरक्षा तथा संरक्षण समेत दिइएको छ। तर तीन हजार ८०० मिटर उचाइमा रहेको तीर्थस्थलमा केबलकारको यात्रा जोखिमपूर्ण हुने विज्ञहरू बताउँछन्। मुक्कुमलुङ (पाथीभरा)मा पूजा गर्न जाँदा लेक लागेर मृत्यु भएकाहरूको दृष्टान्त दिंदै विज्ञहरू भन्छन्, “त्यहाँको हावापानीको विश्लेषण गरी हेर्दा केबलकारले व्यापार त होला, तर मान्छेको यात्रा चाहिं सहज हुने देखिंदैन।”
‘युमाले दिइन्, उनैले लगिन्’
पाँचथरको फालेलुङ गाउँपालिका-८, याङ्नामका देउकुमारी नेम्बाङ र उनका श्रीमान् रामबहादुर नेम्बाङले युमा (मुक्कुमलुङमा वास गर्ने देवी)सँग भाकल गरी सन्तान मागेका थिए। त्यसको केही समयपछि देउकुमारीले छोरालाई जन्म दिइन्। त्यही भाकल पूरा गर्न २०७८ वैशाख ४ गते आफ्ना दुई वर्षीय छोरा उत्सवलाई लिई दम्पतीले एकाबिहानै मुक्कुमलुङको चढाइ शुरू गरे। त्यस दिन हिउँ परेकाले मौसम पनि चिसिएको थियो। करीब अढाई किलोमिटर उकालोमा पर्ने माथिल्लो फेदी कटेका मात्र थिए, उत्सवलाई सास फेर्न गाह्रो भयो। राम भन्छन्, “एक्कासि बाबुलाई सास फेर्न गाह्रो भयो। के गर्ने, कसो गर्ने भन्दाभन्दै बाबु त्यहीं बेहोश भयो। हामी आत्तिंदैै तल झर्यौं।”
उनीहरू माथिल्लो फेदीबाट तीन घण्टा जति लगाएर काफ्लेपाटी झरे। त्यतिन्जेल रामले फोन गरेर फुङ्लिङबाट एम्बुलेन्स बोलाइसकेका थिए। त्यहाँबाट एम्बुलेन्समा ताप्लेजुङ जिल्ला अस्पताल पुग्न करीब तीन घण्टा लाग्थ्यो। अस्पताल पुग्दा बिहानको १० बज्न लागेको थियो। त्यतिन्जेल उत्सवको मृत्यु भइसकेको थियो। डाक्टरले मृत्युको कारण ‘बच्चालाई लेक लाग्नु’ बताए। देउकुमारी भन्छिन्, “नलगेको भए हुन्थ्यो। युमाले दिइन्, उनको काखमा पुग्दानपुग्दै उनैले लगिन्।”
डीएसपी रावलका अनुसार उत्सवको मृत्यु भएकै साल इटहरी उपनगरपालिका-९ का ६० वर्षीय खेमबहादुर ढुंगानाको पनि लेक लागेरै मृत्यु भएको थियो। उनी परिवार सहित देवीको दर्शन गर्न त्यहाँ पुगेका थिए। लेक लागेर युवाले पनि ज्यान गुमाएको देखिन्छ। २०७७ मंसीर महीनामा पाथीभरा देवीको दर्शन गर्न उक्लँदै गरेकी विराटनगर महानगरपालिका-६ की ३० वर्षीया सावित्री खड्का चापागाईंको पनि लेक लागेकै कारण मृत्यु भयो।
मुक्कुमलुङ (पाथीभरा) चढ्दा लेक लागेर कति जनाको मृत्यु हुन्छ भन्ने यकीन तथ्यांक नरहे पनि डीएसपी रावलले उपलब्ध गराएको तथ्यांक अनुसार उकालो चढ्दा २०७९ सालमा ६५ वर्षीय फ्रान्सेली नागरिक र २०८० सालमा ५४ वर्षीय जर्मन नागरिकको मृत्यु भएको थियो। डीएसपी रावल भन्छन्, “लेक लागेर चार-पाँच जनासम्मलाई रेस्क्यू गरेर अस्पताल पुर्याएका छौं।”
उचाइ चढाइको जोखिम
प्राकृतिक सौन्दर्य र आध्यात्मिक आस्थाको केन्द्र यस चुचुराको यात्रा गर्दा सावधानी नअपनाए ज्यान जानेसम्मको जोखिम हुने भएकाले विना तयारी यात्रा नगर्न विज्ञहरू सुझाव दिन्छन्। अहिले यस चुचुरोमा पुग्न फुङ्लिङबाट यात्रा शुरू हुन्छ, जुन ताप्लेजुङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र र सदरमुकाम पनि हो। फुङ्लिङ समुद्री सतहदेखि १,४४१.७ मिटर उचाइमा छ। त्यहाँबाट करीब तीन घण्टा लामो गाडीको यात्रापछि काफ्लेपाटी आउँछ। यसको उचाइ समुद्री सतहदेखि तीन हजार मिटर अग्लो छ। अहिले बन्न लागेको केबलकारको बेस स्टेशन काफ्लेपाटीबाट ३०० मिटर तल बनाउने भनिएको छ।
