मञ्जुश्री ट्रेल रेसमा ५०२ धावकले भाग लिने
आउँदो चैत १ गते काठमाडौंमा शुरू हुने मञ्जुश्री ट्रेल रेसमा ४०८ पुरुष र ९४ महिला धावक सहभागी हुने भएका छन्।
आउँदो चैत १, २ र ३ गते मञ्जुश्री ट्रेल रेसको पाँचौं संस्करण हुन लागेको छ। यसमा सहभागी हुन ३७१ स्वदेशी र १३१ विदेशी धावकले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ। फागुन २५ गते राति १२ बजेसम्म नाम दर्ता गर्न सकिने भएकाले सहभागीको संख्या बढ्न सक्ने आयोजकको अनुमान छ।
मञ्जुश्री ट्रेल रेसमा १०० माइल्स, १०० किलोमिटर, ५० किलोमिटर, ३० किलोमिटर र १० किलोमिटरको दौड हुनेछ। १०० माइल्स इचंगुनारायण र १०० किलोमिटर दौड झुलेबाट चैत १ गते शुरू हुनेछन्। त्यस्तै, ५० किलोमिटर गोदावरी, ३० किलोमिटर डुल्लु र १० किलोमिटर दौड इचंगुनारायणबाट चैत २ गते हुनेछन्।


आयोजकका अनुसार १०० माइल्स र ५० किलोमिटर दौड एशिया ट्रेल मास्टरको छनोट समेत हो। ३० किलोमिटरभन्दा माथिका सबै दौड पूरा गर्नेले दुईदेखि ६ आईटीआरए (इन्टरन्याशनल ट्रेल रनिङ एशोसिएशन) नम्बर प्राप्त गर्नेछन्।
१०० माइल्सतर्फ पहिलो हुनेले ७५ हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, १०० किलोमिटरमा पहिलोले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार नगद पुरस्कार पाउनेछन्।
यसैगरी, ५० किलोमिटरतर्फ पहिलोले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा ३० किलोमिटरमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार रुपैयाँ पाउनेछन्।
मञ्जुश्री ट्रेल रेसका कार्यबाहक अध्यक्ष नारायण आचार्यले पुरस्कार राशी धावकहरूले देशविदेशमा पुर्याउने योगदानको तुलनामा ज्यादै न्युन रहेको बताए। धावकहरूले विदेशमा गएर नेपालको संस्कृति चिनाउने र पर्यटनमा समेत योगदान पुर्याएको बताए।
एसिया ट्रेल मास्टर २०२३ च्याम्पियन रसिला तामाङले नेपाल भौगोलिक हिसाबले ट्रेल रेसका लागि धेरै उपर्युक्त भएको बताइन्। ट्रेल रनिङ राम्रो हुँदै गएको तर ट्रेल रेस गरेरै जीविकोपार्जन गर्ने अवस्था भने नआईसकेको उनको भनाइ थियो।
मञ्जुश्री ट्रेल रेसका बोर्डमेम्बर जीवन लामाले यसअघि अप्रील–मे महीनामा हुने गरेकोमा कम गमीहोस् भन्दै मार्चमै गरिएको बताए। दौड्ने रुट पनि खुल्ला भन्दा सकेसम्म जंगलमा पार्दै लगिएको बताए। जहाँ ट्रेल छ त्यहि सडक बनाउन नहुनेमा उनले जोड दिए।


