चोर ठानेर कुट्दा छोराको ज्यान गएपछि ऐंठनमा आमाबुबा
चोर ठानेर राति कुटपिट गरिएका युवक छोरा भएको पत्तो पाएपछि उपचार त गराए, तर ज्यान जोगिएन। अहिले आमाबुबा प्रहरी हिरासतमा छन्।
सदा झैं फागुन १५ को साँझ पनि ६४ वर्षीया देवीमाया भ्लोन बाख्रा-खोरको धन्दा सकेर भान्सामा पसिन्। अबेर भइसकेको थियो। खाना बनाउने तरखरमा लागिन्।
देवीमायाका श्रीमान् ६३ वर्षीय मीनबहादुर भ्लोन पनि बारीको काम भ्याएर घर फर्किए। अँध्यारो भइसकेको थियो। मीनबहादुर पनि भान्सामै पसे।
देवीमायाले ढिंडो ओडालिन्, मीनबहादुर आडैमा बसे। गफगाफ गर्दागर्दै ढिंडो पाकिसकेको थियो। देवीमायाले थालमा पस्किइन्। दुवै जनाले केही गाँस मात्र खान भ्याएका थिए, एक्कासि एक युवकले झम्टिए।
रातको ८ बजेको थियो। अँध्यारोमा मास्क लगाएका व्यक्तिले देवीमायाको आँखामा खुर्सानीको धुलो फाले। त्यसपछि मीनबहादुर आत्तिए। के गर्ने, कसो गर्ने मेसो पाएनन्। ती युवक मीनबहादुरमाथि पनि जाइलागे।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, अदुवाबारीस्थित घरमा केही वर्षदेखि भ्लोन दम्पती मात्रै बस्छन्। उनीहरूका छरछिमेकी पनि धेरै छैनन्। यो टोलमा दुई घर छन्। बोलीमा बोली मिसाउने पनि श्रीमान्-श्रीमती मात्रै हुन्। दुवै जना एकअर्कालाई सहन्थे, रमाउँथे।
चार छोरा अलग्गै बस्छन्। सबैले आआफ्नो गुजारा चलाइरहेका छन्। जेठा छोरा भरत, माइला नवराज र साइला हरिविष्णु काठमाडौं बस्छन्। कान्छा हरिकृष्ण इन्द्रसरोवर गाउँपालिकामै भए पनि पल्लो डाँडामा बस्दै आएका छन्।
कहाँबाट को आएर किन एक्कासि आक्रमण गर्यो भन्ने थाहा नपाएको भ्लोन दम्पतीले बताएका छन्। उनीहरूका अनुसार आक्रमण भएपछि प्रतिकार गरे। भान्सामा भेटिएका घरेलु सामान चिम्टा, आगो बाल्ने ढुंग्रोले प्रहार गरे। टाउकामा लागेपछि युवक त्यहीं ढले।
त्यसपछि देवीमायाले पल्लो डाँडामा बस्ने हरिकृष्णलाई फोन गरिन्। उनी आएपछि तीनै जना मिलेर युवकलाई घरको थाममा बाँधे।
कुटपिटमा भ्लोन दम्पती र युवक घाइते भए। राति को हो भनेर कसैले सोधपुछ गरेनन्। भोलिपल्ट थाहा भयो, अपरिचत व्यक्ति त जेठा छारा भरतकुमार भ्लोन रहेछन्।
भोलिपल्ट प्रहरी पनि घटनास्थल पुग्यो। घाइते तीनै जनालाई अस्पताल लगियो। तीनै जनालाई हेटौंडाको अस्पताल ल्याइएको थियो। प्राथमिक उपचारपछि चितवनस्थित इवामुरा अस्पताल लगिएको थियो।
अर्को दिन उपचारका क्रममा दिउँसो १ः४५ बजे भरतको मृत्यु भयो। छोराको हत्या आरोपमा प्रहरीले भ्लोन दम्पतीलाई नियन्त्रणमा लिएको छ। स्वास्थ्योपचारपछि पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय, मकवानपुरको हिरासतमा छन्।
मकवानपुरको उत्तरी गाउँपालिका इन्द्रसरोवरस्थित अदुवाबारी पुग्न राजमार्गबाट झन्डै एक घण्टा उकालो चढ्नुपर्छ। खेतबारीमै काम गर्ने भ्लोन दम्पतीको जीवन निर्वाहको अर्को आधार बाख्रापालन हो। उनीहरूले २०-२५ बाख्रा पालेका छन्।
भ्लोन दम्पतीसँग छोराहरूको भने अंश सम्बन्धी किचलो छ। जसले गर्दा छोराहरू अलग्गै बस्दै आएका छन् भने भ्लोन दम्पती दुखजिलो गरेर जीविका चलाइरहेका छन्। अंश सम्बन्धी किचलोका कारण दम्पती अलग बस्दै आएको देखिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विश्वम्भरनाथ शाह बताउँछन्।