चिसो ठाउँमा एक्कासि उकालो चढ्दा लेक लाग्ने हुनाले यात्रुहरू एक दिनअघि नै फुङ्लिङ आई बस्छन् र त्यहाँको वातावरणसँग भिज्छन्। मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूका अनुसार यदि स्थानीय वातावरण बमोजिम शरीरलाई अनुकूल नबनाई उचाइमा चढे शरीरमा अक्सिजन कम हुन्छ र लेक लाग्ने गर्छ। तपाईं समुद्री सतहदेखि करीब ६०-२०० मिटर उचाइमा रहेको तराईबाट तीन हजार ८०० मिटर अग्लो चुचुरो चढ्दै हुनुहुन्छ, त्यसैले तपाईंले स्थानीय हावापानीसँग सामञ्जस्य मिलाउन पनि कम्तीमा एक रात फुङ्लिङ वरपर बिताउनै पर्ने हुन्छ। त्यसो गर्दा स्वास्थ्यको हिसाबले सुरक्षित भइन्छ। अन्यथा हतारहतार छोटो समयमा उचाइको यात्रा गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने हुनाले खेलाँची नगर्न विज्ञहरू सुझाव दिन्छन्। “वातावरणमा घुलमिल नभएका जोकोहीलाई पनि लेक लाग्न सक्छ। विशेष गरेर वृद्धवृद्धा, बालबालिका र अस्वस्थ मानिसलाई बढी असर गर्ने देखिन्छ,” डा. लिम्बू भन्छन्, “तर यसमा युवाको पनि ज्यान गएका धेरै उदाहरण छन्।” लेक लाग्न दुई हजार ५०० मिटरदेखि नै शुरू हुने विभिन्न अध्ययनले देखाउँछन्। तर केही मानिस एक हजार ५०० देखि दुई हजार १०० मिटरमा नै प्रभावित हुन सक्ने डा. लिम्बू बताउँछन्।
हेलिकोप्टरबाट देखिएको पाथीभरा मन्दिर रहेको थुम्को र कञ्चनजंघा हिमाल।
लेक लाग्नु अर्थात् ‘अक्युट माउन्टेन सिकनेस’ भनेको शरीरले अचानक उच्च भूभागको यात्रामा पर्याप्त अक्सिजन नपाउँदा र स्थानीय हावासँग अनुकूलन गर्न नसक्दा उत्पन्न हुने समस्या हो। उचाइ बढ्दै जाँदा हावाको चाप र अक्सिजनको स्तर घट्छ, जसले गर्दा शरीरका तन्तुहरूमा अक्सिजनको कमी (हाइपोक्सिया) हुँदै जान्छ। त्यसै कारण मुक्कुमलुङ (पाथीभरा) उक्लँदा धेरै दर्शनार्थीलाई टाउको दुख्ने, बान्ता आउने, अनिद्रा, कमजोरी र समन्वय क्षमतामा गिरावट हुने समस्या देखिन्छ।
चिकित्सकीय भाषामा ‘हाई अल्टिच्यूड पल्मोनरी एडिमा र हाई अल्टिच्यूड सेरेब्रल एडिमा’ का कारण फोक्सोमा पानी जम्ने वा मस्तिष्कमा गम्भीर असर पर्न सक्छ। समयमै उपचार नपाए ज्यानकै जोखिम हुन सक्छ। डा. लिम्बू भन्छन्, “फोक्सोमा पानी जम्नुभन्दा मस्तिष्कमा पानी जम्नु झन् खतरा हुन्छ। यसले व्यक्तिको होश गुम्छ र बेहोश हुन्छ। यदि वेलैमा सावधानी नअपनाइए व्यक्तिको ज्यान पनि जान सक्छ।”
वाइल्डनेस मेडिकल सोसाइटीका अनुसार तीन हजार मिटरभन्दा माथि आरोहण गर्ने यात्रुहरूले वेलावेला आराम लिनुपर्छ। लेकको मध्यमदेखि उच्च जोखिममा रहेका यात्रुहरूका लागि डाक्टरले सिफारिश गरेका औषधि प्रयोग गर्नुपर्छ। पानी तथा तरल पदार्थ प्रशस्त मात्रामा पिउनुपर्छ, जसले हाम्रो श्वासप्रश्वासलाई व्यवस्थित गर्न मद्दत गरोस्।
डा. लिम्बूको भनाइमा लेक लाग्दा सबैभन्दा प्रभावकारी उपचार भनेको तुरुन्तै कम उचाइमा झर्नु हो। हजार मिटर उचाइमा झरे उल्लेखनीय रूपमा सुधार हुन्छ। तत्काल चिकित्सकको हेरचाह आवश्यक पर्दछ।