इवामुरा अस्पतालमा एक साता उपचार गरेपछि भ्लोन दम्पतीलाई फागुन २१ मा प्रहरीले नियन्त्रणमा लिएको हो। दुवै जनालाई ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्याल बताउँछन्।
कुटपिटमा परेर भरतको टाउकामा चोट लागेको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको थियो। मुखमा मास्क लगाएर कोही चोरी गर्न आएको र आफूहरूलाई सीधै आक्रमण गरेकाले मीनबहादुर र देवीमायाले भान्सामा भेटिएका घरेलु सामानले प्रहार गर्दा भरतको टाउको फुटेको देखिएको इन्स्पेक्टर शाह बताउँछन्। भरतको आक्रमणबाट मीनबहादुरको करङ र देवीमायाको बायाँ हात भाँचिएको थियो।
परिवारसँगै बस्दै आएका भरत २०७६ सालमा काठमाडौं गएका थिए। उनी घर निर्माण गर्ने मजदूर हुन्। वेलावेला अंशको सवालमा कुराकानी हुने गरेको भ्लोन दम्पतीले प्रहरीसँगको बयानमा बताएका छन्। आमाबुबासँग भरतको सम्बन्ध राम्रो नरहेको पनि प्रारम्भिक अनुसन्धानमा पाइएको छ।
हरिकृष्ण गाउँमै बाबुआमाको बस्ने घरभन्दा केही टाढा पल्लो डाँडामा बस्दै आएका छन्। घटनापछि आमा देवीमायाले फोन गरेपछि पल्लो डाँडाबाट उनी घरमा आएको भ्लोन दम्पतीले बताएका छन्। त्यसपछि तीनै जना मिलेर भरतलाई बाँधेको पनि उनीहरूले प्रहरीसँगको बयानमा स्विकारेका छन्।
काठमाडौंमा बस्ने माइला नवराज होटलमा कूकको काम गर्छन्। साइला हरिविष्णु पेन्टरको काम गर्दै आएको पनि भ्लोन दम्पतीले बताएका छन्।
घटनामा प्रहरीले हरिकृष्णलाई पनि शंकाको घेरामा राखेको छ। उनीसँग बयान लिन भने बाँकी रहेको डीएसपी अर्यालको भनाइ छ।
राति घटना हुँदा गाउँले कसैले पनि जानकारी नभएको बताएका छन्। काठमाडौंमा बस्दै आएका भरत घर फर्किएको पनि कसैलाई थाहा नभएको प्रहरीसँग भनेका छन्। हरिकृष्णले नै कुटपिटबाट घाइते व्यक्ति आफ्नो दाइ रहेको र पहिल्यैदेखि घरझगडा रहेको बताएको डीएसपी अर्याल सुनाउँछन्।
प्रहरी हिरासतमा रहेका भ्लोन दम्पती धेरै बोलचाल गर्न सकिरहेका छैनन्। निराश देखिन्छन्। अन्य बन्दीसँग पनि राम्ररी कुराकानी गर्न सकेका छैनन्। उनीहरू दिनभर टोलाइरहने गरेको प्रहरी बताउँछन्।
“हिरासतमा बस्ने जोकोही पनि निराशै हुन्छन्। उनीहरू त आफ्नै छोरा मारेको आरोपमा हिरासतमा छन्। त्यो पीडा उनीहरूको अनुहारमा देखिन्छ,” एक प्रहरी भन्छन्।
हिरासतमा भएकाले एकअर्कासँग कुराकानी गर्न पनि पाएका छैनन्। त्यसैले उनीहरू के-कसो हुने भन्ने त्रासमा देखिन्छन्।
अहिलेसम्मको अनुसन्धानमा भ्लोन दम्पतीले प्रतिरक्षामा आक्रमण गरेको देखिएको छ। प्रहरीसँगको बयानमा पनि उनीहरूले त्यो स्विकारेका छन्। बयान दिंदा पनि धेरै बोल्ने गरेका छैनन्। प्रहरीले सोधेका प्रश्नको पनि छोटछोटै जवाफ दिने गरेका छन्।
त्यस्तै, भरतकी श्रीमतीसँग सोधपुछ गर्ने प्रहरीको तयारी छ। घटनापछि भरतकी श्रीमती पनि हेटौंडा पुगेकी थिइन्। पछि सम्पर्कमा आउने शर्तमा उनलाई छोडिएको इन्स्पेक्टर शाह बताउँछन्।
भरत केकति कारणले घरमा पुगेका थिए भन्ने खुलेको छैन। “हामी अनुसन्धानका क्रममा छौं, सबैसँग बयान लिन बाँकी नै छ,” अनुसन्धानमा खटिएका इन्स्पेक्टर शाह भन्छन्, “अदालतको प्रक्रियामा रहेको मुद्दा भएकाले धेरै बोल्न मिल्दैन।”