यो त भयो पैदलयात्रीले उचाइमा चढ्दा भोग्नुपर्ने सम्भावित खतरा र त्यसबाट बच्न गरिने उपाय। यदि मुक्कुमलुङ (पाथीभरा)मा केबलकार बने त्यसबाट यात्रा गर्दा चाहिं लेक लाग्ने समस्या भोग्नुपर्छ कि पर्दैन? आउनुहोस्, यसबारे पनि चर्चा गरौं।
केबलकारको चढाइ
पर्वतारोहण विज्ञ अर्जुन राई हिंड्नेले मात्र नभई लेक लाग्ने जोखिम हेलिकोप्टरको पाइलटले समेत भोग्नुपर्ने बताउँछन्। दुई हजार ५०० मिटरभन्दा माथि पुगेपछि पाइलटहरूमा अक्सिजन अभाव (हाइपोक्सिया)को लक्षण देखिन्छ। उच्च भूभागको यात्रामा शरीरले श्वासप्रश्वास प्रक्रिया बढाएर समायोजन गर्ने प्रयास गर्दा अक्सिजन बोक्न बढी रातो रक्तकोषिकाहरू उत्पादन गर्दछ, जसले रगतलाई बाक्लो बनाउँछ र मुटुलाई तनाव दिन्छ।
उच्च भूभागमा देखिने रोगको मुख्य कारण शरीरलाई स्थानीय हावापानीसँग भिज्ने समय नदिई छिटो आरोहण गर्नु हो। शरीरलाई कम अक्सिजनको स्तरमा अनुकूलन गर्न अनुमति दिने क्रमिक आरोहण त्यस्तो रोगबाट बच्ने उत्तम तरीका हो। तर केबलकारमा जाँदा यी सबै सावधानीलाई उपेक्षा गरिन्छ। अपनाउनुपर्ने सामान्य सावधानी पनि नअपनाई माथि चढिन्छ। त्यसले लेक लाग्ने डर रहने हुँदा मुक्कुमलुङ (पाथीभरा)मा केबलकार बनाए तिर्थालुलाई चढ्न सजिलो हुने र समय पनि बचत हुने भनी गरिएका तर्क वैज्ञानिक नभएको अर्जुन राई बताउँछन्।
तर यसमा केबलकारबाट तुरुन्त तल पनि झार्न सकिन्छ भन्ने कुरामा डा. लिम्बू भन्छन्, “लेक २ प्रकारले लाग्छ। एउटा, सामान्य किसिमको, अर्को, गम्भीर प्रकृतिको। सामान्यतः अलि अलि टाउको दुख्ने, वाकवाक हुने, रिंगटा लाग्ने हुन्छ, तर गम्भीर प्रकृतिकोमा फोक्सो र टाउकामा पानी जम्नु धेरै खतरनाक मानिन्छ। यसमा पनि फोक्सोमा पानी जम्नु झनै जोखिम हो। यस्तो अवस्थामा तल झरे पनि राम्रो उपचार पाएन भने त्यसको असर तीन-चार दिनपछि समेत देखिन सक्छ।” त्यसैले यसरी केबलकार बन्नु घातक सावित हुन्छ। उनको भनाइमा त्यसरी लेक लागेकाहरूको मृत्यु तीन-चार दिनपछि भएका उदाहरण छन्।
हिमालयन रेस्क्यू एशोसिएशन नेपालका पूर्व अध्यक्ष सन्त सुब्बाको यस्तै तर्क छ। उनी भन्छन्, “केबलकार भयो भने देशका विभिन्न भागबाट दर्शन गर्न आउने मान्छेलाई एकै दिनमा दर्शन गरेर फर्कौं भन्ने हुन्छ। त्यसरी हतारमा चढी केबलकारले एकै चोटि तीन हजार ८०० मिटरको उचाइमा लग्दा स्वस्थ मान्छेलाई पनि लेक लाग्ने हुन्छ। बूढापाका र बालबच्चालाई त गाह्रो हुने नै भयो। तर यसले युवा जमातलाई पनि असर पार्छ।”
मुटुरोग विशेषज्ञ डा. लिम्बू लेक लाग्नबाट जोगिन पूरक अक्सिजन वा पोर्टेबल हाइपरबेरिक चेम्बर र औषधि उपचारले छोटो समय राहत दिए पनि उचाइमा उक्लनुअघि शरीरलाई स्थानीय हावापानी अनुकूल बनाउनु नै सबैभन्दा प्रभावकारी उपाय बताउँछन्।
वनस्पतिविद् कमल मादेनका अनुसार यस्तो संवेदनशील विषयबारे केबलकार बनाउने अनुमति दिंदा ध्यान दिइएको छैन। मादेन भन्छन्, “अहिले शरीरलाई स्थानीय हावापानी अनुकूल बनाई माथि चढ्दा त लेक लागेर मान्छे मरिरहेका छन्। केबलकारबाट एक्कासि चढ्दा के हालत होला?”